मानिसको बौद्धिकताको सम्बन्ध जीनसँग रहेको हुन्छ !

७५ प्रतिशत बौद्धिकता जीनसँग जोडिएका हुन्छन् भने बाँकी २५ प्रतिशत चाहिँ उसका साथीसंगत र स्कुल

वैज्ञानिकहरुले बौद्धिकता तथा मानसिक एवं स्नायुप्रणालीका गडबडीसँग सम्बन्धित १००० वटा जति जीनहरु पहिचान गरेका छन् ।

अनुसन्धानकर्ताहरुले बौद्धिकतासँग सम्बन्धित जीनको पहिचान गर्नको लागि २ लाख ७० हजार जनामा गरिएको विस्तृत अध्ययन गरेका थिए । त्यस दौरानमा उनीहरुले के पत्ता लगाए भने बौद्धिकतासम्बन्धी जीन मानिसको दीर्घायुसँग अन्तरसम्बन्धित रहेको हुन्छ । अर्थात् उच्च बौद्धिकता भएका मानिसहरु सामान्यतः बढी बाँच्ने गर्छन् । यी जीनहरुले आधारभूत रुपमा मानसिक स्वास्थ्यको समेत रक्षा गर्ने काम गर्छ । यस्ता जीन भएका मानिसहरुमा सामान्यतः अल्जाइमर, स्किजनोफ्रेनिया, ध्यान केन्द्रीत गर्न नसक्ने लगायतका स्नायुप्रणालीसँग सम्बन्धित गडबडी देखापर्दैन ।

यस अध्ययनका आधार अनुसन्धानकर्ताहरुले के निष्कर्ष निकालेका छन् भने ती जीनहरुले मानिसलाई त्यस्ता समस्याबाट प्रतिरक्षा गर्ने गर्छ । उनीहरुले के पनि पत्ता लगाएका छन् भने ती जीनहरुको सहसम्बन्ध अटिजमको उच्च खतरासँग पनि सहसम्बन्ध रहेको हुन्छ ।

यसअघिका अध्ययनमा भने ५०० भन्दा बढी जीनहरु बौद्धिकतासँग सम्बन्धित रहेको देखिएको थियो । बौद्धिकतासँग सम्बन्धित ती जीनहरुले  हाम्रा अन्य जैविक गतिविधिहरुलाई प्रभावित गर्ने गरेको पाइएको छ । तर त्यसका जैविक आधारहरु के हुन् भन्नेबारेमा अझै प्रष्ट भइसकेको छैन ।

पछिल्लो अध्ययन–अनुसन्धानले स्वास्थ्य र बौद्धिकताबीच अन्तरसम्बन्ध रहने गरेको देखाएको छ । त्यसो हुनुको कारण केही जीनहरुले मानिसको स्वास्थ्य र बौद्धिकता दुवैलाई प्रभावित गर्ने गर्छ । तर मस्तिष्कमा बुद्धिमत्ताको स्थान के छ भन्ने कुरा चाहिँ अहिलेसम्म प्रष्ट भएको छैन । सम्भवतः मस्तिष्कले शरीरका विभिन्न भागहरुमा कति प्रभावकारी रुपमा संकेतहरु सम्प्रेषण गर्न सक्छ भन्ने कुरासँग बौद्धिकता जोडिएको हुन सक्छ ।

त्यसो त बौद्धिकताको प्रखरता जीनसँग मात्र नभई पर्यावरणसँग पनि सम्बन्धित हुने गर्छ । पर्याप्त हेरचाह पाएका, प्रदूषणरहित र अनुकूल वातावरणमा हुर्काइएका बच्चाहरुको बौद्धिक क्षमता पनि अलि प्रखर हुने गर्छ ।

यस अध्ययनबाट प्राप्त निचोडहरुले जैविक आधारमा तर्कहरु गर्ने र समस्याहरु समाधान गर्ने दिशामा नयाँ अध्ययनहरु गर्ने ढोका खोल्ने देखिन्छ ।  त्यसै गरी, अध्ययन गर्न गाह्रो हुने बच्चाहरुका लागि पनि नयाँ किसिमको उपचारपद्दतिहरुको खोज गर्न यस अध्ययनले उत्प्रेरित गर्न सक्ने देखिन्छ ।

बौद्धिकता र जीनबीचको अन्तरसम्बन्धबारे थाहा पाउन विभिन्न अध्ययन अनुसन्धानहरु हुँदै आएका छन् । एक अध्ययनका अनुसार, ७५ प्रतिशत बौद्धिकता जीनसँग जोडिएका हुन्छन् भने बाँकी २५ प्रतिशत चाहिँ उसका साथीसंगत र स्कुलमा पाइने वातावरणले प्रभावित तुल्याउने गर्छ । त्यसो त बौद्धिकता भन्ने कुरा आफैंमा अत्यन्तै जटील प्रवृत्ति हो र यो थुप्रै जीनहरुबाट प्रभावित हुने गर्छ । ती प्रत्येक जीनहरुले मासिनको बौद्धिकतालाई योगदान गरिरहेको हुन्छ ।

केही अध्ययनहरुले चाहिँ जनसंख्याको  एक खास हिस्सामा चाहिँ मानिसको बौद्धिकता उसको मस्तिष्कका कोषहरुसँग सम्बन्ध राख्ने गरेको पनि देखाएको छ । खासगरी, केही मानिसहरुको बौद्धिकता अन्य मानिसहरुको तुलनामा बढी प्रखर हुने गरेको पाइन्छ । यसो हुनुको मुख्य कारण नै हामीले सोच्ने क्रममा प्रयोग हुने मस्तिष्कका कोषहरु हुन सक्ने अध्ययनहरुले संकेत गरेको छ ।

त्यसो त यस दिशामा भइरहेका अध्ययनहरुले देखाएका नतिजाकै आधारमा बौद्धिकता र जीनको बीचको सम्बन्धबारे ठोस रुपमा भनिहाल्न सक्ने अवस्था भने छैन । तर अहिलेसम्मको अध्ययनहरुको निचोड चाहिँ के हो भने हाम्रो मानसिक स्वास्थ्य र क्षमताको अभिबृद्धिमा जीनहरुले निश्चितै रुपमा प्रभावकारी भूमिका निर्वाह गर्ने गर्छ ।

स्रोत: टेलिग्राफ, साइन्स डेली, मेडलाइनप्लस, फ्रन्टियरसिन

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।