वाम वैचारकीमा देखापरेको खडेरी र यसप्रतिको वितृष्णा: चिर्ने कसरी ?
दायित्वबोध अनलाइनको आगामी बाटोबारे समीक्षा भेलाको रिपोर्ट
यतिखेर नेपालमा वाम वैचारिकीको पक्षमा सुसंगठित बहस–चिन्तन र प्रकाशनको ठूलो खडेरी छ । आम जनता र अझ विशेष गरी युवा पुस्ताको ठूलो हिस्सामा वाम वैचारिकीप्रतिको वितृष्णा भयानक ढङ्गले बढेर गएको छ । यस्तो प्रतिकूल परिस्थितिबीच वाम वैचारिकी र समाजवादी चिन्तनको पक्षपोषण गर्दै दायित्वबोध अनलाइन विगत तीन वर्ष बढी समयदेखि निरन्तर प्रकाशित हुँदै आइरहेको छ ।
अहिलेको बदलिएको परिस्थितिमा दायित्वबोध अनलाइनलाई कसरी अगाडि बढाउनु तथा यसले के कस्ता सामग्रीहरु प्रकाशित गर्नु जरुरी छ भन्ने विषयमा मूलत: केन्द्रीत रही गत हप्ता एक छलफल कार्यक्रमको आयोजना गरेको थियो । दायित्वबोधका सल्लाहकार सम्पादक सीताराम भट्टराईले सहजीकरण गरेको सो कार्यक्रममा स्वागत मन्तव्य प्रधान सम्पादक चन्द्र खाकीले राखेका थिए । प्रस्तुत छ: सोही अवसरमा वक्ताहरुले व्यक्त गरेका विचारहरुको सारसंक्षेप ।
श्याम श्रेष्ठ
नेपालको कम्युनिष्ट आन्दोलन इतिहासकै सबैभन्दा कमजोर स्थितिमा पुगेको वर्तमान अवस्थामा ‘दायित्वबोध अनलाइन’ जस्ता डिजिटल प्लेटफर्महरू अझ सशक्त रूपमा सञ्चालन गर्नुपर्छ। विचारले नै मानिसलाई निर्देशित गर्ने भएकाले नयाँ पुस्तालाई सही बाटो देखाउन र विचार निर्माण गर्न यस्ता मञ्चहरूको भूमिका अपरिहार्य हुन्छ।
यो प्लेटफर्म कुनै एक दलको मात्र नभई नेपाललाई अग्रगामी तथा आमूल परिवर्तनको दिशामा लैजान चाहने श्रमिक, दलित, जनजाति, महिला र मधेसी समुदाय लगायत सबै उत्पीडित वर्गको साझा आवाज बन्नुपर्छ। यसले देशलाई सही मार्गनिर्देशन गर्न दर्शन, अर्थशास्त्र, समसामयिक राजनीति र विश्व कम्युनिष्ट आन्दोलन जस्ता विषयहरू समेटेर प्रभावकारी स्तम्भहरू निर्माण गर्नुपर्दछ।

कुनै एक दलको मात्र नभई नेपाललाई अग्रगामी तथा आमूल परिवर्तनको दिशामा लैजान चाहने श्रमिक, दलित, जनजाति, महिला र मधेसी समुदाय लगायत सबै उत्पीडित वर्गको साझा आवाज बन्नुपर्छ।
पत्रपत्रिका पढ्ने चलन घटेको यस डिजिटल युगमा अनलाइन माध्यमलाई प्रभावकारी बनाउन हामी सबैले आआफ्नो क्षेत्रबाट ज्ञान, सीप र लेख-रचनाका माध्यमबाट योगदान दिनु जरुरी छ। यसलाई सहकारी मोडल वा उपयुक्त ट्रस्ट मोडलमार्फत संस्थागत गर्दै दीर्घकालीन रूपमा टिकाउन सबैको साझा सहकार्य, आर्थिक-नैतिक सहयोग र ठोस सुझाव आवश्यक छ। ‘दायित्वबोध’ ले आफ्नो नाम र उद्देश्य अनुरूप उत्पीडित वर्गको पक्षमा गहिरो वैचारिक बहस र नेतृत्व प्रदान गर्नुपर्छ।
लीलामणि पौडेल
म एक निवृत्त कर्मचारी हुँ। विद्यार्थी कालमा वामपन्थी राजनीतिमा संलग्न रहे पनि म आफूलाई कुनै ठुलो ज्ञाता वा विद्वान ठान्दिनँ। मेरो विचारमा यस्ता बौद्धिक छलफललाई उत्पादक र व्यवस्थित बनाउन आयोजकले पहिल्यै विषयवस्तुको स्पष्ट खाका उपलब्ध गराउनुपर्छ, जसले वक्ताहरूलाई परिपक्व धारणा राख्न मद्दत पुर्याउँछ।

पुराना विषयहरूको पुनरुत्पादनले मात्र आजको युवा पुस्तालाई आकर्षित गर्न सक्दैन।
वर्तमान समयमा वैचारिक खडेरी देखिएको छ। पुराना विषयहरूको पुनरुत्पादनले मात्र आजको युवा पुस्तालाई आकर्षित गर्न सक्दैन। तसर्थ, समसामयिक समाजका जड समस्याहरूलाई वर्गीय दृष्टिकोणबाट विश्लेषण गरी भविष्योन्मुख बाटो देखाउन सक्ने नवीन विचारहरू उत्पादन गरिनुपर्छ। यद्यपि, सीमित व्यक्तिहरूको बौद्धिक प्रयास र प्रकाशनले मात्र समाज रूपान्तरण सम्भव नहुने भएकाले वैचारिक बहसलाई तल्लो तहसम्म पुर्याउन र युवाहरूलाई जोड्न राजनीतिक दलहरूसँगको सहकार्यमा व्यापक अभियान र स्कुलिङ सञ्चालन गरिनुपर्छ।
डा. अरुणा उप्रेती
हामीले जहिले पनि पुँजीवादको मात्र विरोध गर्ने तर त्यसको सम्बल र आर्थिक सहयोगबिना आफ्ना कार्यक्रम पनि सञ्चालन गर्न नसक्ने विरोधाभासपूर्ण अवस्थाबारे सोच्नुपर्छ। त्यसैले शब्दहरूको चयनमा अझ विचार पुर्याउनु आवश्यक छ। भारतको इतिहास हेर्दा पनि आफ्नै आन्तरिक कमजोरी र तुच्छ आपसी विवादका कारण राम्रो अवस्था खत्तम भएको पाइन्छ, जुन नेपालको कम्युनिस्ट आन्दोलनमा पनि लागू हुन्छ।

