जन्मनेबित्तिकै बच्चालाई किन नुहाइदिनु हुन्न ?

सामान्यतः भरखरै जन्मेको बच्चालाई नुहाइदिनुपर्छ भन्ने हामीलाई लाग्छ । किनभने नवजात शिशुका शरीरमा सेतो मैनजस्तो पदार्थ टाँसिएको हुन्छ । त्यस पदार्थलाई भर्निक्स कासियोसा (Vernix caseosa) भनिन्छ । हामी त्यसलाई फोहोर ठान्ने गर्छौं । त्यसबाहेक, नवजात शिशुको शरीरमा रगत पनि लागेको हुने गर्छ ।

तर स्वास्थ्य विज्ञानले नवजात शिशुलाई नुहाइदिइहाल्नु हुन्न भनेर भन्छ । कम्तिमा पनि जन्मेको २४ घण्टासम्म ननुहाइकनै राख्नु शिशुको लागि फाइदाजनक हुने गर्छ । हामीले फोहोर भनेर ठानेको भर्निक्स कासियोसा वास्तवमा फोहार होइन, त्यो त शिशुको लागि एउटा राम्रो रक्षाकवच पो हो । त्यसले नवजात शिशुलाई बाहिरी किटाणुहरुको संक्रमण हुनबाट बचाउने गर्छ । त्यसबाहेक, भर्निक्स कासियोसामा एमिनो एसिडहरुको बन्धन हुने गर्छ, जसलाई एन्टिमाइक्रोबायल पेप्टाइड्स (Antimicrobial peptides)  भनिन्छ ।  त्यसले नवजात शिशुलाई व्याक्टेरिया र ढुसीको संक्रमण हुनबाट समेत बचाउने गर्छ ।

त्यसबाहेक, नवजात शिशुलाई जन्मनेबित्तिकै ननुहाइदिनका लागि एउटा विशेष कारण पनि छ । त्यो हो– बच्चा आमाको गर्भमा एउटा निश्चित तापक्रममा रहिरहेका हुन्छन् । जन्मपछिको बाहिरी वातावरणको तापक्रम गर्भाशयको तापक्रमभन्दा फरक नै हुनेगर्छ । त्यस अवस्थामा, शिशुलाई नुहाइदिँदा त्यो तापक्रममा निक्कै तलमाथि हुने गर्छ । त्यसरी एक्कासी फरक तापक्रम भोग्नुपर्दा बच्चाले बाहिरी तापक्रमसँग आफ्नो शरीरको तापक्रमलाई सन्तुलित तुल्याउनै सक्दैनन् । त्यसमाथि थप, नवजात शिशुका मस्तिष्क एवं स्नायु प्रणाली शरीरको तापक्रमलाई सन्तुलित तुल्याउनका लागि राम्ररी विकसित र प्रशिक्षित भइसकेको हुँदैन । यस्तो अवस्थामा बच्चालाई शिताङ्ग हुने लगायतका स्वास्थ्य समस्याहरु देखापर्न सक्छ । त्यसैले बाहिरी तापक्रमसँग बच्चालाई सन्तुलन मिलाउनका लागि आवश्यक समय प्रदान गर्नका लागि पनि जन्मनेबित्तिकै नुहाइदिनु हुँदैन ।

के गर्ने त ?

बच्चाको शरीरमा दिसा तथा रगत लागेको छ भने त्यसलाई राम्ररी पुछपाछ गरिदिनुपर्छ । तर यसरी पुस्दा शरीरमा रहेको मैनजस्तो पदार्थलाई चाहिँ पुस्नु हुँदैन । बच्चालाई न्यानो कपडामा बेरेर आमाको छात्तीमा राखिदिनुपर्छ । त्यसबाहेक, आवश्यकताअनुसार दुई घण्टाको फरकमा एक पटक बच्चालाई आमाको स्तनपान गराउनुपर्छ ।  स्तनपान गराउन नसक्ने अवस्थामा तथा बच्चाले दूध खान सकेन, जीउ लल्याकलुलुक रहने, शरीर चिसो हुने, दिसापिसाब कम गर्ने जस्ता समस्याहरु देखापरेमा तुरुन्त चिकित्सकीय उपचार गरिनु जरुरी हुन्छ ।

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।