निर्दोषहरुलाई समेत आक्रमणको निशाना बनाउँदै इजरायलको रक्तस्नान जारी !

दोस्रो विश्वयुद्धपछिको सम्भवतः सबैभन्दा ठूलो नरसंहारको ताण्डव चलिरहँदा पनि त्यसलाई रोक्न संयुक्त राष्ट्रसंघ लगायतका अन्य विश्व संघसंगठनहरु पूरै असफल

अन्तर्राष्ट्रिय मान्यता, नियम कानूनहरुलाई लत्याउँदै इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणको २ महिना २५ दिन पुगिसकेको छ । हिटलरको युद्ध अपराधलाई बिसाउने गरी इजरायलले गाजा क्षेत्रको मानवीय वस्तीहरु, शरणार्थी शिविरहरु र अस्पतालहरु समेतमा गरेको भयानक एवं अन्धधुन्ध वमवर्षामा परेर आजसम्म २१९७८ जना मानिसहरुको हत्या भइसकेको छ । यसरी हत्या हुनेहरुमा अधिकांश बालबच्चा, महिला र बुढाबुढीहरु रहेका छन् । त्यसै गरी, इजरायली आक्रमणमा परी हालसम्म ५७,६९७ जना घाइते भएका छन् ।

गत अक्टोबर ७ मा इजरायली भूमिमा प्यालेष्टिनी समूह हमासले गरेको आकस्मिक हमलामा परी १४ सय जना इजरायलीहरु (जसमा नेपाली लगायत विदेशी नागरिकहरु समेत समावेश छन्) हत्या भएको प्रारम्भिक रुपमा जनाइएको थियो । पछिल्लो संशोधित तथ्यांक अनुसार हमासको आक्रमणमा परी ११३९ जनाको हत्या भएको हो । सोही हमलाको निहुँमा अहिले इजरायलले गाजा क्षेत्रमा भीषण सैनिक हमला गरिरहेका छन् । त्यो हमला हवाइ तथा स्थल दुवै रुपमा घनीभूत रुपमा चलाइएको छ । गाजा क्षेत्रमा युद्धका अन्तर्राष्ट्रिय नियम कानून र मान्यताहरुलाई पूरै लत्याइएको छ । सैनिक निशानाभन्दा बाहिरका आम नागरिकहरुको बसोबासमा समेत भीषण वमवर्षा गरिएका छन् । हिटलरले दोस्रो विश्वयुद्धमा रुसको लेनिनग्राद र स्टालिनग्रादमा गरेको अमानवीय नाकाबन्दीलाई समेत माथ गर्ने गरी औषधी, पानी, खाद्यान्न जस्ता अत्यावश्यक मानवीय संशाधनहरुमाथि समेत नाकाबन्दी लगाउने काम इजरायलले गरेको छ । विश्व समुदायको घोर विरोधका वावजूद इजरायलले आफ्नो सैन्य कारवाहीलाई रोकेको छैन । अमेरिकालगायत पश्चिमा मुलुकहरुको सह पाएर इजरालले आफ्नो सैनिक कारवाहीलाई झनै घनीभूत पार्दै गइरहेको छ ।

यस युद्धमा ठूलो संख्यामा प्यालेष्टिनी पक्षमा मानवीय हताहती तथा भौतिक क्षति त भएको छ तर स्वयं इजरायललाई समेत यो युद्ध फलामको च्यूरा चपाउनु सरह बन्दै गइरहेको छ । खासगरी, अमेरिका र पश्चिमा मुलुकहरुको बलियो समर्थन र अथाहा आर्थिक सहयोगका बाबजूद इजरायलले गाजाक्षेत्रमा उसले अपेक्षा गरे जस्तो सफलता हासिल गर्न सकेको छैन । अत्याधुनिक सैनिक प्रविधिका साथ युद्धमा उत्रिएका इजरायललाई हमास लगायत अन्य प्यालेष्टिनी समूहहहरुले समेत छापामार प्रतिरोध गरेर ठूलो क्षति पुर्याइरहेको छ । प्रकाशित खबर अनुसार गाजा क्षेत्रमा इजरायलले आफ्नो सबैभन्दा इलिट सेना गोलानी ब्रिगेडलाई समेत स्थल युद्धमा उतारेको थियो तर प्यालेष्टिनी समूहको प्रतिरोधले उक्त सेनालाई समेत ठूलो क्षति पुगेको छ । हमासका छापामारहरु बाट अत्यधिक क्षति व्यहोर्नु परे पछि इजरायलले गाजा पट्टि बाट फिर्ता गरेको छ। अन्यत्र समेत स्थल सैनिक कारवाहीमा ठूलो क्षति व्यहोर्नु परेपछि यतिखेर इजरायलले स्थल सैनिक कारवाही कम हवाइ कारवाहीलाई बढी तीब्र बनाउँदै लगेको छ ।

