गोपाल किरातीको संयोजकत्वमा तेस्रो जनआन्दोलन समिति गठन

'ब्राम्हणवादी सत्ता अन्त्यका लागि तेस्रो जनआन्दोलन' भन्दै वाम राजनीतिज्ञ गोपाल किरातीको संयोजकत्वमा तेस्रो जनआन्दोलन, राष्ट्रिय भेला तयारी समिति गठन भएको छ ।

त्यसबारे जानकारी दिँदै समितिले एक विज्ञप्ति जारी गरेको छ ।

समितिको तर्फबाट संयोजक गोपाल किराती र सदस्य सचिव कृष्ण चोङ्बाङले जारी गरेको सो विज्ञप्तिमा भनिएको छ–

ललितपुरस्थित २०८० माघ २० गते किरात याक्थुङ चुम्लुङको भवनमा “कोशीलगायत मण्डले प्रदेश नामहरु खारेज तथा पहिचानसहितको समाजवादका लागि तेस्रो जनआन्दोलनवारे मार्गदर्शन भेला’’ गरियो । विभिन्न दल तथा राजनीतिक कर्मीहरु, प्रगतिशील बुद्विजीविहरु र सामाजिक संस्थाका नेताहरुको सहभागितामा आयोजित भेलाले प्रदेश १ पुनःनामाङ्कन संघर्ष समितिद्वारा प्रस्तावित तेस्रो जनआन्दोलन तयारी कार्यादेशमा गरिएका निम्न निर्णयहरु प्रेस विज्ञप्ति मार्फत सार्वजानिक गर्दछौं ।

१. वैचारिक–राजनीतिक निर्णय

क. ब्राम्हणवादी सत्ताको समूल अन्त्यका लागि तेस्रो जनआन्दोलन तयारीमा केन्द्रित रहँदै जस अन्तर्गत दलाल पुँजीवाद र भ्रष्टाचारी शासनलाई ध्वस्त पारेर पहिचान सुनिश्चितताको समाजवादी लोकतान्त्रिक व्यवस्था स्थापना गर्ने । जसरी २००७ को सशस्त्र आन्दोलनले राणाशासनको अन्त्य गर्यो, २०४६ को जनआन्दोलनले निर्दलीय पञ्चायतको अन्त्य गर्यो, जनयुद्वको जगमा २०६२÷६३ दोस्रो जनआन्दोलनले राजतन्त्रको अन्त्य गर्यो, ठिक त्यसरी ब्राम्हणवादी सत्ताको अन्त्य र पहिचानसहित समाजवादका लागि तेस्रो जनआन्दोलन तयारीसंगै साझा स्वरुपको जुझारु राजनीतिक शक्ति निर्माणको मूलनारामा देशव्यापी वैचारिक–राजनीतिक ध्रूवीकरण बढाउने ।

ख. संविधानको गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशीकरण, मौलिक हक, स्वतन्त्र परराष्ट्रनीति र भ्रष्टाचार अन्त्यको सुशासनव्यवस्था कार्यान्वयनमा असक्षम प्रचण्ड माओवादी, नेपाली कांग्रेस तथा नेकपा एमालेसहितका आलोपालो शासक दलहरु नै प्रतिक्रान्तिको विध्यमान कारकतत्व हुन । त्यसको परिणाम बाह्य लगानीको उक्साहटमा मध्ययुगीन राजतन्त्रवादीले टाउको उठाइरहेका हुन । अतः जनयुद्वको जगमा जनआन्दोलन र मधेश आन्दोलनका उपलब्धी रक्षार्थ सार्वजानिक आत्मालोचनासहित रुपान्तरणका निमित्त ती दलहरुलाई एक पटक आग्रह गरिन्छ । अन्यथा दलित, श्रमिक तथा विस्थापितवर्ग, लिङ्ग, जातजाति, क्षेत्र एवं देशभक्तहरुको तेस्रो जनआन्दोलनको ज्वारभाटाले मध्ययुगीन पुनरुत्थानवादीहरु र प्रतिक्रान्तिकारी दलका भ्रष्ट नेताहरुलाई एकसाथ ध्वस्त पारिने चेतावनी गरिन्छ ।

