समाधिलेख
मैले एउटा सपना देखेँ । चिहानको बगलमा एउटा समाधिलेख लेखिएको स्तम्भ खडा गरिएको थियो । म त्यसको अगाडि उभिएको थिएँ । त्यो कुनै एक विशाल, ढलेको रूखको काठमा कुँदिएको जस्तो देखिन्थ्यो । त्यसका बोक्रा सबै उधारिएका थिए । समयको मारले त्यो अत्यन्तै जीर्ण भइसकेको थियो । विस्तारै मक्किदै गएको थियो । त्यसमा कुँदिएका अक्षर मुस्किलले पढ्न सकिन्थ्यो ।
“…एउटा भौँतारिरहेको प्रेत छ । त्यो आफ्नै खुला घाउमा चाटेर बाँच्दछ। उसलाई कम्ता पीडा त हुँदैन, तर आफ्नो ज्यान जोगाउन उसले आफ्नै घाउबाट बगेको रगत र मासु खान अभिशप्त छ । ऊ सुस्तरी पाइला सार्छ, छायाँ जस्तै हलुका पाइला चाल्दै, अनन्त उजाड भूमितर्फ बग्न र हराउन चाहन्छ…”
म समाधिलेखको पछिल्तिर गएँ । त्यहाँ एउटा सुनसान चिहान थियो, जङ्गली घाँसले ढकमक्क ढाकिएको, आधा भत्किएको, जीर्ण अवस्थामा । जमिनमा धाँजा परेको थियो, र त्यस भित्रको शवपेटिका प्रष्टैसंग देखिन्थ्यो । शवपेटिकाको काठ कुहिसकेको थियो । त्यसभित्र एउटा लास लम्पसार परेको थियो । त्यसका कपाल र दाह्री एक आपसमा गुजिल्टिएका थिए; अनुहारको मासु कुहिएर हराइसकेको थियो, तर छाती भने अझै ज्युँ का त्युँ थियो ।
म अझ नजिक गएर हेरें । त्यसको पेट प्याट्ट फुटेको थियो । पेट भित्र मुटु र कलेजो केही पनि थिएन । तर त्यसको छातीको छालामै स्पष्ट र प्रष्ट अक्षरमा केही वाक्य लेखिएका थिए। मैले पढ्न थालेँ :
“…मैले आफ्नो मुटु आफैँ च्यातेर खाएँ, त्यसको वास्तविक स्वाद कस्तो रहेछ भनेर जान्न। पीडा भयानक थियो, यस्तो अवस्थामा त्यसको स्वाद कसरी थाहा पाउन सक्थेँ र ? …पीडा कम भएपछि म त्यसलाई बिस्तारै खान सक्थें । तर त्यतिबेलासम्म मेरो मुटु बिलाइसकेको थियो– त्यसको स्वाद फेरि कसरी थाहा पाउन सक्थेँ र ? …
वृद्ध दार्शनिकले आफ्नो गीत गाइसकेका छन् । किनभने उनले यसलाई मृतकहरूका निम्ति अर्पण र जीवितहरूका निम्ति एउटा कामना माने । तर म त केवल यो एकान्तभित्र आफ्नो जीवन लीला पूरा गर्न न चाहन्छु ।”
म पछि हट्न खोज्दै थिएँ । तर त्यत्तिकैमा त्यो लास शवपेटिकाबाट एकाएक जर्याकजुरुक उठ्यो । उसका ओठ त चलेनन्, तर उसले मलाई भन्यो–
“जब म जमिनको गहिराइमा गाडिन्छु, म कुँहिदै खरानी हुन्छु । तैपनि म मुसुक्क मुस्कुराउने छु , किनकि म विशाल छु, र कुनै सीमाले मलाई बाँध्न सक्दैन ।”
म फर्केर भागेँ। पछाडि फर्केर हेर्ने आँट ममा आएन । कतै मेरो पछाडिबाट उसको हाँसो सुनिन्छ कि भन्ने भयले म छुलुमुतु थिएँ ।
त्यति नै बेला मेरो निद्रा खुल्यो ।
मैले आफूलाई अझै आफ्नै ओछ्यानमा पल्टिरहेको पाएँ । तर कोठाभरि चुक घोप्टिएको चुक जस्तो अँध्यारो न अँध्यारो थियो । हावामा गहिरो निस्तब्धता जमेको थियो । बाहिर कतैबाट आएको बतासको आवाज पनि बिस्तारै विलाउँदै गई रहेको थियो ।
टिप्पणी :
लु सुनको यो लघु कथा साहित्यमा प्रति उत्कर्षको राम्रो नमुना हो । कथा आत्म-अन्वेषणको पीडा, बौद्धिक आदर्शवादको असफलता, र एउटा भत्किएको समाजलाई "ब्यूँझाउन" खोज्दा बेहोर्नु पर्ने गहिरो अस्तित्ववादी मूल्यको वरिपरि घुम्छ ।
