अर्जेन्टिनमा उग्र दक्षिणपन्थी मिलेईको जीत !

अर्जेन्टिनामा सम्पन्न भएको रास्ट्रपति निर्वाचनको दोश्रो चरणमा उग्र दक्षिणपन्थी उम्मेदवार  हाभिएर मिलेईले जितेका छन्। उनले सो निर्वाचनमा ५५% मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी निवर्तमान अर्थमन्त्री सर्गियो मासाले ४५% मत प्राप्त गरेका छन्। सर्गियो मासाले आफ्नो हार स्वीकार गर्दै हाभिएर मिलेईलाई जितको लागि बधाई समेत दिएका छन्।

हाभिएर मिलेईको जितमा प्रसन्नता व्यक्त गर्दै पुर्व अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पले पनि बधाई दिएका छन्। ट्रम्पले बधाई दिँदै भनेका छन् – 'सारा विश्वले हेरिरहेको छ। मलाई तपाईंप्रति धेरै गर्व छ। तपाईंले अर्जेन्टिनालाई बदल्नु हुनेछ र फेरि अर्जेन्टिनालाई महान बनाउनु हुनेछ।'

ट्रम्पको बधाई सन्देश के अर्थमा महत्त्वपूर्ण छ भने हाभिएर मिलेई डोनाल्ड ट्रम्प र ब्राजिलका पुर्वरास्ट्रपति बोलसोनारोका प्रसंशक हुन्। त्यस्तै बोलसोनारोले प्रतिक्रिया दिँदै भनेका छन्- 'यो जित इमान्दारी, प्रगति र स्वन्त्रताको जित हो।  फेरि दक्षिण अमेरिकामा आशा चम्किन थालेको छ।'

५३ बर्षीय हाभिएर मिलेई पेशाले अर्थशास्त्रका प्राध्यापक हुन्। उनका विचारहरु अति नै प्रतिक्रियावादी र दक्षिणपन्थी छन्। उनले अगाडि सारेकाका विचार र कार्यक्रमहरु एकदमै विवादास्पद छन्। मिलेई खुलाबजार अर्थतन्त्रका प्रवल पक्षधर हुन्। उनी यातायात, शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारको नुदान र लगानी पूर्ण रुपमा समाप्त गर्न चाहन्छन्। यी सेवाहरु सम्पूर्ण रुपमा निजी क्षेत्रको हातमा छाडिदिने उनको मनसाय रहेको छ। त्यस्तै उनी गर्भपतनमा पूर्णरुपमा बन्देज लगाउन चाहन्छन्। यो समस्याको समाधानको लागि उनको सुझा बरु यस्ता अनइच्छित बच्चालाई बिक्रि गर्नको लागि एउटा नवजात शिशुहरुको खुलाबजार खोल्ने, जहा बच्चा चाहनेहरुले किन्न सकुन। हाभिएर मिलेई कारागारहरुलाई पनि निजीकरण गर्न चाहन्छन्। मानिसहरुलाई जेलमा राख्नको लागि कानुन लचिलो बनाउन चाहन्छन। जेलमा कैदीहरुलाई जबरजस्ती काममा लगाउन पाउने नियम बनाउन चाहन्छन्। नाबालकको उमेरहद पनि घटाउन चाहन्छन्

हाभिएर मिलेईले अर्जेन्टिनाको राष्ट्रिय मुद्रा पेसोको ठाउँमा अमेरिकी डलरलाई प्रचलनमा ल्याउन चाहन्छन्। त्यस्तै उनी अर्जेन्टिनाको राष्ट्र बैंकलाई बन्द गर्न चाहन्छन्।  अहिले अर्जेन्टिना चरम मुद्रास्फीति बाट गुज्रिरहेको छ। यतिबेला अर्जेन्टिनाको मुद्रास्फीति दर १४२% रहेको छ।  यसको समाधानको लागि मिलेईले यो उपाय प्रस्ताव गरेका हुन्। तर अमेरिकी डलरलाई राष्ट्रिय मुद्राको रुपमा प्रयोग गर्दा अमेरिकाको उपनिवेश बनाउने खतरा हुन्छ भन्ने आवाज पनि उठ्ने गरेका छन्

