जीवनको ८० प्रतिशत सुतेरै बिताउने जीव सिंह !

सिंह, बिरालो परिवारभित्र पर्ने जनावर हो । यो नै उक्त परिवारमा पर्ने जनावरहरुमध्ये सबैभन्दा ठूलो हो । आफ्नो विशाल शरीर अनि भीषण शक्तिको कारण सिंहलाई जंगलको राजा पनि भन्ने गरिन्छ । तर यो जनावरको सुताइलाई हेर्ने हो भने, यसलाई जंगलको राजा मात्र हैन, सुताहाको राजा पनि भने फरक पर्दैन !

सिंह अति सुत्ने गर्छ । विशेष गरेर दिउँसो यसले पूरै समय सुतेर बिताउने गर्छ । यो दिनको करिब २० घण्टा सुत्ने गर्छ । अर्थात्, आफ्नो कुल जीवनको करीब ८० प्रतिशत भाग यसले सुतेरै बिताउँछ ।

सिंह यसरी किन सुत्छ त ? के यो साँच्चै अल्छे भएकै कारण यसरी सुत्ने हो कि ?

वास्तवमा, सिंह अल्छे भएकै कारण यसरी सुत्ने हैन । यसरी दिनको २० घण्टासम्म सुत्नु सिंहको एक किसिमको बाध्यता पनि हो । सिंहले आफ्नो जीवनकालको अधिकांश समय सुतेरै बिताउनका कारणहरुलाई निम्नानुसार संक्षेपीकरण गर्न सकिन्छ:

उर्जा संरक्षणः सिंह मांसहारी जीव हो । यसले आफ्नो भोजन शिकार गरेर जुटाउनु पर्ने हुन्छ । शिकार आफैंमा एक गहन गतिविधि हो । यसले जंगलमा विचरण गर्ने फूर्तिला जनावरहरुलाई पक्रनको लागि धेरै उर्जाको आवश्यकता हुन्छ । अरु थुप्रै न्यून पसिनाग्रन्थी: प्राय: जनावरहरुमा प्रचुर मात्रामा पसिना ग्रन्थी हुन्छन् तर सिंहमा त्यस्ता पसिना ग्रन्थीहरु अत्यन्तै न्यून हुने गर्छ । फलतः अफ्रिकाको चर्को गर्मीमा उनीहरुले आफ्नो शरीरलाई तात्तिनबाट बचाउन वा चिसो बनाउन सजिलै सक्दैनन् । त्यसैले सिंहले मूलतः रात्रिकालीन समयमा बढी शिकार गर्ने छन् । रात्रिचर शिकारी प्राणी भएको नाताले पनि सिंहले दिनभरि सुतेर बिताउने गर्छ । यसो गर्दा उसको उर्जा बचत हुन्छ र रात्रिकालीन समयमा तापक्रम चिसो भएको बेलामा यो शिकारमा बढी सक्रिय हुने गर्छ ।

रात्रिचर प्राणी: रात्रिचर प्राणी भएको नाताले यिनीहरुको दृष्टि कम प्रकाशमा पनि देख्न सक्ने गरी विकसित भएको हुन्छ । यिनीहरु दिनभरि सुतेर आफ्नो उर्जा संग्रहित गर्ने गर्छन् ताकि रात्रिकालीन समयमा शिकार गर्न सकियोस् ।

सिंह दिउँसो घाम लागेको बेला छायाँदार स्थान खोजेर सुत्नेको अर्थ थर्मोरेगुलेसनको प्रक्रियालाई कार्यान्वयन गर्नु पनि हुनु हो । सिंहमा पसिना ग्रन्थीहरु कम हुने गर्छ । त्यसले गर्दा चर्को घाममा हिँडडुल गर्दा वा शिकार गर्दा उनीहरुलाई आफ्नो शरीरको तापक्रम नियन्त्रित गर्न गाह्रो हुन्छ । यही कारण उनीहरु घाम लागेको समयमा धेरैभन्दा धेरै आराम गरे गर्मीबाट आफूलाई बचाउने गर्छ ।

