इजरायल–हमास युद्धविराम लम्बियो: गाजापट्टीमा युद्धले भन्दा बढी रोगले मानिस मर्ने चेतावनी

अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आकस्मिक हमलाको प्रतिवादमा इजरायलले गरेको सैनिक कारवाही कतारको मध्यस्थतामा गत २४ नोभेम्बरदेखि ४ दिने युद्धविरामपछि स्थगित भएको छ । उक्त युद्धविरामको म्याद सकिनै लाग्दा संघर्षरत दुवै पक्ष युद्धविरामलाई थप दुई दिन लम्ब्याउन सहमत भएका छन् ।

हमासले गरेको आक्रमणमा १२ सयभन्दा बढी इजरायली, १० जना नेपाली र अन्य केही विदेशीहरुको हत्या भएको थियो । हमासका लडाकूहरुले २ सयभन्दा बढी इजरायली तथा अन्य देशका नागरिकहरुलाई समेत बन्धक बनाएको थियो । हमासको उक्त अप्रत्याशित आक्रमण र त्यसले पुर्याएको क्षति इजरायलको लागि अन्तर्राष्ट्रिय लज्जाको विषय बनेको थियो । त्यसैको प्रतिशोधमा इजरायलले गाजापट्टीमा गत  दुई महिनादेखि अन्धधुन्ध हवाइ हमला तथा स्थल हमला चलायो । इजरायलको प्रतिशोधको कारवाहीमा परी पन्ध्र हजार भन्दा बढी प्यालेस्टाइनीहरु मारिएका छन्। मारिनेहरुमा महिला, बालबच्चा तथा बृद्धहरुको संख्या अत्यधिक छ ।  इजरायलको निरन्तर हवाई र स्थल आक्रमण बाट गाजा पट्टिका प्यालेस्टाइनीहरुको दैनिक जीवन अत्यन्त कस्टकर बनेको थियो। अन्तर्राष्ट्रिय समुदायले इजरायलको प्रतिशोध कारवाहीलाई मानवताविरुद्धको युद्धअपराधको संज्ञा दिँदै बारम्बार आक्रमण रोक्न आव्हान गर्दै आएको थियो । तर अमेरिका तथा युरोपेली देशहरुको बलियो धाप पाएको इजरायलले त्यसलाई वेवास्ता गर्दै आएको थियो । बल्ल पछि कतारको विशेष पहलमा तथा अमेरिकासमेतको सहमतिमा इजरायल र हमासबीच युद्धविराम सम्भव भएको थियो । यो युद्धबिरामले प्यालेस्टाइनीहरु माझ खाना, पानी र चिकित्सकीय सामग्रीहरु पुर्याउन सहज भएको छ। 

यो युद्धबिरामको प्रमुख उद्देश्य भनेको हमासले कब्जा गरेका इजरायली बन्धकहरुको रिहाइ गराउनु हो। हमासको कब्जामा रहेका २५० जना जति इजरायली नागरिकहरु रहेका छन्। तिनीहरुलाई छुटाउनु इजरायल सरकारको लागि ठुलो चुनौती बनेको छ। दुई महिनासम्म पनि गाजा पट्टिमा निरन्तरको आक्रमणका बाबजुद पनि इजरायलले आफ्ना नागरिकहरुलाई हमासको कब्जा बाट छुटाउन सकेको थिएन। अहिलेको युद्धबिराम बन्धक साटासाटसंग जोडिएको छ। कतारमा तय भएको सहमति अनुसार एक जना इजरायली बन्धक बराबर इजरायलको जेलमा रहेका तीन जना प्यालेस्टाइनी बन्दीहरुलाई रिहा गरिएको छ। अहिलेसम्म ५१  जना इजरायली बन्धकहरुलाई हमासले रिहा गरेको छ भने इजरायलले १५० जना प्यालेस्टाइनी बन्दीहरुलाई रिहा गरेको छ। इजरायलले रिहा गरेका प्यालेस्टाइनीहरु मध्ये अधिकांश महिला र १८ वर्षभन्दा कमका बालबालिकाहरु रहेका छन्। ती मध्ये पनि धेरैलाई कुनै मुद्दा नलाई हिरासतमा राखिएका थिए। अहिलेको यस युद्धबन्दी र बन्धकहरुको साटासाटमा रेडक्रसले समेत मध्यस्थता र सहजीकरण गरिरहेको छ ।

अहिले युद्धविराम दुई दिन लम्बिएसँगै थप छलफल र कुराकानीका लागि अमेरिका र इजरायलका गुप्तचर प्रमुखहरु थप वार्ताका लागि कतारको दोहा पुगेका छन् । हमासले गाजामाथि इजरायलले चलाइरहेको हवाइ तथा स्थल कारवाही स्थायी रुपमा रोकिने विश्वास गरेका छन् ।

यसबीच विश्व स्वास्थ्य संगठनले युद्धका कारण सिर्जित अवस्थाका कारण गाजापट्टीमा युद्धले भन्दा पनि बढी मानिसहरुको मृत्यु हुन सक्ने चेतावनी दिएको छ ।  

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।