के समाजवादको मृत्यु भएको हो ?

१९९० को दशकको सुरुमा समाजवादी सोभियत संघको विघटन र पूर्वी युरोपमा देखिएको राज्य व्यवस्थाको पतनलाई विश्व पुँजीवादी खेमाले ‘समाजवादको मृत्यु’ भएको ठूलै डंका पिट्यो । त्यसले पुँजीवादी खेमामा त ठूलै हर्षको लहर पैदा गर्‍यो नै, समाजवादी खेमामा पनि ठूलै अन्यौल र निराशा सिर्जना गरिदियो । तर के वास्तवमा सोभियतसंघ विघटन एवं पूर्वी युरोपको परिघटना साँच्चै नै समाजवादको मृत्यु नै थियो त ?

यसै गहन दार्शनिक–सैद्धान्तिक प्रश्नको उत्तर खोज्ने क्रममा डा. महेश मास्कले आफ्नो तत्कालीन लेखकीय पहिचान नीरव शेरचनको नाममा एउटा लेख लेखे– ‘के समाजवादको मृत्यु भएको हो ?’ उनको यो लेखले त्यो संकट समाजवादको नभई त्यहाँ प्रयोग गरिएको 'नोकरशाही राज्य पुँजीवाद' र 'ख्रुश्चेभी संशोधनवाद' को पतन थियो भनेर गहिरो मार्क्सवादी–लेनिनवादी विश्लेषण प्रस्तुत गरेको छ। सोभियत अनुभवलाई जस्ताको तस्तै समाजवाद मान्नु गलत हुने तर्क गर्दै लेखकले मजदुर वर्ग र जनताको वास्तविक सहभागिताबिनाको केन्द्रीकृत तथा आदेशात्मक शासन प्रणालीले अन्ततः पुँजीवादकै नयाँ रूप धारण गर्दछ भन्ने स्पष्ट पारेका छन् । यस पृष्ठभूमिमा आज ३५ वर्षपछि फर्केर हेर्दा पनि समाजवादी शिविरभित्र घटित इतिहासका गल्तीहरूबाट पाठ सिक्न यो लेख उत्तिकै मार्गदर्शक र पठनीय बनेको छ।

आजको सन्दर्भमा, नेपालका कम्युनिष्ट आन्दोलनहरू बलियो जनाधार र जनसमर्थन हुँदाहुँदै पनि सत्ताकेन्द्रित राजनीति, वैचारिक विचलन, अवसरवाद र जनउत्तरदायी कार्यशैलीको अभावका कारण गम्भीर प्रतिरक्षात्मक र दिशाहीन अवस्थामा पुगिरहेका छन्। यस्तो बेलामा, नेपालका वामपन्थीहरूले समाजवादको नाममा अभ्यास गरिएका विकृत नोकरशाही प्रवृत्तिका बिरुद्ध निर्मम आत्मनिरीक्षण गर्न तथा जनताको वास्तविक जनवाद र सहभागितामा आधारित समाजवादको मौलिक मार्ग पहिल्याउन यो लेखको वैचारिक दृष्टिलाई अध्ययन गर्नु र मनन गर्नु जरुरी छ ।  

यस पृष्ठभूमिमा समाजवादको अभ्यासको क्रममा देखापरेका सैद्धान्तिक एवं व्यवहारिक समस्याको गहिरो चिरफार र विश्लेषण गरिएको यस लेखले पुँजीवादले सिर्जना गरेका असमानता, बेरोजगारी र शोषणका अनगिन्ती समस्याहरूको विकल्प खोजिरहेको वर्तमान विश्व र नेपालको राजनीतिक परिवेशमा, समाजवादको मूल मर्मलाई जोगाइराख्न सैद्धान्तिक स्पष्टता र वैचारिक दृढता प्रदान गर्दछ। त्यसैले, समाजवादको सान्दर्भिकतामाथि प्रश्न उठाउनेहरूलाई सैद्धान्तिक रूपमै खण्डन गर्दै र कम्युनिष्ट आन्दोलनलाई नयाँ ऊर्जाका साथ अगाडि बढाउन प्रेरणा दिने हुनाले आजको ३५ वर्षको अन्तरालमा पनि यो लेख एक अनिवार्य अध्ययन सामग्री बन्न सक्छ भन्ने हामीलाई लाग्छ।

दायित्वबोध

सन् १९८९ को अन्त्यतिर पूर्वी युरोपेली देशहरूको राज्य व्यवस्था ताशको महलझैँ एक पछि अर्को गर्दै ढले । सन् १९९१ मा महान अक्टोबर क्रान्तिको जन्मभूमि सोभियतसंघको राज्य व्यवस्था मात्र ढलेन, संघ विखण्डित भएर १२ टुक्रा हुन पुग्यो । जुन देशका विवाहको अवसरमा लेनिनको सालिकमा गई फूल चढाएर समाजवाद निर्माणको शपथ खान्थे त्यहाँ लेनिनको प्रस्तर सालिकलाई क्रेन लगाएर ढालियो र सोभियत जनता मूकदर्शक भएर हेरिरहे । समाजवादी योद्धाहरूलाई खलनायकको उपाधि दिइयो र येल्तसिन र गोर्भाचोभ जस्ता विश्व पूँजीवादका विश्वास पात्र सोभियत नेताहरू नायकको दर्जा ओगट्न पुगे । यी देशहरूको विफलताले हर्षोन्मत्त भएको श्रमचोर चुसाहा वर्गले विजयको गगनभेदी घोषणा गर्यो– ‘समाजवादको मृत्यु भएको छ ।’ फ्रान्सिस फुकिमाया जस्ता एकाधिकार र वित्तीय पूँजीका वफादार सिद्धान्तकारहरू अझ एक कदम अगाडि बढेर गर्जिए– ‘समाजवाद मात्र होइन, इतिहास कै अन्त्य भएको छ ।’

वामपन्थी खेमाभित्र यो संकटलाई एक थरीले समाजवादकै पतन ठानेर विचलित हुँदै समाजवादको सान्दर्भिकतामाथि नै प्रश्नचिन्ह उठाउन पुगे भने अर्को थरीले त्यसलाई संशोधनवादको पतनको संज्ञा दिँदै समाजवादको निम्ति स्थिति झन् अनुकूल बनाइदिएको तर्क पेश गरे ।

समाजवादी कहलाइएका यी मुलुकहरूको व्यवस्थालाई प्रतिक्रियाको प्रचण्ड आँधीले धराशायी पार्यो । यसले श्रमजीवीवर्गको श्रमलाई मुनाफामा बदली आफ्नो ढुकुटी भर्ने शोषकवर्गको हौसला मात्र बढाएन, श्रमजीवी जनताको मुक्ति आन्दोलनभित्र संशय, नैराश्य, वैचारिक अन्योल र दिशाहीनतालाई पनि जन्म दियो । वामपन्थी खेमाभित्र यो संकटलाई एक थरीले समाजवादकै पतन ठानेर विचलित हुँदै समाजवादको सान्दर्भिकतामाथि नै प्रश्नचिन्ह उठाउन पुगे भने अर्को थरीले त्यसलाई संशोधनवादको पतनको संज्ञा दिँदै समाजवादको निम्ति स्थिति झन् अनुकूल बनाइदिएको तर्क पेश गरे । नेपाली वामपन्थीमा पनि वर्तमान संकटलाई हेर्ने यी दुबै प्रवृत्तिको बिम्ब देख्न पाइन्छ । तर बिसौं शताब्दीमा अक्टोबर क्रान्ति पछिको तर तात्त्विक रूपमा भिन्न दिशाका सम्भवतः सबैभन्दा महत्त्वपूर्ण घटनाहरू मध्ये पर्ने यी घटनाक्रमलाई बुझ्न १९१७ पछिका ७४ वर्षको कालखण्डको द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी विवेचना गर्ने र आफ्ना मूल्य एवं मान्यता र व्यवहारलाई गहिरियर आत्मनिरीक्षण गर्ने संकल्पको आवश्यकता छ । त्यस आवश्यकताफर्त सचेतकको भूमिका निर्वाह गर्ने सानो प्रयास गर्नु यस लेखको उद्देश्य रहेको छ ।

समाजवादको पतन कि संशोधनवादको पतन ?

