प्यालेष्टिनीमाथि भइरहेको नरसंहारको दारुण कथा
इजरायलले त्यहाँ आवागमनमा थप कडाइ गरेपछि हेब्रोनमा एउटा फलामे गेटमुनिबाट पार हुन खोज्दै गरेका प्यालेस्टिनी पुरुष। [सारी जरादात/अल जजिरा]
यो त्यस्तो देशको कथा हो, जसको नाम विश्वका प्राय: सबैलाई थाहा छ, तर विश्वको नक्सामा उसको पूर्ण र स्वतन्त्र ठाउँ छैन। यो त्यस्तो राष्ट्रको व्यथा हो, जसका नागरिक आफ्नै जन्मभूमिमा पराधीनजस्ता बनेका छन्; आफ्नै घरको ढोकामा अनुमति माग्न बाध्य छन्; आफ्नै खेत, आफ्नै विद्यालय, आफ्नै अस्पताल र आफ्नै समुद्रसम्म पुग्नका लागि अर्काको सैनिक चौकी पार गर्नुपर्छ। यो प्यालेस्टाइनको त्यो दारुण कथा हो– एउटा यस्तो राष्ट्रको, जसलाई इतिहासले जन्म दियो, तर राजनीतिले बारम्बार विस्थापित, विभाजित र घेराबन्दी गर्दै लग्यो।
सन् १९४८ अघि ब्रिटिश म्यान्डेटको अधीनमा रहेको ऐतिहासिक प्यालेस्टाइनमा इजरायल राज्यको स्थापना भयो, र त्यसै वर्षको युद्धपछि लाखौं प्यालेस्टिनीहरू आफ्ना घर, खेत, बगैंचा, पसल, विद्यालय र पुर्ख्यौली स्मृतिबाट बेदखल भए। प्यालेस्टिनीहरूले यसलाई “नक्बा (ठूलो विपत्ति) भन्छन्। त्यो खालि एउटा सीमा परिवर्तनको घटना थिएन; त्यो एउटा जातिको सामूहिक उठिबासको सुरुवात थियो। आज प्यालेस्टिनी शरणार्थीहरूको राहत तथा मानव विकासमा सहयोग पुर्याउने संयुक्त राष्ट्रसंघीय–युएनआरडब्ल्यूए (UNRWA) मा दर्ता प्यालेस्टिनी शरणार्थीहरूको संख्या ५९ लाखभन्दा बढी छ, जसमा १९४८ र पछिका संघर्षमा विस्थापितहरू र तिनका सन्तानहरू समावेश छन्। ती विस्थापितहरूका सन्तान आज पनि जोर्डन, लेबनान, सिरिया, पश्चिमी तट र गाजाका शिविरहरूमा बाँचिरहेका छन्– आफ्ना बुबाआमाले छोडेका घरको चाबी, जग्गाको कागज र गाउँको नाम सम्झेर। यही कारण प्यालेस्टिनी प्रश्न पक्कै पनि भूमिको विवाद मात्र होइन; यो त प्यालेष्टिनी जनताको स्मृति, पहिचान, गरिमा र घर फर्कने सार्वभौम अधिकारको प्रश्न पनि हो।
सन् १९६७ को युद्धपछि इजरायलले पश्चिमी तट, पूर्वी जेरुशलम र गाजा पट्टीमाथि नियन्त्रण विस्तार गर्यो। त्यसयता प्यालेस्टिनी भूमि टुक्राटुक्रा पारिँदै आएको छ। गाजा आज युद्ध, ध्वंस र मानवीय संकटको केन्द्र बनेको छ भने पश्चिमी तटमा अवैधानिक बस्ती विस्तार, सैन्य कारबाही, चेकपोस्ट, घर भत्काउने कारबाही र बलपूर्वक विस्थापनले आफ्नै थातथलोमा शरणार्थी बन्न बाध्य प्यालेष्टिनी जनताको दैनिक जीवनलाई असह्य बनाइरहेको छ। संयुक्त राष्ट्रसंघीय निकायहरूले पश्चिमी तटमा बस्तीवादी हिंसा, सैन्य अभियान र आवागमन प्रतिबन्ध दुई दशककै उच्च तहमा पुगेको बताएका छन्।