अरु सबै प्राणीहरुलाई जस्तै सिंहलाई पनि मस्तिष्ककको मर्मत, कोशिकाहरुको पुनउत्पादन, हर्मोनहरुको उत्पादन लगायका आवश्यक शारीरिक कार्यहरुका लागि निद्राको आवश्यकता पर्दछ । उनीहरु दिनमा लामो समयसम्म सुत्दा ती शारीरिक प्रक्रियाहरु राम्ररी हुन पाउँछ र यो कुराको सुनिश्चित गर्छ कि आफ्नो सक्रिय रात्रिजीवनका लागि आवश्यक शारीरिक तथा मानसिक अवस्थाका लागि उनीहरु पूर्ण रुपेण तयार छन् ।

यस अर्थमा सिंहले दिनमा सुत्नुको अर्थ उनीहरु अल्छी हुनु होइ। यो त आफ्नो उर्जा संरक्षण गर्नको लागि प्रकृतिले सिर्जना गरिदिएको रणनीतिक उपाय मात्रै हो भनेर हामीले बुझ्नुपर्छ ।

सिंहको गर्जन

सिंहको गर्जन अति शक्तिशाली हुन्छ । यसले गर्जेको आवाज मानव कानले ८ किलोमिटर परसम्म सुन्न सक्छ । यसले यसरी गर्जेर अन्य शिकारी जनावरहरुलाई त्यो क्षेत्र आफ्नो क्रियाक्षेत्र रहेको जनाउ दिन्छ ।

पहिले धेरैतिर पाइन्थ्यो सिंह

पहिले पहिले सिंह धेरै महादेशहरुमा पाइने गथ्र्यो । जीवाशेष ९ँयककष्०ि को अध्ययनबाट पत्ता लागेअनुसार, १० हजार वर्ष पहिलेसम्म सिंह  अफ्रिका, यूरोप, मध्यपूर्व एशिया, एशिया, उत्तरी अमेरिका र उत्तर–दक्षिण अमेरिकामा पाइन्थ्यो । तर जनसंख्याको विस्फोटले जंगल मासिँदै जानु, सिंहको अन्धाधुन्ध शिकार तथा सिंहको मुख्य आहारा अन्य वन्यजन्तुहरुसमेतको संहारको कारण सिंहको विनाश हुँदै गयो ।

दुई ठाउँमा सीमित सिंह

अहिले सिंह संसारको दुई ठाउँमा मात्र सीमित छ– अफ्रिकाको सहारा मरुभूमिको दक्षिणी भागमा र भारतको गीर राष्ट्रिय आरक्षमा  । पछिल्लो ठाउँ नै एशियामा सिंह पाइने एक मात्र स्थान हो । अफ्रिकामा करीब एक लाखको संख्यामा र भारतको गीर राष्ट्रिय आरक्षमा चाहिँ ३०० वटा जति मात्र सिंह छन् । यसबाहेक, चिडियाखाना तथा सर्कसहरुमा गरेर केही हजार सिंहहहरु संसारभरि छरिएका छन् ।

शारीरिक अवस्था

बिरालो परिवारमा पर्ने बाघ र सिंहको शारीरिक अवस्था झण्डै झण्डै उस्तै उस्तै हुन्छ । भाले सिंहको तौल १५० देखि २५० किलोसम्म हुन्छ भने खडा हुँदा काँधसम्मको यसको उचाइ ४८ इन्चसम्म हुन्छ । पुच्छर छोडेर यसको लम्बाइ ९८ इन्चसम्म हुन्छ । पोथी सिंहको तौल चाहिँ १२० देखि १८२ किलोसम्म, खडा हुँदा उचाई ४२ इन्च र लम्बाई पुच्छरसमेत गरी ६९ इन्चसम्म हुन्छ ।

सिंहको चौडा र बलियो काँध हुन्छ । यसको लामो र तिखो नंग्रा हुन्छ भने यसको जबडा अति बलियो हुन्छ । सिंह पूरै मांसहारी जीव हो । यो अन्य जीवहरुको मासु खाएर बाँच्ने गर्छ । त्यसैले यसको तीखो दाह्रा र धारिला तथा चौडा दाँतहरु हुन्छन् । यसले आफ्नो तीखो दाह्राले शिकारलाई पक्रन तथा मासु लुछ्न सक्छ भने धारिला दाँतहरुले मासुलाई टुक्रा टुक्रा पार्छ । त्यसैगरी स–साना चौडा दाँतहरुले चाहिँ शिकारको मासु तथा हड्डीधरिलाई चपाउने गर्छ ।

