मणिपुरको विद्रोही युएनएलएफ र भारत सरकारबीच शान्ति सम्झौता

उत्तर पूर्वी भारतको मणिपुर राज्यको एउटा प्रमुख विद्रोही समुह युनाइटेड नेसनल लिबरेसन फ्रन्ट र भारत सरकारबीच शान्ति सम्झौता भएको छ। शान्ति सम्झौता पछि युएनएलएफका छापामारहरुले आफ्ना हतियारहरु भारत सरकारलाई बुझाएका छन्। भारत सरकारका गृहमन्त्री अमित शाहले युएनएलएफसंगको शान्ति सम्झौतालाई ऐतिहासिक कोसेढुंगा भनेर टिप्पणी गरेका छन्। उनले थप टिप्पणी गर्दै भनेका छन्– यो सम्झौताले मणिपुरका अरु पनि बिद्रोही समुह शान्ति प्रक्रियामा भाग लिन प्रेरणा मिल्नेछ।

युएनएलएफ मणिपुरको सबै भन्दा पुरानो विद्रोही समुह हो। यसको स्थापना १९६४ मा अरेंबम सैमेंद्र सिंहको नेतृत्वमा भएको थियो। यो संगठनको मूल उद्देश्य मणिपुरलाई भारतबाट अलग गरेर एउटा स्वतन्त्र देश स्थापन गर्नु थियो। युएनएलएफ मणिपुरको मैतेई जाति बहुल विद्रोही समुह हो। युएनएलएफले १९९० देखि सशस्त्र संघर्ष सुरु गरेको थियो।  युएनएलएफले मणिपुर पिपल्स आर्मी नामक सेना गठन गरेको थियो। यो समुहले भारतका सुरक्षा बलविरुद्ध अनेकौ घातक हमला गरेको थियो। युएनएलएफले म्यान्मारमा सैनिक अखडाहरु स्थापना गरेको छ।

२००० मा अरेंबम सैमेंद्र सिंहको हत्यापछि युएनएलएफको नेतृत्व राजकुमार मेघेनले गरेका थिए। राजकुमार मेघेन २०१० मा गिरफ्तार भए। त्यसपछि यसको नेतृत्व खुनदोङ्गबाम पाम्बेइले गरिरहका छन्। विगत केही दशकयता युएनएलएफमा थुप्रै पटक विभाजन आएको छ। पछिल्लो पटक २०२१ पाम्बेइ युएनएलएफको केन्द्रिय समितिबाट फुटेर गएर आफ्नो अलग समुह बनाए। युएनएलएफको बाँकी रहेको समुह एनसी कोइरेङ्गको नेतृत्वमा क्रियाशील रह्यो। भारत सरकारको अनुमान अनुसार युएनएलएफको दुवै समुहमा ४०० देखि ५०० छापामार रहेका छन्।

पाम्बेइ नेतृत्वको युएनएलएफ भारत सरकारसंग शान्ति बार्ता गर्न तत्पर रहेको थियो। अहिले सोही पाम्बेइ नेतृत्वको युएनएलएफले भारत सरकारसंग शान्ति सम्झौता गरेको हो। एनसी कोइरेङ्गले नेतृत्व गरिरहेको युएनएलएफले अझै पनि भारत सरकारसंगको शान्ति वार्ताको बिरोध गरिरहेको छ। मणिपुरमा अरु दर्जनौ पृथकतावादी समुहहरु क्रियाशील छन्। तीमध्ये पिएलए प्रमुख संगठन हो।

Title photo: https://english.bharatexpress.com

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।