विश्व व्यवस्थाको सङ्क्रमणकाल: शेन्जेन बैठकले बहुध्रुवीयतालाई संस्थागत गर्ला कि नयाँ ध्रुवीकरण जन्माउला?
युद्ध, ऊर्जा सङ्कट र बदलिँदो भूराजनीति: पूर्वराजदूतहरूको नजरमा शेन्जेन शीर्ष संवाद र ‘सफ्ट डिप्लोमेसी’को खाँचो (भिडियोसहित)
चीनको शेन्जेनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको हालैको शीर्ष संवादले विश्व राजनीतिलाई बहुध्रुवीय व्यवस्थातर्फ मोडेको हो कि भन्ने गहन बहस सुरु भएको छ। कतिपयले यस भेटवार्तालाई ऐतिहासिक मोड र 'याल्टा २.०' को संज्ञा दिएका छन् भने कतिपयले यसलाई महाशक्तिहरूको स्वार्थ वा सङ्कट व्यवस्थापनको कडीका रूपमा हेरेका छन्। यही भूराजनीतिक सङ्क्रमण, युद्ध र शान्तिको सम्भावना तथा विश्व व्यवस्थाको बदलिँदो सन्तुलनमा केन्द्रित रहेर चीनका लागि पूर्वराजदूत टंक कार्की र रुसका लागि पूर्वराजदूत मिलनराज तुलाधरसँग दायित्वबोधका लागि गरिएको विशेष संवाद (सम्पादित रुपमा) यहाँ प्रस्तुत छ।
सीताराम भट्टराई: आजको यस विशेष संवादका लागि हाम्रो स्टुडियोमा चीनका लागि पूर्वराजदूत टंक कार्की र रुसका लागि पूर्वराजदूत मिलनराज तुलाधर उपस्थित हुनुहुन्छ।
यहाँहरू दुवै जना अनुभवी पूर्वराजदूत हुनुभएको नाताले आज हामीले एउटा अत्यन्तै महत्त्वपूर्ण भूराजनीतिक विषयमा विमर्श गर्नुपर्ने छ। हालै चीनको शेन्जेनमा विश्वका तीन महाशक्ति राष्ट्रका राष्ट्रपतिहरूबीच जुन उच्चस्तरीय संवाद सम्पन्न भयो, त्यसले विश्वलाई बहुध्रुवीय व्यवस्थातर्फ डोऱ्याएको एक बलियो प्रमाण प्रस्तुत गरेको चर्चा चलिरहेको छ। सँगसँगै, कतिपय विश्लेषकहरूले यस ऐतिहासिक भेटवार्तालाई 'याल्टा २.०' को संज्ञा दिँदै त्यसैअनुरूप व्याख्यासमेत गरिरहेका छन्। के वास्तवमै यस संवादले विश्व राजनीतिलाई बहुध्रुवीय दिशातर्फ मोडेको हो, या यो केवल एक प्रकारको अतिरञ्जना मात्रै हो?

टंक कार्की: वैश्विक व्यवस्थाको विकासक्रमलाई नियाल्दा हामी आज जुन मोडमा आइपुगेका छौँ, त्यो करिब पाँच सय वर्षअघिको अर्थात् पन्ध्रौँ शताब्दीको सेरोफेरोदेखि सुरु भएको यात्राको निरन्तरता हो। पाँच शताब्दी लामो यस ऐतिहासिक क्रममा अहिले पहिलोपटक गहिरो रूपान्तरण भइरहेको छ र विश्वले एउटा नयाँ दिशा समातिरहेको छ। पाँच सय वर्षअघि स्थापित भएको यो संरचना मूलतः एङ्ग्लो-अमेरिकन शक्ति र प्रभावले डोमिनेट गरेको वैश्विक व्यवस्था थियो। आजसम्म, अझ भनौँ हिजोअस्तिसम्मको विमर्श र घटनाक्रममा यही प्रवृत्ति स्पष्ट देखिन्थ्यो। अर्को प्रवृत्ति भने दोस्रो विश्वयुद्धपछिको कालखण्डसँग जोडिन्छ, जसअनुसार हामी अहिले तेस्रो वैश्विक व्यवस्थामा प्रवेश गरिरहेका छौँ। पहिलो चरणमा सोभियत सङ्घको नेतृत्वमा रहेको शक्ति र अर्कोतिर अमेरिकाको नेतृत्वमा रहेको नाटो राष्ट्रहरूको समूहबीच दुई ध्रुवीय प्रतिस्पर्धा थियो, जसलाई पछिल्लो समय राजनीतिशास्त्रीहरूले कलेक्टिभ वेस्ट र ग्लोबल साउथका रूपमा समेत वर्गीकरण गर्दै आएका छन्। यिनै शक्ति र विविधताबीच अन्तर्राष्ट्रिय राजनीतिका कतिपय विश्लेषकहरूले सन् २०१७ पछाडि विश्व बहुध्रुवीय व्यवस्थातर्फ संक्रमण गरिरहेको विश्लेषण अघि सारेका छन्।
यसै क्रममा हालै नोभेम्बर १९ तारिखमा चिनियाँ राष्ट्रपति सी चिनफिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच एपेक सम्मेलनको सन्दर्भ पारेर एक महत्वपूर्ण शीर्ष बैठक सम्पन्न भयो। इतिहासमा यस्तो खाले त्रिपक्षीय संवाद आजभन्दा झन्डै असी वर्षअघि याल्टामा भएको थियो, जहाँ अमेरिकी राष्ट्रपति रुजबेल्ट, ग्रेट ब्रिटेनका प्रधानमन्त्री चर्चिल र सोभियत सङ्घका नेता जोसेफ स्टालिनबीच शीर्ष बैठक बसेको थियो। त्यतिबेलाको याल्टा सम्मेलनका दुई प्रमुख कार्यभार थिए—पहिलो, युरोपमा विध्वंस मच्चाइरहेको हिटलरको फासिजमविरुद्ध संयुक्त रूपमा जुझ्नु, र दोस्रो, सुदूर पूर्व अर्थात् फार इस्टमा जापानी सैन्यवादको सामना गर्दै युद्धपछिको विश्व व्यवस्थालाई स्पष्ट संरचनागत आधार प्रदान गर्नु।
त्यसको ठीक विपरीत, पछिल्ला केही वर्षयताका घटनाक्रमलाई हेर्दा सन् १९९० पछाडि, सोभियत सङ्घको विघटन र पूर्वी युरोपमा समाजवादको पतनपछि स्थापित एकध्रुवीय विश्व व्यवस्था आजको यथार्थलाई प्रतिबिम्बित गर्न, धान्न र गति दिन नसक्ने अवस्थामा पुगेको छ। यसको आन्तरिक कमजोरी क्रमशः प्रकट हुँदै गएका छन् र आफ्नो वर्चस्व जोगाइराख्न कलेक्टिभ वेस्ट होस् वा अमेरिकी नेतृत्वको नाटो शक्ति, अन्तिम हदसम्म प्रयास गर्दा पनि पुरानै संरचना धान्न नसक्ने परिस्थिति बनेको छ। फलस्वरूप विश्व व्यवस्थाले नयाँ दिशा लिनुपर्ने बाध्यता सिर्जना भएको छ, जसको अर्थ हिजोका जस्ता दुई शक्ति मात्र अब निर्णायक रहेनन्। हिजो एसियाको बिरामी वा सुतेको बाघ भनेर चिनिने र विकासको दौडमा निकै पछि परेको चीन आज जागिसकेको छ। सोभियत सङ्घको विघटनपछि थला परेको रुस पनि सन् १९९० यताको अवधिमा आफूलाई सम्हाल्दै र तङ्ग्रिँदै सशक्त आर्थिक तथा सामरिक शक्तिका रूपमा पुनः उभिएको छ। यससँगै एसियामा भारत र ल्याटिन अमेरिकामा ब्राजिलजस्ता राष्ट्रहरूको उत्थान भइरहेको छ। अर्कोतर्फ, सन् १९४५ देखि बहुध्रुवीय विश्व व्यवस्थाको प्रारम्भ हुनुअघिसम्मको अवस्थालाई नियाल्दा कलेक्टिभ वेस्टको स्वार्थअनुकूल संरचना बन्दा ग्लोबल साउथका मुलुकहरूको विकास अपेक्षाकृत हुन सकेन र तीबीचको खाडल गहिरिँदै गयो। यद्यपि ग्लोबल साउथका केही राष्ट्रको उदय भए पनि हाम्राजस्ता धेरै मुलुक अझै विकासको यात्रामा पछि नै परेका छन्।
त्यसले गर्दा खेरि यो अवस्थालाई सम्बोधन गर्ने क्रममा आफ्नो पश्चिमा हैसियत र वर्चस्वलाई कायम राख्न युक्रेनजस्तो सङ्कट उत्पन्न भयो, जहाँ रुसलाई रणनीतिक पराजय चखाउने उद्देश्यसहित एक प्रकारको छद्म युद्ध अर्थात् प्रोक्सी वार चर्कियो। परिस्थिति यतिमै सीमित रहेन, मध्यपूर्वमा प्राकृतिक स्रोतमाथिको वर्चस्व र इरानसँगको तनाव तथा युद्धको चपेटासमेत यसै क्रममा बल्झिन थाल्यो। यी द्वन्द्व र झडपहरू जतिजति चर्कँदै गए, रुसले आफ्नो अस्तित्वमै सङ्कट आइलागेको खण्डमा आफूसँग उपलब्ध सबै साधन प्रयोग गरेर प्रतिवाद गर्न बाध्य हुने चेतावनी दिने तहसम्म पुग्यो, जसका कारण यस अवधिमा आणविक युद्धका गम्भीर खतराहरू समेत मडारिन थाले।
सीताराम भट्टराई: अहिले प्रसंग रुसको विषयमा आइपुगेको छ। यी तीन शक्तिसम्पन्न राष्ट्रहरू एकै ठाउँमा उभिँदा साम्राज्यवादको नयाँ स्वरूप वा नयाँ गठबन्धन तयार भएको छ भन्ने बुझाइ कतिपयमा देखिन्छ। यसले ग्लोबल साउथका उत्पीडित जनता वा आम नागरिकको हितमा काम गर्दैन, बरु उपलब्ध साधनस्रोतको बाँडफाँड गर्ने र विश्वभर आफ्ना प्रभाव क्षेत्रहरू विभाजन गरी स्रोतसाधनमाथि कब्जा जमाउने सहमतिका रूपमा काम गर्छ भन्ने विश्लेषण गरिन्छ। यसलाई नयाँ ढङ्गको साम्राज्यवादी गठबन्धन निर्माण भएको रूपमा बुझ्नुपर्छ भन्ने एक खालको भाष्यसमेत विकास भएको छ, जसमा के तपाईं सहमत हुनुहुन्छ?

