क्यानडा–भारत सम्बन्धमा फाटो बढ्दै !

विश्व राजनीतिमा नै महत्त्वपूर्ण स्थान ओगटेका दुई देशहरू हुन्, भारत र क्यानडा। तर, यतिखेर यी दुई देशबिचको सम्बन्ध निक्कै तीतो बन्दै गइरहेको छ ।

यी दुई मुलुक बीच असमझदारी बढेको केही वर्ष बितिसकेको छ । भारतीय मूलका क्यानडाका नागरिक शिख नेता ‘हरदीप सिंह निज्जर’को हत्यामा भारत सरकारको संलग्नता रहेको हुन सक्ने गम्भीर आरोप क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले लगाएपछि पछिल्लो पटक यी मुलुकहरू बिचको सम्बन्ध थप चिसिएको हो । सोही प्रकरणलाई लिएर क्यानडाले भारतका शीर्ष कूटनीतिज्ञलाई पनि देश निकाला गरिसकेको छ । त्यसको २४ घण्टा नबित्दै प्रतिवादमा भारतले पनि क्यानडाका कूटनीतिज्ञलाई ५ दिनभित्र देश छाड्न आदेश दिएको छ ।

Photo: BBC

स्मरण रहोस्, क्यानडा निवासी सिख अभियन्ता हरदीपलाई भारत सरकार ‘आतंकवादी’ मान्छ । उनले भारतमा आतङ्की गतिविधिहरू सञ्चालन गर्दै आएको भारत सरकारको आरोप छ । उनको गत जुन १८ मा क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तको सुरेइ शहरको एक सिख गुरुद्वारा अगाडि गोली हानी हत्या गरिएको थियो । सो घटनाबारे एक अर्का मुलुकबीच भएको आरोप-प्रत्यारोप चर्कँदै जाँदा भारत–क्यानडा सम्बन्धमा निक्कै ठूलो दरार बनिसकेको छ ।

सन् २०१५ मा क्यानडामा ट्रुडोले सत्तारोहण गरेयता भारतले बारम्बार ‘ट्रुडो सरकार खालिस्तान समर्थकहरूप्रति नरम रहँदै आएको आरोप लगाउँदै आएको छ । क्यानडामा भारत विरोधी गतिविधिहरू सञ्चालन हुने गरेको तर त्यसलाई रोक्नेतर्फ क्यानडा सरकारले खासै पहल नगरेको भारतको आरोप छ । केही समयअघि भारतको नयाँ दिल्लीमा भएको जी२० को बैठकमा भाग लिन आएका क्यानडाका प्रधानमन्त्री ट्रुडोसँगको भेटवार्तामा पनि भारतीय प्रधानमन्त्रीले त्यो कुरालाई गम्भीर रुपमा उठाएका थिए ।

तर, क्यानडाले त्यसलाई आफ्नो आन्तरिक मामिलामा भारतीय हस्तक्षेपका रुपमा लिएको देखिन्छ । भारतीय प्रधानमन्त्रीसँगको वार्तापछि ट्रुडोको अफिसले जारी गरेको प्रेस नोटमा मोदीसँगको वार्तामा ट्रुडोले ‘कानुनको शासन, प्रजातान्त्रिक मान्यताहरू र राष्ट्रको सार्वभौमसत्तालाई सम्मान गर्नुपर्ने कुरालाई गम्भीरतापूर्वक उठाएको जानकारी दिएका थिए । भारतसँगको कुराकानीमा ‘क्यानडाले सदैव वाक स्वतन्त्रता, विवेकको स्वतन्त्रता, शान्तिपूर्ण विरोध गर्न पाउने अधिकारको सम्मान गर्ने र त्यो क्यानडाको लागि जरुरी रहेको' कुरा पनि उठाएका थिए ।

आफ्ना नागरिकहरूको स्वतन्त्रताको रक्षाको लागि क्यानडा गम्भीर रहेको र एकाध व्यक्तिको गतिविधिलाई समग्र समुदायको गतिविधि मान्न नसकिने पनि क्यानडाको भनाइ छ । त्यही पृष्ठभूमिमा अहिले आफ्नो मुलुकका नागरिक बनिसकेका सिख नेताको हत्यालाई क्यानडाले गम्भीर रुपमा लिएको र भारतसँगको सम्बन्धमा तिक्तता आउने गरी कडा प्रतिवादमा उत्रिएको देखिन्छ ।

