दरबारको मखमल त्यागेर क्रान्तिको भट्टीमा होमिएकी विद्रोही: अलेक्जान्ड्रा कोलोन्ताईको कथा
सन् १९१७ को अक्टोबर। रुसको पेत्रोग्राद (अहिलेको सेन्ट पिटर्सबर्ग) शहर चिसो सिरेटो र बारुदको गन्धले निसास्सिएको थियो। जारशाहीको शताब्दीयौँ पुरानो निरङ्कुश शासन ढल्दै थियो र बोल्सेभिक क्रान्तिको रापले सिङ्गो युरोप तताइरहेको थियो। त्यही ऐतिहासिक उथलपुथलको बीचमा एकजना महिला क्रान्तिकारीको नाम संसारभर गुञ्जियो- अलेक्जान्ड्रा कोलोन्ताई।
संसारका अधिकांश 'सभ्य' भनिने पश्चिमी लोकतान्त्रिक मुलुकहरूमा समेत महिलालाई भोट हाल्ने अधिकार नभएको तत्कालीन समयमा अलेक्जान्ड्रा कोलोन्ताई आधुनिक इतिहासकै पहिलो महिला मन्त्रिपरिषद् सदस्य (जनकमिसार) बन्न पुगिन्। तर कोलोन्ताईको कथा खालि एउटा राजनीतिक पदको प्राप्तिमा मात्रै सीमित छैन। यो त एउटा कुलीन रुसी जर्नेलकी पुल्पुलिएकी छोरीले कसरी आफ्नो सुनौलो पिँजडा भत्काएर कारखानाका मजदुर महिलाहरूको पसिनासँग आफ्नो जीवन जोडिन् भन्ने रोमाञ्चक, विद्रोही र साहसिक यात्राको कथा पनि हो।
संसारका अधिकांश 'सभ्य' भनिने पश्चिमी लोकतान्त्रिक मुलुकहरूमा समेत महिलालाई भोट हाल्ने अधिकार नभएको तत्कालीन समयमा अलेक्जान्ड्रा कोलोन्ताई आधुनिक इतिहासकै पहिलो महिला मन्त्रिपरिषद् सदस्य (जनकमिसार) बन्न पुगिन्।
सुनौलो पिँजडाभित्रको उकुसमुकुस: बाल्यकाल र कुलीन परिवेश
अलेक्जान्ड्रा मिखाइलोभ्ना दोमोन्तोभिच (पछि कोलोन्ताई) को जन्म सन् १८७२ मार्च ३१ मा सेन्ट पिटर्सबर्गको एक अत्यन्तै सम्पन्न र कुलीन परिवारमा भएको थियो। उनका पिता मिखाइल दोमोन्तोभिच जारशाही सेनाका प्रतिष्ठित जर्नेल थिए भने आमा अलेक्जान्ड्रा मासादिना फिनल्यान्डका एक धनाढ्य काठ व्यापारीकी छोरी थिइन्।
उनको बाल्यकाल राजसी वैभवमा बित्यो। सेन्ट पिटर्सबर्गको भव्य महल, सुसारेहरूको ताँती, फिनल्यान्डको हरियालीमा अवस्थित ग्रीष्मकालीन दरबार (कुउसा), र युरोपका विभिन्न भाषा र कलाको शिक्षा- समग्रमा उनलाई भौतिक सुखसुविधाको कुनै कमी थिएन। उनका बाबुआमा उनलाई तत्कालीन रुसी कुलीन समाजको नियमअनुसार एक सुशील, आज्ञाकारी र विलासी जीवन बिताउने युवती बनाउन चाहन्थे।
जब अलेक्जान्ड्राले ती गरिब बालबालिकाको फाटेको लुगा, भोकमरी र कष्टकर जीवन देखिन्, उनको बालसुलभ मनमा एउटा गहिरो प्रश्न उब्जियो: 'हामीसँग यति धेरै सुविधा र वैभव किन छ, र उनीहरूसँग खानलाई एक गाँस रोटी पनि किन छैन ?'
तर, सानैदेखि अलेक्जान्ड्राको स्वभाव फरक थियो। उनलाई दरबारको कृत्रिम चमकधमक र विलासिताभन्दा बाहिरको दुनियाँले तान्थ्यो। फिनल्यान्डको ग्रीष्मकालीन निवासमा जाँदा उनी नजिकैका किसान र मजदुरका छोराछोरीसँग खेल्थिन्। जब उनले ती गरिब बालबालिकाको फाटेको लुगा, भोकमरी र कष्टकर जीवन देखिन्, उनको बालसुलभ मनमा एउटा गहिरो प्रश्न उब्जियो: 'हामीसँग यति धेरै सुविधा र वैभव किन छ, र उनीहरूसँग खानलाई एक गाँस रोटी पनि किन छैन ?'
उनका बाबुआमाले उनलाई स्कुल पठाएनन् । त्यसो गर्नुको कारण चाहिँ त्यतिबेला रुसका सरकारी स्कुलहरूमा क्रान्तिकारी विचार फैलिन थालेको थियो र कुलीन वर्ग आफ्ना छोरीहरूलाई ती 'खतरनाक विचार' बाट जोगाउन चाहन्थ्यो। त्यसैले उनको पढाइ घरमै निजी शिक्षकहरूमार्फत् भयो। तर किताबका नियन्त्रित ज्ञानहरूले मात्र उनको जिज्ञासाहरुलाई रोक्न सकेनन्। इतिहास, साहित्य र दर्शनका किताबहरू पढ्दै जाँदा उनमा सामाजिक अन्यायप्रतिको विद्रोह झन् बलियो हुँदै गयो।
विवाहको बन्धन र विद्रोहको पहिलो पाइला
अलेक्जान्ड्रा किशोरावस्थामा प्रवेश गर्दै गर्दा उनका आमाबाबुले उनका लागि एकजना धनी र उच्च पदस्थ वर खोज्न थाले। तर अलेक्जान्ड्राले ती सबै प्रस्तावहरू अस्वीकार गरिन्। उनलाई धनसम्पत्ति र पदको लोभ थिएन। सन् १८९३ मा उनले आफ्नो परिवारको कडा विरोधका बाबजुद टाढाका नातेदार तथा एक सामान्य इन्जिनियर भ्लादिमिर कोलोन्ताईसँग २१ वर्षको उमेरमा प्रेम विवाह गरिन्।
भ्लादिमिरको आर्थिक अवस्था सामान्य थियो र उनका पितामाथि राजनीतिक शङ्काको घेरा पनि थियो। विवाहको सुरुवाती दिनहरू प्रेमपूर्ण थिए। सन् १८९४ मा उनीहरूको छोरा मिखाइलको जन्म भयो। बाहिरबाट हेर्दा अलेक्जान्ड्राको जीवन एक आदर्श पत्नी र आमाको जस्तो देखिन्थ्यो। तर भित्रभित्रै उनको आत्मा छटपटाइरहेको थियो।
