किसिन्जरको अनौठो कक्षा

हेनेरी किसिन्जर राजनीतिमा लाग्नु भन्दा अगाडि हार्वर्ड युनिभर्सिटीका प्राध्यापक थिए। किसिन्जर अमेरिकी रास्ट्रपतिहरुका सल्लाहकार र बिदेश मन्त्री बनेपछि व्यस्तताका कारण युनिभर्सिटीमा क्लास लिन जान सक्न छाडे। तर उनले युनिभर्सिटीमा गएर क्लास लिन नसके पनि विद्यार्थीहरुलाई पढाउन भने छोडेनन्।

हेनेरी किसिन्जरले आफ्नो लेक्चर क्यासेटमा रेकर्ड गर्थे र त्यो रेकर्ड युनिभर्सिटीमा पठाइदिन्थे।  उनको संकायका कर्मचारीहरुले त्यसलाई कक्षामा बजाइदिन्थे। विद्यार्थीहरुले किसिन्जरको लेक्चर सुन्थे र नोटहरु टिप्थे। निक्कै दिनसम्म उनले यसरी नै पढाए।

एक दिन हेनेरी किसिन्जर विद्यार्थीहरुले के कसरी पढिरहेका छन् भनेर बुझ्न  कसैलाई थाहै नदिई सुटुक्क आफ्नो क्लासमा पुगे। क्लासमा उनको क्यासेट बजिरहेको थियो। बाहिर हलसम्म गुन्जिरहेको आफ्नो आवाज सुनेर किसिन्जर मुसुक्क मुस्कुराए। खुशी हुँदै कक्षाभित्र पसे।

 क्लासको दृश्य देखेर हेनेरी किसिन्जर तीन छक्क परे। कक्षामा कोहि पनि थिएनन् । कक्षा पूरै खाली थियो । शिक्षक बस्ने कुर्सी अगाडिको टेबलमा एउटा क्यासेट प्लेयरमा उनको लेक्चर बजिरहेको छ।  विद्यार्थीहरु बसेर पढ्ने कुर्सीमा राखिएका क्यासेट प्लेयरहरुमा उनको लेक्चर रेकर्ड भइरहेको छ।

वास्तवमा, किसिन्जरले कक्षा लिन जुन जुक्ति प्रयोग गरेका थिए, विद्यार्थीहरुले पनि त्यही जुक्ति अपनाएर कक्षाको लाभ लिन सिकेका थिए ।

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।