माओवादी विद्रोहको गन्तव्य कतातिर?

भारतमा माओवादी विद्रोह सन् २००४ मा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को स्थापना भएयताको सम्भवतः सबैभन्दा कमजोर अवस्थामा छ। वर्षौंसम्म चलेका लगातारका माओवादीविरोधी कारबाहीहरू, नेतृत्वको क्षति, खुम्चिँदै गएको प्रादेशिक प्रभाव, घट्दो भर्ती, र राज्यले प्राप्त गरेका बढ्दो प्राविधिक फाइदाहरूले यस आन्दोलनको कार्यसञ्चालन क्षमतालाई उल्लेखनीय रूपमा कमजोर बनाएका छन्।

पतनको भविष्यवाणी बारम्बार गरिए तापनि माओवादी आन्दोलनले दीर्घकालीन सामाजिक असन्तोष र लामो संघर्षप्रतिको वैचारिक प्रतिबद्धताको बलमा निरन्तरता दिने क्षमता प्रदर्शन गरिरहेको छ।

एक समय मध्य र पूर्वी भारतका ठूला भूभागहरूमा सक्रिय रहेको यो विद्रोह आज धेरै सीमित भौगोलिक र राजनीतिक दायरामा मात्र जीवित छ। यद्यपि, यसको पतनको भविष्यवाणी बारम्बार गरिए तापनि यस आन्दोलनले दीर्घकालीन सामाजिक असन्तोष र लामो संघर्षप्रतिको वैचारिक प्रतिबद्धताको बलमा निरन्तरता दिने क्षमता प्रदर्शन गरिरहेको छ।

यस पृष्ठभूमिमा, सन् २०२५ मे २१ का दिन बसवराजको नामले बढी चिनिने नामबाला केशवरावको मृत्युले पछिल्ला दशकहरूमा संगठनले भोगेका सबैभन्दा ठूला परिणाममुखी झट्काहरू मध्ये एकलाई प्रतिनिधित्व गर्‍यो। छत्तीसगढको नारायणपुर जिल्लाको गुन्डेकोट जङ्गलमा भएको एक ठूलो सुरक्षा कारबाहीका क्रममा अन्य २७ जना विद्रोहीहरूसँगै मारिएका सिपिआई (माओवादी) का महासचिब राज्यका सुरक्षा फौजसँगको लडाइँमा मारिने आन्दोलनका सर्वोच्च तहका नेताहरू मध्ये एक बने।

माओवादी आन्दोलनका लागि भने बसवराजको मृत्युलाई अन्तिम पराजयको रूपमा भन्दा पनि लामो ऐतिहासिक संघर्षको एक त्यागको क्षणको रूपमा व्याख्या गरिएको छ।

हजारौं सुरक्षाकर्मीहरू सहभागी भएको र कैयौं दिनसम्म चलेको सो कारबाहीलाई सरकारले वामपन्थी अतिवाद विरुद्धको एक निर्णायक प्रहारको रूपमा प्रस्तुत गर्‍यो। तथापि, माओवादी आन्दोलनका लागि भने बसवराजको मृत्युलाई अन्तिम पराजयको रूपमा भन्दा पनि लामो ऐतिहासिक संघर्षको एक त्यागको क्षणको रूपमा व्याख्या गरिएको छ। यी विपरीत व्याख्याहरूले माओवादी विद्रोहको गतिशीलतालाई कसरी बुझ्नुपर्छ भन्ने विषयमा चलिरहेको बृहत् संघर्षलाई प्रतिबिम्बित गर्दछन्।

आन्ध्र प्रदेशको श्रीकाकुलम जिल्लामा जन्मिएका बसवराज सन् १९६० को दशकको उत्तरार्धको किसान विद्रोहपछिको सामाजिक अशान्ति र नक्सलवादी आन्दोलनको विरासतबाट प्रभावित कालखण्डमा राजनीतिमा प्रवेश गरेका थिए। इन्जिनियरिङ अध्ययन गरेका उनले आफ्नो राजनीतिक जीवनको ठूलो हिस्सा माओवादी आन्दोलनको सैन्य क्षमता विकास गर्नमा समर्पण गरे। कैयौं दशकसम्म उनले सशस्त्र टुकडीहरूको संगठन, सामरिक रणनीतिको रूपरेखा तयार पार्न र बदलिँदो सुरक्षा अवस्थाअनुरूप विद्रोही तरिकाहरूलाई अनुकूल बनाउनमा केन्द्रीय भूमिका खेले।