सन् १९६७ को युद्धपछि इजरायलले पश्चिमी तट, पूर्वी जेरुशलम र गाजा पट्टीमाथि नियन्त्रण विस्तार गर्यो। त्यसयता प्यालेस्टिनी भूमि टुक्राटुक्रा पारिँदै आएको छ। गाजा आज युद्ध, ध्वंस र मानवीय संकटको केन्द्र बनेको छ ।
गाजाको दुखाइ भने अझ गहिरो र अपूरणीय छ। इजरायली आधिपत्य र दमनको प्रतिरोधमा सन् २०२३ अक्टोबर ७ मा हमास नेतृत्वका प्यालेस्टिनी सशस्त्र समूहहरूले इजरायलका सीमावर्ती समुदायहरूमा आक्रमण गरे; त्यसमा करिब १,२०० मानिस मारिए र २५१ जना बन्धक बनाइए। त्यो इजरायलको इतिहासकै सबैभन्दा रक्तरंजित एक दिन बन्यो। त्यस आक्रमणका पीडितहरूको पीडा, तिनका परिवारको शोक र बन्धकहरूको अमानवीय अवस्था कुनै पनि राजनीतिक तर्कले मेट्न सक्दैन। बन्धकहरूमध्ये धेरैजना घर फर्के, तर ४० जना बन्धक बन्धकत्वमै मृत्यु भएका थिए भन्ने विवरण सार्वजनिक भइसकेको छ।
तर त्यस आक्रमणपछि इजरायलले गाजामा गरेको प्रतिशोधात्मक कारवाहीले हिटलरको नाजी नरसंहारलाई पनि माथ खुवाउने इतिहास कायम गर्यो । इजरायली सेनाको विशाल हवाई, समुद्री र जमिनी अभियानले गाजालाई खण्डहर बनायो। गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार इजरायली आक्रमणमा ७४,२०० भन्दा बढी प्यालेस्टिनी मारिएका छन्; त्यसमध्ये करिब आधा महिला र बालबालिका छन्। संयुक्त राष्ट्रसंघले गाजाका स्वास्थ्य अधिकारीहरूले दिएका तथ्यांकलाई भरपर्दो मानेको छ। यी संख्या देखाउनका लागि तयार गरिएका तथ्यांक मात्र होइनन्; यी ती बालबालिकाका नाम हुन् जसले स्कुलको झोला भरेनन्, ती आमाहरूका नाम हुन् जसले आफ्ना सन्तानको लास खोज्दै धुलोमा घण्टौं खनेका छन्, र ती बुढाबुढीहरूका नाम हुन् जसले जीवनभर बनाएको घर एकै रातमा गुमाए।
आक्रमणपछि इजरायलले गाजामा गरेको प्रतिशोधात्मक कारवाहीले हिटलरको नाजी नरसंहारलाई पनि माथ खुवाउने इतिहास कायम गर्यो । इजरायली सेनाको विशाल हवाई, समुद्री र जमिनी अभियानले गाजालाई खण्डहर बनायो।
गाजाका करिब २१ लाख जनसंख्यामध्ये लगभग सबै मानिस कम्तीमा एकपटक विस्थापित भइसकेका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठनका अनुसार करिब १८ लाख मानिस अझै विस्थापन स्थलहरूमा बसिरहेका छन्, र तीमध्ये ५६ प्रतिशत स्थल बाढीको मध्यमदेखि उच्च जोखिममा छन्। उनीहरूको घर भत्किएको छ, विद्यालय ध्वस्त भएको छ, अस्पताल नष्ट भएको छ, खानेपानीका प्रणाली भत्किएका छन्, र जीवनलाई चलाउने आधारभूत पूर्वाधार नै लगभग अपंग बनेको छ। युएनआरडब्ल्यूए (UNRWA) का अनुसार गाजाका ७० प्रतिशतभन्दा बढी जनताका लागि पिउने पानीको मुख्य स्रोत ट्रकबाट वितरण गरिने पानी बनेको छ। जहाँ नल, कुआँ, विद्युत् र शुद्धीकरण प्रणाली नष्ट भइसकेका हुन्छन्, त्यहाँ पानी पनि युद्धको बन्धक बन्छ।