मिलनराज तुलाधर: यस्तो खालको विश्लेषण केही साना मुलुकहरूले गरेको मैले पनि सुनेको छु, तर यिनीहरू ठूला देशहरू सँगै बसेर आ-आफ्नो क्षेत्र—खासगरी अहिले युक्रेन र इरानमा चलिरहेको युद्ध—बारे संवाद गर्दा यसले सकारात्मक फरक पार्छ। यहाँ बुझ्नुपर्ने एउटा महत्वपूर्ण पक्ष विशेषगरी चीनको उदय हो, जसका विषयमा यहाँ चिनियाँ राजदूतसमेत आउँदै हुनुहुन्छ र उहाँले पनि यसबारे स्पष्ट पार्नुभएको छ। अहिले चीनको जुन उदय भएको छ, त्यो निकै महत्वपूर्ण छ, किनभने चीनले न त कतै युद्ध गरेको छ न त बाहिर सैन्य अखडाहरू नै कायम गरेको छ, जबकि अमेरिकाका विश्वभर साढे सात सयभन्दा बढी सैन्य अखडाहरू छन् र ठाउँ-ठाउँमा युद्धहरू भइरहेका छन्। इजरायल र प्यालेस्टाइनको युद्धमा प्यालेस्टिनी जनतालाई नै सिध्याउने खालको खतरनाक कारबाही इजरायलले गरिरहेको छ, अनि इरानविरुद्ध अमेरिकाको युद्ध तथा भेनेजुएलाका राष्ट्रपतिलाई नै समातेर लैजानेजस्ता घटनाहरू विश्वभर भइरहँदा चीनले यस्ता युद्धसम्बन्धी कारबाही गरेको कुनै अभिलेख छैन। त्यसैले गर्दा चीनको तत्वावधानमा अमेरिका र रुसका राष्ट्रपतिलाई एकै ठाउँमा राखेर जुन बैठक आयोजना गरियो, त्यसको विश्व शान्तिको दृष्टिकोणले ऐतिहासिक महत्व छ।
शान्तिको कुरा हाम्रो नेपालजस्तो देशका लागि झनै अपरिहार्य छ, किनभने नेपालको वर्तमान संविधानको निर्देशक सिद्धान्त र नीतिहरूसम्बन्धी परिच्छेदमा नेपालको विदेश नीति स्पष्ट रूपले व्याख्या गरिएको छ। त्यसमा असंलग्न परराष्ट्र नीति अवलम्बन गरिनेछ, पञ्चशीलको सिद्धान्त र संयुक्त राष्ट्रसङ्घको बडापत्रलाई मानिनेछ, अनि विश्व शान्तिका लागि नेपालले काम गर्नेछ भन्ने स्पष्ट शब्दहरू उल्लेख छन्। विश्व शान्तिमा नेपालले विशेष चासो लिनुपर्छ, किनभने यो गौतम बुद्धको देश हो र बुद्धले विश्वभर पुर्याएको शान्तिको सन्देशलाई हामीले आज पनि बोकेर हिँड्नुपर्छ। शेन्जेनमा आणविक निःशस्त्रीकरण र तीनवटै देश मिलेर विश्व शान्तिका लागि काम गर्नेजस्ता सकारात्मक सहमतिहरू हुँदा नेपालले तुरुन्तै प्रतिक्रिया जनाएर बुद्धको भूमिबाट यसको स्वागत गर्छौँ भन्दै सक्रिय कूटनीति अर्थात् प्रोएक्टिभ डिप्लोमेसी चलाउनुपर्ने हो। तर हामी सफ्ट डिप्लोमेसीमा अत्यन्तै कमजोर छौँ, जसका कारण विश्वमा यस्ता महत्वपूर्ण कूटनीतिक कदमहरू चालिँदा हामीले त्यसको हेक्कासमेत राख्दैनौँ, र यही नै हाम्रो मुख्य कमजोरी हो।
टङ्क कार्की: एउटा कुरा के भने, तपाईंले यस सन्दर्भमा ठिकै प्रसङ्ग उठाउनुभयो। यो बैठक ठूला शक्ति राष्ट्रहरूले केवल आफ्नो प्रभाव क्षेत्रको भागबन्डा लगाउनका निम्ति मात्र भएको हो र आम दुनियादारलाई यसको लाभबाट कुनै लिनुदिनु छैन भन्ने यो धारणा आफैँमा त्रुटिपूर्ण छ। जसले यसलाई याल्टा सम्मेलनसँग तुलना गरिरहेका छन्, तुलना गर्नै नमिल्ने होइन र तुलना गर्ने आधारहरू पनि छन्, तर यसलाई 'दोस्रो याल्टा' भन्दै प्रभाव क्षेत्रको भागबन्डा लगाउने सम्मेलनका रूपमा जसरी चित्रित गर्न खोजिन्छ, त्यो अत्यन्तै दोषपूर्ण छ।
सीताराम भट्टराई: त्यसो भए चीन र रुसले अमेरिकी एकल प्रभुत्वमाथि सन्तुलन कायम गरेको र विश्वका गरिब राष्ट्रहरू अर्थात् अघि तपाईंले भन्नुभएझैँ ग्लोबल साउथको पक्षमा समेत केही लाभ पुग्ने गरी कदम चालेको रूपमा यसलाई बुझ्ने हो?