बसवराजको कार्यकाल विस्तारको कालखण्डभन्दा बढी संगठनको संरक्षण र अनुकूलनको कालखण्ड थियो। युवा कार्यकर्ताहरूलाई नेतृत्वका लागि तयार पार्ने कुरामा उनको जोडले आन्दोलन एक कठिन चरणमा प्रवेश गर्दैछ भन्ने चेतनालाई प्रतिबिम्बित गर्दथ्यो।

जब उनले सिपिआई (माओवादी) को नेतृत्व सम्हाले, तब यो आन्दोलन पहिल्यैदेखि नै बढ्दो चुनौतीहरूको सामना गरिरहेको थियो। राज्यका तर्फबाट विस्तार गरिएका माओवादीविरोधी कारबाहीहरू, घट्दो प्रादेशिक प्रभाव, नेतृत्वको क्षति र घट्दो भर्तीले धेरै क्षेत्रहरूमा संगठनलाई कमजोर बनाएको थियो। त्यसैले, बसवराजको कार्यकाल विस्तारको कालखण्डभन्दा बढी संगठनको संरक्षण र अनुकूलनको कालखण्ड थियो। युवा कार्यकर्ताहरूलाई नेतृत्वका लागि तयार पार्ने कुरामा उनको जोडले आन्दोलन एक कठिन चरणमा प्रवेश गर्दैछ भन्ने चेतनालाई प्रतिबिम्बित गर्दथ्यो।

उनको मृत्युको महत्व एकजना नेताको क्षतिभन्दा धेरै टाढासम्म फैलिएको छ। इतिहासका क्रान्तिकारी र विद्रोही आन्दोलनहरूले प्रायः गम्भीर दमन, नेतृत्वविहीनता र संगठनात्मक संकटका अवधिहरूको सामना गरेका छन्। सन् १९०५ को असफल विद्रोहपछिको रुसी क्रान्तिकारी आन्दोलन, विभिन्न देशका उपनिवेशविरोधी भूमिगत संगठनहरू, र बीसौँ शताब्दीका थुप्रै छापामार आन्दोलनहरूले अस्तित्व रक्षा नै मुख्य चुनौती बन्ने यस्तै मोडहरूको सामना गरेका थिए।

राज्यको दमनले कार्यसञ्चालन क्षमतालाई सीमित गर्न सक्छ, तर आन्तरिक रणनीतिक असहमतिहरू, संगठनात्मक कमजोरीहरू र बदलिँदो सामाजिक अवस्था उत्तिकै परिणामदायी साबित हुन सक्छन्।

राजनीतिक सिद्धान्तकारहरू प्रायः बाह्य दबाब र आन्तरिक अन्तर्विरोधहरूको संयोजनमार्फत यस्ता संकटहरूको व्याख्या गर्छन्। राज्यको दमनले कार्यसञ्चालन क्षमतालाई सीमित गर्न सक्छ, तर आन्तरिक रणनीतिक असहमतिहरू, संगठनात्मक कमजोरीहरू र बदलिँदो सामाजिक अवस्था उत्तिकै परिणामदायी साबित हुन सक्छन्। यस्ता संकटहरूले पुनरुत्थान वा पतनमध्ये कुन बाटो समात्छन् भन्ने कुरा प्रायः आन्दोलनको आफ्ना मान्यताहरूको पुनर्मूल्यांकन गर्ने र नयाँ यथार्थहरूसँग अनुकूल हुने क्षमतामा निर्भर हुन्छ।

भारतको समकालीन माओवादभित्र यो चुनौती विशेष रूपमा प्रष्ट देखिन्छ। आन्दोलनको सैन्य र राजनीतिक प्रभाव खुम्चिँदै जाँदा विचारधारा र रणनीतिमाथिको आन्तरिक बहसहरू तीव्र बनेका छन्। पार्टीका प्रकाशनहरू र सहानुभूति राख्ने टिप्पणीकारहरूले प्रायः यी असहमतिहरूलाई क्रान्तिकारी कट्टरता र संशोधनवादबीचको संघर्षको रूपमा प्रस्तुत गर्ने गरेका छन्। कार्ल मार्क्स र लेनिनदेखि माओ त्सेतुङसम्मका ऐतिहासिक व्यक्तित्वहरूलाई क्रान्तिकारी परम्पराका प्रतिनिधिहरूको रूपमा स्मरण गरिन्छ भने विरोधीहरूलाई प्रायः सुधारवादी, विघटनवादी वा संशोधनवादीको रूपमा वर्गीकरण गरिन्छ।

