सन्तान सपार्ने कोसिसः सन्तुलन कता बिग्रेको छ त ?

बाआमा आफ्ना सन्तानसँग डराउने अनि विद्यालय र शिक्षकहरु अभिभावकहरुसँग डराउने भएपछि के हुन्छ ? छोराछोरीको कमजोरीहरु बाआमा घरमा लुकाउने अनि विद्यार्थीको कमजोरीहरु शिक्षकहरु  र विद्यालयले लुकाउने गरेपछि के हुन्छ ? चालिस उकालो लागेका बाआमा चाहिँ नोकर जस्तो काम गर्ने अनि अठार मुनिका नाबालक सन्तानहरुले चाहिँ मालिक जस्तो घरमा शासन गरपछि के हुन्छ ?

आजका नयाँ पुस्ताका बाआमा, साँच्चैको बाआमा हुन् कि सन्तानका नोकर साथी हुन् ? सन्तान हुर्काउन जीवनयापनका  सामान्य सीप र काम पनि सिकाउन पर्छ कि राजारानी जस्तो पुजेर विद्युतीय यन्त्रमा ९० प्रतिशत र बाँकि किताबमा मात्र डुबाएर राखे हुन्छ ? हरेक  सन्तानले जीवनको तलाउमा पौडिन सिक्नु छ तर टाईसुट लगाएर, डिलमा बसेर, हातमा पुस्तक च्यापेर, तैरिने तरिकाको बारेमा कण्ठ गर्दै बसेर, सो सीप सिकिन्छ त ? आजका प्राय बाआमा र शिक्षकहरु पोखरी भित्र पसेका छन् तर विद्यार्थीहरु बाहिर डिलमा बसेर रमिता हेरिरहेका छन् । भविष्य के होला ?

भोजनमा अत्यधिक चिनी र नुनको मात्रा छ अनि अधिक उर्जाले शरिर भरिएको छ । त्यो उर्जाको सदुपयोग गर्ने ठाउँ नै छैन । घर बाहिर अर्का ठूला मेसिनहरुको डर छ । घरभित्र हातमा समाउने र कोट्याउने मेसिनहरुको भर छैन । बाहिरका मानिसहरुमा बिश्वास कम हुँदै गएको छ भने घर भित्रका मेसिनहरुले  परिवारका हरेक  सदस्यहरुको मानवीय भावनालाई बिस्तारै मार्दै गएको छ ।

छोराछोरीले चाहिँ बाआमाको र शिक्षकहरुको भावनालाई पनि पढ्न र बुझ्न कोसिस गर्न पर्छ कि पर्दैन ? यहाँ बाआमा चैँ छोराछोरी जस्ता र छोराछोरी चाहिँ बाआमा जस्ता बन्दै गइरहेका छन् । यस्ले नतिजा कस्तो निम्त्याउला ?

बाआमा आठ हैन, अठार घन्टा घोटिँदा पनि खर्चको दुलो टाल्न नपुग्ने बाध्यतामा धेरै छन् । छोराछोरीको भावना पढ्न र बुझेर सोही अनुसार गर्न अभिभावक भरमग्दुर कोसिस गरिरहेका छन् । स्कुलमा शिक्षकहरु र प्रशासन, हरेक विद्यार्थीको भावनाका साना ठूला ज्वारभाटाहरु फित्ता बोकेर नापिरहेका छन् अनि त्यसलाई सम्बोधन गर्न कोसिसरत छन् । तर छोराछोरीले चाहिँ बाआमाको र शिक्षकहरुको भावनालाई पनि पढ्न र बुझ्न कोसिस गर्न पर्छ कि पर्दैन ? यहाँ बाआमा चैँ छोराछोरी जस्ता र छोराछोरी चाहिँ बाआमा जस्ता बन्दै गइरहेका छन् । यस्ले नतिजा कस्तो निम्त्याउला ?

यस्ता अनेक प्रश्नै प्रश्नहरु उम्रिएका छन् । हरेक बाआमाले अब नयाँ तरिकाले स्वस्थ अनि सन्तुलित समाधान खोज्ने बेला आएको छ । यो आलेख यस्तै चिन्तनमा बगेको छ ।

१. माछा दिइरहने कि जाल बुन्न सिकाउने ?

आजका अभिभावकहरु हड्डी घोटेर पनि माछा दिइरहन अभ्यस्त भइसकेका छन् । सन्तानको माया भनेको नै माछा दिइरहनु  हो भनेर भ्रम पालेर बसेका छन् । तर यसले भोलिको जीवनको लागि बलियो बनाउनुको सट्टा झन् भन्दा झन् कमजोर र आश्रित हुने आदतको विकास बढी गरिरहेको छ । त्यो सन्तान जीवनको भार उठाउन नसक्ने गरि कमजोर बनिसकेको हुन्छ भने त्यो जीवनसमुन्द्रमा हामफाल्न नै डराउने भैसकेको हुन्छ ।

अनि कसरी ऊ सो पोखरीमा पछि एक्लै तैरेर बाँच्न सक्ला ? न त हातमा सिप छ, न त मुटुमा हिम्मत छ । लुगा लगाउन पर्‍यो, हामी कुदेर पुग्ने । खाने बेलामा खुवाउँदा, पोखिन्न र छिटो हुन्छ, भन्दै चम्चा लिएर मुखमा पुर्याउने । उनीहरुले गरेको फोहोरलाई सफा गर्न कहिल्यै नलाउने र आफैँ गरिदिने । कुनै पनि नयाँ सिप र सक्ने काम गर्नै नदिने ।  काम बिग्रेको र फेल भएको अनुभव गर्नै नदिने, हतार हतार बचाउन, सघाउन, उद्यार गर्न पुगिहाल्ने । उनीहरुलाई अघि सरेर आफैँ बोल्न नदिने र उत्तर आफैँले दिने । स–साना समस्याहरुको समाधान आफैँ खोज्न नदिने, कुदेर अघि सरेर समाधान गरिदिइहाल्ने । सानातिना घरायसी जिम्मेवारी ( ओछ्यान मिलाउने, कोठा सफा गर्ने, किताब मिलाउने, बोटबिरुवामा पानी हाल्ने आदि) फिटिक्कै नदिने । हरेक कुराहरुमा आफैँ छनौटको अवसर नदिने र निर्णय गर्ने सीपको विकास हुनै नदिने, गलत कार्यको परिणाम आफैँ भोग्न नदिने र जोगाउन कुदिहाल्ने । यस्ता कुराहरुमा आजका अभिभावकहरु पोख्त भैसके । नतिजा, बालबालिकाहरु झन् भन्दा झन् कमजोर बन्दै गइरहेका छन् ।

