भारत कि इण्डिया : वर्चश्व स्थापनाको नयाँ दाउपेच !

छिमेकी मुलुक भारतमा यतिखेर उसको वास्तविक नाम के हुनुपर्छ भनेर बहस छेडिएको छ । गत १९ गते मंगलबार पठाइएको आसन्न जी–२० को शिखर सम्मेलनको रात्रिभोजको निम्तोपत्रमा मोदी नेतृत्वको सरकारले राष्ट्रपति द्रोपदी मुर्मीलाई ‘प्रेसिडेन्ट अफ भारत’ लेखेपछि यो बहस सतहमा आएको हो ।

यसअघि यस किसिमका औपचारिक पत्रहरुमा भारतलाई ‘इण्डिया’ लेखिँदै आएको थियो । स्वभाविक रुपमा प्रधानमन्त्री मोदीको यो कदमलाई त्यहाँको सत्तासीन पार्टी भारतीय जनता पार्टीले समर्थन गरेको छ ।

सोही दिन नै भारतीय जनता पार्टीका वरिष्ठ प्रवक्ता सम्वित पात्राले जारी गरेको एक ट्वीटमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले इण्डोनेशियामा आयोजना हुन गइरहेको आशियान (एशोसिएसन आफ साउथइस्ट एशिया)को शिखर सम्मेलनमा भाग लिने उल्लेख गरेका थिए ।

भारतको संविधानमा चाहिँ देशलाई जनाउन भारत तथा इण्डिया दुवै शब्दको प्रयोग भएको पाइन्छ । इन्डियाको संबिधानको धारा एक अनुसार, India, that is Bharat, shall be a Union of States (इन्डिया जुन भारत हो, राज्यहरुको संघ बन्नेछ )। त्यसबाहेक भारतलाई हिन्दूस्थान अर्थात् हिन्दूहरुको राज्यको रुपमा समेत औपचारिक तथा सार्वजनिक रुपमा सम्बोधन गर्ने गरेको पाइन्छ । विश्वव्यापी रुपमा चाहिँ भारत वा हिन्दूस्थानभन्दा पनि इण्डिया नाम सर्वप्रचलित रहेको छ ।

विरोध किन ?

भाजपा इतरका राजनीतिक पार्टीहरु तथा विपक्षीहरुलाई सरकारले मुलुकको नामलाई भारतमा सीमित गर्न खोजेको गम्भीर आशंका गरेका छन् । खासगरी, पछिल्ला वर्षहरुमा भाजपा सरकारले थुप्रै स्थान, सडक तथा प्रतिष्ठानहरुको मुगल वा ब्रिटिशकालीन नामहरुलाई बदलेर ‘हिन्दूकरण’ गरेको आरोप लाग्दै आएको छ । भारत शब्द स्वयं पनि संस्कृत रहेको र यो संस्कृतका ग्रन्थहरुमा भारतवर्ष भनेर हालको भारत तथा यस क्षेत्र वरिपरिका थुप्रै राष्ट्रहरुलाई समष्टीगत रुपमा बुझाउन प्रयोग हुँदै आएको पाइन्छ । जानकारहरुका अनुसार यो शब्द आजभन्दा २००० वर्ष अघिदेखि प्रयोग हुँदै आएको छ । भाजपा सरकारको यो कदमले इतिहासलाई विद्रुपीकरण गर्ने र मेटाउने काम भइरहेको आरोप लाग्ने गरेको छ ।

इतिहासको विरासतलाई जोगाउन तथा संविधानमा नै उल्लेख भएको इण्डिया शब्दलाई हटाउन–मेटाउन नहुने कांग्रेस लगायत विपक्षीहरुको भनाइ रहँदै आएको छ । तर सत्तासीन भाजपाले चाहिँ इण्डिया शब्द स्वतन्त्र भारतमाथि थोपरिएको औपनिवेशिक दासताको द्योतक हो, त्यसैले यसलाई हटाउनुपर्छ भन्ने तर्क दिँदै आएका छन् ।

पहिला इन्डिया र भारत समानार्थी शब्दको रुपमा प्रयोग गर्न मिल्थियो भने अब भारत भन्ने शब्द मात्र प्रयोग गर्नु पर्नेछ। यो हेर्दा सामान्य नाम परिवर्तन जस्तो मात्र देखिन्छ तर यसको अर्थ र महत्व धेरै गम्भीर छ।

पुरानै 'घाउ' !