रणनीतिमाथिको आन्तरिक बहसहरू तीव्र बनेका छन्। पार्टीका प्रकाशनहरू र सहानुभूति राख्ने टिप्पणीकारहरूले प्रायः यी असहमतिहरूलाई क्रान्तिकारी कट्टरता र संशोधनवादबीचको संघर्षको रूपमा प्रस्तुत गर्ने गरेका छन्।

यस्ता बहसहरू माओवादीमा मात्रै सीमित छैनन्। समाजवादी आन्दोलनको इतिहास रणनीति, संगठन र राजनीतिक सहभागिताका प्रश्नहरूमा बारम्बार हुने विवादहरूले भरिएको छ। मार्क्सले प्रथम इन्टरनेसनलभित्र अराजकतावादी र सुधारवादीहरूसँग बहस गरेका थिए। लेनिनले क्रान्तिकारी दलको संरचनालाई लिएर मेन्सेभिकहरूसँग संघर्ष गरे। सोभियत नेतृत्वसँग माओको असहमतिले सोभियत-चीन विभाजनको रूप लियो। भारतमा, सन् १९६७ को नक्सलबाडी विद्रोहले स्थापित कम्युनिस्ट पार्टीहरूले अवलम्बन गरेको संसदीय बाटोको अस्वीकारोक्तिलाई प्रतिनिधित्व गरेको थियो।

यद्यपि, ऐतिहासिक निरन्तरता मात्रले समकालीन समस्याहरूको समाधान गर्दैन। आज सिपिआई (माओवादी) का सामु उभिएको मुख्य प्रश्न सुरुमा सशस्त्र विद्रोहलाई टिकाइराख्ने सामाजिक र आर्थिक अवस्थाहरू यथावत छन् वा छैनन् भन्ने हो। गहिरो असमानता, भूमिसम्बन्धी विवाद, विस्थापन र शोषणले क्रान्तिकारी राजनीतिको आधार प्रदान गर्छ भन्ने तर्क आन्दोलनले निरन्तर दिँदै आएको छ।

खानी परियोजनाहरूविरुद्ध आदिवासी समुदायहरूका भइरहेका निरन्तर विरोध प्रदर्शनहरू, ठूला पूर्वाधार विकासहरूको प्रतिरोध, र औद्योगिक क्षेत्रहरूमा हुने श्रम अशान्तिको हवाला दिई सामाजिक असन्तोष कायमै रहेको प्रमाण प्रस्तुत गर्ने गरिएको छ।

आज सिपिआई (माओवादी) का सामु उभिएको मुख्य प्रश्न सुरुमा सशस्त्र विद्रोहलाई टिकाइराख्ने सामाजिक र आर्थिक अवस्थाहरू यथावत छन् वा छैनन् भन्ने हो। गहिरो असमानता, भूमिसम्बन्धी विवाद, विस्थापन र शोषणले क्रान्तिकारी राजनीतिको आधार प्रदान गर्छ भन्ने तर्क आन्दोलनले निरन्तर दिँदै आएको छ।

यस्ता द्वन्द्वहरू कायम छन् भन्ने कुरामा थोरै मात्र शंका छ। भारतका विभिन्न क्षेत्रहरूमा भूमि अधिग्रहण, वातावरणीय ह्रास, विस्थापन, श्रम अधिकार र आर्थिक असमानतासम्बन्धी विवादहरूले राजनीतिक गोलबन्दीलाई निरन्तरता दिइरहेका छन्। यी संघर्षहरूले विकास, प्रतिनिधित्व र सामाजिक न्यायका सम्बोधन नगरिएका प्रश्नहरूलाई उजागर गर्छन्।

