त्रिपुरेश्वरको सडकमा जलेको ‘आशा’ र हाम्रो राज्यको ‘कायरता’

एआइको सहयोगमा तयार चित्र

म आफ्नै चितामा आफैं आगो कुन आँटले लगाउ ?

सरकार कमसेकम प्राण गइन्जेल त पर्ख !

लास र जिउँदो लास बीच के फरक हुन्छ ?

तिम्रो सिंहासनको छेउमा राखिएको संविधान पलटाएर त हेर ?

असार २५ गते दिउँसो काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि गणेश नेपालीले गरेको ‘आत्मदाह’ले नेपाली समाजमा व्याप्त चरम निराशा र राज्यको संवेदनहीनताको पराकाष्ठालाई एकैसाथ उजागर गरिदिएको छ ।

उक्त दिन जे भयो, त्यो कुनै ट्राफिक नियम उल्लङ्घनको सामान्य घटना थिएन। त्यो त नेपाली समाजको  एउटा ठूलो 'नैतिक पराजय' थियो। एकजना नागरिक, जसले आफ्नो बाइकको साँचो जोगाउन संघर्ष गरिरहेको थियो, अन्ततः उसले पेट्रोल आफैँमाथि खन्यायो। आगोको लप्कासँगै त्यहाँ एउटा खटिखाने विवश आम नागरिकको शरीर मात्र जलेको छैन, त्यो घटनामा राज्यको 'अभिभावकत्व' जलेको छ, र नागरिकको 'बाँच्न पाउने अधिकार' माथि प्रश्नचिह्न उठेको छ।

सार्वजनिक भएको विवरणअनुसार ‘सडकमा बाइक पार्क गरेको कारण’ जब ट्राफिक प्रहरी र नगर प्रहरीले ‘ट्राफिक नियम पालना गराउन’ गणेश नेपालीको बाइकमा ह्विल लक लगाए, तब उनीहरूले कानुनको कार्यान्वयन मात्र गरिरहेका थिएनन्; उनीहरूले त्यो मान्छेको ‘गरिखाने’ बाटो र जीवननिर्वाहको सपनामा पनि साङ्लो लगाइरहेका थिए। बसीखाने–चुसीखानेहरुका लागि उनले तिर्नुपर्ने एक हजार हाराहारीको जरिवाना पक्कै पनि सामान्य लाग्न सक्छ । तर काठमाडौँको महँगी र हातमुख जोड्ने संघर्षका बीच असारको प्रचण्ड गर्मीमा ऋणमा किनिसएको बाइकमा रगत पसिना बगाएर केही कमाउने र त्यसैको भरमा ऋण तिर्नुका साथसाथै सिङ्गो परिवार पाल्न बाध्य आम नागरिकको लागि त्यो एक हजार पनि अजङ्गको अभिशाप बन्न पुग्छ । एउटा ‘सामान्य गल्ती’ गरेकै भरमा अपराधी साबित हुनुपर्ने र दैनिक गर्जो टार्न प्रयोग गर्नुपर्ने रकम जरीवानाको रुपमा तिर्नुपर्ने बाध्यताले मानिसकलाई उद्वेलित तुल्याइदिन सक्छ,  मान्छेको धैर्यको बाँध भत्काउन सक्छ भन्ने कुरा सायद राज्यका नियामक निकायहरुले कहिल्यै सोचेनन्। गाउँशहरमा बसेर बनीबुतो गरी परिवार पाल्नै नसकिने अहिलेको विडम्बनाजनकस्थितिबीच शहरमा पस्नै पर्ने र बाँच्नको लागि अहोरात्र खट्नुपर्ने व्यक्तिले जब सर्वत्र निराशा र अन्धकार देख्न थाल्छ, अभिभावकत्व ग्रहण गर्नुपर्ने राज्यलाई आफ्नो प्रतिपक्षी कित्तामा देख्न थाल्छ, यस्तो अवस्थामा स्वभाविक रुपमा मानिसले ‘सही निर्णय’ गर्ने क्षमता गुमाउन पुग्छ । उद्वेलित र निराश मानसिकताबीच उसले जस्तोसुकै दुस्साहसी निर्णय गर्न पुग्छ ।

सबैभन्दा लाजमर्दो र दर्दनाक दृश्य त तब देखियो, जब जलेर छटपटाइरहेका गणेशलाई अस्पताल लैजाने तौरतरिका अपनाइयो। प्रत्यक्षदर्शीहरुको हवाला दिँदै सार्वजनिक भएको जानकारीअनुसार  ५५ प्रतिशत जलेको शरीर, जुन शरीरको हरेक तन्तुले अकल्पनीय पीडा सहिरहेको छ, उसलाई एम्बुलेन्स वा कुनै सवारीमा हाल्नुको साटो हिँडाएर वीर अस्पताल लगियो। के राज्य संयन्त्रहरू यति धेरै संवेदनाहीन भइसकेका हुन्? के त्यहाँ खटिएका सुरक्षाकर्मीका लागि त्यो घाइते एक ‘मानव’ थिएन, केवल ‘प्रक्रिया’ र ‘पन्छाउनुपर्ने समस्या’ मात्रै साबित भएको हो ?

