चोटपटकमा र्‍यालको उपयोग !

कुनै काम गरिरहेको बेला असावधानीवश हामीलाई हातका औंलातिर चोटपटक लाग्यो भने हामी अनायशै चोट लागेको भागलाई चुस्न पुग्छौं । अधिकांश बेला यो हाम्रो स्वेच्छाले भन्दा पनि स्वतस्फूर्त रुपमा हुने गर्छ । वास्तवमा यो मानिसमा मात्रै हैन, कतिपय जनावरहरुमा समेत पाइने स्वभाविक मनोवृत्ति हो । यसो गर्दा दुइटा फाइदा हुन्छ– चोट लागेको ठाउँमा दुखाइ कमी भएको अनुभूति हुन्छ र त्यहाँबाट ह्वाल्ह्वाल्ती रगत बगिहाल्न पाउँदैन ।

मानिसको मुखमा र्‍याल हुने गर्छ । त्यो र्‍यालमा लाइसोजाइम लगायत अन्य केही विशेष किसिमका तत्वहरु हुन्छन् । तिनमा जिवाणुहरुलाई मार्न सक्ने क्षमता पनि हुन्छ ।

एमिनो एसिडका साङ्लाहरुले बनेको त्यस्ता तत्वहरुमा जिवाणु मार्ने गुण हुने गर्छ । ती तत्व र्‍यालमा मात्रै हैन, आँसु, सेता रक्तकोष तथा छालामा पनि विद्यमान हुने गर्छ । त्यसैले ससाना घाउचोटपटकहरु हामीले त्यसरी चुसेकै भरमा पनि निको हुने गर्छ ।

तर यसका प्रतिकूल असरहरु पनि हुने गर्छन् । कतिपय अवस्थामा हाम्रो मुखमा हुने व्याक्टेरियाले घाउलाई संक्रमित पनि तुल्याइदिन सक्छ । तर यो सम्भावना तुलनात्मक रुपमा कम हुने गर्छ ।

त्यसो त घाउ लाग्नेबित्तिकै एन्टिसेप्टिक झोल (जस्तै, स्प्रिट वा बेटाडिन) ले धुनु उचित हुन्छ । त्यसको अभावमा सफा पानीले पनि धुन सकिन्छ । तत्पश्चात घाउलाई सफा र निर्मलीकरण गरिएको व्यान्डेजले ढाक्नुपर्छ । त्यसो गर्दा घाउ लागेको भाग बाहिरी कुराहरुको सम्पर्कमा आउन पाउँदैन र संक्रमण हुन पाउँदैन ।

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।