निम्स दाइ : कीर्तिमानको शिखरबाट अनन्त यात्रातर्फ

निर्मल पुर्जाले आधुनिक पर्वतारोहणलाई पूर्ण रूपमा बदलिदिएका थिए। उनी यस्तो गतिमा पहाडहरूमा चढ्थे जस्तो इतिहासमा कसैले गरेको थिएन। उनको साथमा नेपाली पर्वतारोहीहरुको एक असाधारण टोली पनि हुने गर्दथ्यो।

अप्रिल २०१९ मा निर्मल पुर्जाले एक विशेष प्रकारको मसी बनाउन लगाए। त्यो मसी, उनले आफ्ना आमाबुबा, दाजुभाइ-दिदीबहिनी र श्रीमतीका कपालबाट निकालिएको डीएनए पनि मिसाएर तयार पारेका थिए। उनी एउटा असम्भवजस्तै लाग्ने अभियानमा निस्कँदै थिए। यही मसी प्रयोग गरेर उनले आफ्नो ढाडभरि एउटा ठूलो ट्याटु खोपाए, जसमा विश्वका चौधवटा हिमशिखरका आकृतिहरू कुँदिएका थिए।

उनको विश्वास थियो कि उनी जुन अभियानमा निस्किरहेका थिए, त्यो एक यस्तो आध्यात्मिक यात्रा हुनेछ जसमा उनका ती परिवारजनहरू कहिल्यै जान सक्दैनन्थे। आफ्ना प्रियजनहरूको डीएनए अंकित त्यो ट्याटुले उनलाई हरेक क्षण आफ्नो परिवारको सम्झना दिलाइरहनेछ भन्ने उनको विश्वास थियो। त्यसले उनलाई  घरमा एउटा परिवार छ, जो सधैं उनको सुरक्षित फर्काइको प्रतीक्षामा छ भन्ने निरन्तर सम्झाइरहने थियो । साथै, अत्यधिक दुस्साहसको अन्त्य उनको मृत्युसम्म पनि पुग्न सक्छ, र त्यस्तो घटना उनका परिवारका लागि असह्य पीडाको कारण बन्न सक्छ भन्ने चेतनाले पनि उनलाई सधैं संयमित बनाइरहने थियो।

निर्मल पुर्जालाई संसारले 'निम्स दाई'का नामले चिन्यो। नेपाली भाषामा 'दाइ'को अर्थ ठूलो दाजु हुन्छ।

माथि उल्लेख गरिएको त्यो अभियान त्यतिबेला साँच्चै असम्भवजस्तै लाग्थ्यो। निर्मलको लक्ष्य विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ वटा हिमशिखरहरूलाई कीर्तिमानी समयभित्र आरोहण गर्नु थियो। यी सबै शिखरहरू हिमालय र काराकोरम पर्वतशृङ्खलामा अवस्थित छन्।

पर्वतारोहणको भाषामा ८,००० मिटरभन्दा माथिको उचाइलाई डेथ जोन’ (मृत्यु क्षेत्र) भनिन्छ। अक्सिजनको अत्यन्त अभावका कारण त्यस्तो उचाइमा बित्ने प्रत्येक क्षण ज्यान गुम्ने जोखिमले भरिएको हुन्छ। यी सबै १४ वटा हिमशिखरको सफल आरोहण सर्वप्रथम इटालीका पर्वतारोही राइनहोल्ड मेसनरले सन् १९८६ मा पूरा गरेका थिए। त्यस उपलब्धि हासिल गर्ने दोस्रो व्यक्ति पोल्यान्डका महान् पर्वतारोही यर्जी कुकुच्का थिए। यो कार्य गर्न मेसनरलाई सोह्र वर्ष लागेको थियो भने कुकुज्काले आठ वर्षभन्दा कम समयमै यो गरेर देखाए। त्यसपछि दक्षिण कोरियाका किम चांग-होले यो रेकर्डलाई लगभग एक महिनाको फरकले सुधार गरे। यो बेग्लै कुरा हो कि महान् कुकुज्काको उपलब्धि बिल्कुलै फरक स्तरको थियो। आफ्नो सम्पूर्ण पर्वतारोहण करियरमा उनले दस पटक नयाँ बाटाहरूबाट यी चुचुराहरूमा आरोहण गरेका थिए।

निर्मल पुर्जाले आधुनिक पर्वतारोहणलाई पूर्ण रूपमा बदलिदिएका थिए। उनी यस्तो गतिमा पहाडहरूमा चढ्थे जस्तो इतिहासमा कसैले गरेको थिएन। उनको साथमा नेपाली पर्वतारोहीहरुको एक असाधारण टोली पनि हुने गर्दथ्यो। त्यो वर्ष अर्थात् २०१९ मा उनले आफ्नो 'प्रोजेक्ट पसिबल' (Project Possible) अन्तर्गत ती सबै चौधवटा चुचुराहरूलाई मात्र ६ महिना र ६ दिनमा पूरा गरेर देखाए। उनले एउटा यस्तो यस्तो रेखा कोरिदिए जसलाई मेटाउनका लागि महामानवीय साहसको खाँचो पर्नेछ।

