नेपालको बारेमा कार्ल मार्क्स के भन्थे ?

१८४० को दशकदेखि यता यूरोपमा जुन एउटा भूतले तर्साइरहेको छ, त्यही भूत, त्यही पिशाच विश्वभरि फैलिँदै अहिले नेपाललाई सम्म पनि तर्साउन आइपुगेको छ ।

त्यो भूत हो– साम्यवादको भूत ! त्यो पिशाच हो– साम्यवादीहरूको, साम्यवादी पार्टीहरूको पिशाच !!

हिजोसम्म दन्त्यकथाको भूत–पिशाचको रूपमा प्रचारित साम्यवाद, साम्यवादीहरू र साम्यवादी पार्टी र व्यवस्थाहरू आज दुनियाँमा प्रमुख शक्तिको रूपमा, मौलिक क्रान्तिकारी विचार र संस्कृतिको रूपमा, आमूल परिवर्तनकारी व्यवस्थाको रूपमा स्थापित भएका छन् । यसबाट नेपाल पनि अछुतो छैन भन्ने यथार्थ हाम्रो आँखसामु जगजाहेर छ ।

यसै साम्यवादी विचार र साम्यवादी शक्तिहरूको वर्चस्व भएको नेपालको बारेमा पनि साम्यवादका प्रवर्तक तथा अन्तर्राष्ट्रिय सर्वहारा वर्गका महान नेता एवं गुरु– कार्ल मार्क्सले केही सटीक टिप्पणीहरू लेखेका थिए ।

हो, वैज्ञानिक साम्यवाद–द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद र विज्ञानसम्मत राजनीतिक अर्थशास्त्रका प्रवर्तक कार्ल मार्क्सले हाम्रो देश– नेपालको बारेमा पनि आफ्नो अमूल्य कलमको मसी खर्च गरेका थिए । नेपालको इतिहासको बारेमा, बेलायती साम्राज्यवाद विरोधी नेपाली संघर्षको बारेमा उहाँले केही ऐतिहासिक टिपोटहरू र टिप्पणीहरू लेखेका थिए ।

कार्ल मार्क्सले नेपालको इतिहासको बारेमा लेख्ने क्रममा मूलतः दुई वटा सन्दर्भ उल्लेख गरेका थिए– एउटा, राजा पृथ्वीनारायण शाहको राज्य विस्तारदेखि अंग्रेजी साम्राज्यवादसँगको लडाइँको संक्षिप्त रूपरेखा । र अर्को हो, अंग्रेजी साम्राज्यवादका विरुद्ध भारतीय जनताको प्रथम स्वाधीनता युद्ध– १८५७ को सिपाही विद्रोहको क्रममा भएको झाँसीकी रानीको प्रतिरोध संघर्षको दौरानमा नेपाल देशका विद्रोहीहरू माथि दमन निम्त्याई जंगबहादुरले शरणाथीहरूमाथि गरेको विश्वासघात !

जंगबहादुरकै समकालीन कार्ल मार्क्सले जंगबहादुरलाई ‘अंग्रेजहरूको कुकुर’ भन्ने विशेषण  दिएका थिए । ‘भारतीय इतिहासमाथि टिप्पणी’ लेख्ने क्रममा ठूलो मात्रामा नेपाल र भारत सम्बन्धी पुस्तकहरूको अध्ययन र चिन्तन–मनन गरी मार्क्सले चाहे नेपालका पृथ्वीनारायण शाह पछाडि होस्, चाहे जंगबहादुरकालीन होस्, कति सटीक ढंगले ऐतिहासिक रूपरेखा कोरेका थिए र जंगबहादुरलाई कति सटीक रूपमा प्रहार गरेका थिए भन्ने तथ्य उनको लेखाइबाट छर्लङ्गिन्छ ।

स्मरणीय छ– यस टिप्पणी कार्ल मार्क्सले आफ्नो जीवनको अन्तिम कालमा ‘भारतीय इतिहासमाथि टिप्पणी’ शीर्षकमा लेखेका थिए, जुन एशियाली महादेशको लागि महत्वपूर्ण योगदान मानिन्छ ।

प्रस्तुत छ– कार्ल मार्क्सद्वारा लिखित नेपाल सम्बन्धी टिप्पणीहरू–

लर्ड हेस्टिंग्सको प्रशासन (१८१३-१८२२)

सन् १८१४ नेपालका गोरखालीहरू, राजपूतको एक जाति । मूल रूपमा उनीहरू राजपूतनाबाट आएका थिए र हिमालयको तलतिर तराईमा, नेपालमा, त्यहाँ विजय प्राप्त गरेर बसिरहेका थिए ।