टङ्क कार्की: अहिलेको सन्दर्भ के हो भने, यतिबेला विश्वमा दुईवटा ठूला खतराहरू देखिएका छन् र विश्व निकै अनिश्चित संक्रमणकालबाट गुज्रिरहेको छ। विश्वको टाउकोमाथि अहिले हो कि भरे आणविक युद्ध त हुने होइन भन्ने त्रास मडारिएको छ, किनकि आजको आणविक युद्ध विगतमा 'लिटल ब्वाय' वा 'फ्याट म्यान' खसालेजस्तो मात्र हुने वाला छैन, बरु पृथ्वीलाई बीसौँ पटक ध्वस्त पार्न सक्ने क्षमता भएका शक्ति राष्ट्रहरू अहिले अस्तित्वमा छन्। अर्कोतर्फ, ठूला राष्ट्रहरूलाई हेर्ने दृष्टिकोणमा पनि सन्तुलन आवश्यक छ; उनीहरूका नकारात्मक पक्ष आफ्ना ठाउँमा होलान्, तर उनीहरूको सकारात्मक भूमिकालाई चटक्कै बिर्सन सकिँदैन। ठूला राष्ट्रहरूबीचको जमघट सधैँभरि नकारात्मक नै हुन्छ भन्ने होइन, जसरी याल्टा सम्मेलनमा साम्राज्यवादका विरोधी स्टालिन र अर्कोतिर साम्राज्यवादका नायक भनिएका चर्चिल तथा रुजवेल्ट एकै ठाउँमा बसेका थिए। कहिलेकाहीँ भिन्न वैचारिक आधार भएका शक्तिहरूलाई पनि अन्तर्राष्ट्रिय दायित्वको सीमाभित्र तान्न बाहिरको दबाब र उनीहरूकै इच्छाशक्ति दुवै जरुरी हुन्छ, र यदि उनीहरू साँच्चै वैश्विक व्यवस्थामा शान्ति र स्थिरता दिन चाहन्छन् भने त्यो प्रक्रियालाई अघि बढाउनु आवश्यक हुन्छ। आजको सन्दर्भमा शेन्जेन बैठकलाई म यी तीन शक्तिशाली प्रमुख राष्ट्रहरूबीचको स्वार्थको लेनदेन मात्र हो भन्ने दृष्टिकोणबाट हेर्दिनँ, बरु यिनीहरूले केही गम्भीर विश्वव्यापी चासोहरूसमेत सम्बोधन गरेको देख्छु।
यिनीहरूले अगाडि सारेको चारबुँदे सहमतिको प्रस्तावनामा रणनीतिक स्थायित्व कायम गर्ने र अन्तर्राष्ट्रिय सुरक्षा प्रदान गर्ने महत्वपूर्ण वाक्यांश अन्तरनिहित छ। अन्तर्राष्ट्रिय स्थायित्व र सुरक्षा व्यवस्था कायम गर्नु आफैँमा पवित्र उद्देश्य हो, र यसका लागि उनीहरूले गरेका प्रतिबद्धताहरूलाई हेर्दा हिजो 'प्रिएम्प्टिभ एक्सन' का नाममा आफ्नो राष्ट्रिय स्वार्थमा तलमाथि परेको भन्दै जहाँतहीँ एकपक्षीय सैनिक कारबाही गर्दै हिँड्ने एकध्रुवीय विश्व व्यवस्थाको प्रवृत्तिमा ब्रेक लगाउने र नयाँ दिशामा जाने सङ्केत देखिन्छ। यसको अप्रत्यक्ष अर्थ अब एकध्रुवीय शक्तिसमेत बहुध्रुवीयताको सहमतिमा आएको सङ्केत मिल्नु हो, जसलाई यसअघि नै अमेरिकी विदेशमन्त्री रुबियोले समेत स्वीकार गर्दै अबको दुनियाँ बहुध्रुवीयतातर्फ गइरहेको बताएका थिए। बहुध्रुवीयतालाई सम्बोधन गर्न उनीहरूले चारवटा मुख्य बुँदा अघि सारेका छन्, जसमध्ये पहिलो बुँदा संयुक्त राष्ट्रसङ्घको सुधारसँग सम्बन्धित छ। सन् १९४५ मा संयुक्त राष्ट्रसङ्घ स्थापना हुँदा तत्कालीन वैश्विक शक्ति संरचनाअनुसार मूलतः पश्चिमा बाहुल्य देखिन्थ्यो, जहाँ पाँच स्थायी सदस्यमध्ये बेलायत, फ्रान्स, अमेरिका र सोभियत सङ्घ गरी चार शक्ति युरोप-अमेरिकाकै सेरोफेरोका थिए भने त्यतिबेला निकै कमजोर रहेको एसियाको प्रतिनिधित्व गराउन चीनलाई सामेल गरिएको थियो। तर आज आर्थिक र सामरिक हरहिसाबले नयाँ र बलिया शक्तिहरू उदाइसकेको अवस्थामा विश्व व्यवस्थालाई नेतृत्व गर्ने निर्णायक निकाय सन्तुलित नरहेकाले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मै सुधार गरी एसियाको उचित प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने तथा सिङ्गै अफ्रिकी महादेश र ल्याटिन अमेरिकालाई समेत प्रतिनिधित्व दिनुपर्ने आवश्यकता यसले औँल्याएको छ।
सहमतिको दोस्रो बुँदा वर्तमान ऊर्जा सङ्कट र विश्व अर्थतन्त्रसँग जोडिएको छ, किनकि इरानसँगको तनाव र युक्रेनमा चलिरहेको युद्धका कारण ऊर्जा उत्पादन तथा आपूर्तिमा गम्भीर असर परी उत्पादन लागत बढेको छ र विश्व अर्थतन्त्रमा महामन्दी आउने खतरा बढेको छ। युद्ध नलडेका हाम्रोजस्ता मुलुकहरूले समेत यसको महँगीको मार भोगिरहनुपरेको अवस्थामा तीनैजना नेताहरू ऊर्जा उत्पादन र विशेषगरी प्रशोधित पेट्रोलियम पदार्थको उत्पादन तथा आपूर्ति वृद्धि गर्न सहमत भएका छन्, जसको अर्थ हिजो रुसबाट तेल आयात गर्नेहरूमाथि लगाइएका थप नाकाबन्दीका आधारहरू पनि अब बिस्तारै खुकुलो हुँदै जानेछन्। तेस्रो बुँदामा उनीहरूले अन्तर्राष्ट्रिय फौजदारी अदालत अर्थात् आईसीसीजस्ता वैश्विक संस्थाहरूले राज्य सहमतिको अन्तर्राष्ट्रिय कानुनी सिद्धान्तलाई बेवास्ता गर्दै शक्तिको आडमा पश्चिमा प्रभावको दुरुपयोग गरी जसलाई पायो त्यसलाई बाघले बाख्रो घिसारेझैँ घिसार्ने शैलीमा निर्णय गर्दै आएको प्रवृत्तिलाई उल्ट्याउनुपर्ने र राज्यका अधिकारीमाथि कारबाही गर्न सम्बन्धित राज्यको सहमति अनिवार्य रूपले लिनुपर्ने प्रतिबद्धता जनाएका छन्। चौथो बुँदामा आणविक युद्धको खतरालाई न्यूनीकरण गर्ने र आणविक हातहतियारको उत्पादन तथा प्रचारप्रसारमा रोक लगाउने सहमति भएको छ। यी चारवटा सहमतिले कम्तीमा पनि तत्कालका लागि विश्वयुद्धको खतरा टरेको आधार दिएका छन् र यी विश्वलाई फाइदा पुग्ने राम्रा बुँदा हुन्, यद्यपि मलाई एउटै कुरा के खट्किएको छ भने यसमा ग्लोबल साउथका मुलुकहरूको हित र साझा विकासप्रतिको प्रतिबद्धतासमेत समेटिएको भए अझ उत्तम हुने थियो।
सीताराम भट्टराई: नेपालजस्तो ‘ग्लोबल साउथ’को हिस्सा रहेको र त्यसमाथि अहिलेका उदयमान शक्तिशाली राष्ट्रहरूको बीचमा अवस्थित संवेदनशील भूराजनीतिक धरातलमा उभिएको मुलुकका लागि यस्ता सम्मेलनहरूले कस्तो अर्थ राख्छन् भन्ने प्रश्न गम्भीर छ। के हामीले यसलाई आफ्नो स्वाधीनता र सार्वभौमिकतामाथि नै चुनौती थपिँदै गएको सङ्केतका रूपमा बुझ्ने, वा हाम्रा प्राकृतिक स्रोतसाधनमाथि बाह्य शक्तिको मनोमानी चल्न सक्ने नयाँ धुर्वीकरण र गठबन्धनको रूप दिने? अझ गहिरिएर सोच्दा, कतै यसले यस्तो परिवेश त सिर्जना गर्दैन जहाँ साना र हाम्राजस्ता मुलुकका आवाज र चासोहरू ओझेलमा परेर सुनुवाइ नै हुन नसक्ने अवस्था आओस्?
