नाजी सिपाहीलाई सम्मान, पश्चताप गर्दै सभामुखले दिए राजीनामा
गत शुक्रबार क्यानडाका संसदमा गज्जबको दृश्य देखियो । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले सम्बोधन गर्ने कार्यक्रम थियो । सो कार्यक्रममा एकजना ९८ वर्षीय बृद्धलाई युद्ध नायकको रुपमा सम्मानित गरियो । युरोस्लाभ हुन्का नाम गरेका ती बृद्धलाई रुसी अतिक्रमणविरुद्ध लडेका नायकको रुपमा चित्रित मात्र गरिएन, उनले अहिले पनि युक्रेनका सेनालाई सहयोग गरिरहेको भनेर उनको महिमामण्डन गरियो । उनको सम्मानमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडो, युक्रेनका राष्ट्रपति तथा क्यानडाका सांसदहरु उठेर ताली बजाए, भव्य स्वागत गरे ।
क्यानडाका हाउसअफ कमन्सका सभामुख एन्थोनी रोटाको विशेष सक्रियतामा उनलाई त्यसरी सम्मान गरिएको थियो ।
तर त्यो खुसी, त्यो स्वागतको न्यानो धेरै दिन टिकेन । लगत्तै क्यानडामा हल्लाखल्ला शुरु भयो । मानवाधिकारवादी संघसंस्थाहरु, यहुदीहरुका संघसंस्थाहरुले आपत्ति जनाउदै विश्वलाई अवगत गराए– ती ९८ वर्षीय बृद्ध त वास्तवमा युद्धनायक नभएर दोस्रो विश्वयुद्धताकाका युद्ध अपराधी पो रहेछन् ! उनी त हिटलरको सबैभन्दा खुंखार मानिने एसएस नाम गरेका नाजी सेनाका १४ औं वाफेन ग्रेनेडियर डिभिजनका सैनिकका रुपमा पो काम गरिसकेका व्यक्ति रहेछन् । त्यो हिटलरको त्यो विशेष सैनिक डिभिजन हो जसलाई सन् १९४६ को न्युरेम्बर्ग ट्रायलले अपराधी सङ्गठनको रुपमा घोषित गरेको थियो । त्यस डिभिजनले युद्ध अपराध तथा मानवताविरुद्ध अपराध गरेको ठहर गरेको थियो ।
एउटा नाजी युद्ध अपराधीलाई त्यो सम्मान दिनु क्यानडाको लागि सबैभन्दा ठूलो लज्जाको विषय थियो । त्यसैले क्यानडाभरि नै त्यसका विरुद्धमा आवाजहरु उठे । हिजो करताल ध्वनिका साथ थप्पडी बजाएर स्वागत गर्नेहरुले नै पनि चर्को आवाजमा संसदमा विरोध गरे । फलतः असोज ९ गते मंगलबार त्यहाँका सभासद रोटाले राजीनामा दिन बाध्य भएका छन् ।
आफ्नो ‘भयंकर भूल’ प्रति पश्चाताप गर्दै रोटाले पदबाट राजीनामा दिनेक्रममा भनेका छन्, ‘यो संसद हामी सबैभन्दा माथि छ ,त्यसैले म सभामुखको पदबाट राजीनामा दिन्छु ।’
‘ती व्यक्तिलाई सार्वजनिक अभिनन्दन गरिएको घटनाले पोल्याण्ड तथा संसारभरि रहेका नाजी उत्पीडन भोगेका र बचेकाहरु, क्यानडामा रहेका तथा संसारभरिका यहुदी समुदाय लगायतका व्यक्ति र थुपैै्र समुदायहरुलाई पीडित बनाएको छ । म ती सबै कुराहरुको पूर्णत जिम्मेवारी लिन्छु ।’
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले पनि नाजी सिपाहीलाई संसदमा सम्मान गरिएको उक्त घटनालाई ‘अत्यन्तै शर्मनाक’ भनेका छन् ।
रमाइलो कुरा के छ भने अहिले युक्रेनमा ‘विशेष सैनिक अभियान’ चलाइरहेका रुसले युक्रेनमाथि नाजीकरणको आरोप लगाउँदै आएको छ । उसले युक्रेनमा नवनाजीहरु हावी भएको र रुसीमूलकाहरुमाथि हिटलरले जस्तै जातीय सफाया अभियान चलाइरहेको आरोप लगाउँदै आएको छ । स्याल पनि कराउनु, कुखुरा पनि हराउनु भने जस्तै अहिले युक्रेनका राष्ट्रपतिकै उपस्थितिमा क्यानडाको संसदमा एक नाजी सिपाहीलाई विशिष्ट सम्मान गरिनुले रुसको भनाइलाई झनै बल पुर्याएको छ ।
Photo: aljazeera
भियतनामको सार्वभौमसत्ताको सङ्घर्षबाट सिक्नुपर्ने पाठ
कोलम्बोमा, एसियाले सार्वभौमसत्तालाई पुनः परिभाषित गर्दैछ
अर्जेन्टिना र इङ्गल्याण्डबीचको खेल 'केवल एक फुटबल म्याच' मात्र होइन
सोनम वाङ्चुक, अनशन र संवेदनहीन सरकार
नेटोको ‘प्रेम’ शिखर सम्मेलन पछाडिका आठ विरोधाभासहरू
भू-राजनीतिक भूमरीमा पश्चिम एशिया: हर्मुजको अस्तव्यस्तता र विश्वव्यापी सुरक्षाको …
थामिएको युद्ध पुनः ब्युँतियो: अमेरिका-इरान टकरावले पश्चिम एशियामा निम्त्याएको…
प्रतिक्रिया