विस्तारै अलेक्जान्ड्राले परिवार, भान्सा र घरधन्दाको साँघुरो घेरामा आफूलाई कैद भएको महसुस गर्न थालिन्। पछि उनले आफ्नो आत्मकथामा लेखेकी छिन्- 'मलाई मेरो श्रीमान्प्रति अथाह प्रेम थियो, तर एउटी 'आदर्श गृहिणी' को जीवन मेरो लागि निसास्सिँदो पिँजडा बनिसकेको थियो। म दुनियाँ बदल्न चाहन्थेँ, तर मलाई भाँडा माझ्ने र बच्चा हुर्काउने काममा मात्र सीमित राखिएको थियो।'
यसैबीच सन् १८९६ मा रुसको क्रेन्होल्म कपडा कारखानामा १२,००० मजदुरहरूले ऐतिहासिक हडताल गरे। अलेक्जान्ड्रा आफ्ना इन्जिनियर श्रीमान्सँग त्यो कारखानाको निरीक्षणमा गएकी थिइन्। त्यहाँ उनले कारखानाको अँध्यारो र निसास्सिँदो कोठामा १२-१४ घण्टा काम गर्ने महिला मजदुरहरूको दयनीय अवस्था प्रत्यक्ष देखिन्। भुइँमै सुतिरहेका भोका बालबालिका र रोगले थलिएका आमाहरूको दृश्यले उनको जीवनको दिशा सधैँका लागि बदलिदियो।
त्यही रात उनले निर्णय गरिन्- अब उनी एक पत्नी र आमा मात्र भएर बाँच्ने छैनन्। सन् १८९८ मा, २६ वर्षको उमेरमा, उनले आफ्नो प्रिय श्रीमान् र सानो छोरालाई आमाबाबुको जिम्मा लगाएर स्विट्जरल्यान्डको जुरिच विश्वविद्यालयमा अर्थशास्त्र र समाजशास्त्र अध्ययन गर्न जाने कठोर निर्णय लिइन्। समाज र परिवारको नजरमा यो एउटा 'अक्षम्य अपराध' थियो, तर अलेक्जान्ड्राका लागि यो आत्ममुक्तिको पहिलो कदम थियो।
मार्क्सवादको दीक्षा र निर्वासनको कठिन यात्रा
जुरिचमा रहँदा कोलोन्ताईले कार्ल मार्क्स, फ्रेडरिक एङ्गेल्स, रोजा लक्जेम्बर्ग र अगस्ट बेबेलका कृतिहरूको गहिरो अध्ययन गरिन्। उनी जर्मनी, इङ्ग्ल्यान्ड र फ्रान्सका समाजवादी आन्दोलनहरूसँग जोडिइन्। सन् १८९९ मा रुस फर्किएपछि उनी भूमिगत रूपमा सक्रिय 'रुसी सामाजिक लोकतान्त्रिक मजदुर पार्टी' (RSDLP) मा आबद्ध भइन्।
पुँजीवादी व्यवस्था कायम राखेर धनी महिलाहरूले भोट हाल्ने अधिकार पाउँदैमा मजदुर महिला मुक्त हुँदैनन्; र अर्कोतिर, वर्गसङ्घर्षको नाममा महिलाका विशिष्ट समस्याहरू (जस्तै: मातृत्व सुरक्षा, घरेलु श्रमको बोझ, र यौनिक तथा पारिवारिक स्वतन्त्रता) लाई बेवास्ता गरेर साँचो समाजवाद पनि आउन सक्दैन।
त्यतिबेला रुसको क्रान्तिकारी आन्दोलनमा 'महिला मुक्ति' को प्रश्नलाई प्रायः दोस्रो दर्जाको विषय मानिन्थ्यो। धेरै पुरुष क्रान्तिकारीहरू ठान्थे कि समाजवाद आएपछि महिलाका समस्या स्वतः समाधान हुनेछन्। अर्कोतिर, तत्कालीन मध्यमवर्गीय तथा कुलीन 'नारीवादी' (फेमिनिस्ट) महिलाहरू केवल भोट हाल्ने अधिकार र सम्पत्तिमा समान हकको कुरा गर्थे, तर कारखानामा पसिना बगाउने मजदुर महिलाहरूको शोषणप्रति मौन रहन्थे।
कोलोन्ताईले यी दुवै धारमाथि प्रहार गरिन्। उनले स्पष्ट पारिन्- पुँजीवादी व्यवस्था कायम राखेर धनी महिलाहरूले भोट हाल्ने अधिकार पाउँदैमा मजदुर महिला मुक्त हुँदैनन्; र अर्कोतिर, वर्गसङ्घर्षको नाममा महिलाका मातृत्व सुरक्षा, घरेलु श्रमको बोझ, र यौनिक तथा पारिवारिक स्वतन्त्रतालगायतका विशिष्ट समस्याहरूलाई बेवास्ता गरेर साँचो समाजवाद पनि आउन सक्दैन।
'रक्तपातपूर्ण आइतबार' का रुपमा चर्चित सन् १९०५ को रुसी क्रान्तिमा कोलोन्ताई अग्रमोर्चामा थिइन्। उनले मजदुर महिलाहरूलाई सङ्गठित गर्न थालिन्। सन् १९०८ मा जारशाही प्रहरीले उनलाई पक्राउ गर्ने वारेन्ट जारी गर्यो। पक्राउबाट जोगिन उनी रातारात रुस छोडेर युरोप निर्वासित भइन्।
सन् १९०८ देखि १९१७ सम्मको नौ वर्षको निर्वासन कोलोन्ताईको जीवनको सबैभन्दा सङ्घर्षपूर्ण तर बौद्धिक रूपमा उर्वर समय थियो। उनी जर्मनी, फ्रान्स, इङ्ग्ल्यान्ड, बेल्जियम, नर्वे, स्विडेन र अमेरिकासम्म पुगिन्। उनले पाँचवटा भाषामा धाराप्रवाह भाषण दिन्थिन्। युरोपका ठूला सभाहरूमा जब उनी बोल्थिन्, हजारौँ मजदुरहरू मन्त्रमुग्ध भएर सुन्थे।
सन् १९१४ मा पहिलो विश्वयुद्ध सुरु हुँदा युरोपका अधिकांश समाजवादी पार्टीहरूले आ-आफ्नो देशको सरकार र युद्धको समर्थन गरे। तर कोलोन्ताईले युद्धको कडा विरोध गरिन्। उनले युद्धलाई पुँजीपतिहरूको स्वार्थका लागि गरिब मजदुरहरूलाई एकअर्काविरुद्ध लडाउने षड्यन्त्रको संज्ञा दिइन्। यही युद्धविरोधी अडानका कारण उनी भ्लादिमिर लेनिन र बोल्सेभिक पार्टीसँग नजिक भइन्।
अक्टोबर क्रान्ति र विश्वको पहिलो महिला मन्त्री