भाले सिंहको काँधमा रौंको बाक्लो झुप्पा हुने गर्छ । यसको रंग कैलोकैलोदेखि गाढा कलेजीसम्म हुन्छ । उमेर बढ्दै जाँदा त्यसको त्यो रौंको झुप्पोको रंग पनि गाढा हुँदै र बढ्दै जान्छ ।

अफ्रिकी सिंह र एशियाली सिंहबीच सामान्य भिन्नता  हुन्छ । एशियाली सिंहको पेटमा छालाको सानो झुप्पो हुन्छ जसलाई बेली फोल्ड (blley fold) भनिन्छ । अफ्रिकी सिंहको पेटमा यस्तो हुँदैन ।

सिंहको आयु

सिंहलाई जंगलको राजा भनिए तापनि यसको जीवन चुनौतिपूर्ण र कठीन हुन्छ । यसको जन्मेका बच्चाहरुमध्ये दुई तिहाई त एक वर्ष नपुग्दै मर्ने गर्छ । सामान्यतः जंगलमा भाले सिंह १२ वर्ष र पोथी सिंह चाहिँ १६ वर्षसम्म बाँच्ने गर्छ । तर चिडियाखानामा राखिएका सिंहहरु उचित स्याहारसुसार, स्वास्थ्य सुविधा एवं पर्याप्त आहाराको उपलब्धताको कारण २५ वर्षसम्म पनि बाँच्ने गरेको पाइएको छ ।

सामाजिक अवस्था

सिंह समूहमा बस्ने गर्छ । सिंहको समूहमा २ देखि १२ वटासम्म पोथी सिंह तथा त्यसका बच्चाहरु पनि रहने गर्छन् । समूहमा नै जन्मेका कारण पोथी सिंहहरु जीवनपर्यन्त सोही समूहमा रहने गर्छन्  तर कहिले काहीँ ठूलो समूह बन्न जाँदा आहाराको उचित उपलब्धताको लागि समूहमा

विभाजन पनि हुने गर्छ । समूहमा बच्चाहरुको हेरविचार गर्ने, शिकार पक्रने, आफ्नो शिकार क्षेत्रको सुरक्षा गर्ने लगायतका महत्वपूर्ण कार्यहरु पोथी सिंहले नै गर्ने गर्छ ।

पोथी सिंहको तुलनामा समूहमा जन्मेको भाले सिंहले चाहिँ दुईदेखि ४ वर्षको उमेरसम्म मात्र समूहमा बस्ने मौका पाउँछ । त्यसपछि भाले सिंहले समूह छोडेर जानु पर्ने हुन्छ । यसरी समूह छोडेर गएको सिंह अन्य भाले सिंहहरुको समूहमा मिसिएर बस्ने गर्छ, जसलाई coalition भन्ने गरिन्छ । यस्तो समूहमा दुईदेखि ६ वटासम्म भाले सिंह हुने गर्छ । यस समूहका सि‌ंहहरुले अन्य समूहका पोथी सिंहहरुसँग प्रजनन कार्य गर्ने गर्छन् । यस अवस्थामा पोथीको समूहमा रहेको मुखिया सिंहसँग निकै हिंसात्मक भीडन्तहरु पनि हुने गर्छन् । यस्तो भीडन्तमा हार्ने मुखिया सिंह समूहबाट विस्थापित नै हुन्छ ।