अबको समयमा केवल गरिब र दलितका मात्र कुरा गरेर हुँदैन, तमाम समस्यामा रहेका मध्यमवर्गीय र निम्न मध्यमवर्गीय जनताका अनेकौँ समस्यालाई पनि यो 'दायित्वबोध' प्लेटफर्ममार्फत उजागर गर्न सकिन्छ जस्तो मलाई लाग्छ।
पहिला कम्युनिस्टहरू आलोचना सुन्नै नचाहने प्रवृत्तिका थिए, तर अहिले हामीमा समस्या छ भनेर आलोचनात्मक रूपमा स्वीकार गर्ने दायित्वबोध हुनु सकारात्मक पक्ष हो। यसमा हामीले मात्र बोलेर पुग्दैन, यहाँ उपस्थित रघुजी जस्ता नेताहरूको विचार पनि सुन्नुपर्छ। अबको समयमा केवल गरिब र दलितका मात्र कुरा गरेर हुँदैन, तमाम समस्यामा रहेका मध्यमवर्गीय र निम्न मध्यमवर्गीय जनताका अनेकौँ समस्यालाई पनि यो 'दायित्वबोध' प्लेटफर्ममार्फत उजागर गर्न सकिन्छ जस्तो मलाई लाग्छ।
डा. शरद वन्त
वाम वैचारिक बहस भएकै छैन भन्ने धारणासँग म सहमत छैन; बहस भइरहेका छन्, तर टुक्रा, कोठा र झुन्डमा सीमित छन्। ती बहसहरूले एकरूपता, निष्कर्ष र सतहमा आउने अवसर नपाएका मात्र हुन्। त्यसैले केही पनि भएको छैन भनेर निराश हुनुपर्ने अवस्था छैन, किनकि यिनै बहसको एउटा नतिजास्वरूप दायित्वबोधको स्थापना भएको हो र यसलाई निरन्तरता दिनुपर्छ।
हिजोको तुलनामा आज बहसबाट छिट्टै एकरूपतामा पुग्न कठिन देखिन सक्छ, किनकि हामीभित्रै विचारको विविधता र मतभिन्नता बढेको छ। तर हतारिएर निष्कर्षमा पुग्नुभन्दा यो विविधतालाई सकारात्मक रूपमा लिनुपर्छ; यसले दृष्टिकोणको क्षितिज फराकिलो बनाउँछ। हामीभित्रको फरक मत अन्तरविरोधी होइन, त्यसैले फरक मतलाई राखेरै संवाद र बहस अघि बढाउनुपर्छ।

हिजोको तुलनामा आज बहसबाट छिट्टै एकरूपतामा पुग्न कठिन देखिन सक्छ, किनकि हामीभित्रै विचारको विविधता र मतभिन्नता बढेको छ।
आजको बहस राष्ट्रिय तहमा मात्र सीमित नभई क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा समेत चलिरहेको छ। यस्तो अवस्थामा देशभित्रका बहसलाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय अवसरसँग जोड्दै विचार विस्तार गर्ने, साझा बुँदामा पुग्ने र त्यसमा योगदान पुर्याउने सम्भावना पनि उत्तिकै छ। दायित्वबोधजस्ता माध्यमले यिनै विहङ्गम र विविध बहसलाई सतहमा ल्याएर सार्थक निष्कर्षतर्फ लैजान महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्।
डा. बिन्दू शर्मा
दायित्वबोधका लागि आर्थिक चुनौतीभन्दा पनि उपयुक्त सामग्रीको अभाव र परम्परागत प्रस्तुतिशैली प्रमुख समस्या हो। परम्परागत तरिकाले सामग्री मात्र राख्दा पाठकसम्म पुग्न कठिन हुने हाम्रो अनुभव छ, त्यसैले पाठक आकर्षित गर्ने नयाँ रणनीति आवश्यक छ।
विचारधारा निर्माणमा साहित्यको योगदान महत्त्वपूर्ण हुन्छ, तर दायित्वबोधमा साहित्यिक सामग्री कम देखिएका छन् । साहित्यलाई सिधै छाप्नुको सट्टा अहिले उपलब्ध स्टुडियो र मल्टिमिडिया प्रयोग गरेर प्रस्तुत गर्न सकिन्छ। मल्टिमिडियाको उपयोग गर्दै नयाँ पुस्तालाई साहित्य र सङ्गीतमार्फत जोड्न सकिन्छ। बाहिरबाट साहित्य र सङ्गीत 'सुगर कोटेड' देखिए पनि मूलतः यसले विचार नै सम्प्रेषण गर्ने हो।

