काटे पनि आफैं बढ्ने महत्वपूर्ण अंग कलेजो

के गर्छ हाम्रो कलेजोले ?

कलेजो हाम्रो शरीरमा रहेको सबैभन्दा ठूलो भित्री अंग हो । यो सबैभन्दा जटिल प्रक्रियाहरु भएको अंग पनि हो । किनभने यो एक्लैले २०० वटाभन्दा धेरै काम गर्ने गर्छ । यसले खाना पचाउनेदेखि लिएर शरीरका विभिन्न प्रक्रियाहरुमा चाहिने अति आवश्यक तत्वहरु बनाउने काम गर्छ । त्यसैले कलेजोलाई हाम्रो शरीरको खाना पचाउने मेसिन र रसायन बनाउने कारखानाको भनिन्छ ।

कलेजो कस्तो देखिन्छ ?

कलेजो कस्तो हुन्छ भन्ने कुरा त हामी धेरैलाई थाहा नै छ होला । कुखरा, खसी आदिको मासु खाँदा हामी धेरैले कलेजो देखेका छौँ । कलेजो गाढा रातो रंगको हुन्छ । यसको वजन करिब १.५ किलोग्राम हुन्छ । यो दुई भागमा बाँडिएको हुन्छ । जसलाई लोब भनिन्छ । दाहिने लोबभन्दा देब्रे लोब अलिक सानो हुन्छ । यो हाम्रो भुँडीको छेउमा दाहिनेतिर हुन्छ । यसको ठीक माथि फोक्सो र मुनि सानो आन्द्रा हुन्छ । यसलाई हाम्रो कर·को तल्लो भागले रक्षा गरिरहेको हुन्छ ।

कलेजो हेपाटिक लोब्युल नामक स–साना भागहरु मिलेर बनेका हुन्छन् । हरेका लोब्युल सानो पिन वा काँटीको टाउको जत्रो हुन्छ । यसका ६ वटा छेउहरु हुन्छन् । यो हजारौं अति सूक्ष्म कोषहरुले बनेको हुन्छ । सबै लोबहरु माहुरीको चाकाजस्तै टाँसिएर बस्छन् ।

रगत पुग्ने फरक तरिका

कलेजोमा बढो अनौठो तरिकाले रगत पुग्ने गर्छ । हाम्रो शरीरको अन्य भागमा आर्टरी (Arteri)  ले रगत पु¥याउने र भेन (Vein)  ले लाने काम गर्छ । तर कलेजोमा पुग्ने ४÷५ भागको रगत हेपाटिक पोर्टल भेनले पुर्याउने गर्छ । अरु रगत भने हेपाटिक आर्टरी र भेनले नै ल्याउने र पु¥याउने काम गर्छ । यो रगत सानो आन्द्राबाट आउने गर्छ । त्यसरी आउने रगत धेरै पोषक तत्वहरुले भरिएको हुन्छ । हरेक समय कलेजोमा शरीरको १/१० भाग रगत हुन्छ ।

कलेजोले के गर्छ ?

कलेजोले बाइल नामक तरल रसायनको निर्माण गर्छ । यो हरियो–पहेलो रंगको हुन्छ । यो बाइल डक्ट नामक स–साना पाइपबाट निस्कने गर्छन् । केही मात्रामा बाइल कलेजोको तल्लो भागमा रहेको गल ब्लाडरमा सुरक्षित हुन्छ । हामीले खाना खाएपछि बाइल कलेजो र गलब्लाडर दुबैबाट सानो आन्द्रामा पुग्ने गर्छ । यसले हाम्रो खानामा रहेको बोसोलाई पचाउने काम गर्छ । कलेजोले दिनको एक लिटर बाइल बनाउने गर्छ ।

यसले खानाबाट पाइएका पोषक तत्त्वहरुलाई हाम्रो शरीरको विभिन्न भागमा चाहिने अति आवश्यक तत्त्वमा परिणत गरिदिन्छ । त्यस्ता तत्त्व नचाहिएसम्म त्यसलाई सुरक्षित राख्ने काम पनि गर्छ । यसले हाम्रो शरीरलाई नचाहिने केही विषालु तत्वहरुलाई पनि नष्ट पारिदिन्छ ।

कलेजोले गर्ने सबै काम बताउने हो भने धेरै लामो हुन्छ । यसले पुराना काम नलाग्ने भएका रातो र सेता रगतका कोषहरुलाई नष्ट गरिदिन्छ । यसले एक सेकेण्डमा २ लाखवटा पुराना कोषहरु नष्ट गर्न सक्छ । हाम्रो शरीरलाई नचाहिने केही तत्त्वहरु बाइलसँग मिसाएर आन्द्रामा पठाइन्छ । ती तत्त्वहरु दिसाको माध्यमबाट शरीरबाट बाहिर निस्कन्छन् । बाइलको रंग हल्का पहेँलो भएको हुनाले नै हाम्रो दिसाको रंग पनि पहेँलो हुन्छ ।

कलेजाको अर्को काम भनेको रगतमा भएको ग्लुकोजको मात्रालाई नियन्त्रण गर्नु पनि हो । रगतमा ग्लुकोजको मात्रा धेरै भयो भने यसले ग्लुकोजलाई ग्लाइकोजिनमा परिवर्तन गरेर पछि प्रयोग गर्ने गरी शरीरमा साँचेर राख्छ । जब रगतमा ग्लुकोजको मात्रा कम हुन्छ, त्यस बेला भने यसले ग्लाइकोजिनलाई फेरि ग्लुकोजमा परिवर्तन गरेर रगतमा पठाइदिन्छ । यो प्रक्रियालाई हाम्रो शरीरको इन्सुलिन र ग्लुकागोन नामक होर्मोनले नियन्त्रण गरिरहेको हुन्छ । कलेजोले भिटामिनलाई पनि साँच्ने काम गर्छ ।

कलेजोमा लाग्ने रोगहरुः

कलेजोमा हेपाटाइटिस् (Hepatitis)  नामक रोग लाग्न सक्छ । यसले गर्दा कलेजो सुन्निने गर्छ । यसको कारण केही स–साना जीवाणुहरु या अन्य कुनै समस्याहरु हुन सक्छन् । रक्सी धेरै खानाले सिरिओसिस् (Cirrhosis)  नामक रोग लाग्न सक्छ । यसले कलोजोलाई कडा बनाइदिन्छ । कलेजोमा समस्या आयो भने छालाको रंग पहेँलो हुन्छ । यस रोगलाई हामी जन्डिस (Jaundice)  भनेर चिन्छौँ । हाम्रो कलेजोले बाइललाई तह लगाउन नसक्दा यो रोग लाग्छ । बाइल तह नलाग्दा रगतमा रंग मिसिने गर्छ र छालालाई पहेँलो बनाइदिन्छ । अचम्मको कुरा के छ भने  कलेजो सँधै बढिरहन्छ । यसले आफ्नो पुनर्निर्माण आफैं गर्न सक्छ । त्यसैले चोट पटक लागेर यसको धेरै भाग फाल्नु परे पनि बढेर फेरि पहिले जत्रो नै बन्न सक्छ ।

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।