सन् १९१७ को फेब्रुअरी क्रान्तिले जार निकोलस द्वितीयको शासन अन्त्य गरेपछि कोलोन्ताई तुरुन्तै रुस फर्किइन्। उनले अस्थायी सरकारको विरोध गर्दै सम्पूर्ण सत्ता मजदुर र किसानका सोभियतहरूलाई हस्तान्तरण गर्नुपर्ने आह्वान गरिएको लेनिनको चर्चित 'अप्रिल थेसिस' को समर्थन गरिन् ।
त्यतिबेलाको पेत्रोग्रादको वातावरण अत्यन्तै तनावपूर्ण थियो। कोलोन्ताई दिनरात खटिएर कारखानाका महिला मजदुर, सिपाहीका श्रीमती र धोबी महिलाहरूको हडतालको नेतृत्व गरिरहेकी थिइन्। अस्थायी सरकारले उनलाई 'जर्मन जासुस' को आरोप लगाएर जेल हाल्यो, तर मजदुरहरूको तीव्र दबाबपछि उनलाई रिहा गर्न बाध्य भयो।
यो विश्व इतिहासकै एक युगान्तकारी घटना थियो। उनी आधुनिक विश्वको कुनै पनि प्रमुख राष्ट्रको मन्त्रिपरिषद्मा पुग्ने पहिलो महिला थिइन्।
अन्ततः सन् १९१७ को अक्टोबर (नयाँ पात्रोअनुसार नोभेम्बर) मा बोल्सेभिक क्रान्ति सफल भयो। लेनिनको नेतृत्वमा नयाँ सोभियत सरकार गठन भयो। त्यस सरकारमा अलेक्जान्ड्रा कोलोन्ताईलाई पिपुल्स कमिसार फर सोसल वेलफेयर (सामाजिक कल्याण मन्त्री) नियुक्त गरियो।
यो विश्व इतिहासकै एक युगान्तकारी घटना थियो। उनी आधुनिक विश्वको कुनै पनि प्रमुख राष्ट्रको मन्त्रिपरिषद्मा पुग्ने पहिलो महिला थिइन्।
मन्त्रालय सम्हाल्नेबित्तिकै कोलोन्ताईले क्रान्तिकारी सुधारहरूको बाढी ल्याइन्। तर उनका सामु बाटो सजिलो थिएन। मन्त्रालयका पुराना कर्मचारीहरूले उनलाई असहयोग गरे, कार्यालयका साँचाहरू लुकाइदिए र काम ठप्प पारे। कोलोन्ताईले हिम्मत हारिनन्; उनले साधारण मजदुर र क्रान्तिकारी युवाहरूको सहयोगमा मन्त्रालय सञ्चालन गरिन्।
उनको नेतृत्वमा सोभियत सरकारले यस्ता कानुनहरू बनायो, जुन तत्कालीन युरोप र अमेरिकाका लागि कल्पनाबाहिरका थिए:
विवाह र सम्बन्धविच्छेदको स्वतन्त्रता: चर्चको एकाधिकार तोड्दै नागरिक विवाह (सिभिल म्यारिज) लागू गरियो। अब कुनै पनि महिला वा पुरुषले बिना कुनै झन्झटिलो अदालती प्रक्रिया सजिलै सम्बन्धविच्छेद गर्न सक्ने भए।
मातृत्व सुरक्षा: गर्भवती महिलालाई सुत्केरी हुनुअघि र पछि ८-८ हप्ताको तलबसहितको बिदा, निःशुल्क प्रसूति सेवा र शिशु स्याहार केन्द्रहरूको स्थापना गरियो।
समान ज्याला र सम्पत्ति अधिकार: समान कामका लागि महिला र पुरुषलाई समान ज्यालाको कानुनी ग्यारेन्टी गरियो, र वैवाहिक तथा अविवाहित आमाबाट जन्मिएका सन्तानबीचको कानुनी विभेद अन्त्य गरियो।
गर्भपतनको कानुनी मान्यता: सन् १९२० मा सोभियत रुस महिलालाई सुरक्षित र निःशुल्क गर्भपतनको कानुनी अधिकार दिने विश्वकै पहिलो देश बन्यो।
'झेनोत्देल' र भान्साको क्रान्ति
कागजमा कानुन लेख्दैमा महिला मुक्त हुँदैनन् भन्ने कुरा कोलोन्ताईलाई राम्ररी थाहा थियो । महिलाहरू भान्साको चुलोचौको र बालबच्चा हुर्काउने निजी झन्झटमा फँसिरहँदासम्म उनीहरूले राजनीति, शिक्षा र समाज निर्माणमा भाग लिन सक्दैनन् भन्ने कुरामा कोलोन्ताई प्रष्ट थिइन् ।
उनले चर्चित नारा दिइन्- 'महिला मुक्ति तब मात्र सम्भव छ, जब घरेलु श्रमलाई निजी घरको चार पर्खालबाट बाहिर निकालेर सामाजिक उत्पादनको हिस्सा बनाइन्छ।' यसको अर्थ थियो- सार्वजनिक भान्साघर (कम्युनल किचेन), सामूहिक धुलाइ केन्द्र (लन्ड्री) र आधुनिक शिशु स्याहार केन्द्र (क्रेच) हरूको निर्माण, ताकि महिलाहरूले घरको काममा आफ्नो सारा जीवन खेर फाल्नु नपरोस्।
झेनोत्देलले रुसका कुनाकाप्चामा गएर महिला जागरणको आँधी ल्यायो। विशेषगरी महिलाहरूलाई बुर्काभित्र कैद गरिएका तथा समाजमा बोल्ने अधिकार समेत नभएका मध्य एसियाका मुस्लिम बहुल क्षेत्रहरूमा झेनोत्देलका कार्यकर्ताहरूले ज्यानको बाजी लगाएर महिलाहरूलाई साक्षर बनाउने, सीप सिकाउने र आफ्ना अधिकारका लागि लड्न प्रेरित गर्ने काम गरे।
सन् १९१९ मा कोलोन्ताईले अर्की क्रान्तिकारी नेत्री इनेसा आर्माँसँग मिलेर कम्युनिस्ट पार्टीभित्र महिला विभाग-'झेनोत्देल' (Zhenotdel) को स्थापना गरिन्। इनेसाको असामयिक मृत्युपछि सन् १९२० मा कोलोन्ताईले यसको नेतृत्व सम्हालिन्।
झेनोत्देलले रुसका कुनाकाप्चामा गएर महिला जागरणको आँधी ल्यायो। विशेषगरी महिलाहरूलाई बुर्काभित्र कैद गरिएका तथा समाजमा बोल्ने अधिकार समेत नभएका मध्य एसियाका मुस्लिम बहुल क्षेत्रहरूमा झेनोत्देलका कार्यकर्ताहरूले ज्यानको बाजी लगाएर महिलाहरूलाई साक्षर बनाउने, सीप सिकाउने र आफ्ना अधिकारका लागि लड्न प्रेरित गर्ने काम गरे। कतिपय महिला कार्यकर्ताहरूको रूढिवादी पुरुषहरूद्वारा हत्या समेत भयो, तर कोलोन्ताईको नेतृत्वमा यो अभियान रोकिएन।
