यस कारण चाहिन्छ हाम्रो शरीरलाई पर्याप्त मात्रामा भिटामिन सी
हामीले खाने खानाले हाम्रो भोक मात्रै शान्त पार्ने काम गर्दैन । यसले हाम्रो शरीरमा भइरहने विभिन्न दैनिक प्रक्रियाहरु सही ढंगले संचालन गर्न मद्दत गर्ने विभिन्न तत्त्वहरु पनि शरीरमा आपूर्ति गर्नेगर्छ । त्यस्ता तत्त्वहरु प्रोटिन, कार्बाेहाइड्रेट, बोसो, पानी र विभिन्न खनिजहरु हुन् । ती तत्त्वहरुका साथसाथै हाम्रो शरीरलाई अर्को महत्त्वपूर्ण तत्त्व पनि चाहिन्छ । त्यो तत्त्वलाई हामी भिटामिन भनी चिन्ने गर्छौं ।
भिटामिनको निर्माण बिरुवा र प्राणी दुबैमा हुने गर्छ । हाम्रो शरीरमा भइरहने अत्यन्त जरुरी प्रक्रियाहरुलाई कुनै बाधाबिना संचालन गर्न भिटामिन अति आवश्यक हुन्छ । भिटामिनले हाम्रो शरीरको बढ्ने प्रक्रियामा पनि मद्दत गर्ने गर्छ । भिटामिन पनि धेरै प्रकारका छन् । तिनीहरु भिटामिन ए, बी, सी, डी, इ र के प्रमुख हुन् । शरीरमा भिटामिनको मात्रा कम भयो भने विभिन्न रोगहरु लाग्न सक्छन् । उदाहरणको लागि भिटामिन ‘ए’ को कमी भयो भने हाम्रो आँखा कमजोर हुन्छ । भिटामिन ‘बी’ को कमी भयो भने बेरी–बेरी नामक रोग लाग्ने गर्छ । भिटिमीन डीको कमीले हड्डी कमजोर हुन्छ ।
भिटामिनको खोज नेदरल्यान्डका वैज्ञानिक क्रिष्टियन इज्किम्यानले गरेका हुन् । उनले यस खोज बापत सन् १९२९मा नोबेल पुरस्कार पनि पाएका थिए । इज्किम्यानले भिटामीन पत्ता लागाउनु भन्दा पहिले मानिसलाई भिटामिनको बारेमा केही थाहा थिएन । तर पनि उनीहरुलाई केही प्रकारको खाना नपुग्दा विभिन्न रोगहरु लाग्ने गरेको कुरा भने अवश्य थाहा थियो । त्यो समयमा मानिसहरु जहाजमा धेरै लामो यात्रा गर्ने गर्थे । यात्राको बेला जहाजका मानिसहरुले प्रशस्त मात्रामा ताजा सब्जी र सागपातहरु खान पाउँदैन थिए । त्यही भएर उनीहरुलाई स्कर्भी (Scurvy) नामक रोग लाग्ने गथ्र्यो । विशेष गरेर भिटामीन सीको कमी हुँदा लाग्ने यो रोगले मानिसको गिजा र स्नायु प्रणालीलाई असर गर्ने गथ्र्यो । १७ औँ शताब्दीतिर आएर मानिसहरुले के थाहा पाए भने अमिलो खानेकुराले यो रोगबाट बच्न मद्दत गर्छ । त्यसैले त्यसबेलादेखि यस रोगबाट बच्न जहाजमा यात्रा गर्ने मानिसहरुलाई कागती दिइन थालियो ।
स्कर्भी लाग्नबाट भिटामिन सीले बचाउने गर्छ । भिटामिन सीलाई एब्सोर्बिक् एसिड (Absorbic Acid) पनि भनिन्छ । भिटामिन सी विशेष गरेर अमिलो फलफूल कागती, सुन्तला आदिमा पाइन्छ । यसको साथसाथै यो कटहर, ब्रोकाउली, अम्बक, पालुङ्गो, बन्दाकोपी, सलगम आदिमा पनि पाइन्छ ।
भिटामिन सी बारे एउटा रोचक कुरा के छ भने प्रायः सबै स्तनपायी जनावरहरुले कलेजोमा आफैं भिटामिन सी बनाउने गर्छन् । त्यही भएर तिनीहरुको शरीरमा कहिले पनि भिटामिन सीको कमी हुँदैन । तर मानिस, बाँदर र गिनीपिग मात्र यस्ता स्तनपायी जनवार हुन्, जसले आफैं भिटामिन सीको उत्पादन गर्न सक्दैनन् । त्यही भएर उनीहरुले शरीरमा भिटामिन सीको मात्रा सन्तुलनमा राख्न फलफूल र सागपातहरु खानु आवश्यक छ । खासगरी, स्ट्रबेरी, सुन्तला, अमिला फलफूल, कागत, मेवा, वेरीहरु, किवी, भेडे खुर्सानी, अम्बक आदि खानेकुराहरुमा पर्याप्त मात्रामा भिटामीन सी पाइन्छ ।
सामान्यतः एउटा स्वस्थ वयस्क मानिसलाई प्रतिदिन ७५ देखि ९० मिलिग्रामसम्म भिटामीन सीको आवश्यकता पर्दछ । तर गर्भवती महिला, चुरोटका अम्मली, धेरै प्रदूषित स्थानमा बस्नेहरु लगायतलाई त्योभन्दा बढी मात्रा पनि जरुरत पर्न सक्छ ।

भिटामीन सीको कमीका केही प्रमुख लक्षणहरु
–थकान, मुड परिवर्तन, डिप्रेसन
–भोक कम लाग्नु
–मांसपेशी दुख्नु र बाउँडिनु
–सुख्खा र पहेंलो छाला
–आँखा सुख्खा हुनु
–सुख्खा, कमजोर र टुट्ने कपाल
–ओठ गिजा फुलिनु, र रगत आउनु
–दाँत झर्नु
–कमजोर हड्डी, हड्डी दुख्नु
–छालामुनि असामान्य रगत बग्नु
–संक्रमण भइरहनु, दोहोरिएर आइरहनु
–घाउ निको हुन ढिलो हुनु, धेरै समय लाग्नु
–रक्तअल्पता, रगतमा हेमोग्लोबिन कम हुनु
किन शरीरका लागि भिटामीन सी जरुरी छ ?