परम्परागत तरिकाले सामग्री मात्र राख्दा पाठकसम्म पुग्न कठिन हुने हाम्रो अनुभव छ, त्यसैले पाठक आकर्षित गर्ने नयाँ रणनीति आवश्यक छ।
यसका लागि नयाँ पुस्ताका कवि–गीतकारका सिर्जना र तिनको वैचारिक बहसलाई अघि बढाउनुपर्छ भने पुराना स्रष्टाका रचनालाई मल्टिमिडियामार्फत पुनः प्रस्तुत गर्न सकिन्छ। साथै, पछिल्लो समय लोकप्रिय बन्दै गएको पोडकास्टको सम्भावना पनि खोज्न सकिन्छ। यस्ता माध्यम अपनाउँदा बहस अझ प्रभावकारी बन्न सक्छ ।
डा. विमल फुँयाल
म विकास अर्थराजनीतिका साथै औपचारिक तथा अनौपचारिक शिक्षाको एक्सन रिसर्चमा संलग्न छु । मैले ‘दायित्वबोध’का सामग्रीहरू दोहोर्याएर पढ्ने गरेको छु । तर अबको ऐतिहासिक परिवेश, नेपाली समाज र विश्वसँगको सम्बन्धको खड्कोमा उभिएर हामी वैचारिक रूपमा अद्यावधिक हुन जरुरी छ ।
आजको समाज र आन्दोलनले खोजेको तत्कालिन प्रगतिशील रूपान्तरण के हो भन्नेमा केन्द्रित हुनुपर्छ ।
मार्क्स वा लेनिनका पुराना सन्दर्भ र ‘समाजवादी शिक्षा’ जस्ता दूरगामी आदर्शको आ–आफ्नै महत्त्व छ, तर आजको समाज र आन्दोलनले खोजेको तत्कालिन प्रगतिशील रूपान्तरण के हो भन्नेमा केन्द्रित हुनुपर्छ । वर्तमान सरकारसमेत पुरानै घेरामा घुमिरहेको र शिक्षा, कृषि, स्वास्थ्य तथा अर्थतन्त्रमा वैचारिक रूपमा स्पष्ट नदेखिएको अवस्थामा हामीले प्रमाणमा आधारित (एभिडेन्स बेस्ड) आलोचनात्मक विश्लेषणसहितका सामग्री उत्पादन गर्नुपर्छ ।
म शिक्षालाई राजनीति, अर्थतन्त्र र संस्कृतिसँग जोडिएको समाज विज्ञानका रूपमा हेर्छु । देशको प्रगतिशील विकासका लागि सार्वजनिक शिक्षालाई बलियो बनाउनुपर्छ र औपचारिक–अनौपचारिक दुवै तहका संवादमा ‘क्रिटिकल–क्रिएटिभ पेडागोजी’ (आलोचनात्मक तथा सिर्जनात्मक शिक्षण पद्धति) अपनाउनुपर्छ ।
मुकुन्द जोशी
सङ्गठन जुनसुकै संरचनामा रहे पनि यसको मिसन र उत्पादन स्पष्ट हुनुपर्छ । म आफूलाई वामपन्थी वा कम्युनिस्टभन्दा पनि समाजवादी (सोसलिस्ट) मान्छु किनभने ‘वामपन्थी’ भन्ने शब्दलाई स्पष्ट परिभाषित नगरी जे गरे पनि त्यही हुने अवस्था रहन्छ । हामीले कस्तो विचार निर्माण गर्ने हो, त्यो ठोस रूपमा स्पष्ट हुनुपर्छ ताकि त्यसैलाई मापदण्ड बनाएर मूल्याङ्कन गर्न सकियोस् ।

हामीले सधैँ राजनीतिक प्रणाली फेरिएपछि अर्थतन्त्र र संस्कृति आफैँ बदलिन्छ भन्ने भ्रममा राजनीतिक आन्दोलनलाई मात्र प्राथमिकता दियौँ, तर संस्कृतिको पाटोलाई बेवास्ता गर्यौँ ।
सङ्गठन टिकाउन वित्तीय व्यवस्थापन पारदर्शी र कानुनसम्मत हुनुपर्छ, जसले विश्वास र स्वतःस्फूर्त योगदान जन्माउँछ । मेरो मापदण्डमा पहिलो समाज र समाजवाद हो, व्यक्ति दोस्रो । समाजको हितमा हुने कामलाई म समर्थन गर्छु र व्यक्तिवाद हाबी हुँदा आलोचना गर्छु । हामीले सधैँ राजनीतिक प्रणाली फेरिएपछि अर्थतन्त्र र संस्कृति आफैँ बदलिन्छ भन्ने भ्रममा राजनीतिक आन्दोलनलाई मात्र प्राथमिकता दियौँ, तर संस्कृतिको पाटोलाई बेवास्ता गर्यौँ । विचारको स्पष्टता, सङ्गठन व्यवस्थापन र पारदर्शितामा ध्यान दिँदै म लेखेर वा बोलेर नभए पनि मबाट सम्भव हुने जुनसुकै सहयोग यो प्लेटफर्मलाई निरन्तर गर्नेछु ।
केशव सिलवाल
दायित्वबोध अनलाइनको भावी योजना, आर्थिक पक्ष र निरन्तरताको विषय गम्भीर छ। यसको अध्ययन गर्दा यो राम्रो प्रयास लागे पनि राजनीतिक तथा वैचारिक आन्दोलन कमजोर हुँदा नयाँ पुस्ताको आगमन रोकिएको र हामी खुम्चिएको अवस्था छ। विशेष गरी जेनजी आन्दोलनपछि युवाहरूमा वाम विचारप्रतिको स्खलन र विमुखता देखिँदा पार्टीहरूमा नयाँ पुस्ताको प्रवेश घटेको छ। पाठक र दर्शकको दायरा तल्लो तहसम्म नपुगेसम्म निरन्तरता कठिन हुन्छ र निराशा बढ्न सक्छ।

राजनीतिक तथा वैचारिक आन्दोलन कमजोर हुँदा नयाँ पुस्ताको आगमन रोकिएको र हामी खुम्चिएको अवस्था छ।
नयाँ पुस्तालाई वैचारिक बहसमा जोड्न दुईवटा योजना आवश्यक छन्। पहिलो, अतिवादी पक्षधरता वा विरोधभन्दा माथि उठेर न्यूनतम साझा बुँदामा आधारित बृहत्तर छलफल गर्नुपर्छ; मार्क्सवादप्रति आस्था राख्ने तर आन्दोलनबाट निराश युवालाई पनि समेट्न सक्नुपर्छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गहन वैचारिक गोष्ठीको अभावमा अल्गोरिदमले युवालाई अन्तै लैजाने हुँदा हामी पनि प्रभावकारी प्रचार र युवा-विद्यार्थी लक्षित ठूला कार्यक्रममा जानुपर्छ।
लोकबहादुर थापा
हामी अगुवाहरूको लेखन, चिन्तन र बोली एकातिर छ भने जीवन व्यवहार अर्कैतिर छ। एकातिर भौतिकवादी लेखन छ, अर्कोतिर मृत्युपछि गरुड पुराण लगाउने व्यवहार छ। समाज अन्धविश्वासले ग्रस्त छ, जसले शोषित-पीडित जनतालाई नै हानि पुर्याएको छ। त्यसैले सांस्कृतिक रूपले चेतना ल्याउनु आजको मुख्य आवश्यकता हो।

