इबोला संकट: अप्रिय सत्यहरू

 

डेन स्टेनबक

अमेरिकी आर्थिक सहयोगमा गरिएको कटौती र परिवर्तनशिल प्राथमिकताहरूले जोखिमपूर्ण क्षेत्रहरूमा निगरानी प्रणाली, प्रयोगशाला सहायता, आपतकालीन व्यवस्थापन र गैर-सरकारी संस्थाहरूको सञ्चालन लगायत विश्वव्यापी महामारी पूर्वतयारीका धेरै खम्बाहरूलाई कमजोर बनाएका छन्।

शनिबार, विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले पूर्वी कंगोको बुनिया शहरको भ्रमण गरे। इबोला प्रकोपको केन्द्रविन्दु मानिएको यस शहरमा भाइरस नियन्त्रणको प्रयासभन्दा तीव्र गतिमा फैलिरहेको छ।

यो संकट पूर्वी प्रजातान्त्रिक गणतन्त्र कंगोमा केन्द्रित छ, जसको असर युगान्डा लगायतका  छिमेकी मुलुकहरूमा पनि देखिन थालेको छ र यसले ती देशहरूमा चिन्ता बढाएको छ। द्वन्द्वग्रस्त क्षेत्रहरूमा निगरानी प्रणाली अपूर्ण भएकाले आधिकारिक तथ्याङ्कहरू अझै पनि अनिश्चित छन्।

पूर्ण रूपमा पहिचान हुनुअघि यो प्रकोप हप्तौंसम्म, वा सम्भवतः त्योभन्दा लामो समयसम्म, बिना कुनै पत्तो फैलिरह्यो। अधिकारीहरूले आक्रामक रूपमा कदम चाल्नुअघि नै संक्रमणको साङ्लो सीमापार, शरणार्थी आवतजावत गर्ने कोरिडोर र अनौपचारिक व्यापारिक सञ्जालहरूमा फैलिसकेको हुन सक्छ।

यो इबोला संकट किन फरक छ?

यसको मुख्य खतरा हाल देखिएका संक्रमितहरूको संख्यामा मात्र छैन, जुन संख्या कोभिड–१९ वा सन् २०१४-१६ को पश्चिम अफ्रिकी इबोला प्रकोपको तुलनामा धेरै कम छ।

ऐतिहासिक रूपमा हेर्दा, इबोलाको प्रकोप भौगोलिक रूपमा एकै ठाउँमा केन्द्रित रहने गरेको थियो। यो भाइरस अत्यधिक घातक भए तापनि, हावाबाट सर्ने श्वासप्रश्वास सम्बन्धी रोगहरूको तुलनामा यसको संक्रमण फैलिनु अलि गाह्रो मानिन्छ।

तर, वर्तमान संकट असामान्य रूपमा प्रतिकूल परिस्थितिहरूमा निम्तिएको छ: युद्ध, विस्थापन, तीव्र सहरीकरण, कमजोर जनस्वास्थ्य प्रणाली, अन्तर्राष्ट्रिय सहायता क्षमतामा आएको ह्रास र अधिकारीहरूप्रति बढ्दो अविश्वास। चिकित्सा क्षेत्रको परोपकारी संस्था 'मेडेसिन्स सान्स फ्रन्टियर्स' (Médecins Sans Frontières) ले चेतावनी दिँदै भनेको छ, "इबोला प्रकोप घोषणा भएको यति छोटो समयमै यसअघि कहिल्यै पनि यति धेरै संख्यामा संक्रमितहरू रेकर्ड गरिएका थिएनन्।"

पूर्वी कंगो महामारी नियन्त्रणका लागि विश्वकै सबैभन्दा कठिन वातावरणमध्ये एक हो। सशस्त्र मिलिसिया, जनसंख्याको विस्थापन र चिकित्सा सुविधाहरूमाथि हुने आक्रमणले संक्रमितको सम्पर्क पहिचान र आइसोलेसनका प्रयासहरूलाई कमजोर बनाउँछन्। यहाँ अनौपचारिक सीमानाकाहरू व्यापक छन्। स्वास्थ्य पूर्वाधारको तुलनामा सहरी क्षेत्रको विकास तीव्र गतिमा भएको छ। केही प्रभावित क्षेत्रहरूमा सरकार र विदेशी स्वास्थ्य हस्तक्षेपप्रति जनताको विश्वास अत्यन्तै कमजोर छ।

यसबाहेक, हालको प्रकोपमा इबोलाको 'बुन्डिबुग्यो' (Bundibugyo) प्रजाति देखिएको छ, जसका लागि विगतका प्रकोपहरूमा 'जायरे' प्रजातिविरुद्ध प्रयोग गरिएका जस्ता पूर्ण रूपमा प्रमाणित र अनुमतिप्राप्त खोपहरू उपलब्ध छैनन्। यसले गर्दा संक्रमण नियन्त्रणको कार्यलाई अझ बढी जटिल बनाएको छ।