|
रुसी क्रान्तिमा महिलाहरूको भूमिका र 'झेनोत्देल' को ऐतिहासिक योगदान सन् १९१७ को रुसी क्रान्तिलाई पुरुष क्रान्तिकारी र सैन्य विद्रोहको कथाका रूपमा मात्र बुझ्दा त्यसको ऐतिहासिक यथार्थ अधुरो हुन्छ। जारशाही शासन ढाल्ने सुरुवाती झिल्को बाल्नेदेखि लिएर नयाँ सोभियत समाजको सामाजिक तथा पारिवारिक जग बसाल्ने कामसम्म महिलाहरूको भूमिका निर्णायक थियो। यही ऐतिहासिक पृष्ठभूमिमा अलेक्जान्ड्रा कोलोन्ताई र इनेसा आर्माँ (आर्मन्ड) को वैचारिक तथा सङ्गठनात्मक नेतृत्वमा स्थापित 'झेनोत्देल' ले महिलाहरूलाई घरको चार पर्खाल र पारम्परिक रूढिवादबाट बाहिर निकालेर सार्वजनिक जीवनमा जोड्ने अभूतपूर्व अभियान चलायो। सन् १९१७ को रुसी क्रान्तिमा महिलाहरूको भूमिका पहिलो विश्वयुद्धले रुसलाई आर्थिक र मानवीय रूपमा थला पारेको थियो। लाखौँ पुरुषहरू युद्धमोर्चामा खटिएका कारण सहरका कारखाना र गाउँका खेतबारीमा काम गर्ने मुख्य भार महिलाहरूमाथि आइपरेको थियो। खाद्यान्न अभाव, महँगी र युद्धको पीडाले सबैभन्दा पहिले मजदुर तथा किसान महिलाहरूलाई आक्रान्त बनाएको थियो। यही विद्रोही चेतनाको जगमा सन् १९१७ को फेब्रुअरी २३ (नयाँ पात्रोअनुसार मार्च ८) अर्थात् अन्तर्राष्ट्रिय नारी दिवसकै दिन पेत्रोग्राद (सेन्ट पिटर्सबर्ग) का कपडा कारखानाका महिला मजदुरहरूले 'रोटी र शान्ति' को नारासहित ऐतिहासिक हडताल र जुलुस सुरु गरे। केही क्रान्तिकारी नेताहरूले त्यो दिन सडकमा उत्रिन हच्किए पनि महिला मजदुरहरूले कारखानाका पुरुष कामदारहरूलाई समेत हडतालमा सामेल हुन आह्वान गरे, जुन प्रदर्शन क्रमशः विशाल जनविद्रोहमा बदलियो र केही दिनमै जार निकोलस द्वितीयको सत्ता पतन भयो। सन् १९१७ को फेब्रुअरी २३ (नयाँ पात्रोअनुसार मार्च ८) अर्थात् अन्तर्राष्ट्रिय नारी दिवसकै दिन पेत्रोग्राद (सेन्ट पिटर्सबर्ग) का कपडा कारखानाका महिला मजदुरहरूले 'रोटी र शान्ति' को नारासहित ऐतिहासिक हडताल र जुलुस सुरु गरे। केही क्रान्तिकारी नेताहरूले त्यो दिन सडकमा उत्रिन हच्किए पनि महिला मजदुरहरूले कारखानाका पुरुष कामदारहरूलाई समेत हडतालमा सामेल हुन आह्वान गरे आन्दोलनको यस क्रममा महिलाहरू केवल नाराबाजीमा मात्र सीमित रहेनन्। उनीहरूले कारखानाहरूमा मजदुर समितिहरू गठन गरे, हडताललाई निरन्तरता दिए र युद्धमा गएका सिपाहीका परिवारहरूलाई सङ्गठित गरेर राज्यको युद्ध नीतिविरुद्ध सशक्त आवाज उठाए। फेब्रुअरी क्रान्तिपछि बनेको अस्थायी सरकारले युद्ध जारी राख्ने र जनजीवनका आधारभूत समस्या समाधान गर्न ढिलाइ गरेपछि महिला मजदुरहरू अझ बढी सङ्गठित र जुझारु बन्दै गए। अलेक्जान्ड्रा कोलोन्ताई लगायतका महिला क्रान्तिकारीहरूले मजदुर, धोबी तथा घरेलु कामदार महिलाहरूलाई सोभियत सत्ताको पक्षमा उभ्याउन निर्णायक भूमिका खेले। फलस्वरूप, अक्टोबर क्रान्तिको सफलतापछि रुस महिलालाई मतदानको अधिकार दिने र कानुनी रूपमा समान नागरिकको हैसियत प्रदान गर्ने विश्वकै अग्रणी देशहरूमध्ये एक बन्न सफल भयो। 'झेनोत्देल' पृष्ठभूमि र स्थापना सन् १९१७ को अक्टोबर क्रान्तिलगत्तै कानुनमा महिला समानता लेखिए पनि समाजको व्यवहार, पितृसत्तात्मक सोच, अशिक्षा र घरेलु श्रमको बोझ रातारात हट्नेवाला थिएन। कतिपय पुरुष कम्युनिस्ट कार्यकर्ताहरू स्वयं पनि महिलाहरूलाई राजनीतिक रूपमा सक्षम मान्दैनथे वा उनीहरूका विशेष समस्यालाई 'गौण' ठान्थे। यही सामाजिक र वैचारिक चुनौती चिर्न तथा कानुनी समानतालाई व्यवहारमा उतार्न सन् १९१९ मा रुसी कम्युनिस्ट पार्टी (बोल्सेभिक) को केन्द्रीय समितिभित्र महिला विभागका रूपमा 'झेनोत्देल' (रुसी भाषाको 'झेन्स्की ओत्देल' को छोटो रूप) स्थापना गरियो। सुरुमा इनेसा आर्माँले यसको नेतृत्व गरिन् भने सन् १९२० मा उनको निधनपछि अलेक्जान्ड्रा कोलोन्ताईले यसको कमान सम्हालिन्। कोलोन्ताईको दृष्टिमा झेनोत्देल महिलाहरूलाई पार्टीबाट अलग्याउने संस्था थिएन, बरु मजदुर र किसान महिलाहरूलाई राजनीतिक चेतना, साक्षरता र आत्मविश्वास दिएर मूलधारको राजनीति तथा समाज निर्माणमा सहभागी गराउने एउटा सशक्त माध्यम थियो। झेनोत्देलका प्रमुख ऐतिहासिक योगदानहरू करिब एक दशक (सन् १९१९-१९३०) सक्रिय रहँदा झेनोत्देलले तत्कालीन रुस र मध्य एसियाको परम्परागत सामाजिक संरचनामा दूरगामी प्रभाव पारेको