जीवन सजिलो र सहज बनाइदिन खोज्दा, भोलिको लागि कमजोर र आश्रित पुस्ता तयार हुँदैछ । यसरी सक्षम र हिम्मतिलो बनाउन सकिएला त ? सन्तुलन कतै बिग्रिइरहेको छ ।

सहयोग र नियन्त्रण चाहिने भन्दा बढी भयो तर समाधानको लागि तयारी भएन । बोक्ने काम धेरै भयो तर आफैँ हाड्न सिकाइएन । जीवन सजिलो र सहज बनाइदिन खोज्दा, भोलिको लागि कमजोर र आश्रित पुस्ता तयार हुँदैछ । यसरी सक्षम र हिम्मतिलो बनाउन सकिएला त ? सन्तुलन कतै बिग्रिइरहेको छ । स्कुल घरमा पनि अनि घरस्कुलमा पनि । 

२. अभिभावक बन्ने कि उनीहरुको नोकर ?

अठार वर्षमुनिका बालबालिकासँग घरमा बाआमा डराउने अनि स्कुलमा शिक्षकहरु र विद्यालय प्रशासन । अनि शिक्षकहरु पनि विद्यार्थी खुसी पार्न उनीहरुको यथार्थ र कमजोरीहरु लुकाउन थाल्ने, घरमा बाआमा पनि सन्तानको माया र खुसीको लागि भन्दै चुँइक्क बोल्नै र खुल्नै नसक्ने ।  दुवै तिर समस्याहरु बिरालोले आची लुकाएजस्तै लुकाउन थालेपछि के होला ? गाईले जस्तै चाटेर मात्र र उनीहरुको नोकर बनेर एक असल, कुशल र जीवनयुद्ध थेग्न सक्ने सन्तान तयार गर्न सकिएला त ?

स–साना भावनात्मक उतारचढाव हुँदा नै थेरापी र काउन्सलिङ्ग तिर कुदाएपछि जीवनबोझ पछि कसरी बोक्लान् ? यो पद्धती र प्रकृयामा नै शंका गर्ने समय आएको छ । घरमा उस्तै, अनि स्कुलमा त्यस्तै । बलियो बनाउन पर्नेमा यस्तो प्रकृयाले उल्टो असर पो पारिरहेको छ कि ? नकारात्मक र स–साना भावनाका सुनामीहरुलाई बिस्तारै र कुराकानीले समाधान गर्ने उपायले आजका बालबालिकालाई झन् झन् कोमल र आश्रित बनाउँदै लगेको देखिन्छ । धेरै कुरा गरेर र समयले नै पनि सिकाउँदैन र ? हरेक कुरामा सहयोगको हात अघि बढाउन आवश्यक हुन्छ र ?

नकारात्मक र स–साना भावनाका सुनामीहरुलाई बिस्तारै र कुराकानीले समाधान गर्ने उपायले आजका बालबालिकालाई झन् झन् कोमल र आश्रित बनाउँदै लगेको देखिन्छ । धेरै कुरा गरेर र समयले नै पनि सिकाउँदैन र ?

जीवनका अनिबार्य संघर्षहरुलाई झेल्ने र अगाडि बढ्नको लागि यो हरेक कुरामा थेरापी अगाडी सार्दाका समस्याहरु देखिइएका हुन् । हरेक मानिसको जीवन, मिनेट मिनेटका भावनाका उतार चढावहरुलाई आफैं सम्हाल्दै र सिक्दै जाने प्रकृया हो । यसका हरेक उवडखावडमा अरुले सिकाउने हैन । बोक्ने पनि हैन ।    अग्रजहरुले बाटो देखाउन पर्छ नै, तर सधैँ बोकेर कुद्न मिल्दैन । हामी जतै बोक्न कोसिस गर्दैछौं ।

अभिभावकले नाबालकहरुको लागि लक्ष्मणरेखा कोर्न सक्नैपर्छ । आजको छुच्चो हुनु र नियन्त्रणरेखा कोर्नु भोलिको सुरक्षा दिनु हो । स्वस्थ डर र प्रेमको सन्तुलन मिलाउनु हो । पुर्ण रुपमा निडर हुनु एक भयंकर जोखिम हो । सन्तुलन गुमाउनु हो । स्कुल, ज्ञान दिने ठाउँ हो तर सामान्य डर, चिन्ता र तनाबको उपचार गर्ने भावनात्मक मनोल्याब होइन । यसो गर्न थाल्नाले उपचार गर्ने डाक्टर भनाउँदा बाआमा, शिक्षक र विद्यालयले नै उल्टो हानी पुर्याइरहेका त छैनन् ?

बाआमा र शिक्षकहरु नोकर झैँ बनेर सेवा गर्नुमा असल नियत होला, सकारात्मक सोच होला तर नतिजा उल्टो निस्कनुले प्रकृयामा शंका पैदा गरेको छ ।

बाआमा र शिक्षकको भूमिका बाटो देखाउने हो, नेतृत्व गर्ने हो, हिँड्न सिकाउने हो तर उनीहरुको झोला सहित काँधमा सधैँ र सबै चिज बोकेर कुद्ने र कुदिरहने पक्कै होइन होला । आवश्यकता पर्दा मद्दत अवश्य गर्ने हो तर बलियो बनाउन आफैँ घिस्रन, हिड्न, गुड्न, उड्न दिनैपर्छ । आजका अभिभावक चाहिने भन्दा बढी गरेर सन्तुलन गुमाउँदै त छैनन् ?

३. के ब्यक्ति, संस्था, समाज, देश र प्रकृतिमा नियम हुन्न र ?

बालअधिकारको नाममा आजका अभिभावकहरु नर्सरी पढ्ने बालबालिकासँग छलफल गर्छन्, डराउँछन् । उनीहरुले मन नपराउलान् कि भनेर त्रसित छन् । बढी भन्दा बढी सुख दिने नाममा झन् भन्दा झन् कमजोर बनाउँदै त छैनौं हामी ? मानवअधिकारको नाममा दण्डहिनता र अराजकताको बिऊ रोपे जस्तो, समाजबादको नाममा तिनै सर्वहारा र गरिवहरुको नै नाम भजाएर सिमित छट्टुहरु टावर चढेजस्तो, लैङ्गिक समानताको नाममा घरको मुल्यमान्यता र संस्कार भताभुङ्ग पारेजस्तो, बालअधिकारको नाममा बालबालिकाहरुलाई अति स्वतन्त्रता दिएर हामी उनीहरुलाई झन् बिगार्दै त छैनौ ?