समाजवाद वा सर्वहारावर्गको अधिनायकत्वको सान्दर्भिकतामाथि प्रश्नचिन्ह उठाउनेहरूलाई तत्कालै दक्षिणपथी, संशोधनवादी, संशोधनवादीया गद्दारको पगरी गुथाईहाल्ने संस्कारबाट नेपाली वामपन्थ मुक्त छैन । तर विचारणीय कुरा के छ भने यो नेपालको मात्रै समस्या होइन । विश्व वामपन्थको एउटा ठूलो हिस्सा सोभियत संघ र पूर्वी युरोपेली देशहरूमा आएको संकटले गर्दा समाजवाददेखि विरक्त हुँदैछन् । समाजवाद असफल पो भयो कि भन्ने चिन्तामा परेका छन् । त्यस मनोभावना उत्पन्न हुनुको पछाडि केही वस्तुगत कारणहरू छन्, यसलाई पन्छाउन मिल्दैन । राल्फ मिलिब्रान्ड भन्छन्–

विश्व वामपन्थको एउटा ठूलो हिस्सा सोभियत संघ र पूर्वी युरोपेली देशहरूमा आएको संकटले गर्दा समाजवाददेखि विरक्त हुँदैछन् । समाजवाद असफल पो भयो कि भन्ने चिन्तामा परेका छन् ।

‘... तिनीहरूमध्ये एउटा कारण पूँजीवादले निरन्तर प्रदर्शन गरिरहेको असाधारण अन्वेषणत्मक शक्ति र (Resilience) हो । संकट, बेरोजगारी, व्यापक दरिद्रता, घरबारविहीनता, लागू पदार्थ सेवन, अपराध, जन तथा सामाजिक सेवाको अनिकाल, अन्याय, सबै खाले क्रूरता र बजारद्वारा निर्देशित सामाजिक सम्बन्ध भएको समाजमा पाइने मूलभूत अमानवीयताको बावजुद, त्यो व्यवस्थाले कमसेकम विकसित पूँजीवादी देशमा आमूल परिवर्तनको मांगलाई रोक्न सक्ने प्रबन्ध मिलाएको छ ।’–(मिलिब्रान्ड, ‘प्रश्नको घेरोमा समाजवाद’ १९९०)

तर मिलिब्रान्ड र अन्य धेरै समाजवादी चिन्तकहरू समाजवादप्रति मोहभंग हुनुमा पूँजीवादको यस क्षणिक सफलताभन्दा महत्त्वपूर्ण कारण सोभियत संघलगायत आफूलाई समाजवादी वा साम्यवादी भन्ने राष्ट्रहरूले प्रदान गरेको कटु अनुभवलाई मान्छन् । समाजवाददेखि विरक्तिएका वामपन्थीहरू र उनीहरूमा फरक चाहिँ के छ भने उनीहरू त्यो अनुभवलाई समाजवाद मान्दैनन् । राज्य शक्तिमा अधिकार जमाएका नोकरशाहहरूद्वारा जनतामाथि थोपारिने केन्द्रिकृत योजना, अतिरिक्त मूल्यको सिद्धान्तद्वारा निर्देशित आदेशात्मक अर्थव्यवस्था र बुर्जुवा प्रजातन्त्र जति पनि जनवाद नरहेको सर्वहारा वर्गको अधिनायत्वको वर्णशंकर जनविरोधी सत्तालाई समाजवाद भन्न सकिन्छ ? यो अहम् महत्त्वको प्रश्न हो । त्यस्तो व्यवस्थामा आएको संकटलाई समाजवादकै संकट ठानी अब एकमात्र विकल्प ‘प्रजातान्त्रिक समाजवाद’ को मिश्रित अर्थव्यवस्था भएको वकालत गर्ने एकपरी र समाजवादप्रति आफ्नो प्रतिबद्धतालाई नत्यागिहाले पनि सर्वहारा वर्गको अधिनायकत्व क्रमशः त्याग्दै त्यसको सत्तामा बहुदलीय जनवादद्वारा सञ्चालित हुने ‘बहुलवादी समाज’ (Pluralistic Society) स्थापना गर्न चाहने अर्को थरी— यी दुवै खाले सोच बोकेका नेपाली वामपन्थी भित्रहरूले हरा्तिएर निर्णय गर्नुअघि यस प्रश्नप्रति गहिरियर विचार गर्नु आवश्यक छान्दछु । यदि त्यस्तो व्यवस्थालाई समाजवाद मान्ने हो भने समाजवाद निर्माणको लागि त्यत्रो त्याग, तपस्या, बलिदान गर्नु व्यर्थ छ । तर यदि त्यो व्यवस्था समाजवाद होइन भने वर्तमान संकटलाई समाजवादको पतन कसरी भन्न सकिन्छ ?

राज्य शक्तिमा अधिकार जमाएका नोकरशाहहरूद्वारा जनतामाथि थोपारिने केन्द्रिकृत योजना, अतिरिक्त मूल्यको सिद्धान्तद्वारा निर्देशित आदेशात्मक अर्थव्यवस्था र बुर्जुवा प्रजातन्त्र जति पनि जनवाद नरहेको सर्वहारा वर्गको अधिनायत्वको वर्णशंकर जनविरोधी सत्तालाई समाजवाद भन्न सकिन्छ ? यो अहम् महत्त्वको प्रश्न हो ।

सोभियत संघको वर्तमान संकटलाई आधुनिक संशोधनवादको पतन देख्नेहरूले मार्क्सवाद-लेनिनवादको झण्डालाई दृढतापूर्वक उचालिरहेका छन् । आधुनिक संशोधनवाद भन्नाले उनीहरू स्टालिनको मृत्यु र ख्रुश्चेभको कदमपछि, विशेषतः १९५५ को सोभियत कम्युनिष्ट पार्टीको बीसौँ महाधिवेशनपछि उत्पन्न भएको स्थितिलाई औल्याउँछन् । १९६० को दशकमा सोभियत संघ र जनगणतन्त्रवादी चीनको बीचमा चलेको ऐतिहासिक वैचारिक द्वन्द्व ‘महान बहस’ (The Great Debate) मा उनीहरू चिनियाँ अडानको पक्षधर छन् । स्टालिन युगलाई हेर्ने दृष्टिकोणमा उनीहरू बीच केही मतान्तर छ । एकथरी स्टालिन युगलाई समाजवादको अनुकरणणीय मोडल ठान्छ र त्यसप्रति आलोचनात्मक रवैया अपनाउन तयार छैन । अर्कोथरी स्टालिन र स्टालिन युगका नकारात्मक पक्षबारे पनि छलफल गर्नुपर्ने आवश्यकता सम्झन्छ तर माओले १९६० तिर औंल्याएका बुँदाहरूको घेराभित्र सीमित भएर मात्र । दुवै पक्षले आफूलाई माओत्सेतुङ विचारधाराका अनुयायी माने तापनि सर्वहारा अधिनायकत्वमाथि एकतर्फी जोड, सर्वहारा जनवाद र विचारधारात्मक सचेतनताको महत्त्वलाई गौण ठान्ने प्रवृत्तिले उनीहरू संकटको मूल कारणहरूको गहिराइमा नउत्री आस्था प्रदर्शनको सतही अभ्यासमै संतुष्ट रहने संभावनालाई नकार्न सकिन्न ।

