चीनलाई साधुवाद ! टार्‍यो अर्को संकट

इरान-पाकिस्तान द्वन्द्वमा चीनले देखाएको कुटनीतिक जिम्मेवारीको कथा

‘इरान र पाकिस्तानबीच सहमति: जनवरी २६ सम्ममा राजदूतहरू काममा फर्कने’, एसियाका दुई छिमेकी मुलुकबीच युद्धको तहमा बढेको विवाद साम्य बनेको खबर दिने यस्ता समाचार शीर्षकले विश्व राजनीतिका खेलाडीहरू मध्ये केहीमा उत्साह थपेको छ भने केही निराश बनेका छन् । सामान्य रुपमा के भन्न सकिन्छ भने भारत र इजरायल बाहेक एसियाका सबैजसो मुलुक यसबाट खुसी छन् । उता अमेरिकासहितका हतियार व्यापारी र विश्वमा शान्ति कायम रहँदा बेचैनी बढ्ने देशहरू भने निराश बनेका छन् ।

दुई इस्लामिक मुलुकहरू इरान र पाकिस्तानबट्चको असमझदारी एकाएक सीमापार हवाई आक्रमणको तहसम्म पुग्दा सबैभन्दा बढी चिन्ता इस्लामिक विश्वमा देखिएको थियो । एकातिर इजरायलले प्यालेस्टाइनमा गरिरहेको नरसंहार र उता यमनमा अमेरिकी-बेलायती गठबन्धनले गरिरहेको आक्रमण–प्रत्याक्रमण विश्वलाई आर्थिक रुपमा पारिरहेको संकटमा यी दुई मुलुकबीचको भिडन्तले थप्ने रापको पूर्वानुमान नै पनि विश्वशान्तिको कामना गर्नेहरूका लागि अत्यासलाग्दो बनिरहेको थियो ।

यस्तोमा एकाएक इरान–पाकिस्तान दुवै देशका राजदूतहरू आ-आफ्नो काममा यसै साता फिर्ता भइसक्ने समझदारी कसरी सम्भव भयो ? त्यसको बेग्लै कथा छ ।

एकसाता अघि, अघिल्लो मंगलबार, राति इरानले गरेको मिसाइल आक्रमणमा परी पाकिस्तानमा दुइजना बालकको मृत्यु र तीन जना घाइते भएपछि दुई मुलुकबीचको सम्बन्धमा एकाएक तनाव पैदा भएको थियो । त्यसपछि नौ सय किलोमिटर सीमा जोडिएका यी दुई देशहरू बीच बढेको आक्रमण र प्रत्याक्रमण सोमबार भएको समझदारी पछि रोकिएको छ । यसरी यी दुई छिमेकीलाई आपसी मिलापको तहसम्म ल्याउन एकसाता भित्रै सफल बनेको मुलुक हो, चीन ।

इरान र पाकिस्तान आपसमा भिड्दा सबैभन्दा बढी पीडा भने चीनलाई नै भएको थियो । यसो किन भयो भने चीन सामरिक र रणनीतिक धेरै ढंगले यी दुई वटै देशसँग नजिक छ । पाकिस्तानमा चीनको निकै ठूलो लगानी छ भने इरानसँगको व्यापार उस्तै राम्रो छ । इरानमा पनि निकै खुलेर लगानी गरिरहेको चीन यी दुवै मुलुकको बीचमा रहेको अर्को देश अफगानिस्तानमा समेत नयाँ ढंगले काम गरिरहेको छ ।

त्यसैले चीन त्यो शान्तीवार्ताको केन्द्रमा कुनै पनि विलम्ब नगरिकन प्रवेश गर्‍यो र त्यसलाई सफल समेत बनायो । हुन त चीन तेल उत्पादक छिमेकी अरू देशहरूसँग पनि निकै जिम्मेवार भएर काम गरिरहेको छ । अमेरिकाले आफ्नो कब्जामा राखेर सधैँ इरान विरुद्ध प्रयोग गर्दै आएको साउदी अरबलाई इरानसँगको कट्टर सफलतालाई मित्रतामा परिणत गर्न चीनको कुटनीतिक सफलताले यसअघि नै विश्वलाई तरङ्गित तुल्याइसकेको हो । यो अवस्थामा इरान–पाकिस्तानबीच कुटनीतिक पहलका आधारमा मिलापत्र गराउन चीनका लागि त्यति गाह्रो काम पनि थिएन । यो यस अर्थमा कि द्वन्द्वमा उत्रिएका इरान र पाकिस्तान दुवै मुलुकसँग चीनको राम्रो सम्बन्ध कायम छ । तर के कुरा पनि सत्य हो भने सोझै आक्रमण–प्रत्याक्रमणमा उत्रिएका यी दुई देशहरुलाई शान्तिका लागि सहमत गराउन चीन बाहेक अरूलाई भने त्यति सहज हुँदैनथ्यो ।

सोमबारको सहमतिपछि यसबारे जानकारी गराउँदै चीनले दुई देशबीच तनाव बढ्न थालेपछि नै आफूहरु शान्ति स्थापना गराउने काममा लागिपरेको जनाएको छ । चीनको परराष्ट्रमन्त्री सुन वेईडंग मध्यस्थताको लागि पाकिस्तान गएका थिए । पाकिस्तानले आतंककारीको निशानामा भन्दै इरानमा गरेको आक्रमणमा परी ९ जनाको मृत्यु भएपछि चीनले थप सक्रियता बढाएको थियो ।

आफ्नो सर्वकालीन मित्र पाकिस्तान र पश्चिम एसियामा आफ्नो उपस्थिति बलियो बनाउन अत्यावश्यक साझेदारका रुपमा सम्बन्ध प्रगाढ बनाउँदै लागेको इरानबीचको यो द्वन्द्व चीनलाई मात्र नभएर अरू धेरैलाई सकस पार्नेवाला थियो । त्यही भएर पाकिस्तान, भारत लगायतका मुलुकमा राजदूत भएर काम गरिसकेका सुनले स्वयम् सक्रियता बढाएका थिए भने सहायक विदेशमन्त्री मा झाओछुले समेत इरानका समकक्षीसँग कुरा गरेका थिए ।

जे होस्, क्षेत्रीय शान्ति र स्थिरताको लागि चीनले देखाएको यो पछिल्लो सक्रियता निकै प्रशंसायोग्य छ । शान्ति स्थापनाका लागि चीनले देखाएको सक्रियता र हासिल गर्दै गइरहेको सफलताले एकै पटक कुनै एक छिमेकीलाई उक्साहटमा पारेर अर्कोलाई दुख दिने साम्राज्यवादी र विस्तारवादी मुलुकहरूलाई अब उनीहरूको पुरानो शैली बेकम्मा भईसकेको सन्देश पनि प्रवाह गरेको छ । यो जिम्मेवारीपूर्ण कर्मको लागि शान्तिका कामना गर्नेहरुले चीनप्रति आभार व्यक्त गर्नु अन्यथाको कुरा हुन सक्दैन ! त्यसै गरी मित्र नयाँ बन्न सक्छ तर छिमेकी फेर्न सकिँदैन भन्ने तथ्यलाई मनन् गरी शान्तिको मागर्लाई अवलम्बन गरेकोमा पाकिस्तान र इरान दुबै पनि धन्यवादका बनेका छन् !!

 

 

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।