उखरमाउलो गर्मीको सितल साथी: खरबुजा खानुका फाइदाहरु

अहिलेको टन्टलापुर घाम, तातो हावा र उखरमाउलो गर्मी। यस्तो बेला तिर्खाले घाँटी सुकिरहेका बेला कसैले चिसो र रसिलो रातो खरबुजा अगाडि ल्याइदियो भने? सोच्दै मुखमा पानी आउँछ। वास्तवमै खोलाका किनार र बलौटे माटोमा फल्ने यो छिर्केमिर्के हरियो फल नेपाली बजारमा मात्र होइन, प्रत्येक भान्सा र मनमा लोकप्रिय छ।

तर, के तपाईंलाई थाहा छ? खरबुजा तिर्खा मेटाउने माध्यम मात्र होइन, यो त पोषणको एउटा ठूलो भण्डार नै हो। बाहिरबाट हेर्दा साधारण देखिने यो फलभित्र हाम्रो शरीरलाई आवश्यक पर्ने अनगिन्ती गुणहरू लुकेका छन्। आउनुहोस्, आजको यस लेखमा खरबुजाको स्वादभित्र लुकेको स्वास्थ्यको रहस्यबारे चर्चा गरौँ।

पोषणको खानी: सानो फल, ठूलो शक्ति

खरबुजालाई 'न्युट्रिसन पावरहाउस' भन्दा फरक पर्दैन। यसको एउटा कचौरा (लगभग १५०-१७० ग्राम) टुक्रामा ४६ क्यालोरी हुन्छ, तर यसले दिने पोषण भने निकै उच्च छ। यसमा:

भिटामिन सी: जसले एन्टिअक्सिडेन्टको काम गर्छ र रोग प्रतिरोधी क्षमता बढाउँछ।

भिटामिन ए: आँखाको ज्योति र छालाको लागि वरदान।

पोटासियम र म्याग्नेसियम: मुटु र मांसपेशीको कार्य सञ्चालनका लागि अनिवार्य।

यसमा पाइने प्राकृतिक चिनीले तपाईंलाई तत्काल ऊर्जा दिन्छ, त्यसैले दिउँसोको थकान मेटाउन यो सबैभन्दा उत्तम प्राकृतिक विकल्प हो।

डिहाइड्रेशनबाट मुक्ति: ९१ प्रतिशत पानी

गर्मीमा हाम्रो शरीरबाट पसिनाको माध्यमबाट धेरै पानी बाहिर जान्छ। खरबुजाको ९१ प्रतिशत भाग पानीले नै बनेको हुन्छ। यसले शरीरमा पानीको मात्रा सन्तुलित राख्न (हाइड्रेटेड रहन) मद्दत गर्छ। तपाईंलाई सादा पानी पिउन मन लाग्दैन भने सट्टामा खरबुजा खानुहोस्, यसले तपाईंको शरीरलाई चिसो र रसिलो बनाइराख्छ।

मुटुको रक्षा र क्यान्सरसँगको लडाइँ

खरबुजाको रातो रङ 'लाइकोपीन' नामक तत्वका कारण हुन्छ। यो एउटा शक्तिशाली एन्टिअक्सिडेन्ट हो। विभिन्न अध्ययनहरूका अनुसार लाइकोपीनले प्रोस्टेट क्यान्सर जस्ता गम्भीर रोगको जोखिम कम गर्न मद्दत गर्छ। साथै, यसले रगतमा हुने खराब कोलेस्ट्रोल (LDL) घटाउन र रक्तचाप नियन्त्रण गर्न सहयोग पुर्‍याउँछ, जसले गर्दा हाम्रो मुटु स्वस्थ रहन्छ।

मांसपेशीको दुखाइमा राहत

जिम जाने वा भारी शारीरिक काम गर्ने व्यक्तिहरूका लागि खरबुजा एउटा 'सुपरफूड' हो। यसमा 'सिट्रुलिन' नामक एमिनो एसिड पाइन्छ। यसले शरीरमा नाइट्रिक अक्साइडको उत्पादन बढाउँछ, जसले रक्तसञ्चारमा सुधार ल्याई व्यायामपछि हुने मांसपेशीको दुखाइ (Muscle soreness) कम गर्छ। एउटा सानो अध्ययनले त के समेत देखाएको छ भने, खेलकुदपछि खरबुजाको रस पिउनाले २४ घण्टाभित्रै हृदयको गति सामान्य बनाउन र मांसपेशीको थकान मेटाउन मद्दत गर्छ।