थियो। शिक्षित महिलाले मात्र आफ्ना कानुनी र राजनीतिक अधिकारको रक्षा गर्न सक्छिन् भन्ने वैचारिक मान्यतालाई केन्द्रमा राख्दै यसले लाखौँ निरक्षर मजदुर तथा किसान महिलाहरूलाई साक्षर बनाउन व्यापक कक्षाहरू सञ्चालन गर्यो। महिलाहरूलाई चुलोचौको र पारम्परिक घरायसी श्रमको साँघुरो घेराबाट मुक्त गर्न घरेलु श्रमको सामाजिकीकरणअन्तर्गत सामुदायिक भान्साघर, सामूहिक धुलाइ केन्द्र र शिशु स्याहार केन्द्रहरूको अवधारणा तथा स्थापनालाई संस्थागत रूपमै प्रोत्साहन दिइयो। झेनोत्देलको यात्रा सहज भने थिएन। रूढिवादी समाज, धार्मिक प्रतिरोध र कतिपय ठाउँमा स्थानीय पुरुषहरूको हिंसात्मक प्रतिकारसम्म झेनोत्देलका कार्यकर्ताहरूले सामना गर्नुपर्यो। पारिवारिक र प्रजनन अधिकारको क्षेत्रमा झेनोत्देलले विवाह, सम्बन्धविच्छेद, मातृत्व बिदा र सुरक्षित गर्भपतनसम्बन्धी प्रगतिशील कानुनी व्यवस्थाबारे महिलाहरूलाई सचेत गराउनुका साथै ती अधिकारहरूलाई व्यावहारिक जीवनमा स्थापित गर्न निर्णायक भूमिका खेल्यो। त्यस्तै, उज्बेकिस्तान, तुर्कमेनिस्तान लगायतका मध्य एसियाली समाजमा सांस्कृतिक रूपान्तरण ल्याउन पर्दा प्रथा, बालविवाह र बहुविवाहजस्ता कुरीतिविरुद्ध सशक्त अभियान चलाउँदै महिला क्लब र सहकारीमार्फत स्थानीय महिलाहरूलाई आर्थिक तथा सामाजिक आत्मनिर्भरताको बाटोमा अग्रसर गरायो। यसका अतिरिक्त, नीति निर्माण र राज्यसत्तामा महिलाको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्न स्थानीय सोभियत, कारखाना समिति र कम्युनिस्ट पार्टीका विभिन्न तहमा महिला सहभागिता विस्तारका निम्ति झेनोत्देलले निरन्तर प्रशिक्षण र सङ्गठनात्मक अभियानहरूसमेत सञ्चालन गरेको थियो। झेनोत्देलको यात्रा सहज भने थिएन। रूढिवादी समाज, धार्मिक प्रतिरोध र कतिपय ठाउँमा स्थानीय पुरुषहरूको हिंसात्मक प्रतिकारसम्म झेनोत्देलका कार्यकर्ताहरूले सामना गर्नुपर्यो। त्यस्तै, कोलोन्ताई र झेनोत्देलले उठाउने स्वायत्त महिला सङ्गठन र घरेलु श्रमको आमूल रूपान्तरणजस्ता एजेन्डाहरू पार्टीको केन्द्रीकृत सत्ता संरचनासँग कहिलेकाहीँ टकरावमा पर्थे। सन् १९२० को दशकको अन्त्यतिर जोसेफ स्टालिनको नेतृत्वमा सत्ता र नीति केन्द्रीकृत हुँदै जाँदा 'महिला प्रश्न' अब वर्गसङ्घर्ष र राज्य निर्माणसँगै स्वतः हल भइसकेको औपचारिक दाबी गरियो र अन्ततः सन् १९३० मा कम्युनिस्ट पार्टीले झेनोत्देललाई औपचारिक रूपमा विघटन गर्यो। संस्थागत आयु छोटो रहे तापनि झेनोत्देलको एक दशक लामो सक्रियताले महिलाहरूलाई इतिहासको निष्क्रिय दर्शकबाट सक्रिय राजनीतिक कर्तामा रूपान्तरण गर्दै विश्व महिला आन्दोलनको इतिहासमा अमिट छाप छोडेको छ। राज्यको संस्थागत पहलमार्फत घरेलु श्रमको सामाजिकीकरण, प्रजनन अधिकार र पितृसत्तात्मक संरचनाविरुद्ध सञ्चालन गरिएका झेनोत्देलका प्रयोगहरू आज पनि लैङ्गिक समानता र समाजवादी नारीवादी विमर्शका निम्ति महत्त्वपूर्ण ऐतिहासिक सन्दर्भका रूपमा रहेका छन्। |
'पखेटा भएको इरोस': प्रेम, विवाह र यौनिकतामा क्रान्तिकारी विचार
अलेक्जान्ड्रा कोलोन्ताईलाई केवल एक राजनीतिज्ञका रूपमा मात्र होइन, एक मौलिक नारीवादी दार्शनिकका रूपमा पनि चिनिन्छ। विशेषगरी प्रेम, यौनिकता र पारिवारिक सम्बन्धबारे उनका विचारहरूले तत्कालीन समाजमा ठूलै भूकम्प ल्याएका थिए।
उनका अनुसार आर्थिक निर्भरतामा टिकेको विवाह एक प्रकारको 'कानुनी वेश्यावृत्ति' जस्तै हो। जब महिला आर्थिक रूपले आत्मनिर्भर हुन्छिन्, तब मात्र उनले कसैसँग डर वा बाध्यताले होइन, साँचो प्रेमका आधारमा सम्बन्ध गाँस्न सक्छिन्।
पुँजीवादी समाजमा विवाहलाई प्रायः आर्थिक सुरक्षा र सम्पत्तिको लेनदेनको सम्झौताका रूपमा हेरिन्थ्यो। कोलोन्ताईले यसको कडा आलोचना गरिन्। उनका अनुसार आर्थिक निर्भरतामा टिकेको विवाह एक प्रकारको 'कानुनी वेश्यावृत्ति' जस्तै हो। जब महिला आर्थिक रूपले आत्मनिर्भर हुन्छिन्, तब मात्र उनले कसैसँग डर वा बाध्यताले होइन, साँचो प्रेमका आधारमा सम्बन्ध गाँस्न सक्छिन्।
सन् १९२३ मा प्रकाशित आफ्नो चर्चित निबन्ध 'मेक वे फर विङ्ड इरोस' (Make Way for Winged Eros) मा उनले प्रेमका दुई रूपको चर्चा गरेकी छिन्: १. पखेटा नभएको इरोस (Wingless Eros): जुन केवल शारीरिक आकर्षण, स्वामित्वको भावना र क्षणिक सुखमा सीमित हुन्छ। २. पखेटा भएको इरोस (Winged Eros): जुन समानता, आपसी सम्मान, बौद्धिक सहकार्य र भावनात्मक गहिराइमा आधारित हुन्छ।