समूहमा रहेका मुखिया सिंहले समूहका बच्चाहरुको सुरक्षा गर्ने कार्य समेत गरिरहेको हुन्छ । तर जब समूहको मुखिया सिंह हार्छ र उसको स्थान आक्रमणकारी विजेता सिंहले लिन्छ, उसले समूहको सबै बच्चाहरुको हत्या गर्न खोज्छ । तथ्यांकहरुले देखाएअनुसार, यस्तो घटनामा एक चौथाइ सिंहका बच्चाहरु विजेता सिंहबाट मारिन्छन् । त्यसो त पोथी सिंहहरुले आफ्ना बच्चाहरुको रक्षा गर्ने गर्छन् । तर एक्लो पोथी शारीरिक रुपमा भालेको तुलनामा निकै कमजोर हुन्छ । त्यसो त समूहका पोथी सिंहहरु मिलेर आक्रमणकारी विजेता भाले सिंहबाट आफ्ना बच्चाहरुको सामूहिक रक्षा गर्ने गरेको पनि पाइन्छ ।

पोथी सिंहले एक पटकमा एकदेखि चारवटासम्म बच्चा जन्माउने गर्छ । सामान्यतः समूहका पोथी सिंहहरुले एकै समयमा बच्चाहरु जन्माउने गर्छ । पोथी सिंहले समूहबाट छुट्टिएर अलग्गै सुरक्षित स्थानमा बच्चा जन्माउने गर्छन् । यसरी जन्मिएको बच्चालाई उसले आठ हप्ताको भएपछि मात्र आफ्नो समूहमा ल्याउने गर्छ । समूहमा आएपछि पोथी सिंहहरुले मिलेर बच्चाहरुलाई हुर्काउने तथा सुरक्षा गर्ने गर्छन् । सामान्यतः सिंहले बच्चालाई आठ महिनासम्म आफूसँगै स्याहार्ने गर्छ, तर तीन महिनाको उमेरदेखि नै सिंहले बच्चालाई शिकारमा लैजाने गर्छ । त्यहाँ बच्चाले शिकार त पक्रन सक्दैन, तर पक्रेको शिकारलाई खान चाहिँ सिक्छ । करिब ११ महिनाको भएपछि सिंहको बच्चाले शिकार गर्न सिक्न थाल्छ । शिकारलाई आफैं पक्रनको लागि सिंहको बच्चाले कयौं वर्ष अभ्यास गर्नुपर्ने हुन्छ । त्यसैले बच्चा दुई वर्षको नहोउन्जेलसम्म पोथी सिंहले उसको हेरविचार गर्ने गर्छ ।

बच्चाको स्याहार सुसारमा भाले सिंहको कुनै प्रत्यक्ष योगदान हुँदैन । तर आफू नसुतेको बेलामा आफ्नो शिकार क्षेत्रमा घुमेर पिसाव एवं अन्य गन्ध छोडेर यसले आफ्नो शिकार क्षेत्र सुरक्षित गर्ने गर्छ । यसबाहेक भाले सिंहले गर्जेर पनि आवाज सुनिएसम्मको क्षेत्र आफ्नो शिकार क्षेत्र रहेको जनाउ अन्य सिंहहरुलाई दिने गर्छ । यसरी सुरक्षित गरेको शिकार क्षेत्रमा सामान्यतः अर्को सिंह आउने गर्दैनन् । आइहालेमा त्यहाँ भीषण द्वन्द्व हुने गर्छ । 

भाले सिंहले समूहमा प्रभुत्व जमाएको हुन्छ । त्यसैले सामान्यतः भाले सिंह आफैंले शिकार गर्ने गर्दैन । यो समूहका पोथी सिंहहरुले समाएको शिकारमा बढी निर्भर रहने गर्छ । शिकार समातेपछि सबैभन्दा पहिले भालेले त्यसपछि मात्र पोथीहरुले शिकार खाने पालो पाउँछन् । त्यसो त आवश्यकता पर्दा भाले सिंहले पनि शिकार पक्रने गर्छ  । त्यसबाहेक, सिंहले अन्य शिकारी जनवारले मारेको शिकार समेत खोसेर खाने गर्छ ।

सिंहले एक पटकमा ३६ किलोसम्म मासु खान सक्छ । यसले गर्दा कयौं दिनसम्म यसले नखाइकनै पनि रहन सक्छ । सामान्यतः सिंहलाई दिनको ५ किलो मासुको आवश्यकता पर्दछ ।

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।