३५ वर्षको व्यवहारिक अनुभवपछि पनि खुश्र्चेभी संशोधनवादी राज्यप्रणालीलाई छद्म पूँजीवाद भनिरहनु विश्लेषणकै दरिद्रताको परिचायक हैन र ? हालसालै केही व्यक्तिहरूले ‘नोकरशाही पूँजीवाद’ भनेको पनि सुन्न पाइएको छ । यो सकारात्मक कदम हो । मेरो विचारमा ख्रुश्चेभी संशोधनवादी आर्थिक प्रणालीलाई नोकरशाही राज्य पूँजीवाद (Bureaucratic State Capitalism) भन्नु पर्दछ ।

संशोधनवादको पतन भएको दाबी गर्ने शक्तिहरूले त्यसको सामाजिक आर्थिक प्रणालीको गहन विश्लेषण गरेको पाइरहेको छैन । उनीहरू भन्छन्– त्यो समाजवाद होइन र त्यो नांगो पूँजीवाद पनि होइन । त्यसलाई नामाकरण गर्ने प्रयत्नमा ‘छद्म पूँजीवाद’ शब्दको बढी प्रयोग भइरहेको पाइन्छ । छद्म पूँजीवाद साहित्यमा मीठो सुनिएका पनि यसले ३५ वर्षको सामाजिक आर्थिक प्रणालीको व्याख्या, त्यसको उदय र पतनका कारणहरूको स्पष्ट विवेचना गर्न मद्दत पुर्‍याउँदैन । ३५ वर्षको व्यवहारिक अनुभवपछि पनि खुश्र्चेभी संशोधनवादी राज्यप्रणालीलाई छद्म पूँजीवाद भनिरहनु विश्लेषणकै दरिद्रताको परिचायक हैन र ? हालसालै केही व्यक्तिहरूले ‘नोकरशाही पूँजीवाद’ भनेको पनि सुन्न पाइएको छ । यो सकारात्मक कदम हो । मेरो विचारमा ख्रुश्चेभी संशोधनवादी आर्थिक प्रणालीलाई नोकरशाही राज्य पूँजीवाद (Bureaucratic State Capitalism) भन्नु पर्दछ ।

ख्रुश्चेभी संशोधनवादी युग नोकरशाहीराज्य पूँजीवाद व्यवस्था हो !

मार्क्सले शल्यक्रिया गरेको पूँजीवादी व्यवस्था मूल रूपमा मुनाफाको निम्ति प्रतिस्पर्धा गरिरहेका व्यक्तिगत उत्पादन र बजारमातन्त्र बजार प्रणालीमा आधारित पूँजीवादी व्यवस्था थियो । तर मार्क्स उत्पादन र पूँजीको केन्द्रिकरणको विश्वव्यापी प्रकृयाबाट अनभिज्ञ थिएनन् । आफ्नो विश्वख्याता ग्रन्थ ‘पूँजी’ मा उनले त्यस प्रकृयाको परिणाम स्वरूप एकातिर एकाधिकार पूँजीको विकास र अर्कोतिर पूँजीवादको अन्तर्राष्ट्रिय चरित्रको उदय हुने संभावनातर्फ औंल्याएका थिए । (मार्क्स पूँजी अंग्रेजी ग्रन्थ १, १९७२, ७१५ पेजमा)

लेनिनको पालासम्म आईपुग्दा पूँजीवादको ‘अन्तर्राष्ट्रिय चरित्र’ ले साम्राज्यवादी रूप लिइसकेको थियो र पूँजीवाद आफै एकाधिकार पूँजीवाद (Monopoly Capitalism) मा परिणत भैसकेको थियो । साम्राज्यवाद एकाधिकार पूँजीवाद हो भन्ने व्याख्या गर्दै लेनिनले भनेका थिए—

‘आर्थिक दृष्टिले साम्राज्यवाद पूँजीवादको सबैभन्दा उच्च अवस्था हो, जहाँ उत्पादनले यति विशाल रूप लिएको हुन्छ कि त्यहाँ स्वतन्त्र प्रतिस्पर्धाले एकाधिकारलाई बाटो छाडीदिन्छ । यो नै साम्राज्यवादको आर्थिक सार हो । ट्रष्ट, सिन्डीकेट, दैत्याकार बैंकको सर्वशक्तिमानता, बैंकका पूँजीको घनत्व आदि मार्फत् एकाधिकारले आफ्नो रूप देखाउँछ ।’ (संकलित रचनाहरू अंग्रेजी ग्रन्थ २३, पेज ४२)

एकाधिकार र प्रतिस्पर्धाको अन्तरविरोध बोकेको साम्राज्यवाद संकटमा पर्न थालेपछि त्यसको निवारण समाजवादी क्रान्तिले मात्र गर्न सक्ने लेनिनको ठहर थियो । तर एकाधिकार पूँजी र ‘साम्राज्यवाद’ तुरुन्तै संकटग्रस्त भएन । त्यसले बचावका उपायहरू खोज्यो र त्यही प्रयत्नमा राज्य एकाधिकार पूँजीवाद (State Monopoly Capitalism) मा विकास गर्यो ।

तर यस्तो एकाधिकार पूँजीवादले प्रतिस्पर्धालाई पूर्ण रूपले विस्थापित भने गर्दैन । पूँजीवाद मुनाफाको प्रतिस्पर्धाबिना बाच्न सक्दैन । त्यसैले एकाधिकार पूँजीवादी व्यवस्थाभित्र प्रशस्त द्वैध र अन्तरविरोधी तत्त्व देखिन पाइन्छ, जस्तै- एकाधिकार पूँजी र प्रतिस्पर्धा, योजना र अराजकता, उद्देश्यपूर्ण राजनैतिक क्रियाकलाप र बजारको लथालिंगपन । एकाधिकार र प्रतिस्पर्धाको अन्तरविरोध बोकेको साम्राज्यवाद संकटमा पर्न थालेपछि त्यसको निवारण समाजवादी क्रान्तिले मात्र गर्न सक्ने लेनिनको ठहर थियो । तर एकाधिकार पूँजी र ‘साम्राज्यवाद’ तुरुन्तै संकटग्रस्त भएन । त्यसले बचावका उपायहरू खोज्यो र त्यही प्रयत्नमा राज्य एकाधिकार पूँजीवाद (State Monopoly Capitalism) मा विकास गर्यो । पूँजीवाद कै अस्तित्वमा खतरा उत्पन्न भएको बेला एकाधिकार पूँजीपतिहरूलाई पूँजीवाद बचाउने अन्तिम उपाय राज्यसँगै एकीकृत हुनु थियो । त्यस सम्भावनाप्रति लेनिनको दृष्टि पुगेको तथ्य उहाँका थुप्रै लेखहरू– विशेषत नयाँ अर्थनीति (NEP) सम्बन्धी लेखहरूबाट थाहा हुन्छ । मार्क्सले पूँजीको केन्द्रिकरणबाट एकाधिकार पूँजीको विकास हुने संभावना औंल्याएझैं लेनिनले पनि राज्यको शक्ति र एकाधिकार पूँजीको शक्ति आपसमा मिसिँदै राज्य एकाधिकार पूँजीवादको विकास हुने प्रकृयातर्फ सचेत गराएका थिए । आधुनिक युगमा राज्य एकाधिकार पूँजीवाद आधुनिक पूँजीवादको केन्द्रिय अभिव्यक्ति भएर देखापरेको छ ।