विविध सामाजिक, सांस्कृतिक र भाषिक उत्पीडनका मुद्दाहरूमध्ये कुनलाई प्रधान र कुनलाई सहायक बनाएर अघि बढ्ने भन्ने स्पष्ट निर्क्यौल गर्दै लेखन र व्यवहारमा एकरूपता ल्याउन जरुरी छ।
समाजवाद र समाज विकासको कुरा गर्दा मध्यम वर्गलाई नछोडीकन गाँस-बासको समस्या भोगिरहेका, क्षेत्रीय र सामाजिक विभेदमा परेकाहरूको आवाज बुलन्द गर्नुपर्छ। 'मिसन' लाई अमूर्त मन्त्र नबनाई अन्धविश्वास र विभेदमा जकडिएका समुदायको मनोविज्ञान बुझेर ठोस रूप दिनुपर्छ। देश छुवाछुत मुक्त घोषित भए पनि व्यवहारमा उत्रिएको छैन; कमैया र हलियाका समस्या अझै बाध्यताका रूपमा विद्यमान छन्। त्यस्तै, प्रदेशहरूमा सरकारी कामकाजको भाषासम्बन्धी ऐन बने पनि कार्यान्वयन भएको छैन, र समुदायमा मातृभाषाप्रतिको आकर्षण घट्दो छ।
यस्ता विविध सामाजिक, सांस्कृतिक र भाषिक उत्पीडनका मुद्दाहरूमध्ये कुनलाई प्रधान र कुनलाई सहायक बनाएर अघि बढ्ने भन्ने स्पष्ट निर्क्यौल गर्दै लेखन र व्यवहारमा एकरूपता ल्याउन जरुरी छ। म यस अभियानमा पूर्ण रूपमा सहभागी भई योगदान गर्न तयार छु।
डा. हेमन्तराज जोशी
अहिले समाज र आफूलाई वामपन्थी वा कम्युनिस्ट भन्ने पार्टीहरूमा विचारको सबैभन्दा ठूलो खडेरी र स्खलन देखिएको छ। सत्तामा रहँदा उनीहरू यति नदेख्ने र नसुन्ने भए कि कसैको कुरा सुन्नै चाहेनन्। दुई वर्षअघि नै सङ्गठनमार्फत दुई-ढाई वर्षभित्र कम्युनिस्टहरू सिद्धिने संश्लेषण गरिएकै थियो, र नभन्दै भदौ २३-२४ को घटना आयो। यस्तो अवस्थापछि पनि पार्टीहरू पुरानै ढर्रामा अघि बढ्ने कुरा गरिरहेका छन्।

पुराना र जर्जर प्रवृत्तिलाई होइन, नयाँ मुनालाई अगाडि ल्याउनुपर्छ तथा वैचारिक भाष्य र दर्शनलाई अघि बढाउनुपर्छ भन्ने मलाई लाग्छ।
अब दायित्वबोधले पुराना र जर्जर प्रवृत्तिलाई होइन, नयाँ मुनालाई अगाडि ल्याउनुपर्छ तथा वैचारिक भाष्य र दर्शनलाई अघि बढाउनुपर्छ भन्ने मलाई लाग्छ। यस अभियानमा म लेख लेखेर र सकेको आर्थिक सहयोग गरेर योगदान गर्न तयार छु।
जटील कार्की
कम्युनिस्ट आन्दोलनको बेहालतलाई उचाइ दिन र वैचारिक बहस अघि बढाउन हामी सबैले सकेको सहयोग गरेर दायित्वबोधलाई जोगाउनै पर्छ।

वैचारिकी, नारा र एजेन्डाहरूलाई युवामैत्री र परिणाममुखी ढङ्गले प्रस्तुत गर्न दायित्वबोधले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।
वाम आन्दोलनमा गति ल्याउन यसलाई नयाँ पुस्तासँग जोड्नुपर्छ, जहाँ ३० वर्षमुनिका युवाको उपस्थिति नगण्य छ। आजको पुस्ता लामो कुराभन्दा ठोस 'टु-डु लिस्ट' र तत्काल परिणाम खोज्ने खालको देखिन्छ। त्यसैले वैचारिकी, नारा र एजेन्डाहरूलाई युवामैत्री र परिणाममुखी ढङ्गले प्रस्तुत गर्न दायित्वबोधले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।
राम कार्की
अहिले दायित्वबोध अनलाइनले विश्वका विभिन्न आन्दोलनसम्बन्धी सामग्री दिइरहे पनि पाठक निर्माणमा पार्टीहरूले भूमिका नखेलेको अवस्था छ। विगतमा साहित्य र लेखहरूले पाठक तथा बहस सिर्जना गर्थे; अब दायित्वबोधले आफैँ पाठक तयार पार्ने र लेख सँगालो ल्याउने गरी चरित्र बदल्नुपर्छ। ब्रेख्तको भनाइझैँ विचारलाई कार्यक्रममा ढाल्दा प्रश्न उठ्छन्, त्यसैले सम्पादकीयलाई कम्युनिस्ट गुटभन्दा माथि साझा राखी एउटा स्पेस भने 'निरामिष' अर्थात् तीखो बहस र पोलिमिक्सका लागि छुट्याउनुपर्छ।