भावनात्मक सन्तुलन र निर्णय गर्ने उमेर र मानसिक विकास नभइसकेको समयमा ज्यादा अधिकार दिनु कस्तो समाधान होला ? अठार नपुगी नाबालक भइन्छ । बीस नपुगी बिहे गर्न मिल्दैन । पच्चिससम्म त निर्णय गर्ने क्षमताको विकास धेरैमा अझै विकास भइनै रहेको हुन्छ भनेर बिज्ञान र हाम्रो पुर्वीय शास्त्र भन्छ भने सही उमेर र परिपक्वता नभइ, अधिकार मात्र अधिक दिनु के घातक हुन्न ? सही  समय, सही सीप, सही क्षमता नभइकन दिइएको अधिकारले फाइदा कम  र हानी बढी गर्दैन र ?

आज हरेक घर कुनै मूल्यमान्यता, संस्कार र नियमविहीन बन्दै गइरहेका छन् । त्यसको असर हरेक स्कुल जाने बालबालिकामा छर्लङ्ग देख्न सकिन्छ ।

हरेक मानिसको ब्यक्तिगत मुल्य मान्यता र नियम हुन्छ । घरको पारिवारिक मुल्य मान्यता र संबिधान हुन्छ । टोल तथा समाजको पनि आफ्नै प्रकारको लिखित वा अलिखित नियम र कानुनहरु हुन्छन् । हरेक नगरपालिका वा गाउँपालिकामा पनि स्थानिय सरकारको आफ्नै ऐन नियम बनाइएका हुन्छन् । देश चलाउने त मुल संबिधान भित्र पनि अनेक ऐन कानुनहरु बनाइएका हुन्छन् । यसरी नै त ब्यक्तिदेखि घर, समाज, पालिका, प्रदेश  अनि देश चल्छ । तर आज हरेक घर कुनै मूल्यमान्यता, संस्कार र नियमविहीन बन्दै गइरहेका छन् । त्यसको असर हरेक स्कुल जाने बालबालिकामा छर्लङ्ग देख्न सकिन्छ ।

केही धनाड्य अनि सीमित ब्यक्तिहरुको मानिसहरु कज्याउने अनि मानसिक दास बनाउने सुत्र यहि बनेको छ । ‘रकफेलर एन्ड रोथचाइल्ड मेथड  अफ रुलिङ्ग द वल्ड’ भनेर यो अवधारणा निकै प्रख्यात छ । मानिसको भोजन बिगार्ने, भोजनमा अनेक रसायन घुसाएर शरिरको प्रणाली ध्वस्त पार्ने र रोगी बनाउने, बानी बिगार्ने, सोच्ने क्षमतालाई लंङ्गडो बनाइदिने, सामाजिक मुल्यमान्यता र जरुवा धर्मबाट बिमुख पारिदिने र समग्रमा यति यान्त्रिक बनाइदिने कि मानिसले आफ्नो मूलस्वभाव नै गुमाओस् । मानिसलाई यति सुख र सुबिधामुखी बनाइदिने कि उसले संघर्ष गर्न नै बिर्सियोस् । कमजोर बन्दै जाओस् । जति कमजोर बन्दै जान्छ, त्यति नियन्त्रण गर्न सजिलो हुन्छ । डरको खेती गर्न सजिलो हुन्छ । यो गर नत्र यो सुबिधा काटिदिन्छु भनेर धम्क्याउन सहज हुन्छ । समय यसरी नै अगाडि बढ्दैछ । हामीलाई पत्तै छैन । हरेक मानिस चाहेर वा नचाहेर पनि यो जालमा पस्नैपर्छ र  फँस्नैपर्ने बाध्यता आइलागेको छ ।

यसरी ब्यक्तिगत, पारिवारिक, सामाजिक, संस्थागतदेखि देशको नै मुल्य मान्यता र पहिचान हल्लाउँदा हल्लाउँदा गरेर थाङ्ग्थिलो पारेर जरा उखेलिदिएपछि सबै चिज नियन्त्रण गर्न सजिलो हुन्छ । हुँदै त्यस्तै छ । यसको असर हरेक घरमा परेको छ, बालबालिकामा परेको छ । अभिभावकमा परेको छ, सन्तानमा परेको छ ।  पुर्नजागरण आवश्यक छ ।

४. तुलनात्मक पिडाबोध वा आत्मसन्तुष्टिको सीपविकास

मानिस असन्तोकी प्राणी पक्कै हो तर यती धेरै असन्तोकी पनि बन्न भएन कि जीवनको अर्थ, भाव र अस्तित्व नै संकटमा परोस् । मानिसले आज बाँच्न नै बिर्सिदैगएको छ । एन्ड्रोएड सिस्टमको संगत धेरै गरेर होला, हरेक मानिस एक मिनी मेसिनमा बिस्तारै रुपान्तरण हुँदै गएको छ । प्रकृतिबाट र आफ्नो मानविय स्वभावबाट दुरी बढाउँदै गएको छ । बा आमा र छोराछोरीको बिचको भावनात्मक दुरी दिनानुदिन टाढा अनि झन् टाढा बन्दै गएको छ । श्रीमान् र श्रीमतीको बिचको भावनाको डोरी पातलिँदै गएको छ । शिक्षक र विद्यार्थी वा गुरु र शिष्य बिचको आत्मियता त्यान्द्रे बन्दै गएको छ । समग्रमा मानिस अब बिस्तारै मानिस कम र मेसिन बढी  बन्न थालेको छ । यसको असर जतै पर्न थालेको छ ।