राज्य एकाधिकार पूँजीवादलाई छोटकरीमा राज्यपूँजीवाद पनि भनिन्छ । त्यस अर्थव्यवस्थामा राज्य र एकाधिकार पूँजीको संयुक्त स्वामित्व भएका मिश्रित कम्पनीहरू अर्थात् कर्पोरेसनहरूको संख्या बढिरहेको हुन्छ । एकाधिकारले विशुद्ध राज्य सम्पत्तिको पनि उपयोग गर्दछ । राज्य संचालित संस्थाहरूबाट यसले सस्तो कच्चापदार्थ, शक्ति र सेवा प्राप्त गर्दछ । राज्य पूँजीवादले पूँजीपतिलाई श्रम उपलब्ध गराउन, श्रमको बेचबिखनलाई नियन्त्रण गर्न, त्यसको प्रयोग, प्रशिक्षण र पुनर्प्रशिक्षण गर्न महत्वपूर्ण भूमिका खेल्दछ । राज्य र एकाधिकारको योगले एउटै अर्को प्रक्रिया पनि जन्म दिन्छ त्यो हो- नोकरशाही पूँजीपतिहरूको उत्पादन । पूँजी र उत्पादनमा नियन्त्रण राख्न सक्ने उपल्ला तहका राज्य नोकरशाहहरू आफ्ना सम्पर्क र संवन्धको उपयोग गरेर मुनाफा बटुल्ने हुन सक्छन् र त्यसरी एकाधिकार पूँजीपतिकै स्वरूप ग्रहण गर्न थाल्दछन् । त्यसैले पूँजीवादका विभिन्न चरणहरूबाट गुज्रिरहेका देशहरूमा पनि धेरैथोर नोकरशाह पूँजीपतिहरूको अस्तित्व रह्रेको पाइन्छ ।

(नोभोसेलोभ, ‘साम्पवादी आन्दोलनका समस्याहरू’ पृष्ठ ६६, अंग्रेजी १९८१)

साम्राज्यवाद र पूँजीवादको यो वर्तमान अवस्थालाई प्रष्ट्याउँदै सो.क.पा.को केन्द्रीय समितिले सन् १९६७ मा अक्टोबर क्रान्तिको पचासौं वार्षिकोत्सवका अवसरमा भनेको थियो ‘आधुनिक पूँजीवाद राज्य एकाधिकार पूँजीवाद हो- जो दुई विश्व प्रणाली (पूँजीवाद र समाजवाद) बीच चलेको संघर्षमा आफूलाई व्यवस्थित गर्न खोजिराखेको छ ।’ तर विडम्बना के छ भने सन् १९६७ मा सोभियत कम्युनिष्ट पार्टीले जसलाई समाजवादी प्रणाली भनिरहेको थियो, त्यो समाजवाद नरहेर राज्य एकाधिकार पूँजीवादकै एउटा अर्को संस्करण बनिसकेको थियो ।

सोभियत संघलाई सामाजिक साम्राज्यवाद भनिनु उचित थियो भने प्रश्न उठ्छ- त्यसको आर्थिक सार के हो ? आर्थिक सार समाजवाद थियो भने सामाजिक साम्राज्यवादको उदय कसरी हुनसक्छ ? समाजवाद थिएन भने के थियो त ?

विश्वका शक्तिशाली देश र प्रचारमाध्यमले समाजवादी भनी आएका मुलुकहरूलाई राज्य पूँजीवादी देश भनिदिंदा एकैचोटि विश्वास गर्न गाह्रो हुन्छ । तर नेपाली बामपन्थले यो अवधारणालाई बुझ्न त्यति गाह्रो छैन किनकि यसको मुख्य प्रवाहले सोभियत संघलाई सामाजिक साम्राज्यवाद मानिआएको हो । सोभियत संघलाई सामाजिक साम्राज्यवाद भनिनु उचित थियो भने प्रश्न उठ्छ- त्यसको आर्थिक सार के हो ? आर्थिक सार समाजवाद थियो भने सामाजिक साम्राज्यवादको उदय कसरी हुनसक्छ ? समाजवाद थिएन भने के थियो त ?

कुनै पनि साम्राज्यवाद, चाहे त्यो अमेरिकी होस् वा सोभियत सामाजिक, को आर्थिक सार एकाधिकार पूँजीवाद हो । त्यसको जग नबसी सामाजिक साम्राज्यवादको महल खडा हुन सक्दैन । समाजवादी आधारहरू निर्माण गरिसकेको सोभियत संघ ख्रुश्चेभी संशोधनवादको उदयपछि एक विशेष प्रकारको राज्य एकाधिकार पूँजीवादमा विकृत हुँदै गएको थियो, जुन व्यवस्थामा नोकरशाह पूँजीपतिहरूको प्रवल नियन्त्रण हुन्छ । संशोधनवादी नोकरशाहहरूको कब्जामा रहेको सोभियत संघको राज्यसत्ता समाजवादबाट राज्य पूँजीवादमा विकृत हुँदै गएकोले सोभियत संघ सामाजिक साम्राज्यवादी राष्ट्र बन्दै गइरहेको थियो । सोभियत संघको त्यस संक्रमणबारे क्रान्तिकारी अन्तर्राष्ट्रियवादी आन्दोलन (RIM) को एक सदस्य पार्टी आर.सि. पी. का अध्यक्ष बव अभाकियान भन्छन्–

‘पूँजीवादलाई पुनर्स्थापना गरिसकेपछि सोभियत संघका शासकहरू पूँजीवादका, विशेष गरेर यसको साम्राज्यवादी युगका नियमहरूद्वारा बाँधिएका छन् । स्टालिनको मृत्यु पछि र ख्रुश्चेभी सत्ता कब्जा गरिसकेपछि उनीहरू संसारभरि लुटखसोट गर्न लागिपरेका छन् । एकै साथ सोभियत संघभित्र र बाहिरका जनतामाथि शोषण र लूट मच्चाउँदै छन् । (रिभोल्यूशन, डिसेम्बर १९७६, पृष्ठ १०)’

जसरी टिटो-गुटले राज्यशक्तिको प्रयोग गरेर युगोस्लाभियाका मजदूरहरूलाई निर्मम शोषण गर्ने वातावरण बनाई नोकरशाह पूँजीपति वर्गको उत्पादन गरिरहेका थिए; त्यसरी नै ख्रुश्चेभी प्रयोगले गर्दा सोभियत संघको अर्थ व्यवस्था भित्रभित्रै एक विशिष्ट किसिमको राज्य एकाधिकार अर्थ व्यवस्थामा परिवर्तित हुँदै थियो ।