भारतका कतिपय सिखहरूले भारतको सङ्घीय राज्यबाट अलग्गै स्वतन्त्र खालिस्तान राष्ट्रको माग गर्दै आएका छन् । त्यस दौरानमा थुप्रै हिंस्रक घटनाहरू भइसकेका छन् । भारतका ‘आइरन लेडी’ भनिने तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या पनि उनकै सिख अङ्गरक्षकहरूले गोली हानी गरेका थिए । गान्धीले सन् १९८४ ताका खालिस्तानीमाथि बर्बर दमन गरेको तथा सिखहरूको पवित्र धार्मिक स्थल स्वर्ण मन्दिरमा सैनिक अपरेसन गरेको बदलामा सो हत्या भएको थियो।

भारत सरकारले स्वतन्त्र खालिस्तानको माग गर्ने तथा त्यसलाई समर्थन गर्नेहरूलाई आतंककारी भन्दै आएको छ । लामो द्विपक्षीय सम्बन्ध रहँदै आएको क्यानडामा आप्रवासी भारतीयहरूको ठूलो उपस्थिति छ । त्यहाँको कूल जनसङ्ख्याको ४ प्रतिशत हिस्सा उनीहरूले ओगट्छन् । तीमध्ये पनि सिखहरू ठूलो संख्यामा छन् । ट्रुडोको लिबरल पार्टीको सरकारलाई क्यानडाका सिख नेता जगमीत सिंहको न्यू डेमोक्रेसी पार्टीको समर्थन रहँदै आएको छ । यस अर्थमा पनि ट्रुडो सरकार भारतमा पृथकतावादी आन्दोलन सञ्चालन गरिरहेका खालिस्तानीप्रति नरम हुने गरेको भारतको बुझाइ छ ।

क्यानडामा रहेका सिख समुदायलाई भारतले खालिस्तान समर्थकको रुपमा हेर्छ र तिनका गतिविधिहरूमाथि कडाइ गर्न उसले क्यानडा सरकारलाई बारम्बार अनुरोध गर्दै आइरहेको छ । क्यानडामा हिन्दु मन्दिरहरूमाथि हुने गरेको आक्रमण पनि खालिस्तान समर्थकहरूबाटै हुने गरेको भारत सरकारको आरोप छ । क्यानडाका सिखहरूलाई खालिस्तानको पक्षमा खुलेआम ‘जनमत सङ्ग’ गर्न छुट दिइएकोमा पनि भारतको क्यानडा पार्टी ठूलो आपत्ति छ । भारत सरकारले त्यसलाई क्यानडा सरकारको भोट बैङ्कलाई खुसी पार्ने नाटकको संज्ञा दिएको छ।

Photo: apnews

भारत–क्यानडाबिचको यो तनाव नयाँ होइन । सन् २०१५ देखि नै यो चर्कँदै आएको छ र अहिले त्यसले चरम रूप लिएको मात्रै हो । तनावकै कारण गत सालको सेप्टेम्बर १ मा हुने भनिएको भारत–क्यानडाबिचको स्वतन्त्र व्यापारसम्बन्धी सम्झौता वार्ता पनि रोकिएको यहाँ स्मरणीय छ । त्यसैगरी, जी२० सम्मेलनको बेला भारत–क्यानडाबिच बढेको असमझदारीबिच यसअघि नै क्यानडाले आगामी अक्टोबरमा हुने भनेको क्यानडाको भारतसँगको व्यापार मिसन पनि स्थगित गरिसकेको छ ।

त्यसो त, भारत र क्यानडाबिचको व्यापारको आकार पनि त्यति ठूलो चाहिँ होइन । सन् २०२२ मा भारतले क्यानडामा ६.४० अर्ब अमेरिका डलरको सामान निर्यात गरेको थियो भने त्यहाँबाट ४.१० अर्ब अमेरिकी डलरको आयात गरेको थियो । क्यानडाको सबैभन्दा ठूलो व्यापार साझेदार अमेरिका हो । खुल्ला व्यापार सम्झौता गरेको यो मुलुकसँग गत साल क्यानडाको १.२ ट्रिलियन अमेरिकी डलरको व्यापार भएको थियो । यो भनेको क्यानडाको कुल विश्व व्यापारको दुई तिहाइ हिस्सा हो ।

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।