यसबीच इजरायल हमास युद्धमा हमासलाई समर्थन जनाउदै यमनको हुथी समुहले इजरायलतर्फ जाने समुद्री जहाजहरुको आवागमन रोक्न थालेको छ। यमनको निकट रहेकोको लाल सागरस्थित बब अल- मनडेव स्ट्रेटबाट विश्वको १२% तेलको आवतजावत हुन्छ। यो स्ट्रेटबाट वार्षिक रुपमा १७००० जहाजहरु यात्रा गर्ने गर्छन्। अहिले हुथी समुहले इजरायल आउने जाने जहाजहरुलाई मिसायल र ड्रोंन मार्फत हमला गर्न थाले पछि यो ठाउँबाट हुने व्यापार ठप्प जस्तै हुन थालेको छ। यसले इजरायलको अर्थतन्त्रलाई निक्कै ठुलो क्षति पुर्याएको छ।

त्यस्तै इजरायलको उत्तर तर्फ रहेको लेबनानको हेजबुल्लाह समुहले पनि इजरायलमाथि दबाब बनाउन छिटपुट आक्रमण गरिरहेको छ। हेजबुल्लाहले लेबनानको सिमानामा रहेका इजरायली सैनिक चेक पोस्ट र सुचना संकलन केन्द्रहरु माथि निरन्तर आक्रमण गरिरहेको छ। जसको कारण हजारौ इजरायली नागरिकहरु उत्तरी इजरायल बाट विस्तापित भएका छन्।

मुख्य कुरा, दोस्रो विश्वयुद्धपछिको सम्भवतः सबैभन्दा ठूलो नरसंहारको ताण्डव चलिरहँदा पनि त्यसलाई रोक्न संयुक्त राष्ट्रसंघ लगायतका अन्य विश्व संघसंगठनहरु पूरै असफल भएको देखिएको छ । मानवाधिकार र युद्धअपराधहरु जस्ता कुराहरु अब शक्ति राष्ट्रहरुले निर्धा र कमजोर राष्ट्रहरुलाई कज्याउने र थिचोमिचो गर्ने साधनमा रुपान्तरण हुन थालेको देखिन्छ । इजरायल–प्यालेष्टाइन समस्या समाधानको लागि सन् १९४८ को सेरोफेरोमा राष्ट्रसंघले पारित गरेको दुई राष्ट्रको अवधारणालाई लत्याउँदै इजरायलले अहिले विश्व नक्शाबाट प्यालेष्टाइनलाई गायब पारिदिने गरी सैनिक कारवाही चलाइरहेको देखिन्छ । यस अर्थमा इजरायलले प्यालेष्टाइनमाथि बारम्बार गरिरहेको आक्रमण उसले तर्क दिने गरेको जस्तो ‘आत्मरक्षाको लागि’ मात्र हो भनेर मान्न सकिने अवस्था छैन । वास्तवमै इजरायल यतिखेर प्यालेष्टाइनी भूमिबाट प्यालेष्टिनीहरुलाई पूर्ण रुपमा खेद्ने र विश्व मानचित्रमा प्यालेष्टाइनको अस्तित्व नै कायम हुन नदिने नियोजित योजनाअन्तर्गत युद्धको ताण्डव गरेर निर्दोष प्यालेष्टिनी जनताहरुको हत्या गर्ने र रक्त स्नानमा रमाउने काम गरिरहेको छ । यसलाई रोक्ने दिशामा विश्व असफल हुनु भनेको एक्काइसौं शताब्दीमा मानवजातिमाथि गरिएको वर्वर र अमानवीय ताण्डवको सबैभन्दा घृणास्पद घटना हो भन्दा अत्युक्ति नहोला ।

एजेन्सीहरुकाे सहयोगमा । Title Photo: https://www.middleeasteye.net

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।