सोभियत संघमा वर्गसंघर्षलाई तिलाञ्जली दिएर शान्तिपूर्ण संक्रमणद्वारा साम्यवादतर्फ अगाडि बढ्न सकिने अवधारणा प्रस्तुत गरिरहेको ख्रुश्चेभी संशोधनवाद यथार्थमा समाजवादको खोलमा पूँजीवादको पुनर्स्थापना गर्दै थियो । सोभियत राज्य ख्रुश्चेभले नेतृत्व गरेको नोकरशाहहरूको अधिकारमा थियो । मजदूरको पंक्तिभित्र र सरकारी कर्मचारी वर्गभित्र प्रवेश गरिरहेका यी नौला बुर्जुवाहरू स्टालिन युगमा निर्माण गरिएको समाजवादी आधार तोडेर पूँजीवाद स्थापना गर्न सक्रिय थिए । सो. क. पा. को बीसौं महाधिवेशनमा स्टालिनको 'व्यक्तिपूजा' विरुद्धको आक्रमणको रूपमा शुरू भएको ख्रुश्चेभी संशोधनवाद २२ औँ महाधिवेशन १९६२ सम्म आइपुग्दा पूँजीवादको पुनर्स्थापनाको निम्ति निर्णायक कदमहरू उठाउने स्थितिमा पुगिसकेको थियो । २२ औं महाधिवेशनमा ख्रुश्चेभ र उसका अर्थविद्हरूले समाजवाद भनेको 'उत्पादनको प्रचुरता हो' भन्ने नारा दिएर जसरी भएपनि उत्पादन बढाउनु पर्छ भन्ने नीतिको वकालत गरे । यस नयाँ नीतिलाई स्थापित गर्न त्यतिबेलासम्म प्रचलनमा रहेको उत्पादन वृद्धिदरलाई जनताको क्रयशक्तिले निरन्तर उछिनी-रहनुपर्ने नीतिलाई गलत साबित गर्ने कोशिस गरे । त्यो नीतिले गर्दा नै सोभियत संघमा मुद्रास्फिति नबढेको र अति उत्पादनको संकट नभएको कुरा उनीहरूले बिर्सेर अथवा बेवास्ता गरेर जनताको क्रयशक्तिमा ह्रास आउने शर्तमा पनि 'उत्पादनको 'प्रचुरता' को नीतिलाई लागू गर्न खोजे । पूँजीवादी स्वार्थको पक्षपोषणको यो महत्वपूर्ण मोड थियो । उत्पादन बढाउन व्यक्तिगत सम्पत्तिमाथिको नियन्त्रण खुकुलो पारियो । करेसाबारी, कुखुरापालन आदि जस्ता साना व्यक्तिगत सम्पत्तिको श्रोत प्रयोग गरेर किसानहरूलाई अर्थोपार्जन गर्न प्रोत्साहित गरियो भने फ्याक्ट्रीहरूमा उत्पादन वृद्धि गर्न भौतिक आकर्षण (Material Incentive) को प्रलोभन दिइयो । यी सुधारहरूको प्रभावमा विस्तारै एउटा शक्तिशाली नोकरशाह पूँजीपति वर्गको उदय भयो । जसरी टिटो-गुटले राज्यशक्तिको प्रयोग गरेर युगोस्लाभियाका मजदूरहरूलाई निर्मम शोषण गर्ने वातावरण बनाई नोकरशाह पूँजीपति वर्गको उत्पादन गरिरहेका थिए; त्यसरी नै ख्रुश्चेभी प्रयोगले गर्दा सोभियत संघको अर्थ व्यवस्था भित्रभित्रै एक विशिष्ट किसिमको राज्य एकाधिकार अर्थ व्यवस्थामा परिवर्तित हुँदै थियो । यसको विशिष्ट चरित्र बारे संकेत गर्दै बव अभाकियान भन्छन्–

‘संपूर्ण त होइन, तर मुख्य रूपले सोभियत संघमा एकाधिकार पूँजीवाद र साम्राज्यवादको रूप राज्य हुने गर्दछ । यो व्यक्तिगत पूँजीको रूपमा हुदैन जस्तो कि विभिन्न कर्पोरेसनहरूमा रहने गर्दछ, तर आधारभूत रूपमा र बढ्दो मात्रामा यो त्यही कुरा हो । सोभियत संघका उत्पादक संघहरू र विभिन्न मन्त्रालयहरू पश्चिमी देशमा पाइने ठूला कर्पोरेसन, बैंक, कार्टेल, गुठी आदिकै भूमिका निर्वाह गर्दछन् र निर्णायक कुरा त के हो भने सोभियत योजना र अर्थ मन्त्रालयहरू मूल्यको सिद्धान्तलाई, विशेष गरेर अतिरिक्त मूल्यको सञ्चयनको सिद्धान्त अर्थात् मुनाफालाई अर्थ व्यवस्थाको निर्देशक सिद्धान्तको रूपमा पुनर्स्थापित गरिसकेका छन् ।’ (रिभोल्यूशनरी वर्कर नं० २१, १९७९, पृष्ठ १२)

३५ वर्ष अगाडि ख्रुस्चेभी संशोधनवादले सुरु गरेको नोकरशाह राज्य पूँजीवादी सामाजिक आर्थिक व्यवस्था भत्किन लागेको थुप्रोमाथि अहिले नांगो पूँजीवादको जग बसाउन खोजिदै छ। 'ताप्केबाट उफ्रिएको माछा भुंग्रोमा खसे’झैं, यथास्थितिबाट आजित भएका सोभियत जनता एउटा शोषणमूलक व्यवस्थाबाट अर्को शोषण मूलक व्यवस्थाको शिकार हुन पुगिरहेका छन्।