भर्खरै कक्षा दशका पचास जना विद्यार्थीहरुको एक अध्ययन गर्दै थिएँ । उनीहरु मध्ये निकै जना छिमेकी साथीका बाआमाहरुको रबाफी जिवनशैलीको गहिरो शिकार बनिसकेका रहेछन् । उनीहरुलाई अरुसँगको तुलनात्मक पिडाबोधले भित्रभित्रै किचिरहेको रहेछ । सो तुलनात्मक तातोपानीले आफ्नो शरिरभित्रका सबै अवयवहरुलाई पिल्साइसकेको रहेछ ।  “म किन यो आमाको कोखमा नै जन्मिएको होला ! यो परिवारमा नै जन्म लिन परेको होला ! त्यो परिवारमा किन नजन्मिएको होला ? अथवा अमेरिका, अष्ट्रेलिया जस्तै धनी देशको धनी परिवारमा किन नजन्मिएको होला ?” जस्ता प्रश्नहरु धेरै जनाको विचारमा निरन्तर पलाएको देख्दा अचम्म लाग्यो । मिल्ने भए म बाआमा नै साट्ने थिएं झैँ भावना लिखित रुपमा भेटेपछि यो लेखकको दिमाग रन्थनियो ।

त्यस्तै अर्को एक समुहको बितृष्णा स्कुल र शिक्षकहरु प्रति यति धेरै छ कि उनीहरु समग्र सिकाई प्रकृया, विद्यालय र शिक्षकहरुलाई नै घृणा गर्दछन् । पुस्तकहरु प्रति उनीहरु रिस गर्छन् र विद्यालय आउनुलाई नै उनीहरु बेकामको समय बर्बादी ठानिरहेका छन् ।

अर्को समुह झन् छिटो भन्दा छिटो धनी बन्ने सुरमा छन् । बीसबर्ष अगावै कसरी अरबपती बन्न सकिएला भनेर सोचमग्न छन् । उनीहरुलाई असल, गुणवान, सीपवान, ज्ञानी र सभ्य मानिस बन्नु नै छैन, मात्रै जसरी पनि धनी बन्नु छ । अथाह देखेको भौतिक सुबिधाको सागरमा हामफालिहाल्नुछ । दौडिहाल्नुछ, पौडिहाल्नुछ । मिस्टर बिस्ट बनिहाल्नुछ, व्रिmष्टियानो रोनाल्डोको स्थानमा पुगिहाल्नुछ ।

एक समुहको बितृष्णा स्कुल र शिक्षकहरु प्रति यति धेरै छ कि उनीहरु समग्र सिकाइ प्रकृया, विद्यालय र शिक्षकहरुलाई नै घृणा गर्दछन् । पुस्तकहरु प्रति उनीहरु रिस गर्छन् र विद्यालय आउनुलाई नै उनीहरु बेकामको समय बर्बादी ठानिरहेका छन् ।

 पैसा, सुख, सुबिधा र शक्तिको मात्र भोको छ आजको मानिस । के यो सम्भव छ त ? के  यसरी सुखको अनुभुति गर्न सकिन्छ  त ? कृतज्ञता र आत्मसन्तुष्टिको सीप चाहिन्न र ? के मानिसको इच्छाको भोक पुर्णरुपमा मेटाउन सम्भव छ त ? भएको र पाएकोमा रमाउन सिक्न पर्दैन र ? भावनाको नियन्त्रण गर्ने सीप र कस्तो भाव भित्र जगाउने र जगाइरहने हो, सिक्न पर्दैन ? यो कस्ले र कसरी सिकाउने होला ? हरेक घरमा अनि स्कुलमा यो ज्यादै कमजोर बन्दै गइरहेको किन होला ? हाम्रा छोराछोरीहरुमा कस्तो सोच, संस्कार अनि विचार रुपान्तरण भइरहेको छ ? घरबाट अनि विद्यालयबाट उनीहरु के सिकिरहेकाछन् ? सन्तुलन जतै किन बिग्रँदैछ ?

५. सुबिधामुखी मानसिकता, शहरमोह वा गाउँशहर सन्तुलन ?

के काम नगरी बसेर खानु सुख हो ? के उत्पादन गर्नु कमसल काम र हरेक कुरामा परनिर्भर हुँदै किनेर खानु उच्चस्तरको काम हो ? थोरै संकट आइपर्‍यो भने समस्या शहरलाई पर्छ कि गाउँमा ? कोभिडको समयमा शहरलाई बढी सास्ती पर्‍यो कि गाउँलाई ? अझ दुई दिनको बिदा भएपछि नेपालीहरुको काम प्रतिको लगाव भन्दा मस्तीप्रतिको झुकाव बढी हुँदै गएको छ । केही नगर्नु सुख हो भन्ने पुरानो मान्यता हरेक घरमा ब्यापक छ । काममा डुब्ने र त्यसैमा रमाउने पद्धती हाम्रो अति न्युन नै छ ।

के ठूलो शहरमा मानिस बढी सुखी हुन्छन् त ? झन् परदेशमा मानिस भित्रबाट नै सुखी छन् त ? कसैले मनोभाव जाँच गरेको छ ? बोक्रो हेरेर भित्र बुझिन्न पक्कै ।

दश रोपनीको बारी र खेत बेचेर शहरमा तीन आना वा दश धुरको घर बनाएर सुखी हुनेहरुको भिड बढ्दैछ । किन होला ? अझ, नेपालमा बस्नु नालायकिपन हो र बिदेश पस्नु महान् काम हो भन्ने भाष्य प्राय स्थापित नै भइसकेको छ । किन होला ? के ठूलो शहरमा मानिस बढी सुखी हुन्छन् त ? झन् परदेशमा मानिस भित्रबाट नै सुखी छन् त ? कसैले मनोभाव जाँच गरेको छ ? बोक्रो हेरेर भित्र बुझिन्न पक्कै । सोधेर हेरौं त ? खोजेर हेरौं त ?

मानिस त भावनाहरुको कुइनेटाहरुमा र घुम्तीहरुमा रमाउने प्राणी हो । त्यसैले उसलाई साथी चाहिन्छ, आफन्त चाहिन्छ, समाज चाहिन्छ, खेल चाहिन्छ, आफ्नो र माया गर्ने, भावना बुझिदिने, नजिकमा साथ चाहिन्छ । घर चाहिन्छ अनि घर भित्र अनेकौं सामग्रीहरुसँगको भावनाको साइनो चाहिन्छ । वरिपरिको  वातावरण चाहिन्छ अनि समग्र मन गाँसिएको परिवेश चाहिन्छ । मानिस दश तलाको बन्दकोठामा कति दिन टिक्न सक्छ ? त्यसमा सर्वाङ्गिण सुबिधाका साधन भए पनि उसलाई थप अर्कै कुरा चाहिन्छ । सुखी हुन  र आनन्द लिन सक्ने बन्न । त्यो के होला ? अनि त्यस्तो सीप र गुण सन्तानलाई सिकाउने कसरी ? के हामी अभिभावकहरु त्यसको सिको गरेर, प्रयोग गरेर नयाँ सन्ततीलाई देखाउँदै छौ त ?