गणेश नेपालीको यो आत्मदाह कुनै क्षणिक आवेग मात्र होइन। यो त हाम्रो देशमा हुर्किरहेको ‘डरलाग्दो निराशा’ को एउटा ज्वलन्त प्रमाण हो। आज हाम्रा युवाहरू किन यति धेरै हतास छन्? किन उनीहरू प्रतिकूलतालाई सामना गर्ने धैर्य र क्षमता गुमाइरहेका छन् ? किन उनीहरु बाँच्नुभन्दा मर्नुलाई सजिलो विकल्प ठानिरहेका छन्? किनकि, यो देशले उनीहरूलाई सधैँ ‘असुरक्षा’ मात्र दिएको छ। पढेलेखेका युवा हुन् वा सानो काम गरेर खान खोज्ने श्रमिक, सबै ‘असुरक्षाको भावना र चरम निराशाको पासोमा’ छन्।

अहिलेको पुस्तालाई स्वदेशमा ‘निराशा’ छ, कि त विदेशको ‘अन्जान भूमिमा पसिना बगाउने’ विकल्पमा । जब कुनै नागरिकले आफ्नो देशमा गरिखाने सबै बाटाहरु बन्द भएका देख्छन्, अनि सानो गल्तीको सजाय भोग्न पनि अपमानित हुनुपर्छ, तब उसलाई आफू र आफ्नो जीवन अर्थहीन– मूल्यहीन लाग्न थाल्छ ।  यो मानसिक तनाव, यो डिप्रेशन र यो आर्थिक असुरक्षाले आज मानिसलाई आत्मदाहको बाटो रोज्न विवश बनाइरहेको छ। त्यसैको एउटा दु:खद उदाहरण हो– गणेश नेपालीको आत्मदाह ।

आज हजारौँ युवाहरूको हालत र मानिसकता गणेश नेपालीकै जस्तो निराश र अवसादको अवस्थामा छ । भन्नलाई संघीय राजधानी भनिएको छ, सवारी साधनको अनियन्त्रित बाढी छ तर तिनलाई अड्याएर राख्ने व्यवस्थित पार्किङहरु विरलै छन् । पार्किङका लागि सडकमै आफ्ना साधन अड्याउनुपर्ने बाध्यता अधिकांश सवारी चालकहरुलाई छ । यो अवस्थामा सवारी नियम लागू गर्ने नाममा चर्को जरिवाना गर्ने र राजश्व असुल गर्ने सोचभन्दा पर राज्यले सोच्न सकेको देखिन्न । पक्कै पनि प्रचलित कानून अनुसार सवारी व्यवस्थापन गर्ने काम सम्बन्धित निकायको हो र त्यो गरिनु जरुरी छ तर यसलाई विशुद्ध कानूनी आँखाबाट मात्रै नहेरेर मानवीय आँखाबाट हेर्ने गुण र बुद्धि सरकारी निकायहरुमा पलाउनु जरुरी छ । खासगरी, सवारी नियम उल्लंघनलाई राजश्व असुली बढाउने उपायको रुपमा मात्रै नलिई अस्थायी नै सही, अत्यधिक जनसरोकारका काम हुने सरकारी निकाय वरिपरि पार्किङको व्यवस्था गर्ने,  सवारी नियम उल्लंघनका घटनालाई राजश्व असुलीको च्याँखेको रुपमा उपयोग नगरी पहिलो पटक सम्झाइबुझाइ गर्ने, दोस्रो पटक चेतावनी दिने र त्यति गर्दा पनि नटेर्ने पटके उल्लंघनकर्ताहरुबाट मात्र जरिवाना असुल गर्ने उपायहरु लागू गर्नेतिर राज्यले किन नसोच्ने ? हुनेखाने वर्ग र वैकल्पिक कमाइका स्रोत भएकाहरुका लागि जरिवाना तिर्नु सामान्य कुरा हुन सक्ला तर गणेश नेपाली जस्ता खटिखाने वर्गका लागि त्यो निक्कै गह्रुङ्गो भारी हुने कुरा राज्यले महसूस गर्नु जरुरी छ । अन्यथा  ट्राफिक व्यवस्थापन सुधारका नाममा गरिने यस्ता जरिवानाले नागरिकलाई झन् बढी विद्रोही र हतास बनाउने पक्का छ ।