तथापि, सामाजिक असन्तोषको अस्तित्व मात्रै स्वतः सशस्त्र विद्रोहप्रति समर्थनमा परिणत हुँदैन। विद्वानहरू र बृहत वामपन्थी वृत्तका केही वर्गहरूद्वारा माओवादी आन्दोलनमाथि लगाइने प्रमुख आलोचनाहरू मध्ये एक यसले विगत केही दशकमा भारतीय समाजमा आएका गहन संरचनात्मक परिवर्तनहरूलाई पर्याप्त रूपमा आत्मसात् गर्न सकेको छैन भन्ने होआजको ग्रामीण भारत केवल परम्परागत सामाजिक पदानुक्रमद्वारा मात्र निर्देशित छैन; त्यसलाई बजारसँगको एकीकरण, श्रम आप्रवासन, अर्थतन्त्रको वित्तीयकरण, प्रविधिगत परिवर्तन तथा राज्यद्वारा सञ्चालित सामाजिक कल्याण कार्यक्रमहरूको विस्तारले पनि गहिरो रूपमा रूपान्तरण गरिरहेको छ। यी विकासक्रमहरूले अघिल्ला क्रान्तिकारी मोडलहरूलाई जटिल बनाउने तरिकाले सामाजिक परिदृश्यलाई परिवर्तन गरेका छन्।

सामाजिक असन्तोषको अस्तित्व मात्रै स्वतः सशस्त्र विद्रोहप्रति समर्थनमा परिणत हुँदैन। विद्वानहरू र बृहत वामपन्थी वृत्तका केही वर्गहरूद्वारा माओवादी आन्दोलनमाथि लगाइने प्रमुख आलोचनाहरू मध्ये एक यसले विगत केही दशकमा भारतीय समाजमा आएका गहन संरचनात्मक परिवर्तनहरूलाई पर्याप्त रूपमा आत्मसात् गर्न सकेको छैन भन्ने हो

सञ्चालनात्मक परिवेशमा पनि नाटकीय परिवर्तन आएको छ। आधुनिक निगरानी प्रविधि, ड्रोन क्षमता, उपग्रह तस्बिर, परिष्कृत गुप्तचर सञ्जाल तथा विद्रोह–प्रतिरोधमा विशेषज्ञ सुरक्षा बलहरूको विकासले दीर्घकालीन छापामार युद्ध सञ्चालनका लागि उपलब्ध स्थानलाई उल्लेखनीय रूपमा साँघुरो बनाइदिएको छ। सन् १९६० र १९७० को दशकको परिस्थितिलाई आधार मानेर विकसित गरिएका रणनीतिहरूले एक्काइसौँ शताब्दीमा पहिलेभन्दा धेरै गम्भीर चुनौतीहरूको सामना गर्नुपरेको छ।

वामपन्थी वृत्तभित्रका केही आलोचकहरूले माओवादी आन्दोलन आफ्नो रणनीतिक सोचमा झन्-झन् कठोर बन्दै गएको तर्क गर्न थालेका छन्। उनीहरूको दाबी ऐतिहासिक पूर्वदृष्टान्तहरूमा अत्यधिक निर्भरताले विगतका गल्तीहरूको आलोचनात्मक मूल्याङ्कनलाई हतोत्साहित गरेको छ र भारतीय मार्क्सवादभित्रका वैकल्पिक परम्पराहरूसँगको संलग्नतालाई सीमित पारेको छ भन्ने छ । अरूहरू भने आन्दोलनभित्रका छलफलहरू संगठनात्मक पतनका पछाडिका गहिरो संरचनात्मक कारणहरूको छानबिन गर्नुभन्दा प्रायः व्यक्तिगत विश्वासघात, निष्कासन र आत्मसमर्पणमा केन्द्रित हुने गरेको तर्क गर्छन्।

उनीहरूको दाबी ऐतिहासिक पूर्वदृष्टान्तहरूमा अत्यधिक निर्भरताले विगतका गल्तीहरूको आलोचनात्मक मूल्याङ्कनलाई हतोत्साहित गरेको छ र भारतीय मार्क्सवादभित्रका वैकल्पिक परम्पराहरूसँगको संलग्नतालाई सीमित पारेको छ भन्ने छ ।

यसैबीच, आन्दोलन नै समाप्त भइसकेको निष्कर्ष निकाल्नु पनि हतारो हुनेछ। वरिष्ठ माओवादी नेताहरू संलग्न भएका हालैका झडपहरू, सुरक्षा फौजहरूमाथिका समय-समयका आक्रमणहरू र सहानुभूति राख्नेहरूद्वारा गरिएको निरन्तर वैचारिक पैरवीले यो विद्रोहको उपस्थिति अझै कायम रहेको देखाउँछ, यद्यपि यो पहिलेभन्दा कमजोर भइसकेको छ। माओवादी गतिविधिहरूसँग ऐतिहासिक रूपमा जोडिएका क्षेत्रहरूमा सामाजिक द्वन्द्वहरूको निरन्तरताले यस आन्दोलनद्वारा उठाइएका राजनीतिक प्रश्नहरूलाई यसको सैन्य क्षमता कमजोर भइसकेको अवस्थामा पनि पूर्ण रूपमा बेवास्ता गर्न सकिँदैन भन्ने कुरा सुनिश्चित गर्दछ।