शहरले संघर्ष गर्न सिकाउँछ । समयको महत्व सिकाउँछ । आफ्नो काममा केन्द्रित हुन सिकाउँछ । गठबन्धन बनाएर सहकार्य गर्न सिकाउँछ । जोखिम मोल्न सिकाउँछ । एक्लै बोल्न र समस्या झेल्न सिकाउँछ । तर शहरका भावनात्मक कमजोरी अनेक छन् । शहरमा हरेक जन, मानिस कम र मेसिन बढी हुन्छ, बन्छ । अब यो बेलामा आनन्द खोज्न गाउँ छिर्न सक्नुपर्छ । शहर छोड्न र गाउँसँग भावना जोड्न सक्नुपर्छ । शहरमा सिकेको सीप र ज्ञानको प्रयोग गाउँमा गरेर उत्पादन गर्दै, शहरलाई खुवाउन जान्नुपर्छ  । समग्रमा, शहर र गाउँको सन्तुलन मिलाउन सके सर्वोत्तम हुन्छ । आजका बालबालिकालाई यो तत्वज्ञान र भाव सिकाउन जरुरी भइसकेको छ । सिकाउने कसरी ? असार पन्ध्रको दिनमा गमलामा धानको दुई त्यान्द्रा गाड्न सिकाएर धान फलाउने जनशक्ति निस्केला ? मेरो पुस्ता जसले धान खेती देखेर र काम गरेर आएको भए पनि सबै बिर्सिइसक्यो भने नयाँको हाल के होला ?

एकजना पसले दिदी भन्दै हुनुहुन्थ्यो कि  यो बोराको चामल केही महिना नआए हुन्थ्यो । पेट्रोलको खडेरी जस्तै चामलको खडेरी केही महिना भइदिने हो भने मेरो खेत छेउका छिमेकीहरु खेत बाँझो राख्दैनथे कि ! दिदीको विचार यस्तो आउनु सामान्य हो । उनको मन खेत बाँझो भएको देखेर कुँडिएको हो । एक घन्टाको दुरीमा राजधानी छ, हरेक दिन मानिस आउँछन् अनि जान्छन् तर सो खेतमा एक घन्टा काम गर्दैनन् । दिदीको गुनासो थियो । दशौं बर्ष भयो यस्तै रहेको र भएको । के को कमि हो ? हामीले के सिकाउँदै छौं ? के देखाउँदै छौ ?

असार पन्ध्रको दिनमा गमलामा धानको दुई त्यान्द्रा गाड्न सिकाएर धान फलाउने जनशक्ति निस्केला ? मेरो पुस्ता जसले धान खेती देखेर र काम गरेर आएको भए पनि सबै बिर्सिइसक्यो भने नयाँको हाल के होला ?

शहर खान मात्र खोज्छ । मिठोमिठो खान खोज्छ तर उत्पादनको काम पटक्कै गर्दैन । आफुलाई सुखी ठान्छ । सफा ठान्छ । सभ्य ठान्छ । हो त ? गाउँ फोहोरी होला । अज्ञानी होला । कम सभ्य होला तर उत्पादन गर्छ, मिहिनेत गर्छ, आफुपनि खान्छ अनि शहरलाई पनि खुवाउँछ । यो गाउँ र शहरको सन्तुलन मिलेन भने के होला ? हाम्रो  ज्ञान कता चुकिरहेको छ त ? खोज्ने बेला आएको छ ।

६. कठिन समयले बलियो बनाउँछ र सजिलो समयले कमजोर ।

फलेको वृक्ष झुक्छ, निहुरिन्छ । असल मानिस नम्र हुन्छ । कठोरता, दरिद्रता हो । अहंकार, पतनको बाटो हो ।  बोलिमा, ब्यबहारमा र काममा सबैतिर इमान्दारिता र नम्रता, सफलताको र सुखको कुञ्जी हो । जरुवा मुल हो । सुनले जति धेरै आगो झेल्छ, त्यति नरम र नम्बरी सुन बन्छ । हिरा, चरम राप र तापको उपज हो । आजको सहजता र सजिलो समयले, कमजोर मानिसहरुको उत्पादन गरिरहेको भान हुन्छ । गरिरहेको छ । भावनामा कमजोर भएपछि बाँकी अरु सबैकुरामा कमजोर स्वत भैहाल्छ ।

बिश्वब्यापिकरण र पश्चिमा संस्कृति र प्रबिधिको भ्रमपुर्ण जञ्जालमा बृद्धदेखि बालकसम्म सबै फँसिसकेको अवस्था छ । हरेक कुराको समाधान तुरुन्तै खोज्ने बानीले गर्दा बालबालिकाहरुमा पनि धैर्यता र सहनशिलता घट्दै गइरहेको छ । यसको असर हरेक घरमा र स्कुलहरुमा देखिन थालेको छ । कामको अनुभव लगभग शुन्य जस्तै छ । काम गर्नु पर्दा नोकर बने जस्तै गरेपछि कसरी कामको आदत बस्छ ?

कमजोरी कोट्याउन नै नखोज्ने र लुकाउन थालेपछि समाधान कसरी निस्कन्छ । समाधान सजिलो बाटोबाट मिल्दैन । पसिना बगाउनै पर्छ, राप र ताप सहनैपर्छ । काम गर्नैपर्छ । तर खोई ?

