तौल घटाउन खान थाल्नुस् यी पाँच फलफूल

निर्विवाद सत्य के हो भने फलफूलहरुको सेवन शरीरको लागि स्वस्थकर हुन्छ।

आधुनिक जीवनशैलीले मानिसलाई दिएको सबैभन्दा ठूलो समस्यामध्ये एक हो मोटोपन। मोटोपनले दैनिक जीवनलाई कष्टकर बनाउने मात्रै होइन, त्यसले थुप्रै थरीका रोगहरुलाई पनि निम्तो दिइरहेको हुन्छ।

मानिस मोटाउनुका पछाडि थुप्रै कारणहरु हुन्छन्। तीमध्येका एक प्रमुख कारण चाहिँ अस्वस्थकर, असन्तुलित र अनियन्त्रित खानेकुरा खानु पनि हो। त्यसैले मोटोपन घटाउन कष्टकर शारीरिक अभ्यास एवं व्यायामहरुमा भन्दा खानपिनमा विशेष ध्यान दिनु जरुरी हुन्छ।

थुप्रै अध्ययनहरुले स्थापित गरेको निर्विवाद सत्य के हो भने फलफूलहरुको सेवन शरीरको लागि स्वस्थकर हुन्छ। यसै मेसोमा विज्ञहरुले शरीरको तौल घटाउन पनि फलफूल सहायक सिद्ध हुने तथ्य औंल्याएका छन्। ती फलफूल फलफूलहरु यसप्रकार छन्–

 

एभाकाडो

शरीरको तौल सन्तुलित बनाउन उपयोगी प्रमुख फलहरुको सूचीमा एभाकाडो पहिलो नम्बरमा आउँछ। पोषणले भरिपूर्ण यो फलको नियमित सेवनले मुटुसम्बन्धी रोगहरुबाट बचाउने कुरा सन् २०२२ मा गरिएको एक अध्ययनले देखाएको छ। अमेरिकी हार्ट एसोसिएसनको जर्नलमा सो अध्ययन रिपोर्ट प्रकाशित छ। त्यसैगरी सन् २०२१ मा गरिएको अर्को अध्ययनले पनि एभाकाडोले महिलाको कम्मर वरिपरि जम्मा हुने बोसोलाई घटाउन सहयोग गर्ने देखाएको छ।

एभाकाडोको फाइदा जानेरै अहिले पश्चिमा मुलुकहरुमा यसको लोकप्रियता र खपत निक्कै बढ्दै गइरहेको छ।

स्ट्रबेरी

तौल घटाउन सहयोग पुर्याउने फलको सूचीमा स्ट्रबेरीको पनि नाम आउँछ। यसबारेमा व्यवस्थित अध्ययनहरु त भएका छैनन् तर यसमा पाइने पोषणहरुको सूची हेर्दा विज्ञहरुले यो फल पनि तौल घटाउन उपयोगी हुने दाबी गर्दै आइरहेका छन्। स्ट्रबेरीमा प्रचुर मात्रामा घुलनशील फाइबर तत्त्वहरु पाइन्छन्। त्यसैगरी, एन्टिअक्सिडेन्टको पनि खानी मानिने स्ट्रबेरीमा कम मात्रामा गुलियोपना र क्यालोरी हुन्छ।

क्रिटिकल रिभ्युज इन फुड साइन्स एण्ड न्युट्रिसन जर्नलमा प्रकाशित एक समीक्षामा स्ट्रबेरी खानुका फाइदाबारे उल्लेख गरिएको छ। एन्टिइन्फ्लेमेटोरी (सुन्निने र दुख्ने समस्यालाई कम गर्ने) गुण समेत भएको यो फलले रगतमा चिनीको मात्रामा कम गर्ने तथा मुटुको रोगहरु लाग्नबाट समेत बचाउने गर्छ।

खरबुजा

तौल घटाउन वा शरीरको तौल बढ्न नदिनको लागि खानुपर्ने फलफूलको सूचीमा पर्ने अर्को फल हो– खरबुजा।

गर्मी मौसममा शीतलता प्रदान गर्ने, तिर्खा मेटाउने तथा शरीरमा पानीको आपूर्तिलाई सन्तुलित राख्ने फलको नाम हो खरबुजा। सन् २०१९ मा जर्नल न्युट्रिएन्ट्समा प्रकाशित एक अध्ययन रिपोर्टका अनुसार खरबुजाले शरीरको उचाइको अनुपातमा हुनुपर्ने शरीरको जम्मा तौल, कम्मर भागको अनुपात तथा माथिल्लो रक्तचापलाई नियन्त्रित गर्न भूमिका निर्वाह गर्छ।

अत्यन्तै पोषणदायी फल मानिने खरबुजामा ९२ प्रतिशत पानी हुन्छ। बाँकी भाग चाहिँ ठोस हुने गर्छ। अत्यधिक मात्रामा झोलिलो हुने यो फल भिटामिन र मिनरलहरुले भरिपूर्ण हुने गर्छ। यसमा भिटामिन ए, भिटामिन बी६ र सी, लाइकोपिन, एमिनो एसिड, पोटासियम, शरीरको विकारलाई नष्ट गरिदिने एन्डिअक्सिडेन्ट जस्ता तत्त्वहरु पाइन्छन्।

भोगटे

अत्यन्तै रसिलो र स्वादिलो हुने, सुन्तला र कागतीको स्वादको मिश्रणको अनुभूति दिने भोगटे भिटामिन, मिनरल र पोषणले भरिपूर्ण हुने गर्छ। जोन हप्किन्स मेडिसिनका अनुसार यो फलले शरीरको इन्फ्लेमेसन घटाउन तथा रक्तचापलाई सन्तुलित राख्न सहयोग गर्छ।

भोगटेमा प्रशस्त मात्रामा फाइबर पनि पाइन्छ। यसले आन्द्रालाई स्वस्थ राख्न पनि सहयोग गर्छ। भोगटेले आन्द्रामा हितकारी ब्याक्टेरियाहरुको वृद्धिमा सहयोग गर्छ। त्यसबाहेक, यसले खराब कोलेस्ट्रोल बढ्न दिँदैन। भोगटेको सेवन गरेपछि हामीलाई अघाएको अनुभूति हुन्छ, चाँडोचाडो भोक लाग्न दिँदैन। शरीरमा खानेकुराको अनावश्यक खपत नभएपछि स्वाभाविक रुपमा त्यसले शरीरको तौललाई बढ्न पनि दिँदैन।

भुइँकटहर

तौल घटाउन वा मोटोपन हुन नदिन अर्को उपयोगी फल हो भुइँकटहर।

पोषणको खानी भुइँकटहरको नियमित सेवनले हाम्रो पाचन प्रणालीलाई नियमित र स्वस्थ राख्न सहयोग गर्छ। यसले आन्द्राको क्यान्सरको जोखिमलाई पनि कम गर्छ।

भुइँकटहरमा तौल घटाउन सघाउने गुण पनि हुन्छ। सन् २०१८ मा प्रकाशित एक अध्ययन रिपोर्टका अनुसार, भुइँकटहरमा बोसो काट्ने गुण हुन्छ। यसले अत्यधिक चिल्लो र बोसोयुक्त खानेकुराहरुका कारण हुने मोटोपनलाई नियन्त्रण गर्ने गर्छ।

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।