कोलोन्ताईको भनाइमा समाजवादी समाजमा प्रेम दुई स्वतन्त्र र समान व्यक्तिहरूबीचको मित्रता र सहयात्रा हुनुपर्छ, जहाँ कसैले कसैमाथि मालिकको जस्तो अधिकार जमाउन नपाओस्। तर उनका विरोधीहरूले उनका यी गहिरा दार्शनिक विचारहरूलाई तोडमोड गर्दै उनलाई 'छाडा यौनिकता' (फ्री लभ) को प्रचारकका रूपमा बदनाम गर्ने प्रयास गरे। लेनिन स्वयं पनि कोलोन्ताईका यौनिकतासम्बन्धी केही विचारहरूप्रति असहमत थिए।
सत्तासँगको टकराव र 'मजदुर विपक्ष' (Workers' Opposition)
क्रान्तिपछिका वर्षहरूमा सोभियत सङ्घ गृहयुद्ध, भोकमरी र आर्थिक सङ्कटको चपेटामा पर्यो। देश जोगाउन भन्दै कम्युनिस्ट पार्टीभित्र शक्ति केन्द्रीकृत हुन थाल्यो र विस्तारै कर्मचारीतन्त्र (ब्युरोक्रेसी) हावी हुँदै गयो। कारखानाको व्यवस्थापनमा मजदुरहरूको प्रत्यक्ष नियन्त्रण घट्दै गयो र माथिबाट खटाइएका निर्देशकहरूको हुकुम चल्न थाल्यो।
कोलोन्ताईका लागि यो स्वीकार्य थिएन। उनले क्रान्ति जनतालाई मालिक बनाउनका लागि गरेकी थिइन्, नयाँ खालको कर्मचारीतन्त्रको दास बनाउन होइन। सन् १९२०-२१ तिर उनले अलेक्जान्डर श्ल्यापनिकोभसँग मिलेर पार्टीभित्र 'मजदुर विपक्ष' (Workers' Opposition) नामक गुटको नेतृत्व गरिन्।
उनले स्पष्ट शब्दमा चेतावनी दिइन्- 'मजदुर वर्गले आफैँले कारखाना र अर्थतन्त्रको सञ्चालन गर्दैन भने, समाजवाद केवल कागजमा सीमित हुनेछ र पार्टीमाथि कर्मचारीतन्त्रको कब्जा हुनेछ।'
उनले क्रान्ति जनतालाई मालिक बनाउनका लागि गरेकी थिइन्, नयाँ खालको कर्मचारीतन्त्रको दास बनाउन होइन। सन् १९२०-२१ तिर उनले अलेक्जान्डर श्ल्यापनिकोभसँग मिलेर पार्टीभित्र 'मजदुर विपक्ष' (Workers' Opposition) नामक गुटको नेतृत्व गरिन्।
सन् १९२१ को दसौँ पार्टी महाधिवेशनमा लेनिनले गुटबन्दीमाथि प्रतिबन्ध लगाउँदै मजदुर विपक्षका विचारहरूलाई 'अराजकतावादी विचलन' को संज्ञा दिए। कोलोन्ताईको राजनीतिक प्रभाव खुम्चिन थाल्यो। सन् १९२२ मा उनलाई झेनोत्देलको नेतृत्वबाट हटाइयो। अझ जोसेफ स्टालिनको उदयसँगै सोभियत राजनीतिमा असहमतिको स्वर दबाउने क्रम तीव्र हुँदै गयो।
कूटनीतिको नयाँ मोर्चा: विश्वको पहिलो महिला राजदूत
घरेलु राजनीतिमा किनारा लगाइएपछि कोलोन्ताईले लेनिनसँग आफूलाई विदेशमा कूटनीतिक जिम्मेवारी दिन अनुरोध गरिन्। सन् १९२२ मा उनलाई नर्वेमा सोभियत व्यापार प्रतिनिधि (र पछि राजदूत) बनाएर पठाइयो।
यससँगै अलेक्जान्ड्रा कोलोन्ताईले इतिहासमा अर्को कीर्तिमान रचिन्- उनी आधुनिक इतिहासकै पहिलो महिला राजदूत बनिन्।
त्यसपछिका दुई दशकभन्दा बढी समय उनले सोभियत कूटनीतिज्ञका रूपमा असाधारण भूमिका निर्वाह गरिन्:
नर्वे (१९२२-१९२६ र १९२७-१९३०): जब पश्चिमी पुँजीवादी देशहरूले भर्खरै बनेको सोभियत सङ्घलाई बहिष्कार गरिरहेका थिए, कोलोन्ताईले आफ्नो कूटनीतिक कौशल, भाषाको ज्ञान र व्यक्तित्वको प्रभावले नर्वेलाई सोभियत सङ्घसँग कूटनीतिक तथा व्यापारिक सम्बन्ध स्थापना गर्न राजी गराइन्।
मेक्सिको (१९२६-१९२७): उनी मेक्सिकोका लागि सोभियत राजदूत बनिन्। यद्यपि स्वास्थ्य समस्याका कारण उनी त्यहाँ धेरै समय बस्न सकिनन्, तर ल्याटिन अमेरिकामा सोभियत कूटनीतिको जग बसाल्न महत्त्वपूर्ण भूमिका खेलिन्।
स्विडेन (१९३०-१९४५): स्विडेनमा उनको १५ वर्षे कार्यकाल कूटनीतिक इतिहासकै स्वर्ण अध्याय मानिन्छ। दोस्रो विश्वयुद्धको कठिन समयमा तटस्थ देश स्विडेन युरोपेली राजनीतिको मुख्य केन्द्र थियो। सन् १९४० को 'विन्टर वार' र सन् १९४४ मा सोभियत सङ्घ र फिनल्यान्डबीच शान्ति सम्झौता गराउन कोलोन्ताईले निर्णायक मध्यस्थता गरिन्। फिनल्यान्डको सरकारसँग उनको पुरानो व्यक्तिगत चिनजान र विश्वासले सोभियत सङ्घलाई दोस्रो विश्वयुद्धको उत्तरी मोर्चामा ठूलो राहत दिलायो।
उनको यही अभूतपूर्व शान्ति प्रयासका कारण सन् १९४६ र १९४७ मा उनलाई नोबेल शान्ति पुरस्कारका लागि समेत मनोनयन गरिएको थियो।
स्टालिनको 'ग्रेट पर्ज' र एक्लोपनको पीडा
सन् १९३० को दशकमा सोभियत सङ्घमा जोसेफ स्टालिनको 'ग्रेट पर्ज' (भीषण शुद्धीकरण अभियान) चल्यो। सन् १९१७ को अक्टोबर क्रान्तिमा सँगै लडेका कोलोन्ताईका लगभग सबै पुराना सहयोद्धाहरू-उनका पूर्वसहकर्मी अलेक्जान्डर श्ल्यापनिकोभ, उनका पूर्वप्रेमी पावेल डिबेन्को, निकोलाई बुखारिन, लियोन ट्रोट्स्की-सबैलाई 'देशद्रोही' र 'विदेशी जासुस' को आरोपमा मृत्युदण्ड दिइयो वा निर्वासनमा मारिए।