हरेक बाआमाको आम्दानीको एक ठूलो हिस्सा सन्तानको शिक्षामा लगानी भइरहेको छ तर उपलब्धि न्युन छ । शिक्षाले भित्रैदेखि बलियो बनाउँदैन, कामले र अनुभवले मात्र बनाउँछ । काममा राप र ताप हुन्छ तर स्कुलमा र पुस्तकमा पाइँदैन । प्राय: स्कुलहरुमा त विद्यार्थी खुसी पार्ने धन्दा मात्र चलिरहेको भान हुन्छ । झुक्याउने खेल खेलिन्छ त्यहाँ । कमजोरी कोट्याउन नै नखोज्ने र लुकाउन थालेपछि समाधान कसरी निस्कन्छ । समाधान सजिलो बाटोबाट मिल्दैन । पसिना बगाउनै पर्छ, राप र ताप सहनैपर्छ । काम गर्नैपर्छ । तर खोई ? सन्तान सपार्ने धेरैको सपना, मात्र सपना हुनेवाला छ ।

यो सजिलो समय, कमजोरीको समय हो । सधैँ सुख हुनु भनेको विकराल अवस्था नजिकिँदैछ भनेर बुझ्नु हो । मौसम एकनास रहन्न र समय सधैँ उस्तै हुन्न । सोच्ने बेला आएको छ । सही समाधान बेलैमा खोज्ने वेला आएको छ । 

७. बाआमाको बाध्यता र सन्तानको बेवास्ता

आजका हरेक बाआमा समयसँग जुधिरहेका छन् । आम्दानी जहिल्यै पनि कम देखिने र खर्चको पहाड उक्लनै नसक्ने छ । जति कमाएर थैलीमा हालेपनि, आजका हरेक थैलीमा प्वाल नै प्वालहरु छन् । चुहिएर सकिइहाल्छ । कुन मानिसको थैलीमा कसरी प्वाल पार्ने भनेर बिभिन्न प्रकारका बस्तु तथा सेवाका उद्योगहरु हात धोएर लागिपरेका छन् । जताततै तानातानको अवस्था छ । एउटाको थैलीबाट अर्कोले तान्छ अनि उसको थैली फेरी अर्कोले हान्छ । यो मुसादौडको अन्त्य कतै छैन । कतै भेटिन्न ।

यो आजको समयका हरेक जीवनहरुको मुसादौड हो । परिवारजनका मुखमा माड हाल्ने र सक्दो जोहो गर्न खोज्नेको । अन्न भेलापार्ने बेलामा मुसाले नौ स्वास्नीहरु बनाउँछ रे भन्ने दन्त्यकथा आमाले सुनाएको याद आउँछ । मिल्ने हो भने अहिले हरेक मानिस आफैँलाई सय फोटोकपी गरिदिन्थ्यो होला । अथवा हुने भए पुरुषले बीस श्रीमतीको जोहो गरिसक्थ्यो होला अनि महिलाले पचास श्रीमानहरुलाई चलायमान गराउँथे होला ।

समग्रमा, हरेक घरमा बाआमा जतै र कठिन बाध्यता छन् । तर सो कुरा सुख पाएका सन्तानले मुस्किलले बुझिदिएका छन् । उनीहरुको आफ्नै मस्ती छ । सोच छ । मोज छ । उनीहरु शोक न सुर्ता भोक न भकारी अवस्थामा बिन्दास छन् । बाआमाले बुझाउन र लगाउन नसकेको किन ? उनीहरुले बुझ्न नखोजेको किन ?

हरेक घरमा बाआमा जतै र कठिन बाध्यता छन् । तर सो कुरा सुख पाएका सन्तानले मुस्किलले बुझिदिएका छन् । उनीहरुको आफ्नै मस्ती छ । सोच छ । मोज छ ।

जब मानिसको जीवनमा मेसिनहरुको सामिप्यता बढी हुँदै गयो तव मानिस, मानिस कम रह्यो अनि मेसिन बढी बन्दै गयो । संगत अनुसारको सोच र संगत अनुसारको कर्म र फल भनेको यहि होला । भावना बिस्तारै मर्दै गएपछि मानिस मेसिन नबनेर के बन्छ त ? अहिले मलाई यो एआई र सबै मेसिनहरुसँग डर लाग्न थालिसकेको छ । यिनीहरुले मलाई, म हुन दिइरहेका छैनन् । म भित्रको म लाई अरु कसैले नियन्त्रण गरिरहेको छ । हामीले हाम्रो अस्तित्व र स्वतन्त्रता गुमाउँदै गएका छौँ । अहिले न बाआमा, बाआमा जस्ता छन् अनि न सन्तान, सन्तान जस्ता छन् । सबैले  आफुभित्रको गुण र स्वभाव गुमाउँदै गएका छन् । अनि यस्तो समयमा विद्यालय र शिक्षकहरुले के गर्न सक्लान् र ? आशा हराउँदै गएको छ । कम हुँदै गएको छ ।

नेपालको सन्दर्भमा हेर्ने हो भने अहिले हरेक सन्तान विद्यालय जाँदैछ आउँदैछ । बा¥ह कक्षा पासको खोस्टो लिनको लागि मात्र । उसलाई सो सकेर जति सक्दो छिटो बाआमा त्याग्नु छ, घर छोड्नु छ, समाजबाट सक्दो टाढा लाग्नु छ, अनि देशबाट निकै टाढा भाग्नु छ । किन ? उसमा थोरै पनि भावना जिवित रहेको भए उसले अर्कै सोच्ने थियो । अनि आफु बाहेक वरिपरि अरुलाई पनि खोज्ने थियो । तर अरुकुरा उसको लागि कुनै महत्वका छैनन् । अरु सबैमा उसको वेवास्ताको पट्टि लागिसकेको छ । त्यसैले आज हरेक बाआमाले पनि आफैँभित्र आफुलाई खोज्ने समय आएको छ । आफैँलाई चिन्ने र समयको  ठोकाई र ठेलाईलाई पनि उछिन्ने बेला आएको छ । तर कसरी ?

८. स्कुल– समय कटाउने ठाउँ र खुसी बनाउने उद्योग

आजका सामुदायिक विद्यालयहरु गरिवगुरुवाहरुका छोराछोरीहरुको दिउँसो  भेला हुने अड्डा जस्तो भएको छ । सत्य तितो होला तर यथार्थ हो । भर्खरै एक सामुदायिक विद्यालयमा कक्षा नौ र दशका विद्यार्थीहरुको सानो अध्ययन गरेको, चकित परें । एक घन्टाको लेखकका आफ्ना अनुभव र ज्ञान सुनाएपछि एक खोज गर्दा, आधा भन्दा बढी विद्यार्थी अनाथ र टुहुरा जस्ता पाइए । बाआमा जिउँदै छन् तर सन्तान टुहुरा जस्ता छन् । मन मडारियो, दिमाग बटारियो ।