गणेश नेपालीको आत्मदाहको घटना नेपाली समाज र राज्यको संवेदनहीनतामाथि तेर्सिएको जब्बर प्रश्न हो । व्यवस्थाको यो ‘जडता’ र ‘संवेदनहीनता’ लाई फेर्न सकिएन भने यो आगो अझै फैलिन सक्छ। सत्तामा बस्नेहरूले बेलैमा सोचून्– एउटा मोटरसाइकलमा लगाएको ह्विल लकले सायद काठमाडौँको ट्राफिक त केही मिनेट रोकिएला, तर एउटा नागरिकको आत्मामा लागेको चोटले भोलि सिङ्गो व्यवस्थालाई नै ढलाउन सक्छ।

गणेश नेपालीको आत्मदाहको घटनाले एक पटक फेरि केही वर्ष अगाडि आत्मदाह गरेर प्राणत्याग गरेका प्रेम प्रसाद आचार्यको घटनालाई सम्झाइदिएको छ । त्यसबेला उनले नेपाली समाज र राज्यको चरम संवेदनहीनता तथा मुलुकको निराशाजनक अवस्थाबाट वाक्कदिक्क भएर आत्मदाह गरेका थिए । त्यस घटनाबारे हाल प्रधानमन्त्री रहेका वालेन शाहले निक्कै मार्मिक टिप्पणी सामाजिक सञ्जालमा गरेका थिए । त्यसबेला उनले लेखेका थिए–

एकजना नागरिक आफूले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन् । एकजना नागरिक आफूले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन् । एकजना नागरिक संसद भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन् । त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरु होलान् तर सबै भन्दा ठूलो कारण राज्य हो । र, सबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको हो । उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्धारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ । राज्यका हरेक तप्का, निकाय र अंगहरु असफल भएका छन् ।

नागरिकका रुपमा, जनप्रतिनिधिका रुपमा, सत्ताका अगुवाका रुपमा, सञ्चारमाध्यमका रुपमा हामी सबै असफल भइरहेका छौं । नागरिकले गर्नुपर्ने सामान्य दायित्व पूरा गर्नुपर्ने चेत हाम्रो छैन । हामीलाई नियम नमान्दा र पालो मिच्दा असामान्य हो भन्ने लाग्दैन । जनप्रतिनिधिका रुपमा नियम पालना गर्न र गराउन सफा नियतले अगाडि बढ्ने हिम्मत हाम्रो छैन । प्यारो नभइएला र अर्को पटक फेरि छानिन नपाइएला कि भन्ने शंकामा नमिठो बोल्नु हुन्न भन्ने सोचाइ छ । सत्ताका अगुवाका रुपमा त्यो सबै समीकरणलाई प्रगतिका लागि चलायमान बनाउनु भन्दा सत्तास्वार्थका लागि राजनीतिलाई अस्थिर बनाउनमा ध्यानमग्न छौं । सञ्चारमाध्यमका रुपमा कसैको व्यवसाय प्रर्वद्धन गर्न वा सहयोग हुने थप अध्ययन र समाचारहरु तयार पार्ने बारेमा रुचि छैन । कुनै अमुक पदमा भएको व्यक्तिले फेसबुकमा के लेख्छ, के कमेन्ट गर्छ भनेर ठूला ठूला समाचार बनाउनमा व्यस्त छौं ।

एकैपल्ट यति धेरै कुराहरु गलत बाटोमा लागेर एकैपल्ट असफल हुँदा प्रेमप्रसाद आचार्यले त्यसको विद्रोह गरेका हुन् । त्यो विद्रोह हाम्रो समयको पछिल्लो सबैभन्दा विस्मयकारी घटना हो । उनीप्रति हार्दिक श्रद्धाञ्जली तथा उनको परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।

कुनै पनि अर्को व्यक्तिले प्रेमप्रसाद आचार्यको जस्तो नियति भोग्न नपरोस् भनेर महानगरले सिप सिक्ने र ती सिपहरूको जीवनस्तर वृद्धिमा प्रयोग हुने संरचनाहरुको निर्माण गर्नेमा असाध्यै संवेदनशील भएर काम गरिरहेको छ भने उनको मागहरू मध्ये काठमाडौँ महानगरको क्षेत्राधिकारमा पर्ने कामहरू पनि हुँदै छन् । नागरिक तहदेखि संघीय सरकारसम्म सबैले आफ्नो भुमिकाबाट कठोर भई निभाउन अपिल गर्दछु । सबैले नियमको पालना गरौँ । सबैले नियमभित्र रहेर व्यवहार गरौँ । फेरि पनि प्रेमप्रसाद आचार्यप्रति हार्दिक श्रद्धाञ्जली ।

हामी प्रचण्ड बहुमतका साथ हाल सत्ताको सिंहासनमा विराजमान प्रधानमन्त्री बालेन शाहलाई आफूले त्यसबेला लेखेका कुरा दोहोर्‍याएर पढ्न तथा छात्तीमा हात राखेर अहिलेको घटनाको विवेचना गर्न स्मरण गराउँदछौं ।