हामीभित्र मतभिन्नता र विभाजनको प्रवृत्ति रहे पनि दायित्वबोधमार्फत सँगै बसेर तीखो वैचारिक वादप्रतिवाद गर्ने नयाँ संस्कृति सुरु गर्न सकिन्छ।
राजनीतिक पार्टीहरूलाई झट्का नदिएसम्म पाठक बढ्दैनन् र उद्देश्य पूरा हुँदैन। कम्युनिस्ट पार्टीको कार्यदिशा, व्यवहारमा नउत्रिएको लेनिनवादको व्याख्या, लेनिन र बागदानोभको बहस तथा नेपालका वामपन्थी दलमा माओको प्रभाव र विश्वभरका माओवादको प्रयोगको समीक्षाजस्ता विषयमा विहङ्गम बहस थाल्नुपर्छ। विचार फलाम हो भने राजनीति त्यसका ज्यावल हुन्; ती ज्यावल बनाउनुपर्छ।
हामीभित्र मतभिन्नता र विभाजनको प्रवृत्ति रहे पनि दायित्वबोधमार्फत सँगै बसेर तीखो वैचारिक वादप्रतिवाद गर्ने नयाँ संस्कृति सुरु गर्न सकिन्छ। अहिले स्वतन्त्र वा आन्दोलनबाट निराश वर्गले मात्र पढिरहेकाले कार्यदिशा र औचित्यमाथिको बहसले पाठक बढाउँछ।
राजेन्द्रप्रसाद अधिकारी
छलफलमा धेरै विषय उठेका छन्, तर मूल उद्देश्य बिर्सेर बौद्धिकता देखाउन थाल्दा हामी त्यसैमा अलमलिन सक्छौँ। अघिल्लो भेलादेखि आजसम्म आइपुग्दा निरन्तरता नदेखिएकाले तेस्रो भेला पनि यस्तै रहे हामी कतै पुग्दैनौँ। त्यसैले पहिलो कुरा, दायित्वबोधले खोजेको के हो भन्नेमा यो आफैँ स्पष्ट हुनुपर्छ।

अँध्यारो रातमा ढोका ढकढक्याउँदा जसले 'ह' भन्छ, उसैले खोल्नुपर्छ भनेझैँ अब तपाईंहरूले नै सुरुवात गर्नुपर्छ।
दोस्रो, दायित्वबोध प्रा.लि.का रूपमा आएको छ र यसलाई कम्तीमा तीनदेखि पाँच वर्ष तीन जनामै सीमित राख्दा उचित हुन्छ। यो प्रशंसा पत्र पाउने वा ठूला कुरा गरेर बडाबढ गर्ने ठाउँ होइन; सहयोग गर्न बाटो खुला छ तर केमा र कस्तो सहयोग चाहियो भन्नेमा आयोजक स्पष्ट हुनुपर्छ। आफ्नो रचना छापिदिन मात्र जोड नदिई सबैले साझा प्लेटफर्मका रूपमा लिनुपर्छ।
अँध्यारो रातमा ढोका ढकढक्याउँदा जसले 'ह' भन्छ, उसैले खोल्नुपर्छ भनेझैँ अब तपाईंहरूले नै सुरुवात गर्नुपर्छ। साहित्य, दर्शन र वाम समाजवादको यो अवस्था हामी आफैँले ल्याएकाले आत्मसमीक्षा र 'अनलर्निङ' नगरेसम्म अघि बढ्न सकिँदैन। बन्द नै गर्ने भए किन दुःख गरिरहने, तर अघि बढाउने हो भने स्पष्टतासहित जाऔँ; मेरो सकेको सहयोग सधैँ रहनेछ।
वेदराज ज्ञवाली
समाजमा प्रभाव पारिरहेको सङ्कट र विशेष गरी प्रगतिशील तथा वामपन्थी आन्दोलनमा देखिएको सङ्कटको घडीमा दायित्वबोधले चालेको पहलकदमी निकै सराहनीय छ।

व्यवहारकै क्रममा के गर्न सकिन्छ र के सकिँदैन भन्ने निर्धारण हुने भएकाले आफ्नो तर्फबाट गर्न सक्ने जति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।
वामपन्थी आन्दोलनको शुभचिन्तक हुनुको नाताले म पूर्ण रूपमा साथमा छु। व्यवहारकै क्रममा के गर्न सकिन्छ र के सकिँदैन भन्ने निर्धारण हुने भएकाले आफ्नो तर्फबाट गर्न सक्ने जति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।
याम बहादुर किसान
पहिला 'मूल्याङ्कन' पढेको अनुभवले यहाँ आएको हुँ; दायित्वबोध मूल्याङ्कनकै निरन्तरता हो कि भन्ने लाग्यो। सुरुको लेआउट, लोगो हेर्दा पहिलो प्रभावमा वामपन्थी लाइन झल्किँदैन; सबैलाई जोगाउने र दुवैतिर तानिने प्रवृत्तिले अलमल हुन्छ। वामपन्थकै लाइनमा जाने हो भने लोगो, डिजाइन र पहिलो पृष्ठमै स्पष्ट वामपन्थी स्वरूप देखिनुपर्छ।

सत्तामा नहुँदा मात्र भेला हुने र सत्तामा हुँदा सबथोक पुगेको ठान्ने प्रवृत्तिले निरन्तर वैचारिक बहस रोकिने गरेको छ ।
आर्थिक सुदृढीकरणका विषयमा विज्ञता नभए पनि २०४६ सालदेखि सत्तामा रहेका तथा चीनको अनुभव बोकेका व्यक्तित्वहरूबाट सुझाव लिन सकिन्छ। सबैलाई खुसी पार्ने साझापनभन्दा आफैँ, आफ्ना समूह र वैचारिक लाइनप्रति निर्मम र आलोचनात्मक (क्रिटिकल) बन्न सके मात्र यसले धार समात्न र बौद्धिक योगदान दिन सक्छ।
सत्तामा नहुँदा मात्र भेला हुने र सत्तामा हुँदा सबथोक पुगेको ठान्ने प्रवृत्तिले निरन्तर वैचारिक बहस रोकिने गरेको छ; मूल्याङ्कनमा पनि यही निरन्तरताको अभाव देखियो। सत्तामा हुँदा पनि नहुँदा पनि बहसलाई 'अन-एन्ड-अफ' होइन, निरन्तर चलाउनुपर्छ। पत्रिकाको स्वरूप र संरचनाबारे अङ्कहरू अध्ययन गरी छुट्टै छलफल आवश्यक छ। म निःशुल्क लेख उपलब्ध गराउन तयार छु।
गणेश विक
म दलित र भूमि अधिकार आन्दोलनमा संलग्न छु। दायित्वबोध पढ्दा 'मूल्याङ्कन' कै झल्को आए पनि पुराना नेताहरूलाई गाली गर्दै उस्तै 'मूल्याङ्कन' दोहोर्याएर मात्र पुग्दैन; हामी पनि नयाँ हुनुपर्छ। जनता टेलिभिजन, कृषि रूपान्तरण अभियान, मानव अधिकार संरक्षण मञ्च र टङ्कप्रसाद आचार्य प्रतिष्ठानलगायतका संस्थागत अनुभवहरू प्रायः तितो रहेकाले एकातिर डिजिटल र प्रतिस्पर्धी रूपमा व्यावसायिक बन्नु र अर्कातिर वाम आन्दोलनको चुनौती सामना गर्नु जरुरी छ।