मिलनराज तुलाधार: विश्व शान्तिका लागि उठाइएको कदम भन्नासाथ त्यसले हामीलाई पनि अवश्य नै मद्दत पुर्याउँछ, किनकि नेपाल आफैँमा एक शान्तिकामी राष्ट्र हो। असंलग्न परराष्ट्र नीति अपनाउँदै बेलग्रेडमा आयोजित असंलग्न राष्ट्रहरूको पहिलो सम्मेलनदेखि नै निरन्तर रूपमा सक्रिय सहभागिता जनाउँदै आएको गौरवपूर्ण इतिहास नेपालसँग छ। विगतका शासनकालमा झैँ वर्तमानमा पनि विश्व रङ्गमञ्चमा नेपालको अर्थपूर्ण भूमिका रहनुपर्छ, किनकि विश्व शान्तिका लागि योगदान पुर्याउन र अन्तर्राष्ट्रिय जगतमा आफूलाई सशक्त रूपमा उभ्याउन नेपाल पूर्णतः सक्षम छ।
नेपाललाई सधैँ गरिब र पिछडिएको देशका रूपमा मात्र चित्रण गर्नु उचित हुँदैन। गौतम बुद्धले यसै भूमिबाट विश्वभर शान्तिको त्यत्रो महान् सन्देश फैलाउनुभयो भने आजको नेपाली नेतृत्व, सरकार र जनताले पनि पर्यटन प्रवर्द्धन तथा आर्थिक प्रगतिका असीमित सम्भावनाहरूलाई उपयोग गर्न सक्छन्। हामीसँग जलविद्युत् र पर्यटनको अपार सामर्थ्य छ, जसको सदुपयोगसँगै बुद्धको शान्ति दर्शनमा आधारित ‘सफ्ट डिप्लोमेसी’ अवलम्बन गर्ने हो भने विश्व समुदायमा नेपालले आफ्नो विशिष्ट पहिचान स्थापित गर्ने प्रशस्त आधारहरू छन्। केवल सगरमाथा र लुम्बिनीको नाम जपेर बस्नुको साटो हामीले विश्व शान्तिका निम्ति सक्रिय र अग्रसर भएर ठोस कार्य गर्न आवश्यक छ।
यस्ता अन्तर्राष्ट्रिय सम्मेलनहरूको आयोजना हुँदा हामीले त्यसलाई सकारात्मक समर्थन जनाउँदै स्वागत गर्नुपर्छ। अघि टङ्कजीले भन्नुभएझैँ आज विश्वको शक्ति सन्तुलनमा नै आमूल परिवर्तन आइसकेको छ। याल्टा सम्मेलनताका बेलायत विश्वको एक विशाल औपनिवेशिक शक्ति थियो, जतिबेला हिन्दुस्तानलगायत विश्वका कैयौँ भूभाग बेलायतको र अफ्रिकाका अनेकौँ देश फ्रान्सको उपनिवेशमा थिए। औद्योगिक क्रान्तिपछिको विकास र औपनिवेशिक साम्राज्यका कारण युरोपको अर्थतन्त्र निकै विशाल र शक्तिशाली थियो। त्यही शक्ति केन्द्रित रहेकाले एटलान्टिक क्षेत्रमा ‘नाटो’ र अर्कोतर्फ ‘वार्सा प्याक्ट’ जस्ता सैन्य सङ्गठनहरू बनेका थिए, जसले गर्दा विश्व शक्तिको मुख्य रङ्गमञ्च पश्चिमतर्फ केन्द्रित थियो।
तर आज विश्व शक्तिको त्यो रङ्गमञ्च पश्चिमतर्फबाट सरेर पूर्व अर्थात् एसिया-प्रशान्त क्षेत्रमा आइपुगेको छ। सामान्य आर्थिक तथ्याङ्कलाई मात्र नियाल्ने हो भने पनि सिङ्गो युरोपको अर्थतन्त्र २३ ट्रिलियन डलर रहँदा एसियाको अर्थतन्त्र दोब्बर अर्थात् ४५ ट्रिलियन डलर पुगिसकेको छ। अझै पनि कतिपय मानिसहरू युरोपकै पछि लाग्नुपर्छ भन्ने मानसिकतामा अल्झिएका छन्, तर वास्तविकता के हो भने रुससँगको टकरावपछि युरोप निकै कमजोर भइसकेको छ। रुसको सस्तो इन्धनमा निर्भर जर्मनी र फ्रान्सजस्ता देशका अर्थतन्त्रहरू त्यो आपूर्ति बन्द भएसँगै धराशायी बनेका छन् र आज विश्वमै सबैभन्दा सुस्त आर्थिक वृद्धिदर युरोपमै देखिएको छ। समग्र अर्थतन्त्र नै एसियाको तुलनामा आधा भइसकेको वर्तमान अवस्थामा विश्व राजनीति र अर्थतन्त्रको मुख्य केन्द्र अब एसियामा सरिसकेको छ, र शेन्जेनमा भएको यो सम्मेलन त्यसैको स्पष्ट सङ्केत हो।
सीताराम भट्टराई: विश्वको शक्ति केन्द्र एसियामा सरिरहेको र शान्ति हाम्रो ‘सफ्ट पावर’ बन्न सक्ने सम्भावनाबारे हजुरले सङ्केत त गर्नुभयो, तर वास्तविकता निकै फरक देखिन्छ। आज विश्वलाई नै आक्रान्त पार्ने गरी ठुला र भयावह युद्धहरू चलिरहेका बेला शान्ति स्थापनाका लागि मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न बरु हाम्रै छिमेकी मुलुक पाकिस्तान अगाडि सर्न खोजेको देखियो, तर नेपालले भने यस दिशामा सोच्नसम्म सकेको छैन। व्यवहारिक पहल र ठोस कूटनीतिक सक्रियता बिना केवल शान्तिको रटान वा खोक्रो भाषण मात्र दिइरहनुको कुनै अर्थ छ र?
मिलनराज तुलाधर: यहीँनेर त सबैभन्दा ठूलो विडम्बना लुकेको छ। सिमानाको प्रसङ्ग उठ्दा होस् वा बुद्ध कता जन्मिए भन्ने विवाद आउँदा, हामी नेपालीहरू तुरुन्तै चित्त दुखाएर ‘बुद्ध नेपालमै जन्मिएका हुन्’ भन्दै हल्लाखल्ला गर्न अघि सर्छौँ। हाम्रो यही कोलाहल र नाराबाजी गर्ने बानी हाबी छ, तर त्यही बुद्धको शान्ति सन्देशलाई ‘सफ्ट डिप्लोमेसी’का रूपमा रणनीतिक ढङ्गले प्रयोग गर्न भने हामी चुकेका छौँ। विश्वभरका मानिसहरूले आज मनोविज्ञानदेखि लिएर विभिन्न सैद्धान्तिक र दार्शनिक विमर्शहरूमा बुद्धकै विचार, ग्रन्थ र सिद्धान्तहरूलाई आधार र सन्दर्भका रूपमा लिइरहेका छन्, अनि बुद्धलाई एउटा गहन दार्शनिक चेतनाका रूपमा आत्मसात् गरिरहेका छन्। पाकिस्तानको जुन उदाहरण हजुरले अघि राख्नुभयो, त्यसरी नै हामीले पनि समयमै अग्रसरता र पहलकदमी लिन सक्नुपर्छ।
यस सम्मेलनमा चीन जोडिएको छ, र चीन हाम्रो टाढाको होइन, अत्यन्त निकटको छिमेकी मुलुक हो। विशेषगरी चीनको तिब्बत क्षेत्रसँग हाम्रो हजारौँ वर्ष पुरानो व्यापारिक र सांस्कृतिक सम्बन्ध छ; कुनै समय तिब्बतमा हाम्रो आफ्नै प्रभाव र उपस्थिति पनि रहिआएको ऐतिहासिक यथार्थ छ। यस्तो घनिष्ठ सम्बन्ध रहेको र अहिले पनि चीनले विभिन्न प्रस्ताव तथा सहकार्यमार्फत नेपालसँग निकटता र सहयोग खोजिरहेका बेला हामीले यस विषयमा स्वाभाविक रूपमै आफ्नो आवाज राख्नुपर्छ। अझ विश्व अब ‘मल्टिपोलर’ अर्थात् बहुध्रुवीय बनिसकेको कुरामा कुनै विवाद छैन, तैपनि अमेरिकाको शक्तिलाई नजरअन्दाज गर्न सकिँदैन। उसले कतिपय ठाउँमा आफैँले जटिलता पनि निम्त्याएको छ; इरानसँगको युद्धकै कारण अमेरिकामा पनि गहिरो असर परेको छ, जसको एउटा सङ्केत मध्यावधि निर्वाचनमा राष्ट्रपति ट्रम्पको दलले व्यहोरेको पराजयमा पनि देखियो। हिजोसम्म आणविक युद्धतर्फ धकेलिने हो कि भन्ने त्रास सिर्जना गर्ने नेतृत्वसमेत आज परिस्थिति बदलिएसँगै तनाव कम गर्ने ‘डि-एस्केलेसन’ र शान्ति स्थापनाको कुरा गर्न बाध्य भएको देखिन्छ।