सम्भावित संक्रमणका कडीहरू

वर्तमान प्रकोपको सबैभन्दा कम बुझिएको पक्षमध्ये एक तत्काल देखिने महामारी विज्ञान भन्दा बाहिरका संक्रमणका कडीहरूसँग सम्बन्धित छ। पहिलो, भौतिक संक्रमणको सञ्जाललाई हेरौँ: पूर्वी अफ्रिकाका यातायात कोरिडोरहरूले स्थानीय प्रकोपहरूरूलाई क्षेत्रीय र विश्वव्यापी गतिशीलता प्रणालीहरूसँग तीव्र रूपमा जोडिरहेका छन्।

काम्पाला, किगाली र नैरोबी जस्ता शहरहरू अब दुर्गम वा अलगिएका केन्द्रहरू रहेनन्। यी शहरहरू अफ्रिकालाई खाडी मुलुक, युरोप र एसियासँग जोड्ने अन्तर्राष्ट्रिय उड्डयन तथा व्यापार प्रवाहमा एकीकृत भइसकेका छन्।

दोस्रो, संस्थागत संक्रमणको प्रभाव: ऋणको बोझ, मुद्रास्फीति र महामारीपछिको शिथिलताका कारण पहिले नै कमजोर बनेका स्वास्थ्य प्रणालीहरू अर्को ठूलो धक्का सहन संघर्ष गरिरहेका छन्, विशेष गरी सब-सहारा अफ्रिकामा।

तेस्रो, मनोवैज्ञानिक र आर्थिक संक्रमण: यदि व्यापक रूपमा संक्रमण फैलिने डर बढ्यो भने वित्तीय बजार, पर्यटन प्रवाह, वस्तु निर्यात र लगानीको ढाँचाले सीमित प्रकोपप्रति पनि उग्र प्रतिक्रिया जनाउन सक्छन्। सन् २०१४-१६ को इबोला संकटले वास्तविक महामारीको आकार जत्रोसुकै भए पनि त्रास आफैंले कसरी गम्भीर आर्थिक क्षति पुऱ्याउन सक्छ भन्ने कुरा प्रमाणित गरिसकेको छ।

अन्तमा, भू-राजनीतिक संक्रमण: खण्डिकृत बहुध्रुवीय विश्वमा, विश्वव्यापी स्वास्थ्य संकटहरू रणनीतिक प्रतिस्पर्धा, प्रतिबन्ध, ऋण पुनर्संरचना र सुरक्षा चासोहरूसँग झन्-झन् जोडिँदै गएका छन्। महामारीहरू अब भू-राजनीतिभन्दा बाहिर रहँदैनन्; बरु यसले भू-राजनीतिलाई अझ बढावा दिन्छन्।

अमेरिकी सहायता कटौतीको प्रभाव

वर्तमान इबोला संकटको सबैभन्दा गम्भीर आयामहरूमध्ये एक हालका वर्षहरूमा अमेरिकी र पश्चिमी अन्तर्राष्ट्रिय स्वास्थ्य सहयोगमा आएको आंशिक कमी हो।

अमेरिकी आर्थिक सहयोगमा गरिएको कटौती र परिवर्तनशिल प्राथमिकताहरूले जोखिमपूर्ण क्षेत्रहरूमा निगरानी प्रणाली, प्रयोगशाला सहायता, आपतकालीन व्यवस्थापन र गैर-सरकारी संस्थाहरूको सञ्चालन लगायत विश्वव्यापी महामारी पूर्वतयारीका धेरै खम्बाहरूलाई कमजोर बनाएका छन्। जुन आकस्मिक ढंगले यी कटौतीहरू लागू गरिए, त्यसले नकारात्मक असरहरूलाई अझ थपेको छ।

कोभिड कालको वित्तीय दबाबपछि विकास सहायतामा आएको व्यापक गिरावटले यो समस्यालाई झन् बल्झाएको छ। व्यवहारमा, यसको अर्थ प्रकोपको ढिलो पहिचान, कमजोर स्थलगत अपरेसनहरू र ठीक त्यस्ता ठाउँहरूमा स्वास्थ्य सेवाको प्रतिरोधात्मक क्षमतामा ह्रास आउनु हो जहाँ प्रारम्भिक हस्तक्षेप सबैभन्दा बढी महत्त्वपूर्ण हुन्छ।

प्रतिरोधात्मक अन्तर्राष्ट्रिय स्वास्थ्य क्षमताको यो पछि हट्ने कदमले अन्ततः भविष्यमा अझ बढी खर्चिलो विश्वव्यापी आपतकालीन संकट निम्त्याउने सम्भावनालाई बढाउँछ।

इबोलाको मामलामा, ट्रम्प प्रशासनले जोखिमहरूलाई थप बढाउन भूमिका खेलिरहेको छ। यद्यपि अधिकांश देशहरूले यात्रा प्रतिबन्धका बारेमा विश्व स्वास्थ्य संगठनको सल्लाह पालना गरिरहेका छन्, अमेरिकाले भने यसलाई बेवास्ता गरिरहेको छ।

