शून्यबाट शिखर चुम्ने मट्सुसिताको संघर्ष र पानासोनिकको जन्मकथा
इतिहासका सफलताका कथाहरु सधैं सधैँ भव्य महल, विशाल पुँजी वा ठूला-ठूला उद्योगबाट मात्रै सुरु हुँदैन। कहिलेकाहीँ त यो एउटा सानो, साँघुरो कोठाको भुइँबाट सुरु हुन्छ– जहाँ सामान राख्ने ठाउँभन्दा काम गर्ने ठाउँ कम हुन्छ, मेसिन किन्न खल्तीमा पैसा हुँदैन र भविष्यबारे आशावादी हुने कुनै ठोस कारण पनि देखिँदैन। सन् १९१७ को जापानमा ठ्याक्कै यस्तै एउटा सानो कोठाबाट एउटा यस्तो कथा लेखिँदै थियो, जसले पछि गएर विश्वव्यापी विद्युतीय साम्राज्यको रूप लिन्छ भन्ने कसैले कल्पनासम्म गरेका थिएनन्।
त्यतिबेला २२ वर्षका एक तन्नेरी विद्युतीय प्राविधिक थिए– कोनोसुके मट्सुसिता। आज सिङ्गो संसारले उनलाई 'पानासोनिक' (Panasonic) को संस्थापकका रूपमा चिन्छ । तर त्यतिबेला उनी ओसाका इलेक्ट्रिक लाइट कम्पनीका साधारण कर्मचारी मात्र थिए। जापानका लागि बिजुलीको संसार अझै नयाँ र कौतूहलपूर्ण थियो। त्यही संसारभित्र मट्सुसिताले सम्भावनाको एउटा छुट्टै क्षितिज देखिरहेका थिए।
काम गर्दागर्दै उनको दिमागमा एउटा नयाँ विचार फुर्यो। उनले कार्यालयको समयबाहेक फुर्सदको समय निकालेर आफ्नै रुचिमा एउटा नयाँ र सुधारिएको विद्युतीय सकेटको नमुना तयार पारे। उनलाई लाग्यो– यो डिजाइन निकै उपयोगी हुनेछ र यसले मानिसको जीवन सहज बनाउनेछ। तर जब उनले त्यो नमुना आफ्ना हाकिमहरू अगाडि प्रस्तुत गरे, कम्पनीले त्यसलाई ठाडै अस्वीकार गरिदियो। आजको भाषामा भन्दा उनको पहिलो 'स्टार्टअप आइडिया' बजारमा आउनुअघि नै फ्लप भयो।
सामान्य मानिसका लागि हाकिमको अस्वीकृति नै त्याँ नयाँ यात्राको अन्त्य बन्न सक्थ्यो, तर मट्सुसिताका लागि त्यो अवसर बनेर आयो । उनको मनमा एउटा प्रश्न जन्म्यो– "उनीहरूले बनाउँदैनन् भने के म आफैँ बनाउन सक्दिनँ र?"
त्यही एउटा प्रश्नले उनको जीवनको बाटो नै मोडिदियो। सन् १९१७ जुन १५ मा उनले आफूलाई ओत दिइरहेको सुरक्षित जागिर छाडिदिए। त्यतिबेला उनको हातमा जम्माजम्मी १०० येनभन्दा पनि कम बचत थियो। त्यति थोरै रकमले आफ्नै व्यापार सुरु गर्ने सोच आफैँमा एउटा ठूलो जोखिम थियो। तर उनले आँट गरे र ओसाकाको एउटा सानो भाडाको घरको तल्लो तलालाई नै आफ्नो पहिलो 'कारखाना' बनाए।
सुरुमा उनीसँगै उनकी पत्नी मुमेनो, जेठान तोसियो इउए र केही पुराना सहकर्मीहरू थिए। मेसिन थिएनन्, पर्याप्त पैसा थिएन, अनि बजारमा कुनै पहिचान पनि थिएन। बाँच्ने र केही गर्ने एउटै मात्र मियो आफ्नो विचारमाथिको भरोसा थियो। तर भरोसाले मात्रै सबै कुरा चल्दैन । आर्थिक संकट चुलिँदै जाँदा सहकर्मीहरूले एक-एक गरी साथ छाड्दै गए। अन्ततः त्यो संघर्षको मैदानमा मट्सुसिता, उनकी पत्नी मुमेनो र जेठान तोसियो मात्र बाँकी रहे।