विश्व शान्ति जति बलियो हुन्छ, अन्तर्राष्ट्रिय परिवेश र रणनीतिक स्थिरता त्यति नै सुदृढ बन्छ। गरिबी र पिछडिएको अवस्थासँग अझै जुधिरहेका नेपाल र भारतजस्ता विकासोन्मुख मुलुकहरूका लागि त विश्व शान्तिको महत्व अझै गहिरो छ। विश्वमा शान्ति कायम हुँदा भारत, चीन र नेपाल—सबैलाई आफ्नो आर्थिक विकास र समृद्धिको यात्रा अघि बढाउन सहज हुन्छ। त्यसैले विश्व राजनीतिमा देखिने हरेक नयाँ घटनाक्रम र शक्ति सन्तुलनको बदलावले हामीलाई प्रत्यक्ष छुन्छ, र बुद्धको भूमि भएकाले त नेपालले अझ स्पष्ट र दृढ रूपमा बोल्नैपर्छ। हजुरले भनेझैँ हाम्रा कूटनीतिज्ञहरूले सक्रिय पहल गर्दै इरानलगायत द्वन्द्वग्रस्त पक्षहरूलाई ‘आउनुहोस्, लुम्बिनीमा बसेर शान्ति वार्ता गरौँ’ भन्ने प्रस्ताव राख्न सक्नुपर्थ्यो। लुम्बिनीलाई वास्तविक अर्थमै विश्व शान्तिको केन्द्रका रूपमा स्थापित गर्ने अनेकौँ अवसर हाम्रासामु भए पनि त्यसको समुचित सदुपयोग हुन सकिरहेको छैन।
टंक कार्की: तपाईंले उठाउनुभएको चासो बिल्कुल सान्दर्भिक छ। विश्व व्यवस्थालाई स्थिरता दिने र शान्ति तथा सुव्यवस्था कायम गर्ने सन्दर्भमा निसन्देह १९२ वटै राष्ट्रले आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्छ। कसैको प्रभावको भार सानो वा ठूलो होला—त्यो सामरिक शक्ति, आर्थिक सामर्थ्य वा सांस्कृतिक प्रभावका आधारमा तय हुन्छ र त्यसले आआफ्नो योगदान दिन्छ। तर यथार्थपरक राजनीति अर्थात् ‘रियल पोलिटिक्स’को कसीमा हेर्दा, प्रमुख शक्ति राष्ट्रहरूले विश्व जनमतको दबाबसामु सकारात्मक प्रतिक्रिया नदिएसम्म हामी जस्ता साना राष्ट्रहरूले जतिसुकै पवित्र आकांक्षा राखे पनि विश्वव्यापी स्थिरता सहजै कायम हुन सक्दैन। यस सन्दर्भमा अहिले देखिएको एउटा सुखद पक्ष के हो भने, शीर्ष नेताहरूको यो बैठकले कुनै पनि मुलुकले आफ्ना स्वार्थ अधिकतम बनाउने नाममा एकतर्फी कारबाही नगर्ने प्रतिबद्धता जनायो; यही प्रतिबद्धतालाई म यस बैठकको मूल सार ठान्छु।
अर्कोतर्फ, यसको प्रतिक्रिया र ऐतिहासिक सन्दर्भ पनि उत्तिकै अर्थपूर्ण छ। अघि मैले उल्लेख गरेझैँ याल्टा सम्मेलन हुँदा शक्ति सन्तुलन युरोपमै बढी केन्द्रित थियो र त्यहाँ चीनको उपस्थिति थिएन। तर आज चीन अघि बढिरहेको छ, जसको अर्थ विश्वको शक्ति केन्द्र कसरी स्थानान्तरण हुँदैछ भन्ने स्पष्ट सङ्केत हो। एसियाले आफ्नो उपस्थिति र दाबी सशक्त बनाइरहेको छ; हिजो फ्रान्स र जर्मनीले जसरी आफ्नो स्थान खोजे, भोलि भारत आउला, त्यसैगरी ब्राजिल र अफ्रिकाबाट दक्षिण अफ्रिकासहित अन्य राष्ट्रहरू पनि अघि आउलान्। यसले विश्वलाई नयाँ मूल्य र नयाँ मान्यतामा अघि बढाउने एउटा प्रक्रिया थालेको छ। अब लोकतन्त्र वा समाजवादका नाममा आफ्ना पिछलग्गु वा गुमास्ता खोज्ने पुरानो शैलीतिर विश्व गइरहेको छैन जस्तो मलाई लाग्छ। बरु साना-ठुला सबै राष्ट्रबीच राजनीतिक तथा वैचारिक भिन्नताका बाबजुद सहअस्तित्वका आधार खोज्ने, शक्तिशालीको मात्र होइन निर्बल र साना राष्ट्रहरूको समेत हित संरक्षण गर्ने दिशातर्फ अब अलि बढी ढुक्क भएर हेर्न सकिने अवस्था बन्दै गएको छ।
कतिपय विश्लेषकहरूले आजको विश्व व्यवस्थाको मूल चरित्र नै अनिश्चितता हो भनिरहेका छन्, तर म भने त्यो अनिश्चितता अब क्रमशः निश्चिततातर्फ उन्मुख भइरहेको देख्छु। यसले आगामी दिनमा शान्ति, सुस्थिरता र सह-विकासका आधारहरूलाई प्रवर्द्धन गर्ने र विश्व व्यवस्थालाई थिग्याउने काम गर्नेछ। संयुक्त राष्ट्र सङ्घ स्थापना हुनुअघिको त्यो कालखण्डलाई सम्झौँ त—१९४० को दशकतिर ‘लिग अफ नेसन्स’ निष्प्रभावी भइसकेको थियो, युद्ध चलिरहेको थियो, र १९४२ देखि १९४५ को बीचमा नयाँ विश्व व्यवस्था निर्माणका लागि गहन गृहकार्य भएको थियो। मलाई लाग्छ, याल्टा सम्मेलनदेखि संयुक्त राष्ट्र सङ्घ बन्ने अवधिसम्मको त्यही ऐतिहासिक सङ्क्रमणकालीन कालखण्डझैँ आज हामी पनि एक चरणबाट नयाँ विश्व व्यवस्थाको निश्चिततातर्फ अघि बढिरहेका छौँ।
चन्द्र खाकी: टङ्क कार्कीले शेन्जेन सम्मेलनका बारेमा निकै आशावादी दृष्टिकोण राख्नुभयो । तर अर्को कोणबाट हेर्दा यो सम्मेलन तीनवटै राष्ट्र आफ्नै सङ्कट र दबाबमा घेरिएका बेला भएको देखिन्छ। युक्रेन युद्धको दीर्घकालीन भारले रुस थिलथिलो बन्दै गएको छ, अमेरिका इरानको सङ्कटमा अल्झिरहेको छ भने चीन पनि आफ्नो आर्थिक हित जोगाउन यो अस्थिरता र युद्धको गतिलाई जसरी भए पनि रोक्न वा पछाडि धकेल्नुपर्ने बाध्यतामा पुगेको विश्लेषण छ। अझ विशेष गरी आणविक निशस्त्रीकरणको प्रसङ्गमा हेर्दा, त्यो बहस व्यवहारतः इरानलाई मात्र रोक्नेतर्फ केन्द्रित देखिन्छ, अरूको हकमा भने मौनता साँधिन्छ। आफैँ टन्न अघाएर बसेपछि अरूले खान पाउनु हुँदैन भन्ने एकाधिकारवादी सोचजस्तो लाग्दैन र?
अर्कोतर्फ, युक्रेन र इरानको युद्ध चर्किनुअघिसम्म तेलको आपूर्तिमा यस्तो चरम हाहाकार थिएन। संकटको जडमा पुगेर युद्ध अन्त्य गर्ने पहल गर्नुको साटो उत्पादन बढाउने बाटोमा मात्र लाग्दा त्यसले कस्तो सन्देश दिन खोजिरहेको होला?