आफूलाई समाजवादी देश भने तापनि मूल्यको सिद्धान्तलाई निर्देशक सिद्धान्त मान्ने, राज्य र नोकरशाहको प्रवल नियन्त्रण भएको, मुनाफामा आधारित 'राज्य एकाधिकार अर्थ व्यवस्थाको सोभियत संस्करणलाई नोकरशाही राज्य पूँजीवाद भिनिनु सबै भन्दा उपयुक्त ठहर्छ भन्ने मलाई लागेको हो । वर्तमान सोभियत संकट त्यही नोकरशाही राज्य पूँजीवादको संकट हो । नोकरशाही राज्य पूँजीवादले जन्माएको आर्थिक गतिरोधको फलस्वरूप १९६० देखि १९८५ को २५ वर्षको अवधिमा पूँजी लगाानीको अनुपातमा औद्योगिक उत्पादन ४० प्रतिशत घटिसकेको थियो र राष्ट्रिय आयको बृद्धिदरमा चिन्ताजनक गिरावट आएको थियो । त्यो संकटलाई गोर्भाचोभ नीतिले झन गहिरो र व्यापक बनायो । १९८८ मा सो.क.पा.को केन्द्रीय समितिको विस्तारित बैठकमा गोर्भाचोभ आफैंले विगत तीन पञ्चवर्षीय योजनामा राष्ट्रिय आय बृद्धिदर आधाभन्दा बढी घटेको र गतिरोधको मानसिकता र सिद्धान्तले संस्कृति, साहित्य र कलामा प्रभाव पारेको' सत्यलाई स्वीकार्न बाध्य भए । सन् १९९१ का घटनाहरू त्यही संकटका उपज हुन् । नोकरशाही राज्य पूँजीवादको संकटलाई सुधारद्वारा हल गर्न गोर्भाचोभ दिन-प्रतिदिन स्वतन्त्र बजारद्वारा निर्देशित हुने नांगो पूँजीवादी अर्थव्यस्थैकै नजिक पुग्दै थिए । १९ अगस्तमा सैनिक शक्ति प्रयोग गरेर गोर्भाचोभलाई हटाउने प्रयास नोकरशाही राज्य पूँजीवादलाई नांगो पूँजीवादमा परिवर्तित हुनबाट रोक्ने झिनो प्रयत्न थियो, जुन असफल भयो । यस अर्थमा गेन्नाडी येनायेभहरूले अलि अलि 'सुधार' को चाहना राखे तापनि मूलतः नोकरशाही राज्य पूँजीवादकै प्रतिनिधित्व गर्दछन् भन्ने मलाई लाग्छ। ३५ वर्ष अगाडि ख्रुस्चेभी संशोधनवादले सुरु गरेको नोकरशाह राज्य पूँजीवादी सामाजिक आर्थिक व्यवस्था भत्किन लागेको थुप्रोमाथि अहिले नांगो पूँजीवादको जग बसाउन खोजिदै छ। 'ताप्केबाट उफ्रिएको माछा भुंग्रोमा खसे’झैं, यथास्थितिबाट आजित भएका सोभियत जनता एउटा शोषणमूलक व्यवस्थाबाट अर्को शोषण मूलक व्यवस्थाको शिकार हुन पुगिरहेका छन्। 'नोकरशाही राज्य पूँजीवाद' लाई 'समाजवाद' सम्झने गल्ती गर्ने र त्यसलाई छद्म पूँजीवाद भनिदिएर पुग्छ भन्ने दुवै पक्षका मित्रहरूले माथिका तर्कहरू माथि विचार गर्नु हुनेछ भन्ने विश्वास राखेको छु।

आलोचनाको कसीमा स्टालिन युग पनि घोटिनुपर्दछ

आधुनिक संशोधनवादको भत्सर्ना गर्दा ख्रुश्चेभको टाउकोमाथि सबै दोष खन्याउने चलन छ। तर त्यो प्रवृत्तिले स्टालिनको मृत्युको केही समय भित्रै ख्रुश्चेभले स्टालिन युगका उपलब्धिहरूलाई उल्टाउन शक्ति कसरी जुटाउन सक्यो भन्ने प्रश्न माथि प्रकाश पार्दैन। द्वन्द्वात्मक भौतिकवादी विश्लेषणले भौतिक परिस्थिति बदल्न व्यक्तिको भूमिकाको यथोचित कदर त गर्दछ तर व्यक्ति स्वयं भौतिक स्थितिको उपज हुन्छ भन्ने कुरालाई अझ बढी महत्व दिन्छ। स्टालिन युगका विसंगति र कमजोरीहरूले माटो मलिलो नबनाइदिएको भए संशोधनवादले यति छिट्टै आफ्नो जरा गाड्न र फैलाउन कसरी सक्थ्यो? यो विचारणीय छ। यस प्रश्न माथि विचार गर्दा कतिपय चिन्तकहरू स्टालिनले अझ दृढतापूर्वक 'अधिनायकत्व' लगाउन नसकेको पो हो कि? भन्ने निष्कर्षमा पुग्दछन्। तर स्टालिन युगलाई ठण्डा मस्तिष्कले विश्लेषण गर्न खोज्दा त्यहाँ सर्वहारा जनवादको क्रमिक अवसानले उत्पन्न भएको विचारधारात्मक सचेतनताको कमी र विश्व पूँजीवादको घेराले उत्पन्न गरेको बाह्य प्रभावले ख्रुस्चेभी संशोधनवादलाई फस्टाउने मलिलो जमिन प्रदान गरेको विचारहरू बढी तर्कसंगत देखिन्छन्। यी आन्तरिक र बाह्य कारणहरूले जन्माएका स्टालिन युगका विसंगति र कमजोरीहरूले गर्दा सोभियत संघमा समाजवादका आधारहरू निर्माण नै सके तापनि त्यति बेलाको सत्ताको प्रकृतिलाई 'राज्य समाजवाद' भनिनु बढी उपयुक्त हुन्छ जस्तो मलाई लाग्छ। त्यसैले यी प्रस्थापनाहरूलाई केही विस्तारमा केलाउने प्रयत्न गरौं।

स्टालिन युगका विसंगति र कमजोरीहरूले माटो मलिलो नबनाई दिएको भए संशोधनवादले यति छिट्टै आफ्नो जरा गाड्न र फैलाउन कसरी सक्यो? यो विचारणीय छ।

चारैतिरबाट साम्राज्यवादी शक्तिहरूद्वारा घेरिएको सोभियत संघले स्टालिनको नेतृत्वमा एउटै देशमा भए पनि समाजवाद निर्माण गर्ने वीरतापूर्ण प्रयत्न गर्यो र सोभियत संघलाई युरोपको पिछडिएको मुलुकबाट एउटा आधुनिक औद्योगिक राष्ट्रमा बदल्यो। दोश्रो विश्वयुद्धमा नाजीवादी र फासीवादी शक्तिहरूलाई पराजित गर्न मुख्य भूमिका निर्वाह गरी सारा मानव जातिलाई नै ठूलो गुन लगायो। अतिरिक्त मूल्यको सिद्धान्तबाट चल्ने अर्थव्यवस्थालाई निर्मूल पारेर समाजवादी अर्थव्यवस्थाका आधारहरू निर्माण गर्यो। संशोधनवादी विचार र भड्काउहरू विरुद्ध दृढतापूर्वक संघर्ष गर्यो। तर यी सब उपलब्धिहरूका बाबजुद स्टालिन युगमा गम्भीर गलतहरू भए। त्यसका कतिपय गलतहरूलाई पन्छाउन सकिन्नथ्यो; केहीलाई भने पन्छाउन सकिन्थ्यो। स्टालिन युगका गतिविधिहरूमाथि स्टालिन व्यक्तिको सकारात्मक र नकारात्मक प्रभाव पनि त्यतिकै महत्वपूर्ण छ। स्टालिनमा महान क्रान्तिकारी गुण भए तापनि उनमा केही स्वभावगत कमजोरीहरू थिए। विशेषतः शक्तिको निरंकुश प्रयोग र मित्रहरूसँग पनि कठोर र रूखो व्यवहार गर्न सक्ने स्टालिनका यी दोषहरूलाई औंल्याएर लेनिनले आफ्नो जीवनको अन्तिम पत्रहरूमा उनलाई महासचिवको पदबाट हटाउनु पर्ने सुझाव पनि दिएका थिए। लेनिनको त्यो महत्वपूर्ण टिप्पणी यस प्रकार छ-

स्टालिनमा महान क्रान्तिकारी गुण भए तापनि उनमा केही स्वभावगत कमजोरीहरू थिए। विशेषतः शक्तिको निरंकुश प्रयोग र मित्रहरूसँग पनि कठोर र रूखो व्यवहार गर्न सक्ने स्टालिनका यी दोषहरूलाई औंल्याएर लेनिनले आफ्नो जीवनको अन्तिम पलहरूमा उनलाई महा-सचिवको पदबाट हटाउनु पर्ने सुझाव पनि दिएका थिए।

