क्रान्तिकारी जनवादी सरकारको सांस्कृतिक नीति
नेपालको राजनीतिक क्षितिजमा थुप्रै उतारचढाव र व्यवस्थागत परिवर्तनहरू भइसकेका छन् । तर दु:खको कुरा नेपाली समाजको जगले अझै पनि वैचारिक र सांस्कृतिक रूपमा सही दिशा हासिल गर्न सकेको छैन । राजनीतिक र आर्थिक मुद्दा मात्रै हैन, उत्तिकै प्राथिमकतामा राख्नुपर्ने साँस्कृतिक मुद्दा नेपाली वामपन्थी आन्दोलनमा हावी वैचारिक विचलनका कारण सदैव उपेक्षित र पछि परेको मुद्दा रहँदै आएको छ ।
यस अर्थमा नेपालमा जनवादी क्रान्तिका स्वप्नद्रष्टा स्वर्गीय पुष्पलालले आजभन्दा दशकौँ अघि अघि सारेको 'नयाँ जनवादी सांस्कृतिक नीति' को महत्त्व र सान्दर्भिकता सदैव टड्कारो रहँदै आएको छ । उनले अघि सारेको यो नीति पक्कै पनि इतिहासको दस्ताबेज मात्र होइन, यो आजको विकृत र दिशाहीन बनिरहेको सामाजिक-सांस्कृतिक परिवेशलाई चिर्ने एउटा सशक्त वैचारिक मार्गदर्शन हो। राष्ट्रिय संस्कृतिका नाममा हुने शासक वर्गको एकाधिकार, बाह्य विकृतिहरूको अमानवीय प्रभाव र वर्गीय शोषणका सूक्ष्म रूपहरूलाई नाङ्गो पार्दै उनले प्रस्तुत गरेका वैज्ञानिक दृष्टिकोण आज झनै सान्दर्भिक र मननीय छ ।
कुनै पनि क्रान्ति वा रूपान्तरण तबसम्म पूर्ण हुन सक्दैन जबसम्म त्यसले जनताको सोच, कला, भाषा र जीवनशैलीमा परिवर्तन ल्याउन सक्दैन भन्ने कुरा अकाट्य सत्य हो। सामन्ती र साम्राज्यवादी अवशेषहरूलाई पखालेर किसान, मजदुर र श्रमजीवी वर्गको मौलिक संस्कृतिलाई कसरी क्रान्तिको संवाहक बनाउने? राष्ट्रियता, वैज्ञानिकता र जनवादी चेतनाले भरिपूर्ण संस्कृतिको निर्माण कसरी गर्ने? भन्ने प्रश्नहरूको स्पष्ट र क्रान्तिकारी उत्तर खोज्न यो आलेख प्रत्येक सचेत पाठका लागि एक अध्ययनयोग्य, विचारोत्तेजक र दिशा-निर्देशक सामग्री बन्न सक्छ भन्ने हामीलाई लाग्छ ।
दायित्वबोध
०००
“नेपालको परम्परागत नाचगान, पोशाक लगायत पुरा नेपाली संस्कृतिको संरक्षण र उचित विकास गर्नेतर्फ ध्यानदिनु आवश्यक भएकोले यस योजना कालमा यसतर्फ पनि आवश्यक कदम चालिने छ ” भनी तेस्रो योजनामा उल्लेख छ। तेस्रो योजनाको यस भनाइमा नेपालको परम्परागत संस्कृतिको संरक्षण तथा उचित विकास गर्ने कुराको उल्लेख गरिएको छ, तर नेपालको सांस्कृतिक परम्परा के हो भन्ने कुराको व्याख्या गरिएको छैन। जबसम्म राष्ट्रिय संस्कृतिको परिभाषा गरिन्न तबसम्म यो काम हुन सक्दैन। संस्कृति कुनै दिव्य शक्तिको देन तथा अपरिवर्तनशील नभै सामाजिक विकासको क्रममा उत्पन्न हुने र यसमा परिवर्तन हुनासाथ परिवर्तन हुँदै जाने मानसिक क्रियाकलाप हो। कुनै पनि संस्कृतिमा कुनै एक आर्थिक तथा राजनीतिक व्यवस्थाको प्रतिविम्ब हुन्छ। अतः संस्कृति विशुद्ध रूपले राष्ट्रिय नभई वर्गीय छापले रंगिएको हुन्छ। तसर्थ राष्ट्रिय संस्कृतिको परिभाषा पनि युग-युग अनुसारको हुन्छ।
