क्रान्ति, सादगी र विचारधारा झल्काउने माओत्सेतुङको पहिरन शैली

आधुनिक विश्व इतिहासमा चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक तथा जनवादी गणतन्त्र चीनका संस्थापक अध्यक्ष माओत्सेतुङ रणनीतिकार–सिद्धान्तकार मात्र थिएनन्, उनी गहन विचारक पनि थिए। उनको जीवनशैली, व्यक्तिगत बानीव्यवहार र विशेष गरी उनको पहिरनले बीसौं शताब्दीको राजनीतिक र सांस्कृतिक परिदृश्यमा गहिरो छाप छोडेको छ। पश्चिमा देशहरूमा सामान्यतया 'माओ सुट' वा चिनियाँ ट्युनीक सुटको रूपमा चिनिने यो विशेष किसिमको पहिरन कपडाको एक शैली मात्र थिएन । यो त श्रमजीवी वर्गप्रतिको निष्ठा, समानताको सन्देश र सादगीपनको एक जिउँदो दस्तावेज पनि थियो। माओको पहिरनसम्बन्धी रुचि, उनको सादगीपन र यसले चिनियाँ समाजमा पारेको प्रभावको ऐतिहासिक स्रोत र दस्तावेजीकरणहरूको अध्ययन गर्दा एउटा गम्भीर वैचारिक र सांस्कृतिक यात्रा स्पष्ट हुन्छ।

इतिहासका विभिन्न कालखण्डमा पहिरनलाई उच्च वर्ग, कुलिनता र विलासको प्रतीक मानिन्थ्यो। तर माओत्सेतुङले आफ्नो पहिरनमार्फत वर्गीय भिन्नतालाई मेटाउने र सर्वसाधारण जनता तथा किसानहरूसँग आफ्नो भावनात्मक र राजनीतिक सम्बन्ध प्रगाढ बनाउने नीति अपनाए। उनी प्रायः साधारण सुती कपडाबाट बनेका, हल्का खुकुलो र व्यावहारिक किसिमका लुगाहरू रुचाउँथे। इतिहासकार र आधिकारिक स्रोतहरूका अनुसार, माओले प्रयोग गर्ने यो पहिरन शैलीको जरो सन यात-सेनद्वारा प्रेरित चिनियाँ राष्ट्रवादी र क्रान्तिकारी पहिरन तथा चिनियाँ विद्यार्थी र सैनिकहरूको पहिरनसँग जोडिएको पाइन्छ। पछि यसलाई सन् १९५६ मा सोभियत संघको ‘स्टालिन ट्युनीक’ शैलीबाट समेत केही प्रभावित गराउँदै परिमार्जन गरी माओको आफ्नै विशेष कटाइमा तयार पारिएको थियो।

यस पहिरनका विशेषताहरू अत्यन्तै सरल थिए। यसमा अगाडि बटन लगाइएको ज्याकेट, गलासम्मै जोडिएको कडा तथा सानो कलर र छाती तथा कम्मरमा चारवटा प्याच पकेटहरू हुन्थे। ऐतिहासिक मान्यता अनुसार यी चार पकेटहरूले शिष्टाचार, न्याय, इमानदारी र नम्रता जस्ता चार प्रमुख गुणहरूलाई प्रतिनिधित्व गर्छन् भने यसका पाँच बटनहरूले सरकारका विभिन्न अंग वा सिद्धान्तहरूको प्रतिनिधित्व गर्ने धारणा राखिएको छ। माओले सधैं यस्तै प्रकारका सरल पहिरनहरूलाई सार्वजनिक जीवनमा प्राथमिकता दिए जसले गर्दा उनी श्रमजीवी जनताबीच एक साधारण नेताको रूपमा परिचित भए। विलासी जीवनशैलीको ठीक विपरीत, माओको जीवनको सादगी उनको लुगाफाटोमा प्रष्ट झल्किन्थ्यो। उनी पुराना भइसकेका वा पटक-पटक सिलाइएका तथा लगाइएका लुगाहरू लगाउनसमेत संकोच मान्दैनथे।

चिनियाँ क्रान्तिको सफलता र सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापनापछि माओको यो सादगीपूर्ण पहिरन सम्पूर्ण राष्ट्रको साझा गणवेश जस्तै बन्यो। चिनियाँ कम्युनिष्ट पार्टीका क्याडरहरू, मजदुरहरू, किसानहरू र आम नागरिकहरूले समेत यही शैलीका सुट वा यसका परिवर्तित रूपहरू दैनिक जीवनमा प्रयोग गर्न थाले। यद्यपि, यसभित्र पनि सूक्ष्म सामाजिक र पदानुक्रमिक भिन्नताहरू भने विद्यमान थिए; जस्तै- किसान र मजदुरहरूले निलो रङको सुट लगाउँथे भने सेनाले खैरो वा हरियो र पार्टीका उच्च तहका अधिकारीहरूले धूस्रो रङका कपडा प्रयोग गर्ने गरेका थिए। तर यसको मूल मर्म भनेको वर्गीय समानता, सामूहिक एकता र सर्वहारा वर्गको अधिनायकत्वको भावनालाई दृढ बनाउनु नै थियो।

माओको यो सादगीपन केवल देखावटी नभई उनको राजनीतिक दर्शनको अभिन्न अंग थियो। उनी पश्चिमा शैलीका सुट र टाई संस्कृतिको कडा विरोध गर्दथे । त्यस्ता पहिरनलाई उनी पुँजीवादी र साम्राज्यवादी शोषणको प्रतीक मान्थे। उनले चिनियाँ पहिरनलाई नै राष्ट्रिय सार्वभौमिकता, आत्मसम्मान र सांस्कृतिक पहिचानको प्रतीकको रूपमा स्थापित गरे। औपचारिक राजकीय समारोहहरू, सैनिक परेडहरू वा अन्तर्राष्ट्रिय कूटनीतिक भेटघाटहरूमा समेत माओले सधैं यही परम्परागत र सरल चिनियाँ ट्युनीक सुटलाई निरन्तरता दिए। यसले विश्व मञ्चमा चीनको छुट्टै र विशिष्ट पहिचान दिन ठूलो भूमिका खेल्यो।

समयको गतिसँगै विश्वको फेसन र राजनीतिक संस्कृति फेरिँदै गए पनि माओको पहिरनले सिर्जना गरेको सादगीको इतिहास आज पनि अध्ययनको एक महत्वपूर्ण विषय बनेको छ। १९६0 र १९७0 को दशकमा त यो पहिरन शैली एसिया मात्र होइन, पश्चिमा देशहरूका समाजवादी र बुद्धिजीवीहरूमाझ समेत क्रान्ति, विद्रोह र बौद्धिक चेतनाको प्रतीकको रूपमा लोकप्रिय बनेको थियो।

संक्षेपमा भन्नुपर्दा, माओत्सेतुङको पहिरनसम्बन्धी रुचि र सादगीपन केवल कपडाको छनोट मात्र थिएन, यो एउटा युगको राजनीतिक दर्शन, वर्गीय समानताको खोजी र विलासिताप्रतिको कडा विद्रोही चेतनाको ज्वलन्त उदाहरण थियो । माओको यो पहिरचनले चीनको इतिहासलाई मात्र होइन, विश्वको राजनीतिक पहिरनको इतिहासलाई नै समेत सधैंभरिका लागि प्रभावित तुल्यायो।