भिटामीनहरुमध्येका सबैभन्दा प्रमुख भिटामीन मानिन्छ सीलाई । यो निम्नकारणहरुले गर्दा हाम्रो शरीरका लागि अत्यावश्यक भिटामीन हो–
एन्टिअक्सिडेन्टः भिटामीन सी आफैंमा एउटा शक्तिशाली एन्टिअक्सिडेन्ट (antioxidant) हो । हाम्रा शरीरका शारीरिक प्रक्रियाहरु सम्पन्न हुने क्रममा विभिन्न थरिका हानिकारक मोलेक्युल्सहरु उत्पादन भइरहेका हुन्छन् । त्यसबाहेक, वायु प्रदूषण तथा सिगरेट पिउने बानीले पनि हाम्रा शरीरमा त्यस किसिमका हानिकारक मोलेक्युल्सहरु उत्पादन भइरहेको हुन्छ । ती मोलेक्युल्सहरुले हाम्रो शरीरका कोषहरुलाई क्षति तुल्याउने गर्छ । तर भिटामीन सीमार्फत् प्राप्त हुने एन्टिअक्सिडेन्टहरुले त्यस किसिमले कोषहरुलाई क्षति हुनबाट बचाउँछ ।
रोग प्रतिरोधात्मक क्षमतामा बृद्धिः भिटामीन सीले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई सही ढंगले काम गर्न सहयोग गरिहेको हुन्छ । यसले विभिन्न किसिमका भाइरसहरु तथा संक्रमणहरुसँग लड्न हाम्रा रोग प्रतिरोधात्मक क्षमतालाई बल पुर्याइरहेको हुन्छ । शरीरमा रातो रक्तकोषहरु उत्पादन हुनका लागि लौहतत्वहरुको जरुरत पर्छ । भिटामीन सीले हामीले खाएका खानेकुराहरुबाट लौहतत्वहरु सोस्नका लागि मद्दत गर्दछ ।
छाला स्वस्थ राख्छः छालालाई स्वस्थ राख्नका लागि पनि भिटामीन सीले सहयोग गर्छ । हाम्रो शरीरको छाला, कपाल तथा नङहरु बन्नका लागि कोलाजेन नाम तत्व चाहिन्छ । यो तत्व बन्नका लागि भिटामीन सीको जरुरत पर्छ । यसरी पर्याप्त मात्रामा भिटामीन सी लिने गरियो भने हाम्रो शरीरको छाला, कपाल तथा नङहरु स्वस्थ रहन्छ ।
दीर्घ रोगहरुबाट सुरक्षाः केही अध्ययनहरुले देखाएअनुसार भिटामीन सीको पर्याप्त मात्रामा सेवन गर्नाले मुटुका रोगहरु, हृदयघात तथा क्यान्सर जस्ता दीर्घरोगहरु लाग्ने सम्भावना कम हुन्छ ।
घाउ चाँडो निको हुनेः भिटामीन सीले शरीरमा लागेका चोटपटक तथा घाउहरु चाँडो निको हुन तथा चोटपटक लागेका ठाउँहरु पूर्ववत अवस्थामा आउनका लागि भूमिका खेल्ने गर्छ ।
अमेरिकामा तीब्र रुपमा फैलिइरहेको साइक्लोस्पोरा संक्रमण के हो ?
विश्वव्यापी जनस्वास्थ्य र मृत्यु तथा रोगको असमान वितरण
खाद्य अपव्यय: खेर फ्याँक्ने खानेकुराको विषय मात्र होइन, एउटा प्रणालीगत समस्या
जलवायु परिवर्तन: हाम्रा शासकहरूले धान्नै नसक्ने गरी बढेको गर्मी
चरम गर्मी अब स्वास्थ्य संकट: पूर्वाधार र ज्यान दुवै जोखिममा
कब्जियतबाट छुटकारा पाउनका लागि फाइबरयुक्त उत्तम पाँच खानेकुराहरू
सन्तान सपार्ने कोसिसः सन्तुलन कता बिग्रेको छ त ?
प्रतिक्रिया