उनको आगमनपछि पर्वतारोहणको इतिहास नयाँ ढंगले लेखिन सुरु भयो। पर्वतारोहणका जोखिमपूर्ण कथाहरूमा लामो समयसम्म नेपाली पर्वतारोही र शेर्पा समुदाय पृष्ठभूमिमा सीमित रहने गर्थे। उनीहरू प्रायः विदेशी पर्वतारोहीका सहयोगीका रूपमा मात्रै प्रस्तुत गरिन्थे। त्यसैले त सगरमाथाको पहिलो सफल आरोहणको श्रेय प्रायः एडमन्ड हिलारीलाई दिइन्छ, तेन्जिङ नोर्गेलाई होइन।

निर्मल पुर्जा, अर्थात् निम्स दाइले नेपाललाई विश्व पर्वतारोहणको केन्द्रमै स्थापित गरिदिए। सन् २०२१ मा उनले अन्य नौ नेपाली पर्वतारोहीसँग मिलेर के–टु (K2) को इतिहासकै पहिलो सफल शीतकालीन आरोहण सम्पन्न गरे। सबै १० जना नेपाली पर्वतारोही नेपालको राष्ट्रिय गान गाउँदै एकसाथ शिखरमा पुगेका थिए।  उल्लेखनीय कुरा के पनि छ भने, त्यो अभियानमा निम्सले अक्सिजन बिना नै चढाइ पूरा गरेका थिए। अदम्य इच्छाशक्ति र असाधारण साहसका धनी निम्सले विश्वभरका सामाजिक सञ्जालमा अभूतपूर्व लोकप्रियता हासिल गरे। उनी नयाँ पुस्तामाझ सबैभन्दा धेरै चिनिने र प्रेरणाका स्रोत बनेका पर्वतारोहीका रूपमा स्थापित भए।

अत्यन्त गरिब नेपाली पृष्ठभूमिबाट आएका यो योद्धाको जीवनयात्रा र उनका असाधारण उपलब्धिहरूलाई मैले पनि आफ्ना धेरै साथीहरूझैँ ठूलो उत्साह र गर्वका साथ फलो गरेँ। सन् २०१९ मा उनले हासिल गरेको ऐतिहासिक कीर्तिमानको विस्तृत झलक नेटफ्लिक्समा उपलब्ध ‘14 Peaks: Nothing Is Impossible’ वृत्तचित्रमा हेर्न सकिन्छ।

पर्वतारोहीहरूलाई यस्तो कहिल्यै हुँदैन कि एकपटक कुनै पहाड चढिसकेपछि त्यसको आकर्षण कम होस्। बरु उनीहरू बारम्बार तिनै ठाउँतिर फर्किरहन्छन्। यही कारणले निम्स दाइले यस वर्षको सुरुआतसम्म सगरमाथाको सात पटक सफल आरोहण गरिसकेका थिए। दुई महिनाअघि, अर्थात् मे २७ मा, उनले आठौँ पटक पनि सगरमाथाको सफल आरोहण गरेर अर्को कीर्तिमान थपेका थिए।

करिब दस दिनअघि उनी काराकोरम पर्वतमालाको ब्रड पिक आरोहण अभियानमा निस्किएका थिए। ८०५१ मिटर उचाइ भएको यो चुचुरोमा उनी जुलाई २०१९ मा चढिसकेका थिए। उनको साथमा चारजना नेपाली पर्वतारोहीहरुका साथै पाकिस्तान, अमेरिका, ओमान र चीनबाट आएका अन्य पाँचजना सदस्यहरू पनि थिए।

जुलाई ३० को बिहान उनको अभियान करिब ६१०० मिटरको उचाइमा थियो, जब त्यसका सबै सदस्यहरू एक भयानक हिमपहिरोको चपेटामा परे। अभियानका कुनै पनि सदस्यको ज्यान जोगिन सकेन।

परिवारको डीएनए मिसिएको मसीले ढाडमा खोपिएको  त्यो ट्याटुले पनि यसपटक निम्स दाईलाई बाटो देखाउन सफल हुन सकेन। पाँच दिनअघि मात्र उनी  ४३ वर्षका भएका थिए।

यस दुर्घटनाबाट दुःखी भएका आजसम्मका महानतम पर्वतारोही राइनहोल्ड मेसनरले भने, “निर्मलले साहस र जोसका साथ आफ्नो बाटो आफैँ रोजेका थिए।उनको निधनपछि केवल उनको अभावको पीडा मात्र बाँकी रहेको छैन; उनले जीवनलाई जसरी पूर्ण अर्थमा बाँचे, त्यस जीवनको प्रेरणादायी स्मृति पनि हामीसँग सधैं रहनेछ ।

आउने कति नै पिँढीहरूले यो असाधारण मानिसका उपलब्धिहरूलाई अचम्म र अविश्वाशका साथ हेरिरहनेछन्। अलविदा निर्मल!