अहिले विवादको विषय बनेको नामकारणको कुरा कुनै नयाँ भने हैन । यसको जरो सन् १९४७ को इन्डियाको बिभाजनको प्रतिक्रियासम्म गाँसिएको छ । सन् २०४७ मा धर्मको आधारमा देश विभाजन भएर इन्डिया र पाकिस्तान बनेका थिए । मुसलमानहरुको आफ्नै देश पाकिस्तान बन्यो तर मुसलमानसहितको भारत चाहिँ धर्मनिरपेक्ष राष्ट्र बन्यो । त्यस बेला नेहरु लगायत केही प्रभावशाली नेताहरुको समाजबादी झुकावका कारण हिन्दूबहुल देश हुँदाहुँदै पनि इन्डिया 'भारत' बन्न सकेन । इण्डियाका बहुसंख्यक हिन्दुहरुलाई यो धर्मनिरपेक्षता बिल्कुल मनपरिरहेको थिएन। हेक्का राख्नुपर्ने कुरा के छ भने हिन्दू–मुसलमानकै सवालमा समेत महात्मा गान्धीको भूमिकाप्रति तीब्र रोष राख्दै हिन्दूवादी गोड्सेले उनको हत्या गरेका थिए ।

'हिन्दूत्व'को बढ्दो हावा

उस्तै हावापानी, उस्तै संस्कार, उस्तै खानपिन र उस्तै आर्थिक-सामाजिक अवस्थामा रहेका मानिसमध्ये एउटा भाग चाहि धर्मनिरपेक्ष बन्नु र अर्को चाहिँ धर्मसापेक्ष बन्नु– यो कुराले धेरैजना चिढिएका थिएँ । त्यसैले सांस्कृतिक बर्चस्व र अस्तित्व प्रदर्शनको यो सवाल एउटा बमको ढिलो सल्किरहेको सलेदो (slow burning fuse ) जस्तै भित्र भित्रै सल्किरहेको थियो।

 जब भारतमा हिन्दूत्वको एजेण्डालाई अघि सारेर राष्ट्रिय राजनीतिमा भारतीय जनता पार्टीले बर्चस्व स्थापित गर्नुको मूल कारण नै बहुसंख्यक जनताको हिन्दुत्वको सांस्कृतिक चेतनालाई बोक्नु नै थियो । हिन्दूत्वको भावनाले प्रधानता पाउँदै जाँदा भारतमा काङ्ग्रेसलगायतका धर्मनिरपेक्षतावादी शक्तिहरु बिस्तारै कम्जोर बन्दै गयो । अहिले भारतमा तीब्र हुँदै गएको हिन्दूत्वको लहर जारी रहने हो भने यो कुरा सुनिश्चित छ–इन्डिया पनि पाकिस्तान जस्तै धर्ममा आधारित हिन्दुस्तान वा भारत बन्ने बाटोतर्फ अगि बढनेछ। समाजमा बर्चस्व हासिल गर्नेहरुले नै राजनीतिक सत्ता हासिल गर्ने कुरा अनौठो पनि होइन ।

भारतीय जनता पार्टीको सैद्धान्तिक आधार हिन्दुत्व अर्थात् हिन्दु राष्ट्रवाद हो, जसलाई उनीहरु साँस्कृतिक राष्ट्रबाद भन्न मन पराउछन् । त्यसैलाई प्रबर्धन गर्न आज भन्दा ९८ वर्ष अगाडि राष्ट्रिय स्वयंसेवक संघ (RSS ) को स्थापना भएको थियो । विभाजनकालमा मुसलमानहरुको लागि अलग राष्ट्रको पैरवी गर्ने मुस्लिम लिग बनेको थियो भने त्यसकै बिलोमको रुपमा राष्ट्रिय स्वयंसेवक संघ रहेको छ। यही संगठनको मूल विचारधारालाई कार्यान्वन गर्न भारतीय जनता पार्टीको स्थापना भएको हो ।

विगतका केही वर्ष यता इन्डियामा यिनै सभ्यता र संकृतिजन्य द्वन्द्व–विमर्श घनिभूत रुपमा बढ्दै गैरहेका छ। भारतमा गान्धी भर्सेज सावरकर, मन्दिर भर्सेज मस्जिद, गौमाता भर्सेज गौमांस भक्षण र श्मशान भर्सेज कब्रस्थान जस्ता विवाद झन बढन सक्छ।

हेक्का राख्नुपर्ने कुरा चाहिँ भारतको राजनीतिक अवस्था नेपालको लागि पनि पाठ हो। हाम्रो पनि आर्थिक र सामाजिक धरातल भारत भन्दा खासै फरक छैन।त्यसमाथि थप, नेपालमा धार्मिक द्वन्द्व चर्काउने दक्षिणी र पश्चिमी चाहना–गतिविधिहरु त पछिल्ला दिनहरुमा प्रष्टै देखिने गरी मुखर बन्दै आइरहेको पनि छ । 

Photo: hwnews

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।