हाभिएर मिलेईको विदेश नीति झनै उग्र खालको रहेको छ। उनी अर्जेन्टिनालाई ब्रिक्स समूहबाट बाहिर निकाल्न चाहन्छन्। जकि अर्जेन्टिना ब्रिक्स समूहको सदस्य बन्ने प्रक्रियामा रहेको छ। उनको भना छ- हाम्रो भूराजनीतिक स्वार्थ अमेरिका र इजरायलसंग मेल खान्छ। हामी कम्युनिस्टहरुसंग पङ्क्तिबद्ध हुने छैनौं। उनले त्यस भन्दा पनि पर गएर उनले चीन र ब्राजिल संगको सम्बन्ध पनि तोड्ने बाचा गरेका छन्। यी दुई देश अर्जेन्टिनाका सबै भन्दा ठूला व्यापारिक साझेदार हुन्। चीन र ब्राजिल संग अर्जेन्टिनाको ३५% व्यापार हुने गर्छ।

केही दशक यता अर्जेन्टिना ठुलो आर्थिक संकटबाट गुज्रिरहेको छ। जसका कारण त्यहाँ चरम मुद्रास्फीतिको अवस्था सिर्जना भएको छ। अर्जेन्टिनाका जनताहरु त्यहाका परम्परागत राजनीतिक नेतृत्वट आजित भएका छन्। त्यही कारणले गर्दा अहिले अर्जेन्टिनाका जनता आफ्नो देशका स्थापित राजनीतिक पार्टीभन्दा फरक व्यक्तिलाई चुनेका हुन्। हाभिएर मिलेईको बहुलट्ठीपूर्ण भाषण र उनको प्रचार माध्यम दुबैले त्यहाँका जनतालाई आकर्सित गर्न सफल भएको छ। रमाइलो कुरा के छ भने हाभिएर मिलेईले आफ्नो प्रचारको माध्यम टेलिभिजन, रेडियो वा पत्रपत्रिकालाई बनाएका थिएनन्। बरु उनको प्रचारको सबैभन्दा मुख्य माध्यम थियो टिकटक। उनको समर्थकहरुले उनको चुनावी प्रचार अभियानको दौरानमा टिकटकको व्यापक उपयोग गरेका थिए ।

समग्रमा यतिखेर अर्जेन्टिनाका मूलधारका राजनीतिक दलहरुले हावा खाएका छन्, सट्टामा उग्र र बौलठ्ठीपूर्ण कुरा गर्ने व्यक्तिलाई जनताले सत्ताको सिंहासनमा आसिन गराएका छन् । मुलुकमा आर्थिक संकट सिर्जना भएपछि र स्थापित राजनीतिक दलहरुप्रति जनतामा मोहभंग हुँदै गएपछि कसरी दक्षिणपन्थी शक्तिहरुले जनतालाई आफ्ना घोर दक्षिणपन्थी एजेण्डाहरुले आकर्षित गराउँछन् र सत्तामा हावी हुन पुग्छन् भन्ने  कुराको सबैभन्दा बलियो उदाहरण हो– अर्जेन्टिनामा हाभिएर मिलेईको उदय । नेपाल पनि यतिखेर आर्थिक संकटको बाटोतिर अग्रसर भइरहेका छन् । जनतामा स्थापित राजनीतिक दलहरुप्रति भयानक मोहभंगको अवस्था सिर्जना भइरहेको छ । स्थापित राजनीतिक दलहरुले जनतामा उन्नत भविष्यको आशा जगाउन नसक्दा र तद्अनुकूलको व्यवहार प्रदर्शन गर्न नसक्दा उग्र र बौलठ्ठीपूर्ण कुरा गर्ने दुर्गा प्रसाई जस्ता व्यक्तिहरुका कुराले आममानिसलाई आकर्षित गर्न थालेका छन् । रमाइलो संयोग के छ भने, दुर्गा प्रसाईहरुको प्रचारप्रसारको सबैभन्दा प्रभावकारी माध्यममध्ये टिकटक  पनि एक रहँदै आएको थियो । यद्यपि, यतिखेर नेपालमा सरकारले टिकटकमाथि प्रतिबन्ध लगाइसकको छ । अहिलेको व्यवस्थालाई उल्टाउने कुरा खुलेआम गर्दै आइरहेका दुर्गा प्रसाईले त ‘सरकारले आफूसँग डराएर टिकटक बन्द गराएको’ गुड्डी पनि हाँकिसकेका छन् । हुन पनि प्रसाईको मंसिर ७ को कार्यक्रमको पूर्वसन्ध्यामा टिकटकमाथि सरकारले प्रतिबन्ध लगाउँदा ‘स्याल पनि कराउनु, कुखुरा पनि हराउनु’ भने जस्तै चाहिँ भएको छ ।

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।