टंक कार्की: यस्ता गतिविधिहरूलाई सी चिनफिङ, पुटिन र ट्रम्पका निजी कमजोरी वा उनीहरूमाथि आइपरेका वैयक्तिक राजनीतिक समस्याहरू छल्ने ढकोसला मात्र हो भनी व्याख्या गर्नु अत्यन्त नकारात्मक दृष्टिकोण हो जस्तो मलाई लाग्छ। सुव्यवस्थित राज्य प्रणाली विकास भइनसकेका समाजहरूमा यस्ता शङ्कास्पद विचारहरू उत्पन्न हुनु स्वाभाविक भए पनि ट्रम्प, पुटिन वा सी चिनफिङजस्ता नेताहरूले वैश्विक र वैदेशिक राजनीति सञ्चालन गर्दा आफ्ना निजी आकांक्षाभन्दा माथि उठेर राष्ट्रिय भावना र हितलाई नै मुखरित गरी काम गरिरहेका हुन्छन्।
अमेरिकाले राष्ट्रिय तहमा आज कस्तो चिन्तन गरिरहेको छ भन्ने कुराले नै अन्ततः डोनाल्ड ट्रम्पलाई हिजोअस्तिसम्म ‘एक्सिस अफ इभिल’ भनी आरोपित गरिएका मुलुकहरूसँग समेत शीर्ष वार्तामा सामेल हुन बाध्य बनाएको हो। विश्वमा मडारिइरहेको गम्भीर खतरालाई सम्बोधन गर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएकाले नै ट्रम्प, सी चिनफिङ र पुटिन सबै आज वैश्विक व्यवस्थाको सन्तुलनप्रति संवेदनशील बन्न पुगेका छन्। विशेषगरी आणविक हतियारले सुसज्जित राष्ट्रहरूबीचको सम्बन्ध कटु हुनासाथ त्यसले निम्त्याउन सक्ने विनाश, अन्याय र आणविक सङ्कटको भयावह जोखिमलाई बुझेर नै उनीहरू संवादतर्फ उन्मुख भएका हुन्।
मिलनराज तुलाधर: म के भन्न चाहन्छु भने, वर्तमान विश्व शक्ति सन्तुलनलाई नियाल्दा आर्थिक र सैन्य दुवै दृष्टिले अमेरिका अझै पनि विश्वको सबैभन्दा ठूलो शक्ति हो, आणविक हतियारको भण्डारका हिसाबले रुस सबैभन्दा अगाडि छ, अनि चीन आज उदीयमान मात्र होइन, एक विशाल आर्थिक तथा रणनीतिक शक्तिका रूपमा स्थापित भइसकेको छ। यस्ता निर्णायक महाशक्ति राष्ट्रहरू नै शान्तिका लागि एकै थलोमा नबस्ने हो भने अरू बसेर मात्र के नै पो हुन सक्छ र? ल भन्नुहोस् त, हामी नेपाल, भारत वा सिङ्गापुर बसेर विश्व शान्तिका लागि एउटा कदम चाल्नुपर्यो भन्दैमा विश्व राजनीतिले त्यसलाई निर्णायक अर्थमा लिन्छ र? अघि तपाईंले यी तीनवटा देश बसेर के नै गरे र भनेर प्रश्न उठाउनुभयो, तर यथार्थमा विश्व शान्ति र स्थिरताका लागि वार्ताको टेबलमा बस्नुपर्ने नै यिनै निर्णायक शक्तिहरू हुन्।
टंक कार्की: त्यो आरोप त याल्टा सम्मेलनका शीर्ष नेताहरूलाई पनि लगाउन सकिन्छ, तर अन्ततः उनीहरूले के गरे र त्यो बैठकको अन्तिम परिणाम कस्तो सुखद निस्कियो भन्ने कुरा महत्त्वपूर्ण छ। फासीवाद र नाजीवादको पराजय भयो, संयुक्त राष्ट्र सङ्घको उदय भयो, र त्यसले विश्वलाई करिब साठी-सत्तरी वर्षभन्दा लामो समय शान्ति र स्थिरता दियो। अहिलेको संसारमा देखा परिरहेका नयाँ समस्याहरू र बदलिँदो शक्ति सन्तुलनलाई प्रतिबिम्बित गर्ने गरी वैश्विक व्यवस्थाको पुनर्गठन गरिनुपर्छ। हामीले एकपटक शङ्काको लाभ अर्थात् ‘बेनिफिट अफ डाउट’ दिन पनि त सक्छौँ नि, हैन र? केवल नकारात्मक दृष्टिकोण राखेर यो सबै आफ्नो प्रभाव क्षेत्र विस्तार गर्न वा निजात्मक लाभका लागि मात्र हो भनी निष्कर्ष निकाल्नु त निकै अपरिपक्व र बालसुलभ ठहरिन्छ जस्तो मलाई लाग्छ।
अर्को एउटा कुरा पनि त्यसैमा जोडौँ—उहाँहरू त्यहाँबाट छुट्टिएको केही दिन बित्दा नबित्दै पनि कतिपय ठाउँमा जनधनको क्षति भइरहेका घटना देखिन्छन्, जसले तत्कालै युद्ध रोक्ने ठोस प्रतिबद्धता आएन कि भन्ने भान पार्छ। तर सुत्केरी हुँदा आमाको गर्भबाट रगतका टाटाहरू पनि सँगसँगै आएझैँ, नयाँ व्यवस्थाको जन्म र रूपान्तरणमा पनि यस्ता पीडा र घर्षण स्वाभाविक हुन्; यसले समय लिन्छ। बिस्तारै यसको मूल प्रवृत्ति मत्थर र कम हुँदै जाला भन्ने मलाई लाग्छ। रातारात कोही पनि स्वस्थ, तन्दुरुस्त र लक्का जवान बच्चा जन्मिँदैन—त्यो त एक क्रमशः अघि बढ्ने प्रक्रिया हो, जसले समय माग्छ।
सीताराम भट्टराई: समग्रमा भन्नुपर्दा, शेन्जेनमा सम्पन्न उक्त भेटवार्ता, सम्झौता र त्यसबाट निस्किएका निष्कर्षहरूले नेपालजस्तो मुलुकका लागि पनि सुखद र हितकारी वातावरण निर्माण गर्न सक्छन् भन्ने निष्कर्षमा पुग्नु कत्तिको सान्दर्भिक र उचित होला?
टंक कार्की: अब भनौँ न, त्यही तेलकै एउटा सामान्य उदाहरण हेरौँ—अहिले मध्यपूर्वमा भइरहेको इरान युद्धका कारण हाम्रो वैदेशिक रोजगारीमा जाने जनशक्तिसमेत प्रत्यक्ष प्रभावित भएको छ। अर्कोतर्फ, हिजोअस्तिसम्म तुलनात्मक रूपमा सस्तो मूल्यमा पाइरहेको पेट्रोल अहिले प्रतिलिटर दुई सय रुपैयाँभन्दा बढी तिर्नुपर्ने अवस्थामा हामी पुगेका छौँ, जुन त्यही द्वन्द्वको प्रत्यक्ष असर हो। यदि यस सहमतिपछि अमेरिकाले रुसी तेलमाथिको प्रतिबन्ध खुकुलो पार्दै वितरण सहज बनाउने र उता इरानले पनि हर्मुज जलडमरूमध्यको मार्गमा अवरोध नगरी आवतजावत खुला राख्ने प्रतिबद्धता कार्यान्वयन भयो भने विश्व बजारमा इन्धनको आपूर्ति बढ्नेछ। आपूर्ति सहज हुनासाथ स्वाभाविक रूपमा मूल्य घट्नेछ र त्यसबाट हामी पनि प्रत्यक्ष रूपमा लाभान्वित हुनेछौँ। मैले त यो केवल एउटा सानो उदाहरणका रूपमा मात्र प्रस्तुत गरेको हुँ; यदि वैश्विक व्यवस्थामा प्रमुख शक्ति राष्ट्रहरूबीच भएको यो सहमति केवल देखावटी वा ओठे प्रतिबद्धता मात्र नभई साँचो अर्थमा व्यावहारिक प्रतिबद्धता हो भने निसन्देह यसका सकारात्मक लाभहरू तरङ्गित हुँदै तपाईँ-हाम्रा घरदैलोसम्म पनि आइपुग्नेछन्।
सीताराम भट्टराई: यसले विश्व पुजीवादलाई त संरक्षण गर्ने र बलियो पार्ने नै भयो नै...
टंक कार्की: विश्व पुजीवाद पनि अब जब हामी मल्टिपोलरमा जादै छौ भनेर भन्छौ भने वैश्विक सम्राटको विश्व गुरुको अब युग सकियो।
सीताराम भट्टराई: विश्व गुरुको युग सकियो भने अहिले हामी बहुध्रुवमा त्यसले विश्व समाजवादी आन्दोलनलाई टेवा पुर्याउछ कि त्यसलाई अझ क्षतविक्षत पारेर कमजोर पार्ला ?
टंक कार्की: सच्चा समाजवादी शक्तिहरुको निम्ति अनुकुल वातावरण हो। म यति मात्र कमेन्ट गर्न चाहन्छु ।
सीताराम भट्टराई: के मिलन सर पनि सहमत हुनुहुन्छ ? यो खालका गठबन्धनले समाजवादी आन्दोलनलाई टेवा नै पुर्याउछ कि थप कमजोर बनाउछ?