संयुक्त राष्ट्रसंघ, विश्व बैंक र युरोपेली संघको संयुक्त मूल्यांकनअनुसार गाजाको पुनर्निर्माणका लागि अर्को दशकमा करिब ७१.४ अरब अमेरिकी डलर चाहिनेछ; त्यसमध्ये २६.३ अरब डलर पहिलो १८ महिनामै आवश्यक पर्नेछ। यो रकम गणितको अंक मात्र होइन; यो ती हजारौं वर्षको श्रम, पुस्तौंको मेहनत र एउटा समाजको भविष्यको मूल्य हो। घर, सडक, पुल, विद्यालय, विश्वविद्यालय, अस्पताल, बिजुली लाइन, पानीका पाइप र कृषि जमिन– सबै फेरि बनाउनुपर्ने अवस्था छ। तर पुनर्निर्माणको पहिलो शर्त त युद्ध नै नचल्नु हो; त्यसपछि निर्माण सामग्री, इन्धन, चिकित्सा सामग्री र विशेषज्ञहरूको निर्बाध प्रवेश हो।
सन् २०२५ अक्टोबर १० मा अमेरिकी पहलमा गाजामा युद्धविराम लागू भयो। तर एक वर्षपछि पनि त्यो युद्धविराम व्यवहारमा भंगुर र अपूर्ण रहेको छ। इजरायली हवाई तथा जमिनी कारबाही रोकिएका छैनन्, राहत र पुनर्निर्माण सामग्रीको प्रवाह पर्याप्त छैन, र गाजाको भविष्यसम्बन्धी राजनीतिक वार्ता अझै अनिश्चित छ। गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार युद्धविरामपछि पनि कम्तीमा १,४५० प्यालेस्टिनी मारिएका छन्। युद्धविराम कागजमा सीमित छ, यथार्थमा इजरायली ताण्डव रोकिएको छैन ।
इजरायली हवाई तथा जमिनी कारबाही रोकिएका छैनन्, राहत र पुनर्निर्माण सामग्रीको प्रवाह पर्याप्त छैन, र गाजाको भविष्यसम्बन्धी राजनीतिक वार्ता अझै अनिश्चित छ।
इजरायली ताण्डवले सिर्जित मानवीय संकट भयावह छ । १०० भन्दा बढी राहत तथा मानव अधिकार संस्थाहरूले गाजाको युद्धविरामलाई “नाम मात्रको” भनेका छन्। उनीहरूका अनुसार करिब २० लाख मानिसलाई आश्रय चाहिएको छ, ३६ मध्ये कुनै पनि अस्पताल पूर्ण क्षमतामा सञ्चालनमा छैन, र १४ लाख मानिस खाद्य असुरक्षाको संकटस्तरमा छन्। संयुक्त राष्ट्रसंघीय आप्रवासन संगठनका अनुसार गाजामा जाडोका लागि चाहिने आश्रय सामग्रीको माग पूरा गर्न उपलब्ध र आउने आपूर्ति खालि १७ प्रतिशत मात्र छ, र करिब ८,६०० आपतकालीन आश्रय सामग्रीका सेट इजरायली अधिकारीहरूले फर्काएपछि गाजा बाहिरै अलपत्र छन्। जहाँ बिरामीलाई औषधि, बच्चालाई पोषण, घाइतेलाई उपचार पाउन असम्भव जस्तै बनेको छ ।
राहतको अवस्था पनि यही संकटको प्रतिबिम्ब हो। सन् २०२६ को एक विश्लेषणअनुसार गाजामा दैनिक औसत ७६ वटा मानवीय सहायता ट्रक मात्र प्रवेश गरेका छन्, जुन न्यूनतम मानवीय आवश्यकताका लागि तोकिएको १५० ट्रकको आधा जति मात्र हो। युएनआरडब्ल्यूएले ११६ वटा सामूहिक आपतकालीन आश्रयमा ७६,००० विस्थापितहरूलाई सहयोग गरिरहेको छ भने ११,००० भन्दा बढी कर्मचारी जीवनरक्षक सेवामा संलग्न छन्। तर यो सहयोग लाखौंको आवश्यकताको सामुन्ने अत्यन्त सीमित छ।