लु सुनले यो लघुकथा सन् १९२५ मा लेखेका हुन् । सन् १९१९ मे ४ को आन्दोलनपछि राज्य गृहयुद्धमा फसेको थियो । उनी के देख्दै थिए भने पुगिसरी भएका, टाठाबाठा केही मानिस भने पुरानो संस्कृकै लयमा लट्ठ थिए । तिनको गर्जो विदेशी दानापानीबाट वा जन साधारणको रगत पसिना चुसेर चल्ने गरेको थियो । तिनीहरु गृहयुद्धको विभीषिकाबाट अछुतो थिए ।कतिपय त सत्ताले चलाएको दमनचक्रमा रोमान्चक गीत पनि गाउथे । यदि प्रचलित व्यवस्थामा परिवर्तन न हुने हो भने तिनका सन्तान दर सन्तानको हालत आफैले चुस्ने गरेका कामदारको भन्दा पनि बद्तर हुनेछ ।
लु सुन यो पनि महसुस गर्दै थिए कि धेरैजसो प्राज्ञिक र बुद्धिजीवीहरु चाहिँ आसन्न विनाश ("खाडल") र सामाजिक उदासीनता ("शून्यता") मात्र देख्थे । यो भनेको भित्र भित्रै गुम्सिदै गरेको अस्तित्ववादी एक्लोपनको लाक्षणिकता हो । यसले उनिहरुलाई एक गहिरो अलगाव र एक्लोपनमा घचेट्यो । उनीहरु आत्म समीक्षा गर्न थाले, आफ्नै मुटु खाने,आफूभित्रै नियाल्ने प्रयास गर्न थाले ।
यिनै सन्दर्भललाई लिएर लु शुन यस कथामार्फत आफ्ना दार्शनिक विचार पस्किन्छन् ।
आसन्न विनाश र सामाजिक उदासीनताको उपचार वा त्यसबाट निर्वाण प्राप्त गर्न आत्मभर्त्सना गरेर मात्र हुन्न । त्यसको निम्ति परम्परागत सुख वा सहज आशावादबाट विमुख हुन सक्नु पर्दछ ।
कथाको समापन बडो गज्जबको छ, जण्ड विद्रोही । त्यो मुटुविहीन लास जुरुक्क उठ्छ र बडो सौम्य आवाजमा भन्छ, "जब म खरानी हुनेछु, तिमीले मेरो मुस्कान देख्नेछौ !" त्यो विनासमाथि विद्रोह गर्दछ । त्यो लास मृत्युमाथि हास्छ । निजात्मक लाभबाट पिण्ड छुटाउँछ । उसको दिल खुश हुन्छ । निर्वाण प्राप्त गर्छ ।
अर्थात,
पुराना सामन्ती परम्पराहरूको "मान्छे खाने" प्रवृत्तिको विरुद्धमा लड्नका लागि, क्रान्तिकारीले अनिवार्य रूपमा आफूलाई आत्मलोभभन्दा माथिराख्न सक्नु पर्दछ र वृहत्तर सामाजिक हितका खातिर हुने आन्दोलनका लागि आफ्नो ‘मुटु’ समेत त्याग्न सक्नु पर्दछ । उसको मुस्कान एक अद्भूत विजयको प्रतीक हो– एउटा यस्तो घोषणा, जहाँ सम्झौतावादी जीवन जिउनुभन्दा मरेर हास्नु श्रेयस्कर हुन्छ । आफ्नो ज्यान जोगाउन उसले आफ्नै घाउबाट बगेको रगत र मासु न खाने उध्यम गर्नु पर्दछ ।
क्रान्तिकारी, जागृत, प्राज्ञिक र बौद्धिक मानिसले त सामाजिक उत्तरदायित्व पूरा गर्न हरदम उद्दत रहनु पर्दछ भलै ऊ कोलाहल भन्दा बाहिर एकदम एललास, एकान्त कुनामै नै किन न हुन् ।
टिप्पणी र भावानुवाद : टंक कार्की
क्युबाको आर्थिक सुधार र समाजवादी नवीकरणको सम्भावना
सुधार र खुलापनको नीतिदेखि यता चीनको शीर्ष नेतृत्वले चिनियाँ भाष्यलाई कसरी न…
उपभोक्ता शक्तिको भ्रम: खाद्यान्नलाई बजारीकरणबाट मुक्त गर्ने बेला किन भयो?
नेपालमा टेक्नो-फासीवादको विनिर्माण
आदतको सत्ता र क्रान्तिकारी रूपान्तरण
विकास आयोजनामा सामाजिक तथा वातावरणीय सुरक्षण र अनुपालन
पढाइको राजनीति
प्रतिक्रिया