बसवराजको मृत्यु भएको एक वर्षपछि सीपीआई (माओवादी) एउटा निर्णायक मोडमा उभिएको छ। एकातिर निरन्तर बढ्दो राज्यीय दबाबका बीच आफ्नो अस्तित्व जोगाइराख्ने चुनौती छ भने अर्कोतिर तीव्र रूपमा रूपान्तरण हुँदै गएको भारतमा आफ्नो रणनीतिक सान्दर्भिकतालाई पुनः स्थापित गर्ने कठिन प्रश्नसँग पनि यसले जुध्नुपरेको छ। बदलिँदो सामाजिक यथार्थअनुसार आफूलाई रूपान्तरण गर्न यसले सफलता पाउनेछ कि क्रमशः थप कमजोर बन्दै जानेछ भन्ने कुरा अझै अनिश्चित छ।

माओवादी आन्दोलनको भविष्य केवल दुर्गम जंगलहरूमा हुने सशस्त्र भिडन्तले मात्र निर्धारण गर्ने छैन। बदलिँदो राजनीतिक, आर्थिक र प्राविधिक परिस्थितिप्रति यसले कति प्रभावकारी रूपमा प्रतिक्रिया जनाउन सक्छ वा त्यसमा सफल–असफल हुन्छ त्यसले पनि यसको भविष्यको दिशा तय गर्नेछ।

यति भने स्पष्ट छ कि माओवादी आन्दोलनको भविष्य केवल दुर्गम जंगलहरूमा हुने सशस्त्र भिडन्तले मात्र निर्धारण गर्ने छैन। बदलिँदो राजनीतिक, आर्थिक र प्राविधिक परिस्थितिप्रति यसले कति प्रभावकारी रूपमा प्रतिक्रिया जनाउन सक्छ वा त्यसमा सफल–असफल हुन्छ त्यसले पनि यसको भविष्यको दिशा तय गर्नेछ। बसवराजुको मृत्युले एउटा युगको अन्त्यको प्रतीकात्मक संकेत गर्‍यो। तर के यसले भारतको सबैभन्दा लामो समयदेखि जारी विद्रोही आन्दोलनभित्र एउटा आधारभूत रूपान्तरणको सुरुआत पनि जनाउँछ भन्ने प्रश्न अझै अनुत्तरित छ।

Source: https://www.frontierweekly.com

अनुवाद: केदार सिटौला

(यो अनुवाद लेख साभार छाप्नेले अनिवार्य रुपमा मूल लेखको स्रोत, अनुवादकको नाम र दायित्वबोधको हाइपरलिङ्कसहित स्रोत खुलाउनुहोला ।  –दायित्वबोध)

 दायित्वबोधको विशेष अनुरोध

वाम वैचारिकीको रक्षा र प्रबर्द्धनका लागि दायित्वबोध अनलाइन निरन्तर रहनु जरुरी छ भन्ने तपाईंलाई लाग्छ ?

के दायित्वबोधमा प्रकाशित भइरहेका सामग्रीहरु उपयोगी र पठनीय छन् भन्ने तपाईं ठान्नुहुन्छ ?

दायित्वबोधको निरन्तरताको लागि तपाईंको सहयोगले ठूलो अर्थ राख्छ !

तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ ?

सामर्थ्यअनुसारको आर्थिक सहयोग गरेर ।

विचारप्रधान लेखरचनाहरु उपलब्ध गराएर ।

दायित्वबोधमा छापिएका लेखरचनाहरु शेयर गरेर ।

दायित्वबोधको फेसबुक पेजयुट्युबट्विटरटिकटक लगायतका सामाजिक सञ्जाल पेजहरु लाइक–शेयर–सब्स्क्राइब गरेर ।

दायित्वबोधलाई आर्थिक सहयोग गर्नका लागि

https://dayitwabodh.com/page/support-us/