गाजाको पीडा जति विश्वको ध्यानमा छ, पश्चिमी तटको स्थिति पनि त्यत्तिकै कडा र तीव्र रूपमा बिग्रँदै छ। सन् २०२६ को जनवरीदेखि अगस्तसम्म मात्रै १,६०० भन्दा बढी इजरायली बस्तीवादी आक्रमण दर्ता भएका छन्– दिनको औसत ६.७ आक्रमण; यो सन् २०२५ को दैनिक पाँच र सन् २०२१ को १.५ भन्दा कैयौं गुणा बढी हो। यी आक्रमणमा घर र कारखाना जलाइएका छन्, जैतूनका बारी काटिएका छन्, मस्जिद र घरहरूमा क्षति पुर्याइएको छ, र प्यालेस्टिनी किसान तथा परिवारहरूलाई आफ्नै जमिनबाट धपाइएको छ। प्यालेष्टिनी जनताका लागि जैतूनको बारी आर्थिक स्रोत मात्र होइन; त्यो त प्यालेस्टिनी जीवनको प्रतीक हो– पुर्ख्यौली जमिन, धैर्य र स्वतन्त्रताको प्रतीक।
यी आक्रमण, घर भत्काउने कारबाही र आवागमन प्रतिबन्धका कारण सन् २०२६ मा मात्रै ३,९६० भन्दा बढी प्यालेस्टिनी विस्थापित भएका छन्– दैनिक औसत १६ भन्दा बढी मानिस; तिनमध्ये ३,१०० भन्दा बढी बालबालिका छन्। सन् २०२६ को अगस्तसम्म पश्चिमी तटमा ८२ प्यालेस्टिनी मारिएका छन्, जसमध्ये १९ बालबालिका छन्, र करिब १,९०० घाइते भएका छन्। सन् २०२३ अक्टोबर ७ देखि २०२६ जुलाई २४ सम्म पश्चिमी तटमा १,१२२ प्यालेस्टिनी मारिइसकेका छन्। प्यालेष्टिनी जनताहरुलाई निषेधित गर्न यत्रतत्र चेकपोष्टहरु खडा गरिएका छन् । ती सुरक्षाको नाममा खडा गरिएका ती चेकपोस्ट प्यालेष्टिनीहरुको दैनिक जीवनलाई नियन्त्रण गर्ने ढोका हो।
पश्चिमी तटमा इजरायली बस्तीहरू विस्तार हुँदै छन्, जबकि प्यालेस्टिनी समुदायहरू चेकपोस्ट, बन्द सडक, भत्काइएका घर र सैन्य कारबाहीबीच सीमित जीवन बाँचिरहेका छन्। संयुक्त राष्ट्रसंघका अनुसार बस्तीवादी हिंसा सन् २०२३ यता हरेक वर्ष बढेको छ, र सन् २०२६ को सुरुका चार महिनामा मासिक करिब १९० आक्रमण दर्ता भएका थिए। पश्चिमी तटमा आवश्यक औषधिको एक तिहाइभन्दा बढी अभाव र ११,००० भन्दा बढी शल्यक्रिया स्थगित भएको जनाइएको छ।
पश्चिमी तटमा इजरायली बस्तीहरू विस्तार हुँदै छन्, जबकि प्यालेस्टिनी समुदायहरू चेकपोस्ट, बन्द सडक, भत्काइएका घर र सैन्य कारबाहीबीच सीमित जीवन बाँचिरहेका छन्।
यसका साथै पश्चिमी तटका उत्तरी क्षेत्रका शरणार्थी शिविरहरूमा लामो सैन्य अभियानले गहिरो विस्थापन सिर्जना गरेको छ। सन् २०२६ को अप्रिलमा इजरायली सेनाले तीन शरणार्थी शिविरबाट ३३,००० भन्दा बढी मानिसलाई विस्थापित गर्ने सैन्य आदेश दुई महिना थप लम्ब्याएको थियो। यसले विस्थापन अस्थायी घटना होइन; यो प्यालेस्टिनी समुदायलाई आफ्नै घर, रोजगारी, विद्यालय र सामाजिक जीवनबाट टाढा राख्ने एउटा लामो र संरचित प्रक्रिया बनेको प्रष्टै देखाउँछ।
