'साहित्यमा शान्तदास'

पारिजात स्मृति केन्द्रको आयोजनामा यही २०८० साल पुस १३ गते साहित्यमा शान्तदास' कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा साहित्यकार शान्तदास मानन्धरका व्यक्तित्वका विविध पाटाहरूमा केन्द्रित रहेर वक्ताहरूले आफ्ना विचारहरू राखेका थिए । विचार राख्ने क्रममा मार्क्सवादी चिन्तक निनु चापागाईले शान्तदास मानन्धरको बालसाहित्यकार रूपमा बढी चर्चा भए पनि साहित्यका अन्य विधामा पनि महत्वपूर्ण योगदान रहेको बताए ।

त्यसैगरी अर्का वक्ता मार्क्सवादी चिन्तक रामराज रेग्मीले 'प्रगतिवादी साहित्य र वाम राजनीतिमा शान्तदासको योगदान' विषयक आफ्नो विचारपत्र प्रस्तुत गर्दै सत्ताधारीहरूले चिन्न नसके पनि शान्तदास जनताको हृदयमा बस्न सफल भएको बताए ।

कार्यक्रमका अर्का वक्ता नेपाल भाषाका प्रसिद्ध साहित्यकार मल्ल के सुन्दरले वि. सं. २०२२ सालदेखि सामाजिक जागरणको अभियानमा शान्तदास  जहिले पनि र जस्तोसुकै परिस्थितिमा  उत्तिकै सक्रियताका साथ अघि बढेको बताए ।

कार्यक्रममा मन्तव्य राख्दै पारिजात स्मृति केन्द्रका पूर्व अध्यक्ष डा. महेश मास्केले चीनका प्रसिद्ध साहित्यकार लुसुन र शान्तदास मानन्धरका  केही स्वभावहरू मिल्दोजुल्दो रहेको आफूलाई लागेको बताए ।

साहित्यकार डा. यादेवी ढकालले शान्तदास मानन्धरले बालसाहित्यमा पुर्‍याउनुभएको योगदानको विशेष चर्चा गरिन् ।

पारिजात स्मृति केन्द्रका अध्यक्ष मातृका पोखरेलको सभापतित्वमा आयोजित  उक्त कार्यक्रममा स्मृति केन्द्रका उपाध्यक्ष इन्दिरा दलीले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रमको संचालन स्मृति केन्द्रका सदस्य सीता शर्माले  गरेकी थिइन् ।

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।