‘कमरेड स्टालिन महासचिव भए पछि आफ्नो हातमा असीमित शक्ति केन्द्रित गरेका छन्। र म आश्वस्त छैन कि उनले त्यो प्राधिकारलाई सधैं आवश्यक सावधानीका साथ उपयोग गर्न सक्लान् ... स्टालिन रूखा (Rude) छन् र त्यो कमजोरी हामी कम्युनिष्टहरू बीच  व्यवहार गर्न सहन योग्य भए तापनि एउटा महा-सचिवको पदको निम्ति असहनीय हुन्छ। त्यसकारण म कमरेडहरूलाई स्टालिनलाई त्यो पदबाट हटाएर अर्कै मान्छेलाई त्यहाँ राख्ने उपायहरू सोच्नको लागि सुझाव दिन्छु, जो स्टालिनभन्दा बढी सहनशील, बढी इमान्दार, बढी नम्र, कमरेडहरूप्रति संवेदनशील र बढी विश्वसनीय होस्। ‘ (लेनिन चुनिएका रचनाहरू, अंग्रेजी, ग्रन्थ ३, १६७७ पृष्ठ ६८०-६८१)

तर आफ्नो क्रान्तिकारी अडान, संगठन कुशलता र ट्राटस्कीसंगको बहसमा जनमतलाई आफ्नो पक्षमा ल्याउन सफल भएको हुनाले स्टालिन आफ्ना तमाम कमजोरीका बावजुद सत्तामा रहिरहे। पहिलो पञ्चवर्षीय योजनाको कृषि सामूहिकीकरण र औद्योगिकीकरणको सफलताले उनको लोकप्रियतामा अरू वृद्धि गर्यो। तर समाजवादको जग बसाल्ने पञ्चवर्षीय योजनाको युगान्तकारी प्रयत्नहरूका साथ साथै सोभियत राज्य सञ्चालनमा सोभियत जनवादको महत्व घटने विसंगति पनि शुरू हुन थाल्यो। मजदुरहरूको हडताल गर्ने अधिकारमा परोक्ष रूपले प्रतिबन्ध लाग्यो। ‘सोभियतहरूको कांग्रेस’ अथवा सुप्रिम सोभियतलाई सर्वोच्च अङ्ग भनिए तापनि व्यवहारमा यसबाट निर्वाचित केन्द्रीय कार्यकारिणी समिति नै सोभियत संघको नीति बनाउने सर्वोच्च अङ्ग भयो र सुप्रिम सोभियत त्यस नीतिलाई औपचारिक स्वीकृति प्रदान गर्ने संस्था मात्र बन्न पुग्यो। सोभियतहरूको चुनावमा कहिल्यै पनि एक भन्दा बढी प्रतिनिधि खडा भएनन् र भोट तिनीहरूकै पक्ष वा विपक्षमा खसाल्नु पर्ने विचित्रको चुनावलाई सोभियत प्रजातन्त्रको मोडेलको रूपमा पेश गरियो। सोभियत जनताको प्रत्यक्ष सहभागिताद्वारा सञ्चालन हुनु पर्ने सर्वहारा वर्गको अधिनायकत्व टुप्यामा बसेका नेताहरूको सदविवेक र कार्यकुशलतामा निर्भर हुन पुग्यो र त्यसको दुरूपयोग भएको खण्डमा तलबाट नियन्त्रणको संभावना हराएर गयो। स्टालिन युगका यिनै कमजोरीहरूले गर्दा सोभियत संघमा समाजवादका आधारहरू निर्माण भए तापनि योजनाबद्ध अर्थव्यवस्थाले आदेशात्मक अर्थव्यवस्थाको रूप लिदै थियो र नोकरशाहहरूले टाउको उठाउन थालेका थिए । १९५२  मा सो. कं. पा. को १९ सौं महाधिवेशनमा मालेन्कोभद्वारा प्रस्तुत गरिएको रिपोर्टमा यी समस्याहरूतर्फ संकेत गरिएको देख्न सकिन्छ।

सोभियत जनताको प्रत्यक्ष सहभागिताद्वारा संचालन हुनु पर्ने सर्वहारा वर्गको अधिनायकत्व टुप्यामा बसेका नेताहरूको सदविवेक र कार्यकुशलतामा निर्भर हुन पुग्यो र त्यसको दुरूपयोग भएको खण्डमा तलबाट नियन्त्रणको संभावना हराएर गयो।

स्टालिन युगका यो कमजोरीहरूको पछाडि स्टालिन व्यक्तिभित्र रहेका कमजोरीहरू एक निश्चित हदसम्म जिम्मेवार छन्। विशेष गरेर त्यस अवस्थामा, जब स्टालिन एउटा नायकको रूपमा स्थापित भइसकेका थिए र सोभियत र कम्युनिष्ट पार्टी दुवैका केन्द्रीय कार्यकारिणी समितिका निर्णयहरूलाई आफ्नो व्यक्तित्वको सदुपयोग वा दुरुपयोगले प्रभावित गर्न सक्थे। त्यसैले ख्रुश्चेभी संशोधनवादको आक्रमणबाट स्टालिनको रक्षा गर्दै उनलाई महान मार्क्सवादी लेनिनवादी र सर्वहारा क्रान्तिकारी माने तापनि चिनिया कम्युनिष्ट पार्टीले उनको व्यक्तित्वको कमजोर पक्ष औंल्याउन मोलमुलाहिजा गरेको थिएन। उदाहरणको लागि-

‘स्टालिन कहिलेकाँही वास्तविकता र जनसमुदायबाट टाढिन पुग्थे। पार्टीको भित्री र बाहिरी संघर्षमा...... उनले मित्र र शत्रुहरूको बीचमा र जनताको बीचमा  उत्पन्न हुने अन्तरविरोध र त्यसलाई हल गर्ने बेग्ला बेग्लै तरिकाहरू बारे छ्यासमिस गर्थे। स्टालिनको नेतृत्वमा गरिएको प्रतिक्रान्ति दमन अभियानमा कतिपय प्रतिक्रान्तिकारीहरूले उचित सजाय पाए भने कति निर्दोष व्यक्तिहरूलाई दण्डित गरिने गल्ती भयो। १९३७ र १९३८ मा प्रतिक्रान्तिकारीहरूको दमनमा विस्तार गर्ने भूल गरियो। पार्टी र सरकारी संगठनहरूमा उनले पूर्णरूपेण सर्वहारा जनवादी केन्द्रीयता लागू गरेनन् र कतिपय बेलामा त त्यसको उल्लंघन गरे।’

('(महान बहस' सर्वहारा प्रकाशन पृष्ठ – १२० – १२१)

स्टालिन युग इतिहासको एक अति महत्वपूर्ण अवधि हो र त्यसका केही पक्षहरूको चर्चा गरेर समग्र युगको विश्लेषण हुन सक्तैन। त्यसको लागि छुट्टै प्रयत्नको खाँचो हुन्छ। यो लेखमा स्टालिन युगका केही विसंगति, कमजोरी र विशेषताहरू औंल्याएर त्यति बेलाको समाजवादको विशिष्ट प्रकृतिलाई संकेत गर्न मात्र खोजिएको छ र विश्व स्तरमा साम्राज्यवाद र एकाधिकार पूँजीवादको मोर्चाबन्दी, विकसित पूँजीवादी मुलुकमा समाजवादी क्रान्तिको विस्तार हुन नसक्नु, सोभियत रूसको उत्पादक शक्तिहरूको पछौटेपन, समाजवाद निर्माणको व्यवहारिक अनुभवको अभाव, स्टालिनका स्वभावगत कमजोरीहरू, सर्वहारा जनवादको श्रमिक अवसान र सर्वहारावर्गको अधिनायकत्वको अधकल्चो समझदारी आदि विशिष्ट कारणहरूले गर्दा स्टालिन युगको समाजवाद जनताबाट अलग्गिँदा राज्यको अत्यधिक नियन्त्रण भएको समाजवाद हुन पुग्यो। त्यस्तो समाजवादको उपयुक्त नाम 'राज्य समाजवाद' हो भन्ने मेरो मान्यता रहेको छ।