हरेक रात उनलाई लाग्थ्यो कि भोलि बिहान मस्कोबाट उनलाई फिर्ता बोलाउने र पक्राउ गर्ने आदेश आउनेछ। उनी स्टालिनको शासनका भिन्नमतलाई निमट्यान्न पार्ने शैलीसँग भित्रभित्रै असहमत थिइन्, तर आफ्नो ज्यान जोगाउन र क्रान्तिको बाँकी रहेको अंश बचाउन उनी मौन रहन बाध्य भइन्।
कूटनीतिक मोर्चामा कोलोन्ताई जति सफल र सम्मानित थिइन्, भित्रभित्रै उनको मन त्यति नै विदीर्ण थियो। कोलोन्ताई स्वीडेनमा थिइन्। हरेक रात उनलाई लाग्थ्यो कि भोलि बिहान मस्कोबाट उनलाई फिर्ता बोलाउने र पक्राउ गर्ने आदेश आउनेछ। उनी स्टालिनको शासनका भिन्नमतलाई निमट्यान्न पार्ने शैलीसँग भित्रभित्रै असहमत थिइन्, तर आफ्नो ज्यान जोगाउन र क्रान्तिको बाँकी रहेको अंश बचाउन उनी मौन रहन बाध्य भइन्।
सन् १९३६ मा स्टालिन सरकारले गर्भपतनमाथि पुनः प्रतिबन्ध लगायो, सम्बन्धविच्छेदलाई कठिन बनायो र पारिवारिक मूल्यमान्यताका नाममा पुरानै रुढिवादी नीतिहरू फर्कायो। कोलोन्ताईले जुन अधिकारका लागि आफ्नो सारा जीवन समर्पित गरेकी थिइन्, ती अधिकारहरू आफ्नै आँखाअगाडि खोसिएको देख्नुपर्दा उनलाई असह्य पीडा भयो। तर उनले आफ्नो डायरीमा मात्र आफ्ना पीडा पोखिन्। सन् १९१७ को बोल्सेभिक केन्द्रीय समितिका सदस्यहरूमध्ये स्टालिनको शुद्धीकरणबाट बाँच्ने एकमात्र महिला कोलोन्ताई नै थिइन्।
अन्तिम दिनहरू र अमर विरासत
सन् १९४२ मा स्विडेनमा रहँदा उनलाई मस्तिष्कघात (स्ट्रोक) भयो, जसका कारण उनको शरीरको बायाँ भाग पक्षघातग्रस्त भयो। तर ह्वीलचेयरमा बसेरै पनि उनले सन् १९४४ को सोभियत-फिनल्यान्ड शान्ति वार्ताको सफल नेतृत्व गरिन्।
सन् १९४५ मा स्वास्थ्य अवस्था अत्यन्तै बिग्रिएपछि उनी मस्को फर्किइन्। जीवनका अन्तिम सात वर्ष उनले मस्कोको एउटा सानो अपार्टमेन्टमा ह्वीलचेयरमै बिताइन्। बाहिरबाट उनलाई सोभियत राज्यले 'लेनिन अर्डर' जस्ता ठूला सम्मान त दियो, तर वैचारिक रूपमा उनी एक्ली थिइन्।
सन् १९५२ मार्च ९ मा, आफ्नो ८०औँ जन्मदिनको ठीक तीन हप्ताअघि, हृदयघातका कारण अलेक्जान्ड्रा कोलोन्ताईको निधन भयो।
किन सान्दर्भिक छिन् कोलोन्ताई ?
अलेक्जान्ड्रा कोलोन्ताईको निधन भएको सात दशकभन्दा बढी भइसक्यो, र उनले निर्माण गर्न खोजेको सोभियत सङ्घ पनि इतिहासको पानामा विलीन भइसक्यो। तर, कोलोन्ताईले उठाएका प्रश्नहरू आज २१औँ शताब्दीमा पनि उत्तिकै जीवन्त र सान्दर्भिक छन्।
आज पनि संसारभरका महिलाहरू घरधन्दा र कार्यालयको दोहोरो बोझले थिचिएका छन्। आज पनि 'समान कामका लागि समान ज्याला' को लडाइँ जारी छ। आज पनि महिलाको प्रजनन अधिकार, शारीरिक स्वायत्तता र आर्थिक स्वतन्त्रतामाथि विभिन्न बहानामा प्रहार भइरहेका छन्।
कोलोन्ताईले महिला मुक्ति खालि कानुनको किताबमा लेखिने अक्षर होइन, यो त आर्थिक आत्मनिर्भरता, सामाजिक संरचनाको रूपान्तरण र मानवीय सम्बन्धको लोकतान्त्रीकरण हो भन्ने सिकाइन्।
कोलोन्ताईले महिला मुक्ति खालि कानुनको किताबमा लेखिने अक्षर होइन, यो त आर्थिक आत्मनिर्भरता, सामाजिक संरचनाको रूपान्तरण र मानवीय सम्बन्धको लोकतान्त्रीकरण हो भन्ने सिकाइन्।दरबारको मखमली ओछ्यान त्यागेर मजदुरको झुपडीमा समानताको ज्योति बाल्न हिँडेकी अलेक्जान्ड्रा कोलोन्ताई इतिहासकी फगत एक पात्र मात्र होइनन्-उनी हरेक युगका विद्रोही, स्वप्नदर्शी र स्वाभिमानी महिलाहरूका लागि एउटा कहिल्यै ननिभ्ने राँको हुन्।
|
'मेक वे फर विङ्ड इरोस' निबन्धमा प्रेम र सम्बन्ध
सन् १९२३ मा प्रकाशित अलेक्जान्ड्रा कोलोन्ताईको चर्चित निबन्ध 'मेक वे फर विङ्ड इरोस: अ लेटर टु वर्किङ युथ' (Make Way for Winged Eros: A Letter to Working Youth) प्रेम, यौनिकता र मानवीय सम्बन्धलाई वर्गसङ्घर्ष र नयाँ समाजवादी संस्कृतिको आँखाबाट हेर्ने एक मौलिक चिन्तन हो। कम्युनिस्ट युवाहरूलाई सम्बोधन गरिएको पत्रका रूपमा लेखिएको यस निबन्धमा कोलोन्ताईले प्रेमलाई केवल 'निजी भावना' वा 'व्यक्तिगत गोपनीयता' मात्र नमानी समाजको नैतिकता, ऊर्जा र सहकार्यसँग जोडिएको सामाजिक-मनोवैज्ञानिक पक्षका रूपमा प्रस्तुत गरेकी छिन्। उनको मुख्य सन्देश के हो भने क्रान्तिपछिको समाजमा प्रेमको स्वरूप पुरानो स्वामित्व र असमानताको ढाँचाबाट मुक्त भई समानता, पारस्परिक सम्मान र साझा