जेनजी विद्रोहपछि वाम आन्दोलनमाथि आक्रमण भइरहेका बेला आन्दोलनबाट निस्किएर वाम दलहरूलाई नै चर्को गाली गर्दा आन्दोलन झन् कमजोर भई अरूलाई खेल्ने ठाउँ मिल्छ कि भन्ने समीक्षा गर्नुपर्छ।
भूमि सुधार किन सेलायो, कृषि-औद्योगिक क्रान्ति र वैज्ञानिक शिक्षा कहाँ पुगे, अनि दलित, महिला र जनजाति मुद्दामा हाम्रो स्पष्ट धारणा के हो भन्ने समीक्षा आवश्यक छ। व्यवस्था फेरिए पनि छुवाछुत र अन्तरजातीय हिंसा कायमै छ; 'मेरिटोक्रेसी' को नाममा बालीघरे पृष्ठभूमिका दलितहरू अवसरबाट वञ्चित छन्।
जेनजी विद्रोहपछि वाम आन्दोलनमाथि आक्रमण भइरहेका बेला आन्दोलनबाट निस्किएर वाम दलहरूलाई नै चर्को गाली गर्दा आन्दोलन झन् कमजोर भई अरूलाई खेल्ने ठाउँ मिल्छ कि भन्ने समीक्षा गर्नुपर्छ।
प्रदीप नेपाल
शायद अलि ढिलो आइपुगेको कारणले होला, यहाँ निराशाबाहेक अरू केही सुनिएन, तर म चाहिँ अबको आन्दोलनप्रति निराश छैन र पूर्ण आशावादी छु। अग्रजहरूसँग मेरो आग्रह छ कि हामी कहाँ चुक्यौँ भन्ने समीक्षा गरेर अबको आन्दोलन नचुकोस् भन्ने बाटो देखाइदिए हामीलाई सजिलो हुन्थ्यो। युवापन उमेरको हदभन्दा पनि विचारमा हुनुपर्छ; सत्तरी-असी वर्षका अग्रजले पनि युवा विचार बोके भने त्यही युवा हो। त्यसैले निराशाका कुरा कम गरौँ, किनकि लड्ने र गर्ने समय हामीसँग अझै धेरै छ।

हामी कहाँ चुक्यौँ भन्ने समीक्षा गरेर अबको आन्दोलन नचुकोस् भन्ने बाटो देखाइदिए हामीलाई सजिलो हुन्थ्यो।
राम दाइले भनेझैँ 'दाम्लो चुँड्याउने' र आन्दोलन नबनी दायित्वबोध चल्दैन भन्नेमा म सहमत छु; कसरी फुकाउने भन्ने मेसो मिलाएर हामी चुँड्याउने र अघि बढ्ने नै छौँ। हामी ग्राउन्डमै मिटरब्याज, लघुवित्त, भूमि अधिकार र वित्तीय पुँजीवादविरुद्ध पूर्व-पश्चिम यात्रा गर्दै आन्दोलन निर्माणमा जुटेका छौँ। आन्दोलनले विचार र पाठक दुवै जन्माउँछ। दायित्वबोधका लागि लेखन र भिडियो कन्टेन्टमार्फत योगदान गर्ने प्रतिबद्धता जनाउँछु।
सीताराम तामाङ
वामपन्थी साहित्यमा खडेरी परेको बेला दायित्वबोधको प्रयास राम्रो भए पनि 'मूल्याङ्कन' र 'वामपन्थ' जस्ता प्रकाशन हुँदै गर्दा धेरै पत्रिका निकाल्नुभन्दा भएकालाई उचाल्न सकिन्थ्यो कि भन्ने प्रश्न छ। साठी वर्षको राजनीतिक र लेखन अनुभव तथा असी वर्ष पुग्न लागेको उमेरमा जेनजी आन्दोलनले वामपन्थीको वास्तविक हैसियत देखाइदिएको छ। पुष्पलालको बाटो र लेनिनवादी अभ्यासको समीक्षा गर्दै दायित्वबोधले आफ्नो कार्यदिशा, रूपान्तरणको दिशा र कसलाई कसरी समेट्ने भन्ने स्पष्ट गर्नुपर्छ; वामपन्थ अनलाइन जस्तो अनुसन्धानमूलक शैली अपनाउन सके वामपन्थी पनि तथ्यमा आधारित छन् भन्ने स्थापित हुन्छ।

नयाँ पुस्ता साहित्यले होइन, जनताका मुद्दा छुने राजनीति र सडक आन्दोलनले ल्याउँछ।
अहिले राष्ट्रिय स्वाधीनता, भू-राजनीतिक जोखिम, महँगी र जनजीविकाका तात्कालिक मुद्दामा साझा आधारमा बहस चलाउनुपर्छ। त्यस्तै, वर्गीय तथा सामाजिक उत्पीडन, छुवाछुत, समावेशिता र भौतिकवादको दाबीविपरीत चाडबाडमा देखिने सांस्कृतिक विचलनको समीक्षा अपरिहार्य छ। नयाँ पुस्ता साहित्यले होइन, जनताका मुद्दा छुने राजनीति र सडक आन्दोलनले ल्याउँछ। म अर्थ-राजनीतिक शैलीमा लेखन सहयोग गर्न तयार छु ।
गोपीरमण उपाध्याय
समाजले हामीलाई यहाँसम्म ल्याएकाले त्यसप्रति हाम्रो दायित्वबोध हुनुपर्छ र प्रतिफल दिन सक्नुपर्छ भन्ने नै दायित्वबोधको मूल भाव हो भन्ने मलाई लाग्यो। जीवनको लामो समय बुटवलमा बिताई हाल काठमाडौँमा रहेका र यसअघि प्रज्ञा प्रतिष्ठानमा काम गरेको अनुभव भए पनि वामपन्थी बुद्धिजीवीहरूको यस्तो महत्त्वपूर्ण भेलामा पहिलो पटक सहभागी भई सबैका कुरा सुन्दा असाध्यै लाभान्वित भएको छु।