सुन्दर छाला र चम्किलो आँखा

के तपाईं आफ्नो छालालाई कलिलो र चम्किलो राख्न चाहनुहुन्छ? त्यसो हो भने महँगा क्रिमभन्दा खरबुजा बढी प्रभावकारी हुन सक्छ। यसमा भएको भिटामिन सीले 'कोलाजेन' उत्पादनमा मद्दत गर्छ, जसले छालालाई कसिलो बनाउँछ। त्यस्तै, भिटामिन ए र लाइकोपीनले छालालाई सूर्यको हानिकारक अल्ट्राभायोलेट (UV) किरणबाट जोगाउन सुरक्षा कवचको काम गर्छन्।

आँखाको स्वास्थ्यका लागि पनि यो उत्तिकै महत्वपूर्ण छ। यसमा पाइने तत्वहरूले उमेर बढ्दै जाँदा हुने मोतियाबिन्दुको जोखिमलाई कम गर्छन् ।

बीउ र बोक्रा पनि पोषणको खानी !

हामी प्रायः खरबुजाको भित्री रातो भाग खान्छौँ र बीउ तथा बाहिरी हरियो बोक्रा फ्याल्छौं ।तर वास्तवमा खरबुजाको गुदीमा मात्रै हैन, बीउ र बोक्रामा पनि पर्याप्त मात्रामा पोषक तत्त्वहरु पाइन्छन् ।

बीउ: खरबुजाको बीउमा प्रोटिन, फलाम, जिंक र म्याग्नेसियम प्रचुर मात्रामा हुन्छ। यसलाई सुकाएर वा भुटेर खाँदा यो निकै पोषिलो 'स्न्याक्स' बन्छ।

बोक्रा : यसको सेतो/हरियो भागमा फाइबर र पोटासियम धेरै हुन्छ। यसलाई अचार बनाएर वा तरकारीमा मिसाएर खान सकिन्छ। यसको स्वाद काँक्रोको जस्तै हुन्छ।

फाइदा हुन्छ भन्दैमा जथाभावी खानु हुन्न !

कुनै पनि चिजको धेरै सेवन हानिकारक हुन सक्छ। खरबुजा खाँदा केही कुरामा ध्यान दिनु जरुरी छ:

पाचन समस्या (IBS): खरबुजालाई 'High FODMAP' खानेकुरा मानिन्छ। यदि तपाईंलाई ग्यास्ट्रिक, पेट ढुस्स भइबस्ने वा पखाला लाग्ने समस्या छ भने धेरै खरबुजा नखानुहोस्।

मधुमेह (Diabetes): यसको ग्लाइसेमिक इन्डेक्स अलि बढी भए पनि 'ग्लाइसेमिक लोड' कमै हुन्छ। तैपनि मधुमेहका बिरामीले चिकित्सकको सल्लाहमा ठिक्क मात्रामा (१ कप जति) मात्र खानु राम्रो हुन्छ।

माइग्रेन: केही व्यक्तिहरूमा खरबुजाले माइग्रेनको टाउको दुखाइ बढाउन सक्ने देखिएको छ। यदि तपाईंलाई यस्तो अनुभव हुन्छ भने सावधानी अपनाउनुहोस्।

छालाको रङ: धेरै मात्रामा लाइकोपीन सेवन गर्दा कहिलेकाहीँ छाला हल्का सुन्तला रङको देखिन सक्छ, जसलाई 'लाइकोपेनेमिया' भनिन्छ। यद्यपि यो निकै दुर्लभ अवस्था हो।

सन्तुलन नै सुखको आधार

खरबुजा गर्मी भगाउने फल मात्र होइन, यो त प्रकृतिको एक अनुपम उपहार हो। यसले हाम्रो वजन घटाउन, पाचन प्रक्रिया सुधार्न र समग्र स्वास्थ्यलाई मजबुत बनाउन अहम् भूमिका खेल्छ। तर, 'खरबुजा डाइट' मात्रै भनेर यसैमा मात्र निर्भर हुनु हुँदैन। स्वस्थ रहनका लागि विभिन्न थरिका फलफूल र सन्तुलित भोजनको आवश्यकता पर्छ।

दिनको करिब २ कप खरबुजा खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ। त्यसैले, यो गर्मीमा फ्रिजबाट चिसो खरबुजा निकाल्नुहोस् र यसको हरेक रसिलो टुक्राको आनन्द लिनुहोस्। स्वास्थ्य र स्वादको यस्तो बेजोड संगम अरू फलमा पाउन मुस्किल छ !

तस्विर: https://main-cdn.sbermegamarket.ru