संस्कृति कुनै दिव्य शक्तिको देन तथा अपरिवर्तनशील नभै सामाजिक विकासको क्रममा उत्पन्न हुने र यसमा परिवर्तन हुनासाथ परिवर्तन हुँदै जाने मानसिक क्रियाकलाप हो।
आज नेपालमा राष्ट्रिय संस्कृतिको नाममा राजा र राजतन्त्रलाई केन्द्रविन्दु बनाई साहित्य, कला, संस्कृति आदिको प्रचार-प्रसार गरिँदै छ। अन्वेषण जस्तो महत्त्वपूर्ण कार्य पनि यसै पूर्वनिश्चित धारणा अनुसार गर्न बाध्य गराइन्छ। नेपालको इतिहासलाई पनि यसै अनुरूप पेश गराइन्छ। राजाको वर्ग स्थितिमा पर्दा हाल्नको लागि देश र नरेशलाई एक अर्काको पर्यायवाची शब्दको रूपमा प्रयोग गराइन्छ। यी सम्पूर्ण कार्य वर्ग समन्वयको सिद्धान्तको आधारमा हुँदैछन्। यसले नपुगी पूँजीवादी राष्ट्रहरूका पतनोउन्मुख पूँजीवादी संस्कृतिलाई खुला रूपले नेपालको राष्ट्रिय जीवनमा प्रवेश गराई प्रचार-प्रसार गर्नमा विशेष जोड तथा प्रोत्साहन दिइँदैछ। यौन-प्रधान साहित्य प्रचार-प्रसारमा ल्याइएको छ। यसरी शिक्षित समुदायलाई सृष्टिको गर्भदेखि नै पथभ्रष्ट गराउने काम भइरहेको छ। हामीले नेपालको राष्ट्रिय संस्कृतिलाई वैज्ञानिक दृष्टिकोणले अध्ययन गर्नु पर्दछ।
समाज विकासको क्रममा मातृ-सत्तात्मक समाज देखापर्दा “मातृ भक्ति”, पितृ सत्तात्मक समाज देखापर्दा “पितृ उद्धार समो धर्मनाई”, सामन्ती समाज देखापर्दा “नरनारायण”, अर्धसामन्ती समाजमा परिवर्तन भएपछि “मानिसहरूको काँध चढी कुन मन्दिरमा जाने हो” र त्यस्तै पूँजीवादी व्यवस्थाको प्रभावले गर्दा अर्धसामन्ती समाजमा मजदुर वर्ग देखापरेपछि “पहाड-पर्वत, खोला, नाला जग्गा, जमीन, सबको; मालिक हामी दास बनौं किन हिस्सा सबमा सबको” भन्ने संस्कृति नेपालमा देखिन आयो।
हामी यस्तो संस्कृतिलाई शासकबाट मुक्तगरी विकास गर्ने पक्षमा छौं। मार्क्सवादीहरूको निम्ति कला मनोरञ्जनको साधन नभई क्रान्ति चलाउने र जीवनको समृद्धि गर्ने साधन हो। फेरि जसरी मानिसले खानामा खाद्य र अखाद्य छुट्याउछ त्यसरी नै अन्तर्राष्ट्रिय संस्कृतिमा पनि जनवादी क्रान्तिको लागि ग्राह्य र अग्राह्य छुट्याउनु पर्दछ।