कोही कसैको घरमा बसेर पढ्दैछन् त कोही मामाघर वा हजुरबा हजुरआमासँग बसेर जीवनगाडी गुडाउन कोसिस गर्दैछन् । उनीहरुलाई के अभिभावकत्व ! के मनोबिज्ञान ! मेरो त्रिकोणात्मक सोच र सिद्धान्त त्यहि फेल भयो । बालबालिका, अभिभावक र घर अनि स्कुल र शिक्षकहरुको त्रिकोणात्मक समन्वय मिल्यो भने सन्तान सपार्न सजिलो र छिटो हुन्छ भन्ने मान्यता फेल भयो । त्यहाँ मैले त्यो बालकलाई नै विद्यार्थी, उसैलाई बा, उसैलाई आमा, उसैलाई शिक्षक, उसैलाई प्राचार्य, उसैलाई नगरको मेयर र उसैलाई प्रधानमन्त्री बनाउनुपर्ने बाध्यता देखें । अनि त्यसको उपायहरु खोज्न थाल्दैछु । अर्को बिकल्प नै छैन ।

बाआमा सन्तान खुसी पार्न लागिपरेका छन् । भनेको कुरा भुँइमा झर्न नपाइकन पुर्‍याइदिन्छन् । आफ्ना दुख लुकाउँछन्, धनी र सुखी भएको बोक्रो बाहिर देखाउँछन् ।

निकै संस्थागत विद्यालयहरुमा पनि उस्तै हालत छ । अभिभावक र सन्तानहरु एउटै छानामुनि बस्छन्, सँगै खान्छन् तर भावनाको डोरी पुरै पातलो र झिँनो भइसकेको छ । चुँडिन मात्र बाँकि छ । बाआमा लाचार छन् अनि सन्तान पुरै बेवास्तामा अनि बिन्दासमा । भएको चाहिँ के हो ? बुझ्नै कठिन । यसको असर स्कुलमा देख्न सकिन्छ । बाआमा सन्तान खुसी पार्न लागिपरेका छन् । भनेको कुरा भुँइमा झर्न नपाइकन पुर्‍याइदिन्छन् । आफ्ना दुख लुकाउँछन्, धनी र सुखी भएको बोक्रो बाहिर देखाउँछन् ।

शिक्षकहरुलाई पनि छुचो हुनै छैन अनि उनीहरु पनि विद्यार्थी खुसी पार्न लागिपरेका छन् । उनीहरुलाई पनि अरुका सन्तान सुधार्नु कम छ, अनि समय कटाउनु बढी छ । केही गर्छु भन्ने भाव अति थोरैमा मात्र छ । संस्थागत विद्यालयका सञ्चालकहरुलाई अभिभावक खुसी पार्नु नै छ । सक्दो धेरै भन्दा धेरै फी लिनु नै छ । छुचो किन हुने ? ब्यबसाय चलाउनु पनि छ ।

विद्यार्थीको कमजोरीहरु खोतल्नु र कोट्याउनु बेकार छ । कोट्याएपछि थप काम गर्नुपर्छ, सुधार्नुपर्छ । त्यसैको लागि धेरै पैसा लिएको हुन्छ, पुरै जिम्मा दिइएको हुन्छ । अभिभावकले पनि सबै कुरामा सुम्पिएको हुन्छ । आफु नसकेर नजानेर अनि स्कुललाई बिश्वास गरेर । अब, स्कुल विद्यार्थीको समग्र चेकजाँच गर्न पछि हट्छ, नजानेर वा नचाहेर । उसका कमजोरीहरु लुकाउन खोज्छ । घरबाट पाउनुपर्ने आउनुपर्ने सहयोग लगभग शुन्य जस्तै हुन्छ । स्कुलले र शिक्षकहरुले गरुन् पनि के के ? अनि त्यो बालक दिनैपिच्छे स्कुल आउँछ, समय कटाउँछ अनि घर जान्छ । एवंरितले ऊ कक्षा चढ्दैजान्छ र उमेरमा बढ्दैजान्छ । फेल बनाउँन पाईदैन वा हँुदैन र उसले स्कुल सक्छ । बिना सिप, बिना आवश्यक गुण, बिना न्युनतम ज्ञान अनि अनुभव !

अचम्म लाग्छ । यसरी कसरी होला ? त्यो विद्यार्थीको जोडबल ज्ञानी र असल मानिस हुनुमा पटक्कै छैन । उसको सम्पुर्ण ध्येय छिटोछिटो धन कमाउनुमा छ । जमाउनुमा छ, देखाउनुमा छ, रमाउनुमा छ । न सेवाको भाव छ, न ध्यानको भाव छ । ऊ कसरी खुसी बन्ला अनि सुखी होला ? सुख त त्याग हो । सुख सीप हो । कला हो । त्यो बस्तु होइन । स्कुलमा सिक्दैन, आफैंले देख्दैन, परिवारको सुन्दैन । तव के होला ?

९. समाज – देखासिखी र आडम्बरको अड्डा

हाम्रा सन्तानहरुले धेरै कुरा समाजबाट सिक्छन् । छिमेकबाट सिक्छन् । आफन्तहरुबाट सिक्छन् । आफ्नो वरिपरिको वातावरणमा जस्तो देख्छन् त्यस्तै सिक्छन् । रसियन शिक्षाबिद् भाइगस्त्की त्यसै भन्छन् । तर आजको समाज, भित्र कुहिएर फतक्क भएपनि बाहिर अत्तर छर्किने छ । दुखको महासागर आफुभित्र लुकाएर, बाहिर खुसीको प्रकाश फेसबुकमा छरिरहेको छ । एक आपसमा को ठूलो र कस्को राम्रो भन्ने तुलतात्मक रसायनले हरेक घरको टाउको भरिसकेको छ । कस्ले कति कमायो, कस्ले कत्रो घर बनायो, कस्ले कस्तो लुगा लगायो, को कता कता घुम्न गयो, कस्ले कस्तो र कति दामको गाडी चढ्यो भन्ने कुराहरुको छलफल घनिभुत हुन्छ । आज कस्ले कति पढ्यो, को असल मानिस हो, कस्ले कस्तो असल कर्म गरिरहेको छ सँग मतलब पटक्कै छैन । समाज र सोच यसरी नै अघि बढ्दैछ । हाम्रा सन्तानहरुले त्यस्तै सुन्दैछन् र सिक्दैछन् ।

फिजिक्समा एमएस्सी गरेर कलेज पढाउनु भन्दा वडाध्यक्ष बन्नु बढी फाइदाजनक देखिन थालेपछि के होला ? समाजको हावा कता बग्दै छ त ? त्यो हावाले हाम्रा सन्तानहरुलाई कता लग्दै छ त ?