समाजले हामीलाई यहाँसम्म ल्याएकाले त्यसप्रति हाम्रो दायित्वबोध हुनुपर्छ र प्रतिफल दिन सक्नुपर्छ भन्ने नै दायित्वबोधको मूल भाव हो भन्ने मलाई लाग्यो।
विगत पचास वर्षदेखि प्राकृतिक भौतिकवाददेखि वैज्ञानिक भौतिकवादसम्मको दार्शनिक यात्रामा अध्ययन तथा काम गर्दै आएको छु। पूर्वीय भौतिकवादी दर्शनको परम्पराबारे करिब २५०० पृष्ठका पाँचवटा पुस्तक तयार भइसकेकाले तिनलाई कसरी टुक्र्याएर वा उपयोग गरेर लैजान सकिन्छ भन्ने विषयमा सल्लाह गर्न चाहन्छु। दायित्वबोधलाई आफ्ना विचार निरन्तर राख्ने महत्त्वपूर्ण मञ्च बनाउँदै लेखनमा जोडिन र सेयरलगायत आर्थिक पक्षमा समेत सहभागी हुन म तयार छु।
डा. महेश मास्के
अप्ठ्यारो र निराशाजनक परिस्थितिमा पनि आफ्नो उद्देश्यप्रति निरन्तर अघि बढ्ने प्रयास प्रशंसनीय छ। मेरो पूर्ण सहयोग रहनेछ। अनलाइनका सन्दर्भमा युवाहरूलाई "आकर्षित" गर्ने भन्दा पनि उनीहरूलाई "दायित्वबोध" गराउने जिम्मेवारी लिनुपर्छ। सोसल मिडियाको भ्रमपूर्ण आकर्षणभन्दा माथि उठेर हरेक पुस्ताको आफ्नै दायित्व र इतिहासको मूल्याङ्कन गर्ने क्षमतालाई जगाउनु आजको आवश्यकता हो।

युवाहरूलाई "आकर्षित" गर्ने भन्दा पनि उनीहरूलाई "दायित्वबोध" गराउने जिम्मेवारी लिनुपर्छ।
पार्टी नेतृत्वले आफ्नो कमजोरी र जनतासँगको दूरी (एलिनेगेसन) स्वीकार गर्नुको साटो सोसल मिडियालाई मात्र दोष दिने प्रवृत्ति घातक छ। श्रीलंकाको जेबीपी वा लुलाको उदाहरणबाट सिकेर जनताका वास्तविक समस्या र अन्तरविरोधलाई सम्बोधन गर्नुपर्छ। विचारसँगै नेताहरूको जीवनशैलीमा इमान्दारिता र शब्दहरूको ओझ फर्काउनु जरुरी छ।
‘दायित्वबोध’ ले लामो लेखहरूभन्दा पनि युवाहरूलाई सुहाउने, प्रमाणमा आधारित (Evidence-based) र छोटो तथा परिष्कृत सामग्रीमार्फत बाटो देखाउनुपर्छ। हिजोको ‘मूल्याङ्कन’ पत्रिकाले जस्तै यसले पनि छिन्नभिन्न वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरूलाई एक ठाउँमा ल्याउने, तल्लो र उत्पीडित वर्गको पक्षमा आवाज उठाउने र देशलाई सही दिशा दिने वैचारिक मञ्चको रूपमा ऐतिहासिक भूमिका खेल्न सक्छ।
रघु पन्त
अहिले विश्व राजनीतिमा दक्षिणपन्थी धार बलियो छ, वाम विचारको कुनै एकल केन्द्र छैन र युवा पुस्ता राजनीतिबाट टाढिँदै छ। यस्तो बेला वाम आन्दोलनभित्रको वैचारिक विचलन, औद्योगिकीकरण र सेवा क्षेत्रको बदलिँदो अर्थतन्त्र, गाउँ रित्तिएर पहाड खाली हुँदै गएको यथार्थ तथा समाजवाद र मूल्य–आदर्शका प्रश्नमा गम्भीर बहस आवश्यक छ।

वाम आन्दोलनभित्रको वैचारिक विचलन, औद्योगिकीकरण र सेवा क्षेत्रको बदलिँदो अर्थतन्त्र, गाउँ रित्तिएर पहाड खाली हुँदै गएको यथार्थ तथा समाजवाद र मूल्य–आदर्शका प्रश्नमा गम्भीर बहस आवश्यक छ।
'दायित्वबोध' का मुख्य पाठक बौद्धिक र अनुभवी वामपन्थी पङ्क्ति नै हुन्। उहाँहरूलाई जोड्दै विविधतापूर्ण, गहन र स्वतन्त्र विचारोत्तेजक सामग्री पस्किनुपर्छ, किनभने जीवन्त आन्दोलनले नै सचेत पाठक र नयाँ प्रतिभा जन्माउँछ।
मोहन ज्ञवाली
दायित्वबोधलाई नेपालीमा मात्र सीमित नराखी अङ्ग्रेजी भाषामा पनि प्रकाशन गर्न सकियो भने अझ बढी प्रभावकारी हुन्छ जस्तो मलाई लाग्छ। अहिले नेपालको भू-राजनीतिक परिस्थितिले विश्वकै ध्यान केन्द्रित गरिरहेको बेला हाम्रा बुद्धिजीवीहरूले यस विषयमा अङ्ग्रेजीमा लेखिदिए अन्तर्राष्ट्रिय पाठकमाझ पनि पुग्न सकिन्छ।