संक्रमणका परिदृश्यहरू

पहिलो र सबैभन्दा सम्भावित परिदृश्य भनेको एउटा गम्भीर तर क्षेत्रीय रूपमा मात्र सीमित रहने महामारी हो। यस प्रकोपले स्थानीय अर्थतन्त्र र स्वास्थ्य सेवा प्रणालीलाई तहसनहस बनाउँदै क्षेत्रीय रूपमा हजारौं वा दशौं हजार संक्रमितहरू निम्त्याउन सक्छ।

यस अवस्थामा, सघन अन्तर्राष्ट्रिय प्रतिक्रियाका प्रयासहरूले अन्ततः परम्परागत इबोला नियन्त्रणका उपायहरू: आइसोलेसन (अलगीकरण), संक्रमितको सम्पर्क पहिचान, सीमा अनुगमन र व्यवहारिक अनुकूलन मार्फत संक्रमणलाई स्थिर बनाउनेछन्। हालका लागि, यसलाई सबैभन्दा बढी सम्भावित परिदृश्य मानिएको छ।

दोस्रो परिदृश्यमा व्यापक बहुराष्ट्रिय अफ्रिकी महामारी समावेश छ। यदि कंगो, युगान्डा, रुवान्डा, केन्या, तान्जानिया र त्योभन्दा बाहिरका क्षेत्रहरू जोड्ने आवतजावतका कोरिडोरहरूमा संक्रमणले जरा गाड्यो भने यो परिदृश्य सम्भव देखिन्छ। शरणार्थीहरूको प्रवाह, खानी उत्खननका मार्गहरू र अनौपचारिक वाणिज्य सञ्जालहरूले यसलाई अझ व्यापक क्षेत्रीय रूपमा फैलिन मद्दत गर्न सक्छन्।

यस्तो भएमा, इबोला मुख्य रूपमा अफ्रिकी संकटको रूपमा मात्र रहनेछ, तर यसले ठूलो विश्वव्यापी आर्थिक, मानवीय र भू-राजनीतिक असरहरू निम्त्याउनेछ।

तेस्रो परिदृश्यएउटा वास्तविक विश्वव्यापी महामारीमा रूपान्तरण अझै पनि अपेक्षाकृत रूपमा असम्भव देखिन्छ, तर यसलाई अब पूर्ण रूपमा खारेज गर्न भने सकिँदैन। निरन्तर रूपमा अन्तर्राष्ट्रिय स्तरमा संक्रमण फैलिनका लागि ठूला शहरहरूमा भाइरस बारम्बार भित्रिनु पर्ने हुन्छ, साथै अस्पतालको नियन्त्रण प्रणाली असफल हुनुपर्छ र सम्भवतः भाइरस सजिलै सर्ने गरी अनुकूलित हुनुपर्छ।

हाल त्यस्तो अनुकूलनको कुनै प्रमाण फेला परेको छैन। तैपनि, लामो समयसम्म अनियन्त्रित रूपमा संक्रमण फैलिरहँदा भाइरसलाई उत्परिवर्तित हुने अवसरहरू मिल्छन् र यसले प्रणालीगत जोखिमलाई बढाउँछ।

क्षेत्रीय संकटदेखि विश्वव्यापी परीक्षासम्म

वर्तमान इबोला संकट कोभिड–१९ जस्तो विश्वव्यापी महामारीको खतरा बनेको छैन। जनस्वास्थ्य अधिकारीहरू आशा गर्छन् कि गम्भीर मानवीय परिणामहरूका बावजुद यो क्षेत्रीय रूपमै केन्द्रित रहनेछ।

इबोला संकटलाई यसको प्रारम्भिक स्थानीय चरणमै नियन्त्रण गर्न असफल हुनुले कोभिड–१९ महामारीका पाठहरू सिकिएको छैन भन्ने सङ्केत गर्छ। यसले गुमेका अवसरहरूको अर्को एउटा दुखद कथाको सङ्केत गर्दछ।

तथापि, आजको विश्व एक दशक अघिको तुलनामा संस्थागत रूपमा कम एकताबद्ध, राजनीतिक रूपमा कम सहयोगी र अन्तरदेशीय संकटहरूका लागि रणनीतिक रूपमा कम तयार छ। महामारीजन्य थकान, भू-राजनीतिक प्रतिद्वन्द्विता र वित्तीय कटौतीले प्रारम्भिक नियन्त्रणका लागि आवश्यक पर्ने संयन्त्रहरूलाई नै कमजोर बनाएका छन्।

संक्रामक रोग नियन्त्रणले एउटा सरल सिद्धान्त अनुसार काम गर्छ: प्रकोपहरूलाई सुरुवाती क्षेत्र मै रोक्न सबैभन्दा सस्तो पर्छ। एकपटक ती ठूला सहरी प्रणालीहरू र अन्तर्राष्ट्रिय आवतजावतका कोरिडोरहरूमा पुगेपछि, यसको लागत तीव्र गतिमा (exponentially) बढ्छ।

यो एउटा यस्तो सिद्धान्त हो जसलाई अन्तर्राष्ट्रिय समुदायले केवल आफ्नै जोखिममा मात्र बेवास्ता गर्न सक्छ।

Source: https://znetwork.org