पढेर के काम ? पढेर समय बर्बादी गर्नुभन्दा बेलैमा काम सिक्न र कमाउन सिक्न पर्छ भन्ने मान्यता बलियो बन्दै गएको छ । तुलनात्मक रुपमा हेर्ने हो भने धेरै समय स्कुल, कलेज र युनिभर्सिटीमा बिताएका मानिसहरु भन्दा कम पढेका तर बेलैमा काममा होमिएका मानिसहरु बढी धनी र सफल भएको उदाहरणहरु प्रशस्तै भेटिन्छन् पनि । प्रबिधिमा पनि सामाजिक सञ्जालहरुले मानिसलाई बढी तुलना गराउने र आडम्बर देखाउने थलो सहज बनाइदिएको छ । फिजिक्समा एमएस्सी गरेर कलेज पढाउनु भन्दा वडाध्यक्ष बन्नु बढी फाइदाजनक देखिन थालेपछि के होला ? समाजको हावा कता बग्दै छ त ? त्यो हावाले हाम्रा सन्तानहरुलाई कता लग्दै छ त ? सन्तुलन न अभिभावकको हातमा छ, न त विद्यालय र शिक्षकहरुको ! अलिअलि समातेको डोरी पनि बिस्तारै फुस्कँदै छ ।

१०. देश– हिम्मतिला तर गोटी र मुर्खहरुको तरमार्ने भाँडो

हरेक विद्यार्थीले सिक्ने अलिकति  फराकिलो र ठूलो स्कुल देश हो । देशको नियम, कानुन, मुल्य, मान्यता र नीतिहरुको समग्र प्रभाव हरेक घर, समाज र ब्यक्तिमा परिनैहाल्छ । घर चलाउन हरेक बाआमालाई धौ धौ परिहेको हुन्छ भने एक गतिलो संस्था, नगर, प्रदेश वा देश नै चलाउन त निकै गतिलो दिमाग चाहिन्छ नै । धेरै चिजहरुको सन्तुलन मिलाएर लैजान सक्नुपर्छ, जान्नुपर्छ ।

मालिकहरुको स्वार्थको लागि काम गर्नु परेपछि ती विद्वान स्वाँठहरुबाट के गतिलो बन्ला र ?

तर बिडम्बना, देश चलाउन पुग्ने मानिसहरुको जमात हेर्ने हो भने प्राय मुर्ख हिम्मतीहरु त्यहाँ पुगेको देखिन्छ । अर्को, कसैका हली वा गोटीहरु नै सत्ताको सिंढी उक्लिन सफल भएको भेटिन्छ । मालिकहरुको स्वार्थको लागि काम गर्नु परेपछि ती विद्वान स्वाँठहरुबाट के गतिलो बन्ला र ?

हाम्रो देशमा त्यस्तै हुँदै आएको छ । जति नै बुढा गोरुहरुको सट्टामा नयाँ र बहर गोरुहरु आए पनि गोटीको काम गर्न थाले भने नतिजा उस्तै भैहाल्छ । चलाउने हात र हल्लाउने टाउको अन्तै भएपछि जति सक्षम लिडरहरुको गुदीको कुनै महत्व रहन्न । हाम्रोमा प्राय यस्तै हुँदैआएको  छ । हरेक स्कुलका बालबालिकाहरु प्रबिधिको सहजताले त्यस्तै देखिरहन्छन् र आफ्नो अवधारणा बनाउँदै जान्छन् । अन्तमा, यहाँ केही नहुनेरहेछ भन्ने भाष्यमा पुुग्छन् र बाआमा, घर र देश छोड्न हतारिन्छन् ।

राजनीति अल्पकालिन हुनु  नै यसको बिडम्बना हो । फेरी मौका आउला नआउला अहिले नै हो कमाउने र जमाउने भन्ने भाव सबैमा पलाउँदो होला । त्यसैले डाडुपन्यु आफ्नो हातमा भएको बेलामा बाक्लो छालिमा र्‍याल काढिहाल्छन् र चोरीऔलाले छाली सोर्न ढिलाई गर्दैनन् । गाउँघरमा एक कथन छ, कि ढाँटले गर्छ, कि आँटले गर्छ । हाम्रा देश चलाउने प्राय मानिसहरु यी दुवै गुणहरुले भरिपुर्णहरु मात्र पुगेपछि हालत के होला ? देश चलाउने र आफुलाई शासन गर्नेहरु त्यस्ता देखेपछि हाम्रा सन्तानहरुले के सोच्लान् र के सिक्लान् ?

निष्कर्ष

सन्तान सपार्न मूलतः दुई चिजको सन्तुलन चाहिन्छ । प्रसस्त समय । प्रशस्त पैसा । अनि ती दुवैलाई सही तरिकाले सदुपयोग गर्ने सीप र ज्ञान ।

प्रशस्त समय दिन कोसिस गर्‍यो, पैसाले पुग्दैन । पैसा जुटाउन थाल्यो, समय घर्किसक्छ । सन्तान आफ्नो हातको परिधि नाघेर बाहिर निस्किसक्छन् । बाआमाको कम र अरुको कुरो बढी सुुन्छन् । धेरैको हालत यस्तै छ । ज्ञान हुनेसँग श्रोत साधन छैन, हुनेसँग के र कसरी गर्ने ढंग छैन । धेरै विचार र प्रकृया बिरोधाभाषमा चल्छ ।

इच्छाशक्ति भयो भने ज्ञान आज  हरेक औंलाको टुप्पामा छ । तर इच्छा ज्ञानमा घट्दो छ र इच्छाले पुरै टाउको नाम र दामतिर  घुमाइसकेको छ ।

समग्र वातावरण प्रदुषित बन्दै गएको समयमा, असल र  सफल सन्तानको रुपरेखा कोर्न निकै सकस छ ।

आशा, हिम्मत र कोसिस नै त असल अभिभावकको उत्तम उर्जा हो ।

कोसिस गरिराखम् !

तुलसी निरौला

निरौला, ‘आफैंलाई चिन्ने कोसिस’ र ‘सन्तान सपार्ने कोसिस’ जस्ता आधा दर्जन पुस्तकका लेखक, कवि, गीतकार, ट्रेनर तथा शोधकर्ता हुन्