असली परीक्षा त बल्ल सुरु हुँदै थियो। सकेट त तयार भए, तर बजारले तिनलाई पत्याएन। उत्पादन बोकेर घर-घर र पसल-पसल धाउँदा पनि बिक्री शून्यप्रायः भयो। दिनहरू बित्दै जाँदा घरको चुलो बल्न धौ-धौ पर्न थाल्यो। स्थिति कतिसम्म नाजुक बन्यो भने, गुजारा चलाउन पत्नी मुमेनोका किमोनोसमेत धितो राख्नुपर्यो। एकातिर स्थिर जागिर छाडेकोमा पछुतो हुनसक्ने जोखिम, अर्कातिर रित्तो गोजी र बजारको अस्वीकार– कुनै पनि मानिसलाई निराश बनाएर पुरानै बाटोमा फर्काउन यी कारणहरू काफी थिए।
तर मट्सुसिता हार मान्ने खालका मानिस थिएनन्। उनले बुझे कि केवल राम्रो विचार हुनु मात्रै पर्याप्त हुँदैन, उत्पादन मानिसलाई साँच्चै चाहिएको, प्रयोग गर्न सजिलो र गोजीले धान्ने खालको पनि हुनुपर्छ। अर्थात्, उनले असफलतालाई आफ्नो अयोग्यता वा संसारको गल्ती मानेर चित्त बुझाएनन् । त्यसको ठीक विपरीत उनले बजारको अस्वीकृति र तीखो प्रतिक्रियाबाट पाठ सिके।
त्यही संकटको बीचमा एउटा अप्रत्याशित मोड आयो। सकेट नबिकेर छटपटाइरहेका बेला एउटा विद्युतीय पंखा बनाउने कम्पनीबाट १,००० थान इन्सुलेटर प्लेट बनाउने अर्डर आयो। त्यो सानो कार्यशालाका लागि यो एउटा अर्डर मात्र थिएन, जीवन र मृत्युबीचको सङ्घर्षबाट पार लगाउने आशाको दियो थियो । तीनै जना मिलेर दिनरात नभनी सीमित साधनस्रोतका बीच त्यो काम समयमै पूरा गरे। पहिलोपटक व्यापारबाट केही नाफा भयो । पहिले नपत्याएका मानिसहरूले पनि उनीहरूको कामलाई विश्वास गर्न थाले।
भनिन्छ– सफलताको ठूलो ढोकाबाट ठूलो आवाजका साथ होइन, एउटा सानो चिराबाट छिर्ने उज्यालो भएर आउँछ। मट्सुसिताका लागि त्यो १,००० थान प्लेटको अर्डर त्यस्तै चिरा साबित भयो।
त्यही जगमा टेकेर ७ मार्च १९१८ मा उनीहरूले औपचारिक रूपमा 'मट्सुसिता इलेक्ट्रिक हाउसवेयर्स म्यानुफ्याक्चरिङ वर्क्स' को स्थापना गरे। असफलताबाट पाठ सिकिसकेका मट्सुसिताले सन् १९१८ मा बजारमा सुधारिएको 'अ्याट्याचमेन्ट प्लग' ल्याए। त्यतिबेला जापानी घरहरूमा बिजुलीको मुख्य स्रोत नै छतबाट झुण्डिने बत्तीको सकेट हुन्थ्यो। मट्सुसिताको यो प्लगले त्यही सकेटबाट अन्य उपकरण चलाउन सजिलो मात्र बनाएन, बजारका अन्य सामानभन्दा ३० देखि ५० प्रतिशतसम्म सस्तो पनि थियो। त्यसपछि आएको 'डबल क्लस्टर सकेट' ले त एउटै स्रोतबाट बत्ती बाल्दै अर्को उपकरण चलाउन सक्ने सुविधा दिएर जापानी घरघरमा तहल्का नै मचायो।
बिस्तारै त्यो सानो कार्यशालाले उद्योगको रूप लिन थाल्यो। सन् १९२३ मा उनले ब्याट्रीबाट चल्ने लामो आयु भएको बुलेट आकारको साइकल बत्ती बनाए भने सन् १९२७ मा 'नेशनल' (National) ब्रान्ड नाममा अर्को साइकल बत्ती ल्याए, जुन पछि जापानको घरघरमा स्थापित नाम बन्यो। मट्सुसिताको सोच अब खालि सामान बनाउनुमा सीमित थिएन, उनी त सर्वसाधारणको दैनिकीलाई सहज र प्रविधियुक्त बनाउन चाहन्थे।