जसरी एक वर्गको आर्थिक र राजनीतिक स्वार्थ अर्को वर्गको स्वार्थसँग टकराउँछ त्यसरी नै एक वर्गको संस्कृतिसित अर्को वर्गको संस्कृति पनि टकराउँछ। समाज विकासको दौरानमा एउटा वर्ग उत्पादनका साधनको मालिक हुन पुग्दछ र यसले जीवनदेखि असम्बन्धित “कला कलाको निम्ति” भन्ने सिद्धान्त प्रतिपादन गर्दछ। यस अनुसार कला, साहित्य तथा संस्कृति जीवनको निम्ति नभै मनोरञ्जनको साधन मात्र हुन्छ। शासक वर्ग नेपालमा यस्तै संस्कृतिको विकास आज गराउँदै छ र पतनउन्मुख तथा विषाक्त पश्चिमी साहित्यको प्रचार गराउँदै छ। तर यसको मतलब नेपालको आफ्नो राष्ट्रिय संस्कृति छैन तथा सबै अन्तर्राष्ट्रिय संस्कृतिहरू अछुत हुन् भन्ने होइनन्। आफ्नै शरीर भनी यसको सफाई नगर्ने कुरा हुँदैन, नत खान पाइयो भन्दैमा अखाद्य वस्तु खाइन्छ। जसरी मानिसले आफ्नो शरीरको सफाइ गर्दछ त्यसैगरी आज नेपालको राष्ट्रिय संस्कृतिको पनि सफाई हुनु परेको छ। हाम्रा किसान, मजदुर, कालीगढ, बुद्धिजीवी, आदिले आफ्नो संस्कृतिको विकास गरेका छन्। तर, शासक वर्गले यसलाई दबाइदिएको छ। अतः हामी यस्तो संस्कृतिलाई शासकबाट मुक्तगरी विकास गर्ने पक्षमा छौं। मार्क्सवादीहरूको निम्ति कला मनोरञ्जनको साधन नभई क्रान्ति चलाउने र जीवनको समृद्धि गर्ने साधन हो। फेरि जसरी मानिसले खानामा खाद्य र अखाद्य छुट्याउछ त्यसरी नै अन्तर्राष्ट्रिय संस्कृतिमा पनि जनवादी क्रान्तिको लागि ग्राह्य र अग्राह्य छुट्याउनु पर्दछ। हामीलाई बेलायत, फ्रान्स तथा अमेरिकाको त्यस बखतको संस्कृति ग्राह्य हुन्छ जतिबेला उनीहरू सामन्तवाद तथा औपनिवेशिक व्यवस्थाको विरुद्ध संघर्ष गरिरहेका थिए। आज एसियाली, अफ्रिकाली तथा ल्याटिन अमेरिकी देशका मुक्ति संग्राम र क्रान्ति तथा जनवादी सशस्त्र क्रान्तिमा लागेका जनताको संस्कृतिले जनवादी क्रान्ति चलाउन नेपालका क्रान्तिकारीहरूलाई ठूलो प्रेरणा दिने हुँदा यस्तो संस्कृति हाम्रो निम्ति ग्राह्य छ। हामी समाजवादी संस्कृतिको पक्षमा हुँदाहुँदै पनि तत्काल त्यसलाई हाम्रो संस्कृतिको प्रधान अङ्गको रूपमा विकास गर्ने कुरा गर्दैनौ। अहिले हाम्रो क्रान्तिको चरण सर्वहारा वा समाजवादी नभई सामन्तवाद तथा साम्राज्यवादी विरोधी नयाँ जनवादी भएको हुँदा आजको हाम्रो संस्कृति नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न क्रान्तिकारी उत्साह र प्रेरणा दिने र जनवादी आर्थिक तथा राजनीतिक व्यवस्थाको पक्षमा मत जाहेर गर्ने खालको हुनुपर्दछ। क्रान्तिका मित्र शक्तिहरूमा क्रान्तिकारी उत्साह भर्ने तथा विरोधीहरूपति घृणा उत्पन्न गर्ने खालको हुनुपर्दछ।
एक शब्दमा भन्ने हो भने आजको हाम्रो संस्कृतिको सार राष्ट्रिय स्वरूप तथा जनवादी क्रान्तिकारी गुदी भएको हुनुपर्दछ। त्यसको निम्ति नयाँ जनवादी क्रान्तिकारी सरकारले