अन्तर्राष्ट्रिय कानुनले यसलाई स्पष्ट रूपमा अवैधानिक ठहर्याउँछ । सन् २०२४ जुलाई १९ मा अन्तर्राष्ट्रिय न्याय अदालतले दिएको अभिमतमा इजरायलको अधिकृत प्यालेस्टिनी क्षेत्रभरको उपस्थिति गैरकानुनी रहेको, बस्ती नीति र विस्तार अन्तर्राष्ट्रिय कानुनविपरीत रहेको, र इजरायलले अवैध उपस्थिति अन्त्य गर्नुपर्ने निष्कर्ष निकालेको छ। अदालतले इजरायललाई बस्ती गतिविधि रोक्न, बस्तीवादीहरूलाई स्थानान्तरण गर्न र क्षतिपूर्ति दिन आवश्यक भनेको छ। तर कानुनका यी निर्णय यथार्थमा कार्यान्वयन हुन असम्भव जस्तै छ । इजरायलको पिठ्युँमा धाप मार्दै आएको तथा उसको रक्षक बनेर उभिएको अमेरिकाले अन्तर्राष्ट्रिय न्यायालयलाई भङ्ग गर्ने कसम नै खाएको छ र उसले त्यसको विरुद्धमा हरसम्भव कदम चाल्दै आएको छ ।
यो संघर्षको सबैभन्दा क्रूर पक्ष भने यसको पुस्तौंलाई असर पार्नु हो। गाजाका बालबालिकाहरू विद्यालय जान नपाएर, खेल्न नपाएर, आफ्ना साथी गुमाएर र बमको आवाज सुनेर हुर्किरहेका छन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले ७ अक्टोबरका अत्याचारलाई कुनै पनि हालतमा न्यायोचित ठहर नगर्ने भन्दै इजरायली र प्यालेस्टिनी दुवै जनताको पीडा अन्त्य गर्न आह्वान गरेका छन्। यो स्पष्ट छ: नागरिकको हत्या, बन्धक बनाउने कारबाही, आतंक र घृणा कसैका लागि पनि औचित्यपूर्ण हुँदैनन्। तर त्यतिकै स्पष्ट छ– घेराबन्दी, निरन्तर बमबारी, अस्पताल र विद्यालयको विनाश, बलपूर्वक विस्थापन, बस्ती विस्तार र मानवीय सहायतामा बाधा पनि कुनै राजनीतिक लक्ष्यका लागि सह्य हुन सक्दैन। दुवैतर्फका नागरिकको जीवन र गरिमा रक्षा गर्नु नै अन्तर्राष्ट्रिय कानुनको पहिलो कर्तव्य हो।
यो संघर्षको सबैभन्दा क्रूर पक्ष भने यसको पुस्तौंलाई असर पार्नु हो। गाजाका बालबालिकाहरू विद्यालय जान नपाएर, खेल्न नपाएर, आफ्ना साथी गुमाएर र बमको आवाज सुनेर हुर्किरहेका छन्। उनीहरूको खेलौना भत्किएका घरका इँटा बनेका छन्; उनीहरूको कक्षाकोठा तम्बु र ध्वंशका अवशेषहरु बनेको छ; उनीहरूको भविष्य अनिश्चितताको भित्र थुनिएको छ। एउटा पुस्ताले आफ्नो बाल्यकाल गुमाउँदा त्यो क्षति कुनै पनि पुनर्निर्माण योजनाले शोधभर्ना सक्दैन। यही कारण युद्धको सबैभन्दा ठूलो हतियार बम मात्र होइन; भविष्यमाथिको आक्रमण बम भन्दा पनि खतरनाक हतियार बन्न पुगेको अहिलेको तीतो यथार्थता हो।
