वरदान प्राप्त शहर
म युवा हुँदा मलाई भन्ने गरिन्थ्यो कि कुनै त्यस्तो शहर छ जहाँका सबै मानिसहरु धर्मशास्त्र अनुसार नै आफ्नो जीवन बिताउने गर्छन् ।
र मैले सोचेँ, "म त्यो शहर पत्ता लगाउछु र त्यसको वैभवता हेर्छु ।" र त्यो शहर टाढा थियो। र मैले मेरो यात्राको लागि राम्रो बन्दोवस्त गरेँ। र चालिसौं दिन पछि, मैले त्यो शहर फेला पारेँ र एकचालिसौं दिनको दिन मैले त्यस शहरमा प्रवेश गरेँ।
ओहो! लौ, त्यहाँका सबै वासिन्दाहरु एक आँखे थिए र हात यौटा मात्र। म त छक्क परेँ र आफैँसँग भनेँ, "के वरदान प्राप्त शहरका मानिसहरुको एक आँखा र एक हात मात्र हुँदो रे'छ?"
त्यसपछि मैले देखेँ त्यस शहरका मानिसहरु पनि मेरा दुई आँखा र दुई हात देखेर आश्चर्यचकित भइरहेको । र तिनीहरु आपसमा कुरा गर्दै गर्दा मैले सोधेँ, "के साँच्चै यही हो त वरदान प्राप्त शहर, जहाँका प्रत्येक मान्छे धर्मशास्त्र अनुसार चल्ने गर्छन् ?" र उनीहरुले बताए, "हो यो त्यही शहर हो ।"
अनि, मैले भनेँ, "लौ, के विपत्ति आइलाग्यो, र तपाईँहरुको दायाँ आँखा र दायाँ हातहरु कता हराए?"
र सबै मानिसहरु चलमलाए र भनेँ, "तपाईं हामीसँग आउनुस र आफैँ हेर्नुस ।"
र मलाई शहरको बिचमा रहेको मन्दिरमा लिएर गए। र मन्दिरमा मैले हात र आँखाहरुको रास देखेँ। सबै सुकेका । र मैले सोधेँ, कुन क्रुर विजेताले तपाईंहरुमाथि यस्तो अन्याय गरेको हो?"
मेरो प्रश्न पछि उनिहरुले आपसमा गुनगुन गरेको आवाज आयो र पाकाहरुमध्येका एकजना अघि सरे र भने, "यो हामी आफैँले गरेका हौँ । भगवानले हामीभित्र लुकेर बसेको दुष्कर्महरुमाथि हामीलाई नै विजयी गराउनु भएको हो।"
र वहाँले मलाई उँचो वेदीतर्फ लैजानु भयो, र अरु मानिसहरु पछि लागे। र वहाँले वेदीभन्दा माथि गहिरो गरी कुँदिएका अक्षरहरु देखाउनु भयो, र मैले त्यसलाई पढेँ:
"यदि तिम्रो दाहिने आँखाले तिमीलाई पाप कर्मतिर डोर्याउछ भने, त्यसलाई झिकेर टाढा फ्याँक; किनकि पूरै शरीरलाई नर्कमा धकेल्नुभन्दा यौटा आँखा गुमाउनु नै बढी लाभदायक हुन्छ। र तिम्रो दाहिने हातले तिमीलाई पाप कर्म गर्न लगाउँछ भने, त्यसलाई पनि काटेर टाढा फ्याँक; किनकि पूरै शरीरलाई नर्कमा धकेल्नुभन्दा यौटा हात गुमाउनु नै बढि लाभदायक हुन्छ ।"
त्यसपछि मैले बुझेँ । र म उनीहरु भएतिर फर्केँर जोडले कराएँ, "त्यसो भए दुई आँखा र दुई हात भएको पुरुष वा महिला कोही पनि हुनुहुन्न तपाईँहरु बिच ?"
र उनीहरुले मलाई भने, "हो, कोही पनि छैनौं । धर्मशास्त्र पढ्न नजान्ने र भगवानको उपदेश बुझ्न नसक्ने उमेरका साना बच्चाहरु बाहेक।"
र जब हामी मन्दिरबाट बाहिर निस्कियौं, म तत्कालै उक्त वरदान प्राप्त शहरबाट भागिहालेँ; किनकि म धर्मशास्त्र पढ्न र बुझ्न नसक्ने उमेरको सानो बच्चा थिइनँ ।

[खलिल जिब्रान (सन् १८८३-१९३१) को "द ब्लेस्ड सिटी" नामक प्रसिद्ध सूत्रबद्ध लघुकथाको अंग्रेजीबाट नेपालीमा गरिएको अनुवाद। सकेसम्म लेखककै शैलीलाई कायम राख्ने प्रयत्न गरिएको छ।]
प्रतिक्रिया