मिलनराज तुलाधर: यसलाई गठबन्धन भन्न मिल्दैन, किनकि यो कुनै औपचारिक गठबन्धन होइन। तीन पक्षबीच सम्पन्न भएको यो सम्मेलन ऐतिहासिक मानिनुको मूल कारण यही हो कि महाशक्ति राष्ट्रहरूबीच प्रत्यक्ष संवाद र सम्पर्कको ढोका खुलेको छ। मानिसहरूले यसलाई 'दोस्रो याल्टा' भनी चर्चा गर्नुको पछाडि पनि यिनै ठूला शक्तिहरूबीचको सम्बन्ध र संवाद पुनः जोडिनु नै हो।
उदाहरणका लागि, अमेरिकाले छेडेको भन्सार शुल्कको युद्धलाई नै लिन सकिन्छ। केही समयअघिसम्म अमेरिकाले चीनमाथि १४५ प्रतिशतसम्म भन्सार कर लगाउने कडा धम्की दिएको थियो, तर अहिले त्यो दर घटेर ४० देखि ५० प्रतिशतको हाराहारीमा झरिरहेको छ। यसको मुख्य कारण प्रत्येक औपचारिक वार्ताअघि सी चिनफिङ र ट्रम्पबीच पटक-पटक भएका संवादहरू हुन्। यसै वर्ष मात्र यस्तो भेटवार्ता तीन पटक भइसकेको छ। हरेक ठूला वार्ताअगाडि दुई देशबीच वाणिज्य र सम्बन्धबारे पूर्ववार्ता हुन्छ, किनकि सी चिनफिङले पनि कूटनीतिक मञ्चमा आफ्नो अडान र मर्यादा जोगाउनुपर्ने हुन्छ। पहिले नै ४५ प्रतिशतको भारी कर लादेर कसरी सार्थक वार्ता सम्भव हुन्छ? त्यसैले वार्ताअघि नै कर घटाउने, तत्काल नयाँ शुल्क नबढाउने र चीनमाथि थप भार नथपेर सहमति जुटाइन्छ, अनि मात्र औपचारिक वार्ता अघि बढ्छ।
यस्ता वार्ताहरूले महाशक्तिहरूमाथि शान्ति स्थापना गर्नुपर्ने एक प्रकारको नैतिक दबाब र बाध्यता पनि सिर्जना गर्छ। अब विश्वका विभिन्न क्षेत्रमा शान्तिका कदम चाल्नैपर्छ भन्ने बोझ उनीहरूले महसुस गर्न थालेका छन्, नत्र कूटनीतिक रूपमा कुन मुखले प्रस्तुत हुने भन्ने प्रश्न उठ्छ। आगामी डिसेम्बरमा मियामीमा अर्को जी-२० सम्मेलन हुँदैछ र त्यसपछि जनवरी वा फेब्रुअरीतिर चीनसँग भन्सार करसम्बन्धी अर्को चरणको चर्चा छ। ट्रम्पले त विश्वभर नै करको धम्की दिएका थिए—चीनलाई सबैभन्दा चर्को, अनि भारत र अरू देशलाई पनि—तर पछि उनी आफैँ ती कदमबाट पछि हटे। यसरी वार्ता र संवादमार्फत ठूला राष्ट्रहरूबीच आपसी सम्पर्क, सम्बन्ध र केही हदसम्म विश्वास तथा शान्तिको वातावरण बन्दा त्यसले विश्वव्यापी सन्तुलन र रणनीतिक स्थिरतालाई बल पुर्याउँछ।
यस्तो स्थिरताले साना राष्ट्रहरूलाई पनि प्रत्यक्ष लाभ दिन्छ। चीन र भारतबीच द्वन्द्व चर्कियो भने त्यसबाट हामीलाई कुनै फाइदा हुँदैन; त्यसैगरी अमेरिका र रुसबीच भिडन्त भयो भने पनि हाम्रो हित हुँदैन, बरु त्यसले सम्पूर्ण विश्व अर्थतन्त्रलाई नै गम्भीर धक्का पुर्याउँछ। यही विनाशकारी अवस्था नआओस् भन्नका लागि महाशक्तिहरूबीच शान्ति कायम हुनु सबैका लागि हितकर छ। यही सन्दर्भमा चीनमा भइरहेको समाजवादी विकास र आन्दोलनलाई आज संसारले नजिकबाट नियालिरहेको छ। शान्ति र समाजवादको दिशामा चीनले गरिरहेका प्रयासलाई विश्वभरिका समाजवादी र वामपन्थी शक्तिहरूले निकै आशाका साथ हेरेका छन्। चिनियाँ कम्युनिस्ट पार्टीको वर्तमान नीति स्थिर, टिकाउ र दीर्घकालीन दृष्टिकोणमा आधारित देखिन्छ। कसैलाई अनावश्यक रूपमा नउक्साउने र ठूलो टकराव निम्त्याउन नखोज्ने—न अमेरिकासँग अनावश्यक घर्षण गर्ने, रुससँग त सुमधुर सम्बन्ध छँदैछ, साथै भारत र विश्वभरकै देशहरूसँग सन्तुलित तथा सुमधुर सम्बन्ध बनाउँदै आफ्नो विकासलाई निरन्तर अघि बढाउने रणनीति उसले लिएको छ। चीनभित्रै पनि आर्थिक चुनौतीहरू होलान् र कतिपय विषयमा केही पछि हट्नुपर्ने अवस्था पनि आउला, तर निरन्तर अगाडि बढ्ने यो यात्रा हामी जस्ता विश्वभरिका समाजवादी शक्तिहरूका लागि सकारात्मक र उत्साहजनक नै छ भन्ने मलाई लाग्छ।
टंक कार्की: चिनियाँ सन्दर्भको कुराकानी गरिरहँदा चीनको वैचारिक तहको सुन्दरता मुख्यतः दुईवटा कुरामा निहित छ जस्तो मलाई लाग्छ। पहिलो, बदलिँदो वैश्विक व्यवस्थामा पनि हामी प्रभुत्वको खोजी गर्दैनौँ र आफूलाई एकल महाशक्ति वा प्रभुत्वशाली शक्तिका रूपमा विकास गर्दैनौँ भन्ने उनीहरूको प्रतिबद्धता निकै सुखद छ। दोस्रो, वैश्विक विकासका लाभहरूमाथि हामीले मात्रै एकाधिकार जमाउनुपर्छ भन्ने सोच नराखी उनीहरूले निरन्तर साझा विकास र साझा भविष्यको कुरा उठाइरहेका छन्। यही वैचारिक सौन्दर्यले हामी जस्ता ग्लोबल साउथका कमजोर र कम विकसित मुलुकहरूका निम्ति उज्यालो भविष्यको आशा सञ्चार गरिदिएको छ।
अब समाजवादकै ध्येयको सन्दर्भमा के हुन्छ भन्ने प्रश्नमा, हिजोका दिनमा तथाकथित मूल्यमान्यतामा आधारित लोकतन्त्र निर्यात गर्ने वा समाजवादलाई बाहिर फैलाउने जस्ता गतिविधिहरू अब दोहोरिँदैनन्। बरु सम्बन्धित मुलुककै जनताले आफ्नो माटो सुहाउँदो राजनीतिक बाटो आफैँ खोज्न थाले भने, र आफ्नै देशभित्र बहुसङ्ख्यक जनताको पक्षधरता लिँदै समाजवादी ध्येयबाट विकास गर्छौँ भन्ने शक्तिहरूले उपयुक्त कार्यदिशा, प्रणाली र संरचना निर्माण गरेर अघि बढे भने विश्वको यो अनुकूल वातावरण उनीहरूका निम्ति झनै लाभदायक बन्नेछ। विगतको एकध्रुवीय वा तथाकथित नियममा आधारित विश्वव्यवस्थाको आडमा लोकतन्त्रको नाममा यत्रतत्र सैन्य विद्रोह गराउने, सत्ता पल्टाउने र अझै पर जानै नपरी हालसालै बहालवाला राष्ट्रपतिलाई नै घाँटीमा समातेर घिसार्ने जस्ता हर्कतहरू भए, आगामी दिनमा यस्ता कार्यहरू निन्दनीय र त्याज्य बन्दै जानेछन्। हालैको शीर्ष बैठकमा भएका प्रतिबद्धताहरूको भित्री दिशा खोतल्ने हो भने 'अब हामी त्यस्ता अवाञ्छित हस्तक्षेप गर्दैनौँ' भन्ने अप्रत्यक्ष सन्देश पनि त्यसमा झल्किन्छ, जुन पक्कै पनि सकारात्मक पक्ष हो।
ठूला राष्ट्रहरूले साना देशमाथि जमाउने प्रभावको सन्दर्भमा पनि आज व्यापक परिवर्तन आइसकेको छ। हिजोअस्ति मात्रै पनि कतैकतै 'प्रभाव क्षेत्र' भित्रै बस्नुपर्छ भन्ने कोणबाट बहसहरू उठेका थिए, तर त्यो त उन्नाइसौँ र बिसौँ शताब्दीको शक्ति सन्तुलनको कुरा थियो। आजको परिवेशमा प्रभाव क्षेत्रको युग समाप्त भइसकेको छ र अब कोही पनि कसैको दबाब वा प्रभाव क्षेत्रभित्र कैद भएर बस्नुपर्ने बाध्यता क्रमशः घट्दै गएको छ। किनभने आज विश्वमा बहुध्रुवीय शक्तिहरूको उदय भइरहेको छ र केवल एउटै शक्तिलाई रिझाएर आजको दुनियाँमा अस्तित्व जोगाउन सम्भव छैन।
हाम्रा जस्ता साना, कमजोर र विकासशील मुलुकहरूका निम्ति एउटा कटु सत्य के पनि स्थापित भएको छ भने हामीले युक्रेनको जस्तो आत्मघाती र नकारात्मक बाटो रोज्नु हुँदैन। कुनै एउटै शक्तिपीठको पछि लागेर देशको भलो हुँदो रहेनछ भन्ने स्पष्ट भइसकेको छ। बरु आफ्नो तटस्थता, असंलग्नता र राष्ट्रिय हितप्रति दृढ रहँदै सबै छिमेकीहरूका जायज चासोहरूलाई सम्बोधन गरेर आफ्नो स्वतन्त्र र स्वाधीन अस्तित्व जोगाइराख्न हामी सदैव सजग बन्नुपर्छ। कसैको पुच्छर बनेर क्षणिक न्यानो त मिल्ला, तर त्यो दीर्घकालीन र टिकाउ हुँदो रहेनछ भन्ने तथ्यलाई युक्रेन घटनाले छर्लङ्ग पारिदिएको छ। समग्रमा, बदलिँदो यो विश्व परिवेश अप्रत्यक्ष रूपमा समाजवादी शक्तिहरूका निम्ति फाइदाजनक नै देखिन्छ, तर केवल 'समाजवादी' नामको बर्को ओढेर मात्रै कोही सफल हुन सक्दैन।
चन्द्र खाकी: तपाईं दुई जनाले अघि विश्व अब मल्टिपोलर (बहुध्रुवीय) व्यवस्थामा गयो भन्ने कुरामा सहमति जनाउनुभएको जस्तो लाग्यो। अब विश्व बहुध्रुवीय भइसकेपछिको विश्व व्यवस्थामा आर्थिक र भूराजनीतिक रूपमा विश्वले कस्तो गति लेला? साथै, अहिलेका टकराव वा तनावहरू मत्थर भएर जालान् कि नयाँ खालका टकरावहरू पैदा होलान्? यसबारे तपाईंहरूलाई कस्तो लाग्छ?