ग. कोशीलगायत बागमती, गण्डकी, कर्णाली जस्ता मण्डले प्रदेश नामहरु खारेज तथा उत्पीडित समुदायको पहिचान र अधिकारका साथै राष्ट्रिय जनसरोकारका मुद्दाहरुमा सहमत शक्ति र व्यक्तिहरुसंग जिम्मेवार वार्ता सम्बाद गरी पहिलो र दोस्रो जनआन्दोलनका लोकतान्त्रिक उपलब्धीहरुको दृढतापूर्वक रक्षा गर्दै विगत जनआन्दोलनहरुमा जबरजस्ति दबाईएका वर्ग, लिङ्ग, जातजातिका राजनीतिक, आर्थिक, साँस्कृतिक माग मुद्दाहरुलाई पुनर्स्थापित गरिछाड्ने संकल्पमा राष्ट्रिय भेला आयोजना गरी देश जिम्मा लिने बृहत्तर कार्यक्रम उद्घोषसहित अघि बढ्ने संकल्पमा साथसमर्थनका लागि सम्बद्व सबैमा आव्हान गर्दछौं ।

घ. शासनको तहमा ब्राम्हणवादी दलाल पुँजीवादी भ्रष्ट सत्ताको समूल अन्त्य गर्दै जनताको तहमा बाह्र प्रतिशत ब्राम्हणको बाह्र प्रतिशत राजनीतिक–प्रशासनिक स्थान सुनिश्चितताद्वारा समाजवादी राष्ट्रिय एकीकरण कार्यभार उठानको गौरवमय इतिहास रचनाका निमित्त जनसमुदायमाझ विशेष अपील गर्दछौं ।

२. संगठनात्मक निर्णय

आगामी राष्ट्रिय भेला आयोजना तथा त्यहाँसम्मको आवश्यक कामकार्वाही सम्पादन गर्ने कार्यादेशमा विभिन्न संस्था सम्बद्व तथा स्वतन्त्र प्रतिनिधिहरु रहेको निम्न अनुसार “तेस्रो जनआन्दोलन, राष्ट्रिय भेला तयारी समिति“ ( संक्षेपमा “तेस्रो जनआन्दोलन समिति“) गठन गरि काम अघि बढाउने निर्णय गरियो ।

क. संयोजक गोपाल किराती,

ख. सदस्यहरु क्रमशः वीश्वेन्द्र पासवान, बुद्वराज लामा, बलदिप राई, रामनारायण पाल, चन्द्र श्रीशमगर, राम मगर, तिलक मगर, आशा तामाङ, रामभक्त कुरुम्बाङ, खगेन्द्र माखिम, एवीराज आङ्देम्बे, दलमर्दन कामी, आरएन राई, सोविन थिङ, रेखराज राई, चेतन तुम्बाहाङ, डा. मित्र परियार र लोकेन्द्रराज थापा ।

ग. सदस्य सचिव कृष्ण चोङ्बाङ  ।

अन्त्यमा, पहिचान आधारित प्रदेशहरुको पुनःनामाङ्कन संघर्षमा जोड्दार सघाऊ पुर्याउदै नश्लीय ब्राम्हणवादी सत्ताको अन्त्यद्वारा समतायुक्त राज्यव्यवस्था स्थापनातर्फ दृढ प्रतिवद्व रहँदै तेस्रो जनआन्दोलन तयारीद्वारा संविधान पुनर्लेखन कार्यसूचिमा जुटेर समाजवाद उन्मुख राज्य हासिल गरिछाड्न ब्राम्हणभित्रका जनप्रगतिशीलसहित ८८ प्रतिशत उत्पीडित जातजाति, लिङ्ग, वर्ग र देशप्रेमी सबैमा गम्भीर अपील गर्दछौं ।

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।