सामाजिक सञ्जाल एक्स चलाउन पनि पैसा तिर्नुपर्ने योजना !

थुप्रै सामाजिक सञ्जालहरुमध्येका एक लोकप्रिय सामाजिक सञ्जाल थियो ट्वीटर । गत साल ४४ विलियन डलरमा संसारकै धनी व्यक्ति एलन मस्कले त्यसलाई किनेपछि नाम बदलेर एक्स बनाइसकेका छन् । उनले त्यसका थुप्रै फिचरमा फेरबदल गर्दै आइरहेका छन् । त्यही क्रममा अब सामाजिक सञ्जाल एक्स चलाउनका लागि उनले निश्चित शुल्क तिर्नुपर्ने योजना बनाइरहेको खबर बाहिरिएको छ । 

यसलाई सही ठहराउनका लागि मस्कले ‘यही नै बट्सका ठूला सेनाहरुसँग भिड्ने एक मात्र उपाय हुन सक्ने’ तर्क दिएका छन् । गत असोज १ गते सोमबार सामाजिक सञ्जाल एक्समा प्रत्यक्ष प्रशासरण गरिएको इजरायली प्रधानमन्त्री वेन्जामिन नेतान्याहुसँग मस्कको प्रत्यक्ष वार्ताको दौरानमा उनले सो कुरा बताएका हुन् । 

स्मरणीय रहोस्, सामाजिक सञ्जालमा बट्स भन्नाले स्वचालित रुपमा सञ्चालित हुने त्यस्तो कम्प्युटर प्रोगाम हो, जसले मानिसले चलाएको जस्तो व्यवहार गरेर सामाजिक सञ्जालहरुमा आफूलाई सक्रिय राख्ने गर्छ । त्यस्ता वट्सहरु नक्कली, झूठा तथा गलत खालका सन्देशहरु एकैचोटी व्यापक मात्रामा सम्प्रेषण गर्न बढी प्रयोग हुने गरेको पाइन्छ । त्यसो त भूकम्प, बाढीपहिरो वा अन्य प्राकृतिक प्रकोपसम्बन्धी जानकारी सूचनाहरु एकैचोटी व्यापक रुपमा फैलाउन पनि यसको प्रयोग गर्न सकिन्छ । 

तर मस्कले सामाजिक सञ्जाल एक्स चलाए वापत कति पैसा तिर्नुपर्ने र त्यो कहिलेदेखि लागू हुन्छ भन्ने कुरा चाहिँ बताएनन् । 

यसअघि नै उनले ट्वीटर (हालको एक्स) एकाउण्ट भेरिफाइ गर्नका लागि निश्चित शुल्क तिर्नुपर्ने बनाइसकेका छन् । त्यसबाहेक, पैसा तिरेपछि मात्र एक्सबाट मेसेज पठाउन सकिने, लामा वाक्यहरुमा लेख्न सकिने, लामा भिडियोहरु हाल्न सकिने जस्ता व्यवस्था लागू गरिसकेका छन् । 

सामाजिक सञ्जालका अन्य थुप्रै लोकप्रिय माध्यमहरु अहिले निःशुल्क चलाउन पाइरहेको बेलामा उनको यो योजना लागू भयो भने कतिको सफल होला त ? त्यो चाहिँ भन्न मुश्किल छ । 

त्यसो त सामाजिक सञ्जालका विभिन्न माध्यमहरुमध्ये अझै पनि फेसबुक अत्यधिक लोकप्रिय मानिन्छ, जुन निःशुल्क उपयोग गर्न सकिन्छ । फेसबुक सबै तह र वर्गका मानिसहरुले अत्यधिक प्रयोग गर्ने गर्छन् भने एक्स (पुरानो ट्वीटर) चाहिँ अलि ‘बौद्धिक’ र ‘एलिट’हरुले रुचाएका माध्यम मानिन्छ । त्यसो त एलन मस्क फेसबुकलाई पनि आफ्नो मातहतमा ल्याउने तानाबाना बुनिरहेका छन् र यदाकता त्यसबारे आफ्नो इच्छालाई पनि सार्वजनिक गर्दै आइरहेका पनि छन् । 

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।