टंक कार्की: वैश्विक प्रमुख शक्तिहरूबीचको हानाथाप कम भएर स्थायित्व कायम हुन थालेसँगै आज युद्धजन्य क्षेत्रमा भइरहेको विशाल खर्च आगामी दिनहरूमा मानवीय उद्धार र कल्याणका क्षेत्रहरूमा रूपान्तरण हुनेछ भन्ने आशा गर्न सकिन्छ। यदि ती स्रोतहरू विनाशको सट्टा साझा मानवीय विकासमा उपयोगी हुने गरी परिचालन गरिए भने संसारले निकै ठूलो फड्को मार्न सक्छ। उदाहरणका लागि, असाध्य र दीर्घरोगहरूको निदान तथा उपचारको खोजीमा, अन्तरिक्षको अन्वेषण र उपयोग गर्ने कार्यमा अनि बिग्रँदो वातावरण तथा पर्यावरणको संरक्षणमा ती स्रोतहरू सदुपयोग हुन सक्छन्।

मिलनराज तुलाधर: यस क्षेत्रमा प्रतिस्पर्धा त अझै कायमै रहन्छ। उदाहरणका लागि, अहिले कृत्रिम बुद्धिमत्ता अर्थात् एआईको क्षेत्रमा चीन र अमेरिकाबीच कसले पहिले वर्चस्व कायम गर्ने भन्नेमा निकै ठूलो होडबाजी चलिरहेको छ र यो प्रतिस्पर्धा निरन्तर रहिरहनेछ। आज एआईलगायत प्रविधिका तमाम क्षेत्रहरूमा चीनले अमेरिकालाई उछिन्न खोजिरहेको छ, जुन कुरा लामो समयसम्म विश्व प्रविधिको शिखरमा एकछत्र राज गर्दै आएको अमेरिकालाई कदापि सह्य हुँदैन। प्रविधिको दुनियाँमा आफू पहिलो रहिरहने र चीनलाई अगाडि आउन नदिने अमेरिकी प्रयास कायमै रहनेछ।
यद्यपि, प्रविधिको ऐतिहासिक विकासक्रमलाई नियाल्दा यो निरन्तर अगाडि बढ्ने प्रक्रिया हो भन्ने स्पष्ट हुन्छ। हिजो बेलायतमा भएको पहिलो औद्योगिक क्रान्तिको समयको प्रविधि कसरी विकसित हुँदै यहाँसम्म आइपुग्यो भन्ने तथ्य हामीसामु छ। साधारण फोटोग्राफीकै उदाहरण हेर्ने हो भने पनि पहिले एउटा तस्बिर धुलाएर छाप्न कति कठिन हुन्थ्यो, तर हाम्रै जीवनकालमा आज सबै कुरा डिजिटल प्रविधिमा रूपान्तरण भइसकेको छ, र भोलि झन् नयाँ स्वरूपको प्रविधि आउँदैछ। एआईको आगमनसँगै यसले के-कस्ता काम गर्न सक्छ र यसको क्षमता कहाँसम्म पुग्छ भन्ने अथाह सम्भावना अहिले देखा परिरहेको छ। यही असीमित क्षमताले विश्वलाई कुन दिशातर्फ लैजान्छ भन्ने विषयमा महाशक्तिहरूबीच प्रतिस्पर्धा पक्कै जारी रहनेछ। अर्कोतर्फ, जलवायु सङ्कट अपरिवर्तनीय ढङ्गले झन्-झन् गहिरिँदै गइरहेको छ। यस्तो जटिल परिस्थितिमा विश्व शक्तिको रूपमा रहेको अमेरिकाले आफ्नो स्थान जोगाउन निकै हताश र आक्रामक प्रयास गरिरहेको देखिन्छ।
समग्रमा भन्नुपर्दा, महाशक्तिहरूबीच यस्ता संवाद र वार्ताहरू निरन्तर भइरहे भने उनीहरू बाध्य भएर पनि साना र उदाउँदा राष्ट्रहरूको अस्तित्वलाई स्वीकार्न पुग्नेछन्। यस संवादमा अहिले भारत सहभागी नभए पनि भारतको भूमिकालाई नकार्न सकिँदैन, र सँगसँगै अस्ट्रेलिया तथा ब्राजिल जस्ता अन्य उदीयमान मुलुकहरूलाई पनि ध्यानमा राख्नैपर्छ भन्ने बोध जागृत हुनेछ। जब विश्व व्यवस्थामा यस्ता सबै शक्तिहरूको आवाज समेटिन्छ, तब मात्र साँचो अर्थमा बहुध्रुवीय र सन्तुलित विश्वको निर्माण हुन्छ। अन्ततः यस्तो सन्तुलित विश्व व्यवस्थाले नै समग्र मानवजाति र सबै राष्ट्रहरूको हित गर्दछ।
टंक कार्की: प्रतिस्पर्धा त हुन्छ नै, र त्यो भिन्नताहरूले गर्दाखेरि नै हुने हो। तर मुख्य कुरा के हो भने, त्यो प्रतिस्पर्धा टकरावमा नजाओस्, बरु स्वस्थ प्रतिस्पर्धा बनोस्। अहिले स्वस्थ प्रतिस्पर्धा र टकरावको कुरा गर्दाखेरि, आगामी दिनमा त्यो टकराव चाहिँ मत्थर हुँदै जाला र स्वस्थ प्रतिस्पर्धाको मात्रा बढ्दै जाला। हामीले अपेक्षा गर्न सक्ने र प्रवर्द्धन गर्नुपर्ने कुरा पनि यही नै हो, किनकि हामीले ध्यान दिने भनेको मूल प्रवृत्तिलाई हेर्ने हो।
दरबारको मखमल त्यागेर क्रान्तिको भट्टीमा होमिएकी विद्रोही: अलेक्जान्ड्रा कोलोन्ताई…
विद्रोही आत्माहरू
क्रान्तिको रोमान्टिक स्वप्न र शासनको विडम्बना: वामपन्थी पराजयको वैचारिक अन्तर्य
वामपन्थले किन दक्षिणपन्थसँग आफ्नो आधार गुमाउँदै छ ? यसले फेरि कसरी आशा जगाउन…
वामपन्थको पुनरागमन : सम्भावना कति ?
प्रलय अहिले र त्यतिबेला
कसैलाई के कुराले मार्क्सवादी बनाउँछ?
प्रतिक्रिया