लक्ष्यमा आधारित हुनुपर्छ। प्रेमलाई 'सामाजिक-मनोवैज्ञानिक कारक' मान्ने दृष्टिकोण कोलोन्ताईका अनुसार मानिसबीचको यौन र प्रेम सम्बन्ध कुनै शून्यमा चल्दैन; हरेक ऐतिहासिक युग र वर्गीय समाजले प्रेम र विवाहको आफ्नै नैतिक नियम बनाएको हुन्छ । उनको विचारमा पुरानो पुँजीवादी वा सामन्ती समाजमा सम्बन्धहरू प्रायः सम्पत्ति, पारिवारिक प्रतिष्ठा वा आर्थिक बाध्यतासँग जोडिएका हुन्थे, जहाँ महिलाको निर्भरता र पुरुषको स्वामित्व स्वाभाविक मानिन्थ्यो। तर क्रान्तिपछि पुराना सामाजिक बन्धनहरू खुकुलो हुँदै जाँदा युवाहरूमा प्रेम, निष्ठा, ईर्ष्या र सम्बन्धको स्थायित्वबारे अन्योल र द्विविधा उत्पन्न भएको कोलोन्ताई देख्छिन्। उनको भनाइमा यो अन्योल नैतिक पतन होइन, बरु पुरानो ढाँचा भत्किएर नयाँ ढाँचा बन्ने संक्रमणकालको स्वाभाविक रूप हो। 'पखेटा नभएको इरोस' र 'पखेटा भएको इरोस' बीचको फरक यस निबन्धको सबैभन्दा प्रभावशाली अवधारणा प्रेमका दुई रूपको विभाजन हो। ग्रिक प्रेमका देवता 'इरोस' को बिम्बलाई आधार मान्दै कोलोन्ताईले प्रेमलाई मुख्यतः दुई प्रकारमा छुट्याएकी छिन्। मुख्य जोडको दृष्टिले हेर्दा 'पखेटा नभएको इरोस' शारीरिक आकर्षण, इन्द्रियसुख र क्षणिक इच्छामा केन्द्रित रहन्छ भने 'पखेटा भएको इरोस' भावनात्मक गहिराइ, बौद्धिक निकटता, सद्भाव र आपसी सम्मानमा अडेको हुन्छ। सम्बन्धको स्वभावतर्फ नियाल्दा 'पखेटा नभएको इरोस' मा आधारित सम्बन्धमा प्रायः एकपक्षीयता वा 'मेरो मान्छे' भन्ने स्वामित्ववाद हाबी हुन्छ। यसको ठीक विपरीत, 'पखेटा भएको इरोस' ले दुई स्वतन्त्र र समान व्यक्तिबीचको सहयात्रा, मित्रता र ऐक्यबद्धतालाई बलियो बनाउँछ। ऊर्जा र प्रभावको सन्दर्भमा 'पखेटा नभएको इरोस' ले क्षणिक तृप्ति मात्र दिन्छ र कतिपय अवस्थामा मानसिक थकान, ईर्ष्या वा ऊर्जाको क्षय निम्त्याउन सक्छ; अर्कोतर्फ, 'पखेटा भएको इरोस' मानिसको सिर्जनशीलता, सहानुभूति र सामूहिक ऊर्जा अभिवृद्धि गर्न सहयोगी बन्छ। सहिष्णुता र मानवीय गरिमाको पक्षमा उभिँदै उनले सम्बन्ध टुट्दा वा बदलँदा एकअर्काप्रति अपमान, बदला वा घृणा होइन, बरु मानवीय मर्यादा र सहानुभूति कायम रहनुपर्छ भन्ने विचार अघि सारेकी छिन्। यही विभाजनको जगमा उभिएर कोलोन्ताईले प्रेम र सम्बन्धलाई स्वामित्वको खेलभन्दा माथि उठाउनुपर्ने तर्क गरेकी छिन्। अधिकार र स्वामित्वलाई अस्वीकार गर्दै उनले प्रेममा एकजनाले अर्कोलाई आफ्नो 'सम्पत्ति' वा 'अधीनस्थ' ठान्ने प्रवृत्तिले सम्बन्धलाई कमजोर र पीडादायी बनाउने औँल्याएकी छिन्, किनकि समानतामा आधारित सम्बन्धमा मात्र दुवै पक्षको व्यक्तित्व र स्वतन्त्रता सुरक्षित रहन्छ। परम्परागत सम्बन्धमा देखिने कडा ईर्ष्या र अधिकार जमाउने बानीलाई उनले पुरानो समाजको स्वामित्ववादी संस्कारको अवशेषका रूपमा हेरेकी छिन् र आपसी विश्वास तथा सम्मान बलियो हुँदा सम्बन्ध अझ परिपक्व बन्न सक्छ भन्ने धारणा राखेकी छिन्। अन्त्यमा, सहिष्णुता र मानवीय गरिमाको पक्षमा उभिँदै उनले सम्बन्ध टुट्दा वा बदलँदा एकअर्काप्रति अपमान, बदला वा घृणा होइन, बरु मानवीय मर्यादा र सहानुभूति कायम रहनुपर्छ भन्ने विचार अघि सारेकी छिन्। निबन्धको समकालीन महत्त्व कोलोन्ताईको यो निबन्धले प्रेम, यौनिकता र भावनात्मक सम्बन्धलाई पनि समानता, स्वायत्तता र नैतिक उत्तरदायित्वको कसीमा राखेर सोच्न प्रेरित गर्यो। आजको सन्दर्भमा पनि सम्बन्धमा भावनात्मक समानता, व्यक्तिको स्वतन्त्रता, र स्वामित्वभावभन्दा माथि उठेको साझेदारीबारे हुने संवादमा यस निबन्धका तर्कहरू सान्दर्भिक मानिन्छन्। साथै, कोलोन्ताईको जीवनकालमै उनका विचारको गलत अर्थ लगाउने वा सरलीकरण गर्ने प्रवृत्ति देखिएको थियो- कसैले यसलाई 'मनपरी सम्बन्धको छुट' का रूपमा बुझे भने कसैले कडा अनुशासनको नाममा भावनात्मक पक्षलाई नै दबाउन खोजे। तर कोलोन्ताईको मूल जोड भने अनुशासनहीनतामा होइन, स्वतन्त्र र समान व्यक्तिहरूबीचको गहिरो, सम्मानजनक र मानवीय सम्बन्धमा थियो। |
विद्रोही आत्माहरू
क्रान्तिको रोमान्टिक स्वप्न र शासनको विडम्बना: वामपन्थी पराजयको वैचारिक अन्तर्य
वामपन्थले किन दक्षिणपन्थसँग आफ्नो आधार गुमाउँदै छ ? यसले फेरि कसरी आशा जगाउन…
वामपन्थको पुनरागमन : सम्भावना कति ?
प्रलय अहिले र त्यतिबेला
कसैलाई के कुराले मार्क्सवादी बनाउँछ?
माकुरो र झिँगा

प्रतिक्रिया