दायित्वबोधलाई नेपालीमा मात्र सीमित नराखी अङ्ग्रेजी भाषामा पनि प्रकाशन गर्न सकियो भने अझ बढी प्रभावकारी हुन्छ जस्तो मलाई लाग्छ।
साथै, नयाँ पुस्ताले नेपालीभन्दा अङ्ग्रेजी सामग्री पढ्न बढी रुचाउने भएकाले दुई भाषामा प्रकाशन गर्न सके युवा पाठकहरूलाई जोड्न र वैचारिक बहसलाई व्यापक बनाउन निकै मद्दत पुग्नेछ।
तुल्सीदास महर्जन
दायित्वबोध होस् वा अरू कुनै मिडिया, ती साधन मात्र हुन्, साध्य होइनन्; तिनका आफ्नै सीमा छन्। मूल्याङ्कनले सबैलाई गाइड गर्छ भन्ने सोच सही थिएन, त्यसैले दायित्वबोधले पनि सबैलाई विचार दिन सक्छ भन्ने ठान्नु हुँदैन। २०४६ पछि बहुदल आए पनि समाजवाद-साम्यवादको लक्ष्यसँगै गणतन्त्रको साझा मुद्दामा मूल्याङ्कनले भूमिका खेल्यो र भू-राजनीतिक परिवेशसमेतको साथले ६२-६३ को जनयुद्ध र जनआन्दोलनमार्फत गणतन्त्र आयो।

कम्युनिस्ट विचार र लक्ष्य हो, जात होइन। पुँजीवादी राज्यसत्ताबाटै समाजवाद-साम्यवाद आउने हो भने मार्क्सवादी बुझाइभन्दा फरक व्याख्या गर्नुपर्छ, नत्र गरिखाने वर्गलाई वर्गसङ्घर्षभन्दा संसदीय सत्तामै अल्मल्याएझैँ हुन्छ।
तर गणतन्त्रपछि वाम दलहरूले पुँजीवादी राज्यसत्ताकै परिधिबाट समाजवाद आउने भाष्य बनाए। सरकारमा जाँदा सबथोक जितेझैँ र हार्दा आन्दोलन सकिएझैँ ठान्ने प्रवृत्ति देखियो; पश्चिम बङ्गालको ३२ वर्षे शासनको व्यवहारमा पनि दमनका प्रमाण छन्। कम्युनिस्ट विचार र लक्ष्य हो, जात होइन। पुँजीवादी राज्यसत्ताबाटै समाजवाद-साम्यवाद आउने हो भने मार्क्सवादी बुझाइभन्दा फरक व्याख्या गर्नुपर्छ, नत्र गरिखाने वर्गलाई वर्गसङ्घर्षभन्दा संसदीय सत्तामै अल्मल्याएझैँ हुन्छ।
मूल्याङ्कनसँगै वाम आन्दोलन र ती दलहरूको एउटा चरण सकिएको छ; राज्यसत्ता फेर्ने एजेन्डाबिना पुरानै कुरा दोहोर्याएर युवा र गरिखाने वर्ग जोडिँदैनन्। मूल्याङ्कनले झैँ दायित्वबोधले पनि आन्दोलनको औजारका रूपमा काम गर्नुपर्छ ।
केदार सिटौला
नेपालको वामपन्थी आन्दोलनले सामन्तवादको अन्त्य, लोकतन्त्र र सामाजिक न्यायको स्थापनामा ऐतिहासिक भूमिका निर्वाह गरे तापनि आज यो गम्भीर वैचारिक संकटबाट गुज्रिरहेको छ। संसद् र सरकारमा बलियो उपस्थिति हुँदाहुँदै पनि समाजलाई स्पष्ट वैचारिक दिशा दिन, नयाँ पुस्तालाई आकर्षित गर्न र वैकल्पिक सामाजिक–आर्थिक व्यवस्था प्रस्तुत गर्न वाम शक्तिहरू चुकेका छन्। आन्दोलनभित्र अध्ययन र आलोचनात्मक चेतनाको ठाउँमा गुटगत आग्रह र व्यक्तिपूजा हावी हुँदा वैचारिक सिर्जनशीलता कमजोर बनेको छ।

संसद् र सरकारमा बलियो उपस्थिति हुँदाहुँदै पनि समाजलाई स्पष्ट वैचारिक दिशा दिन, नयाँ पुस्तालाई आकर्षित गर्न र वैकल्पिक सामाजिक–आर्थिक व्यवस्था प्रस्तुत गर्न वाम शक्तिहरू चुकेका छन्।
बदलिँदो विश्व पुँजीवाद, नवउदारवादको प्रभाव, वित्तीय पुँजीको प्रभुत्व र प्रविधिमाथिको नियन्त्रणलाई पुरानो अध्ययनले मात्र बुझ्न सकिँदैन। विगतको गौरवगाथा र नेतृत्वको आलोचनाले मात्र आजको संकट समाधान हुँदैन; यसका लागि समकालीन समाज र विश्व परिस्थितिको वैज्ञानिक विश्लेषणसहित नयाँ पुस्ताले बुझ्ने भाषामा वैचारिक सामग्री उत्पादन गर्नु अपरिहार्य छ।
यसै सन्दर्भमा 'दायित्वबोध' ले समाचार प्रकाशनमा मात्र सीमित नरही समाजलाई प्रश्न गर्ने, ज्ञान उत्पादन गर्ने र वैकल्पिक चिन्तनको आधार निर्माण गर्ने वैचारिक मञ्चको भूमिका निर्वाह गर्नुपर्दछ। अरूका विचारको उपभोक्ता मात्र नबनी आफ्नै समाजको अनुभव र विश्वव्यापी ज्ञानको संश्लेषणमार्फत नयाँ विचार र कार्यदिशा निर्माण गर्नु नै आजको मुख्य आवश्यकता हो।
अमेरिकामा घरबारविहीनता
सेन्जेन घोषणा र नेपाल
रोजा लक्जेम्बर्गको विरासत र समकालीन राजनीतिक रूपान्तरणको प्रश्न
श्रमको सांस्कृतिक अर्थ र सौन्दर्यको जातीय संरचना
आफैं विरुद्ध धारिलो तरबार चलाउँदै चीनको कम्युनिस्ट पार्टी
डलरको शक्ति कहिल्यै तेलबाट आएको थिएन
जब महाशक्तिका सबै विकल्प समाप्त हुन्छन् : इरान युद्धको रणनीतिक पाठ
प्रतिक्रिया