सन् १९३५ मा यो व्यवसाय 'मट्सुसिता इलेक्ट्रिक इन्डस्ट्रियल कम्पनी' का रूपमा पुनर्गठित भयो। त्यसपछिका दशकहरूमा कम्पनीले रेडियो, टेलिभिजन, रेफ्रिजरेटर र ब्याट्री हुँदै विश्वभर आफ्नो पँहुच विस्तार गर्यो। र, सन् २००८ मा आएर यही कम्पनीको नाम आधिकारिक रूपमा 'पानासोनिक कर्पोरेसन' (Panasonic Corporation) बन्यो।
आज पानासोनिकको विशाल साम्राज्यलाई हेर्दा यसको सुरुवातको कथा पत्याउनै गाह्रो लाग्छ। सन् २०२६ को तथ्याङ्क हेर्ने हो भने, विश्वभर यस समूहअन्तर्गत ४४७ भन्दा बढी कम्पनीहरू कार्यरत छन्, १ लाख ८३ हजारभन्दा बढी कर्मचारीहरू कार्यरत छन् र यसको वार्षिक बिक्री ८ ट्रिलियन जापानी येनभन्दा बढी छ।
तर यो विशाल सफलताको पाना पल्टाउँदै गर्दा हामीले बिर्सन नहुने कुरा के हो भने– यो साम्राज्य १ लाख ८३ हजार मानिसबाट सुरु भएको थिएन। यो त खालितीन जना मानिसबाट सुरु भएको थियो– एउटा आकांक्षी तन्नेरी, उनकी हिम्मतवाली पत्नी र जेठान। अनि त्योभन्दा पनि अझ अघि, यो खाली एउटा नयाँ र केही गररे देखाउने विचारबाट सुरु भएको थियो।
हामी प्रायः सफलताको कथा अन्तिम पानाबाट पढ्ने गर्छौँ, जहाँ विशाल भवन, हजारौँ कर्मचारी र खर्बौँको कारोबार देखिन्छ। त्यसैले त्यसको जगमा कति धेरै अनिश्चितता, आँसु र निराशा लुकेको थियो भन्ने कुरा सजिलै ओझेल पर्छ। मट्सुसिताको कथा अन्धो आत्मविश्वासको कथा होइन। बजारले आफ्नो पहिलो उत्पादन अस्वीकार गर्दा उनले संसारलाई दोष दिएर बसेनन्। उनले आफ्ना गल्तीहरू स्वीकारे, उत्पादनको ढाँचा बदले, मानिसहरूको वास्तविक आवश्यकता बुझे र आफूलाई समयअनुसार ढाले।
मानिसहरू अक्सर असफलतासामु दुईवटा गल्ती गर्छन्– या त पहिलो हारमै हिम्मत हारेर आफूलाई अयोग्य मान्छन्, या त आफ्नो विचारलाई यति अन्धभक्त भएर समात्छन् कि बजार र समयलाई नै गलत ठान्न थाल्छन्। मट्सुसिता यी दुवै गल्तीबाट जोगिए। उनले आफ्नो क्षमतामा विश्वास त गरे, तर बजारको आवाज सुन्न कहिल्यै छाडेनन्। उनले सपना छाडेनन्, तर सपना पूरा गर्ने बाटो र आकार बदल्न कहिल्यै डराएनन्।
शून्यबाट शिखरसम्म पुग्ने मानिसहरूसँग सुरुमै शिखरको स्पष्ट नक्सा हुँदैन। उनीहरूसँग त केवल एउटा सानो विचार र अगाडि बढ्ने हिम्मत हुन्छ। मट्सुसिताको यो जीवनयात्राले यही सिकाउँछ– कुनै पनि विशाल साम्राज्यको पहिलो इँटा त्यतिबेला राखिन्छ, जब त्यसलाई साम्राज्यको इँटा भनेर कसैले चिन्न समेत सकेको हुँदैन।
जीवन र मृत्युप्रतिको माओको अवधारणा
जस्तो जीवन, उस्तै तस्वीर: प्रेमचन्दको सादगी
लू शुन डाक्टर होइन, साहित्यकार बन्नुभयो !
बुद्धजयन्तीको अवसरमा केही प्रेरक प्रसङ्गहरु
एडीसन: पत्रिका बेच्ने हकरदेखि महान वैज्ञानिकसम्म
१५ डलरको त्यो 'सानो' लगानी: जसले एउटा बालकलाई विश्वकै 'न्यायको योद्धा' बनायो
पानीको रंग किन नीलो हुन्छ ?
प्रतिक्रिया