प्यालेष्टाइन समस्याको समाधान ट्यांक, बम, अनन्तकालीन घेराबन्दी वा कागजमा लेखिएको अस्थायी युद्धविराममा होइन। नागरिकको सुरक्षा सुनिश्चित; युद्धविरामको पूर्ण कार्यान्वयन; राहत, इन्धन, औषधि र पुनर्निर्माण सामग्रीमा निर्बाध पहुँच; बन्दीहरूको रिहाइ; र प्यालेस्टिनीहरूको राजनीतिक अधिकार, आत्मनिर्णयको अधिकार र सम्मानपूर्वक बाँच्ने अधिकार मान्यता नपाएसम्म साँचो अर्थमा प्यालेष्टाइन समस्या समाधानको दिशामा अघि बढ्न सक्दैन । गाजाको पुनर्निर्माणमा ७१.४ अरब डलर चाहिने अनुमानले देखाउँछ कि अहिले युद्धले जनधनको मात्र हैन, पूरै पूरै भविष्यको पनि क्षति गरिरहेको छ । इजरायली नरसंहार र त्यसलाई टुलुटुलु हेरेर बस्ने अन्तर्राष्ट्रिय समुदायको हुतिहारा विवशताले गरेको सबैभन्दा ठूलो क्षति भने मानसिक, सामाजिक र राजनीतिक छ– जहाँ एउटा पुस्ता आफ्नै घर, विद्यालय, अस्पताल र देश गुमाएर हुर्किरहेको छ।
प्यालेस्टिनी जनता पटकपटक विस्थापित, घाइते र शोकमा डुबेका छन्, तर उनीहरूको राष्ट्रिय पहिचान र आफ्नै भूमिमा सम्मानपूर्वक बाँच्ने अधिकारको माग अझै जीवित छ। गाजाका लगभग सबै मानिस विस्थापित भए पनि उनीहरू आफ्नो भूमि छोडेर हिँडेका छैनन्; उनीहरू त्यही खण्डहरभित्र आश्रय, खाना, शिक्षा र भविष्य खोजिरहेका छन्। उनीहरूको संघर्ष खालि बाँच्ने संघर्ष होइन; यो आफ्नो नाम, आफ्नो भूमि र आफ्नो भविष्यमाथिको अधिकारको संघर्ष हो भन्ने कुरा उनीहरुले आफ्नो प्रतिरोधी संघर्षले पटक पटक पुष्टि गर्दै आइरहेको छ ।
इजरायली नरसंहार र त्यसलाई टुलुटुलु हेरेर बस्ने अन्तर्राष्ट्रिय समुदायको हुतिहारा विवशताले गरेको सबैभन्दा ठूलो क्षति भने मानसिक, सामाजिक र राजनीतिक छ– जहाँ एउटा पुस्ता आफ्नै घर, विद्यालय, अस्पताल र देश गुमाएर हुर्किरहेको छ।
त्यसैले अहिले प्यालेष्टिनी भूमिमा इजरायलले चलाइरहेको ध्वंश र नरसंहारको ताण्डव दारुण विनाशको कथा मात्र होइन। यो त्यो कथा पनि हो, जहाँ विश्वका असंख्य मानिसले प्यालेस्टिनीहरूको मानवीय गरिमा, सुरक्षा र स्वतन्त्रताका लागि आवाज उठाइरहेका छन्। जबसम्म न्याय, सुरक्षा र समान अधिकारको आधारमा राजनीतिक समाधान खोजिँदैन र त्यसको पक्षमा विश्व एकजुट भएर खडा हुँदैन, यो दर्दनाक कथा अझै जारी रहनेछ। तर एउटा कुरा निश्चित छ– कुनै पनि शक्तिले प्यालेस्टिनी जनताको स्मृति, इच्छाशक्ति र आफ्नै भूमिमा फर्कने अधिकारलाई पूर्ण रूपमा मेट्न सक्दैन।
उनको पछाडि मार्क्स छन्, छेउमा गान्धी छन्: नेहा बोरा र निभ्न अस्वीकार गर्ने आगो
मतदाता सूचीको विवादले चर्किएको सडक संघर्ष
फ्रान्सको विद्यार्थी आन्दोलन किन चर्किँदैछ ?
यमनमा हुथी आन्दोलनको उदय, वैचारिक धरातल र भूराजनीतिक संघर्ष
ब्राजिलको चुनावी संघर्ष: ब्रिक्स र भूराजनीतिमा पार्न सक्ने दुरगामी प्रभाव
इथियोपियामा फेरि गृहयुद्ध: प्रधानमन्त्री अबियको ‘फुटाऊ र शासन गर’ रणनीति उल्ट…
बहुध्रुवीय विश्व अब केवल एउटा सिद्धान्त होइन वास्तविकता
प्रतिक्रिया