केही निष्कर्षहरू

सोभियतमा संघमा समाजवाद निर्माणको प्रयत्न, संशोधनवादको उदय र बजार अर्थतन्त्रमा आधारित पूजीवादको वर्तमान लहरले समाजवादी आन्दोलनलाई दुई महत्वपूर्ण पाठ सिकाएको छ। पहिलो- पार्टी र जनसमुदायको विचारधारात्मक सचेतनताको स्तर जति तल गिर्‍यो, त्यति समाजवादी आन्दोलन संशोधनवाद या जडसूत्रवादमा जाकिने डर हुन्छ। सो. क.पा.को १९ औं महाधिवेशनमा प्रस्तुत गरिएको रिपोर्टमा उल्लेख भएको झैं यदि आलोचना र आत्मालोचनालाई वेवास्ता गरियो भने, यदि संगठन र संस्थाहरू माथि जनताको नियन्त्रण कमजोर भयो भने त्यसको अवश्यंभावी परिणाम नोकरशाहीतन्त्र र विभिन्न प्रकारका विकृतिहरूको जन्म हुन्छ। ‘सर्वहारा जनवादबिना सर्वहारा अधिनायकत्व संभव छैन’ भन्ने घोषणा गर्दै जन-नीति (Mass Line) र सर्वहारा सांस्कृतिक क्रान्तिलाई व्यवहारमा लागू गरेर देखाउने माओत्सेतुङ्गका विचारहरूको महत्व यस सन्दर्भमा अझ बढी खुल्न आउँछ।

पूँजीवादी देशहरूको घेरामा परेको समाजवादी देशमा ढीलो छिटो थुप्रै विसंगति र कमजोरीहरू देखापर्न थाल्दछन् र अन्ततः त्यसले खुल्ला वा छद्म रूपमा पूँजीवादको पुनर्स्थापना गराई छोड्छ। तसर्थ एउटा देशमा समाजवादी निर्माणको आफ्नै ठूलो महत्व भए तापनि र त्यसको दृढता-पूर्वक रक्षा गर्दै अगाडि बढाउनु पर्ने दायित्व भए तापनि त्यो प्रयत्न सदैव विश्व क्रान्तिकारी आन्दोलनको मातहत हुनुपर्छ र विश्व क्रान्तिको सफलता प्रयत्नले प्राथमिकता पाउन कुनै एक देशले खतरा मोल्नुपर्छ भने त्यो खतरा उठाइनु पर्दछ।

दोश्रो, एउटा देशमा समाजवाद निर्माण एउटा सीमासम्म मात्र गर्न सकिन्छ। विश्वका अन्य देशहरूमा पनि समाजवादको विस्तार भएन भने एउटा देशभित्रको समाजवाद निर्माणलाई आवश्यक सरसहयोग पुग्न सक्दैन। साम्राज्यवादी व्यवस्था अत्यन्त एकीकृत विश्व पूँजीवादी अर्थ व्यवस्था हो र विश्व क्रान्तिको अभावमा समाजवादी राष्ट्रहरू यसमा भाग लिन र प्रभावित हुनबाट बच्न सक्तैनन्। पूँजीवादी देशहरूको घेरामा परेको समाजवादी देशमा ढीलो छिटो थुप्रै विसंगति र कमजोरीहरू देखापर्न थाल्दछन् र अन्ततः त्यसले खुल्ला वा छद्म रूपमा पूँजीवादको पुनर्स्थापना गराई छोड्छ। तसर्थ एउटा देशमा समाजवादी निर्माणको आफ्नै ठूलो महत्व भए तापनि र त्यसको दृढता-पूर्वक रक्षा गर्दै अगाडि बढाउनु पर्ने दायित्व भए तापनि त्यो प्रयत्न सदैव विश्व क्रान्तिकारी आन्दोलनको मातहत हुनुपर्छ र विश्व क्रान्तिको सफलता प्रयत्नले प्राथमिकता पाउन कुनै एक देशले खतरा मोल्नुपर्छ भने त्यो खतरा उठाइनु पर्दछ। अर्को शब्दमा सर्वहारा अन्तर्राष्ट्रियवादको महत्व सर्वोपरि भएको स्वीकार्नु बान्छनीय छ।

अन्त्यमा, सोभियत संघमा समाजवादको निर्माण अभियान राज्य सामाजवादको सीमाभित्र बाँधिन पुग्नु राज्य समाजवादका विसंगति र कमजोरीहरूले ख्रुश्चेभी संशोधनवादको उदय संभव तुल्याउनु र त्यसले क्रमशः समाजवादी आधार नष्ट गर्दै जन्माएको नोकरशाही राज्य पूँजीवादको संकटलाई 'समाजवादको मृत्यु' मानेर उत्सव मनाइरहेका श्रम चुसाहा वर्गका प्रलापपूर्ण दावीहरूले समाजवादीहरूलाई दिग्भ्रमित गराउन सकेको छैन भन्ने मेरो विश्वास छ। किनभने पूँजीवादको उपस्थितिले नै त्यस्ता दावीहरूको निरर्थकता साबित गर्दछ। पूँजीवादको अमानवीय क्रूर र अपराधपूर्ण व्यवस्थाको तर्कसंगत र मानवीय विकल्प समाजवाद मात्र हो र समाजवादीहरू, पहिले भन्दा अझ डटेर, त्यो विकल्पको रक्षा गर्दै त्यसलाई अघि बढाइरहेका छन्। राल्फ मिलिब्रान्डको शब्दमा –

‘के कुराले त्यस्ता दावीहरूलाई वाहियात साबित गर्दछ भने पूँजीवाद अझै अस्तित्वमा छ। यसको मेटाउनै नसकिने सीमाहरूले गर्दा पूँजीवाद आफ्नै चारैतिर मानिसहरूलाई विकल्प खोज्न निरन्तर लागि रहनु पर्ने स्थिति को ग्यारेन्टी गर्दछ। पूँजीवादको तर्कसंगत र मानवीय विकल्पको प्रतिनिधित्व समाजवादले मात्र गर्दछ। समाजवादीको रूपमा हाम्रो दायित्व पहिले भन्दा अझ डटेर, त्यो विकल्पको रक्षा गर्नु र त्यसलाई अघि बढाउनु हो।’

मूल्याङ्कन मासिक कातिक–मंसिर २०४८ अङ्कमा प्रकाशित लेख

सम्बन्धित सामग्री

सोभियत संघ विघटनपछिको संसार : पूँजीवाद–समाजवादको द्वन्द्वात्मक पुनर्पाठ

अन्तर्विरोधबाट विकल्पतर्फ : प्रकृति, असमानता र भविष्यको समाजवादी प्रश्न