सप्तरीको रूपनगरमा सार्वजनिक पुस्तकालय स्थापना हुने

विदेशमा बसेर पनि आफ्नो जन्मभूमिको उन्नतिप्रति क्रियाशील, हाल अमेरिकाको टेक्सस निवासी विजयराज भट्टराईको सहयोगमा 'सर्वोदय फाउण्डेसन नेपाल' मार्फत् सार्वजनिक पुस्तकालय स्थापना हुने भएको छ ।

सप्तरीको कञ्चनरूप नगरपालिका १२ स्थित रूपनगर नन्दराज संग्रौला क्याम्पस परिसरमा उक्त पुस्तकालय स्थापना हुन लागेको जानकारी क्याम्पसले दिएको छ ।

नेपाली भाषा, साहित्य र संस्कृति नै प्रवासमा नेपालीको पहिचान हो भनेर टेक्ससमा नेपालीहरूद्वारा सञ्चालित नेपाली पाठशालालाई भट्टराईले 'ग्लोबल नेपाली पाठशाला' मा रूपान्तरण गरेका थिए । करिव ६ वर्ष उक्त पाठशालाको प्रिन्सिपलका रूपमा नेतृत्व गरेका विजयले टेक्ससका समाजसेवीहरूको सहयोगमा 'सर्वोदय फाउण्डेसन नेपाल' स्थापना गरी मानव सेवा गर्दै आएका छन् ।

सोही फाउण्डेसन मार्फत् रूपनगरस्थित त्रिभुवन विश्वविद्यालय सम्बद्ध यो सामुदायिक क्याम्पसमा पुस्तकालय स्थापना तथा सञ्चालनका लागि उनले झण्डै १३ लाख रूपियाँ सहयोग गर्ने जानकारी क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले दिएका छन् ।

अध्ययन, अनुसन्धान समाज विकासको जग हो भन्ने मान्यता राख्ने भट्टराईले पुस्तकालय सञ्चालनका लागि दुई वर्षसम्म निरन्तर सहयोग समेत गर्ने जानकारी प्राध्यापक गजुरेलले दिए। 'रूपनगर सर्वौदय पुस्तकालय' नाम रहने सो पुस्तकालय अपरान्ह ३ घण्टा सार्वजनिक उपयोगका लागि खोलिनेछ ।

विद्वान बुवा पं. डिल्लिराम भट्टराई तथा आमा हरिप्रिया भट्टराईका छोरा, इञ्जिनियर विजयको सहयोगमा स्थापना हुने सो पुस्तकालय सप्तरी जिल्लाकै एउटा नमूना ज्ञान केन्द्रका रूपमा रहने अपेक्षा कञ्चनरूप नगरपालिका तथा वरपरका वुद्धिजीवीहरूको छ । 'अध्ययन अनुसन्धान गर्न चाहनेहरूका लागि स्रोतको अभाव रहेको सप्तरी जिल्लाको उत्तर पूर्वी यस भेगमा एउटा गहकिलो सार्वजनिक पुस्तकालय स्थापना हुनु आफैँमा महत्वपूर्ण विषय हो,' सञ्चारकर्मी उत्तम आचार्य भन्छन् ।

भौतिक पुस्तकका साथै केही हजार इ-पुस्तक समेत राखिने पुस्तकालय विविध विषयमा अध्ययन अनुसन्धान गर्नेहरूका लागि गहकिलो स्रोत केन्द्र बन्ने अपेक्षा क्याम्पस सञ्चालक समितिका अध्यक्ष गिरिराज संग्रौलाको छ । उनी भन्छन्, 'पत्रपत्रिका, कम्प्यूटर, र इण्टरनेट समेतको सुबिधा उपलब्ध हुने पुस्तकालय रूपनगरमा मात्र होइन, सप्तरीको यो भेगकै लागि गौरव हुनेछ ।'

प्रयोगकर्ताका लागि पुस्तकालयमा सदस्यता प्रणाली लागू गरी पुस्तक घर लगेर पढ्न पाउने व्यवस्था समेत हुनेछ । तर सदस्य नबनेकाले पनि पुस्तकालय प्रयोग गर्न पाउने छन् ।

क्याम्पस सञ्चालक समिति सदस्य हेम प्रसाद अधिकारीका अनुसार पुस्तकालयका लागि फर्निचर बनाउने, पुस्तक सङ्कलन गर्ने लगायतका काम भैराखेको छ । नव वर्ष २०८१ को अवसरमा उद्घाटन गर्ने गरी काम भैराखेको जानकारी अधिकारीले दिएका छन् ।

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।