(१) नेपालको राष्ट्रिय तथा क्रान्तिजीवनको चेतनालाई विषाक्त गर्ने सामन्ती, पूँजीवादी तथा साम्राज्यवादी संस्कृतिको अन्त्य गर्नेछ;
(२) समाज विकास र एकीकरणको दौरानमा विभिन्न जातिहरूको समिश्रणबाट उत्पन्न भएको नेपाली संस्कृतिलाई राष्ट्रियता र क्रान्तिकारी भावनाको आधारमा विकास गराउनेछ;
(३) सबै जातिहरूलाई आ-आफ्नो तरिकाको जीवन यापन गर्न दिनुका साथै उनीहरूलाई परम्परागत प्रतिक्रियावादी संस्कृति र रुढी-बुढीबाट मुक्त गर्नेछ;
(४) सबै जातिहरूको कला, कौशल तथा साहित्यलाई राष्ट्रियता र क्रान्तिकारी जनवादी भावनाको आधारमा विकास गराउनेछ;
(५) सबै जातिहरूको भाषा, बोली, लोक गीत, नाचगान, बजाना आदिको विकास गर्न सबैलाई समान अवसर प्रदान गर्नेछ र लिपिको पनि विकास गराउनेछ;
(६) जनतालाई अन्धविश्वास, रुढी-बुढी तथा जनवाद विरोधी भावनाबाट मुक्त गरी सबै जातिहरूको बीचमा सामन्ज्यता स्थापित गराउनेछ।
(७) कुनै पनि जाति वा व्यक्तिलाई कुनै प्रकारको विशेष सुविधा प्रदान गर्नेछैन र छुवाछुतप्रथा खतम गर्नको साथै
(८) शिक्षाको उद्देश्य एक शिक्षित सुविधा सम्पन्न समुदायको जमात तयार गर्ने नभै जनवादी क्रान्तिलाई अगाढ बढाउन सामाजिक उत्पादनमा सहायक र उपयोगी बनाउनु भएको हुँदा यसको निम्ति आवश्यकतानुसार कला, विज्ञान तथा टेक्निकल शिक्षण संस्थानहरूको व्यवस्था गर्ने, देशका कला कौशल र बैदङ्गी शास्त्रलाई रुढी-बुढीबाट मुक्तगर्ने तथा कालीगढ, सिकर्मी, डकर्मी, सुनार, सुडेनी, वैद्य आदिको कौशलमा विशेष उन्नति गराउन उनीहरूलाई विशेष शिक्षा प्रदान गर्ने प्रबन्ध गर्नेछ,
(९) हाई स्कूलसम्म निःशुल्क र अनिवार्य शिक्षाको प्रबन्ध गर्नेछ तथा
(१०) शान्ति, जनवाद र समाजवादको विकासमा सहायक बन्ने संस्कृतिको विकास गर्न सामन्ती प्रतिकृयावादी तथा साम्राज्यवादी संस्कृतिको दमन गरी यिनीहरूको स्मारकहरूलाई म्यूजियममा पुऱ्याउनेछ र क्रान्तिकारी जनवादी सरकारलाई मान्यता दिने विश्वका सबै राष्ट्रसँग सांस्कृतिक प्रतिनिधिमण्डलको आदान-प्रदान गराउनेछ।
श्रोत : पुष्पलाल, नयाँ जनवादी कार्यक्रम, नेपाली क्रान्तिको एक मात्र सही मूलबाटो
क्रान्ति, सादगी र विचारधारा झल्काउने माओत्सेतुङको पहिरन शैली
भिक्टर जारा: कहिल्यै नटुंगिने धुन
क्रान्तिनायक चे ग्वेभाराका मनपर्ने पाँच पुस्तकहरू
माओ त्सेतुङ ५० वर्षपछि: उनका शिक्षाहरूको सान्दर्भिकता कायमै छ
माओ पछिको पचास वर्ष: इतिहासको धार बदल्ने विरासत
ओमानको ओझेलमा परेको नारीवादी मार्क्सवादी क्रान्ति
जनता नै ज्ञानका भरपर्दा खानी: जनसमुदाय र उनीहरूको अनुभवबाट सिक्नुपर्ने मार्क्स…
प्रतिक्रिया