अनेक सरकारहरूको मातहतमा बसेपछि १८ औं शताब्दीको मध्यकालमा उनीहरू एउटा सरदारको आधिपत्यमा (थिए) जो आफूलाई ‘नेपालको राजा’ भन्यो । उसले आफ्ना सीमाहरूको विस्तार गर्‍यो । त्यसैको कारणले उसको सम्पर्क रणजीत साहसँग हुने गर्दथ्यो र कहिलेकाँही ब्रिटिश संरक्षणमा बसिरहेका राजा–रजौटाहरूसँग हुने गर्दथ्यो, त्यसैले सर जर्ज बार्लो र लर्ड मिन्टोसंग उसको पहिले नै झगडा भइसकेको थियो ।

१८१३ को अन्तिम कालमा अवध राज्यबाट हडपेर लिइएको भू–भागको ब्रिटिश संरक्षित २०० गाउँहरूको एउटा जिल्लामाथि गोरखालीहरूले अधिकार जमाए । लर्ड हेस्टिंग्सले माग गरे कि २५ दिनभित्र त्यस जिल्लालाई फर्काईदियोस् । यस मागमाथि बेवास्ता गरी गोरखालीहरूले बुटवलमा एक जना ब्रिटिश मजिस्ट्रेटको हत्या गरे । यसको विरोधमा–

१८१४ (अक्टोबर) मा, गोरखालीहरूका विरुद्ध युद्धको घोषणा गरियो । जनरल जिलेस्पी सतलजको किनारमा अमर सिंहको नेतृत्वमा कार्यरत गोरखाली सेनामाथि हमला गर्न तयार थियो । जनरल उडको मातहतमा रहेको अर्को डिभिजन बुटवलमाथि आक्रमण गर्न तम्तयार थियो । जनरल अक्टरलोनीको नेतृत्वमा तेस्रो डिभिजन शिमलामाथि आक्रमण गर्न, चौथो डिभिजन जनरल मार्लेको नेतृत्वमा सिधै काठमाडौंमाथि धावा बोल्न तयार थियो ।

युद्धको खर्चको लागि अवधको नवाबसँग २० लाखको ऋण लिइएको थियो ।

२९ अक्टोबरको दिन जिलेस्पीले कलंगाको किल्लामाथि हमला गर्‍यो । ५०० गोरखालीहरूले त्यस किल्लाको रक्षा गरिरहेका थिए ।

जिलेस्पीले आदेश दियो– तुरुन्त हमला गर !

ऊ आफू स्वयंले नै हमलाको नेतृत्व गर्‍यो । ऊ स्वयंलाई गोली लाग्यो, ७०० अफिसर र सैनिकहरू गुमाइसकेपछि, उसको डिभिजन आफ्नो छाउनीमा फर्क्यो ।

अब जनरल मार्टिंडेलले नेतृत्व सम्हाल्यो । उसले पनि बेकारको घेराबन्दीमा महिना–महिना बर्बाद गर्‍यो । जब बाटो बनाउन सफल भयो, अन्ततः किल्लामाथि कब्जा गरी छाड्यो, तब उसले (देख्यो) कि किल्ला त उनीहरूले कब्जा गर्नुभन्दा अगावै खाली गरिसकिएको थियो र त्यसका रक्षकहरू आफ्ना सबै भण्डारहरूका साथ हमला हुनुभन्दाको अघिल्लो रातमै किल्लाबाट निस्किसकेका थिए ।

आफूभन्दा निकै सानो सेनामाथि विजय प्राप्त गरिसकेपछि जनरल उड डरायो । ऊ ब्रिटिश सीमातिर फर्केर गयो र पछि गरिएका पूर्ण आक्रमणको समयमा पनि आफ्ना हातहरू बन्धकी राखेर त्यसै बसिरह्यो ।

१८१५ जनरल मार्ले, जो सीमातिर फर्केर गएको थियो, १८१५ को आरम्भिक कालसम्म त्यही बसेर, काठमाडौंमाथि हमला गर्नका लागि तोपहरु पर्खेर बसिरह्यो । आक्रमणको समयमा उसले आफ्नो डिभिजनलाई दुई वटा कमजोर दलहरूमा बाँड्यो । गोरखालीहरूले ती दुबै दलहरूमाथि आक्रमण गरे र उनीहरूलाई परास्त गरे ।

मार्ले त्यही सीमामा धुमिरहे-फिर्दै बसिरह्यो र १० फेब्रुअरी, १८१५ मा आफू एक्लै सीमाभन्दा पारी भाग्यो ।

१५ मई कैयौं महिनासम्मको सफल लडाईंहरू र घेराबन्दीहरू पछि अमरसिंह मलाउ (सतलजको बायाँ किनारस्थित एउटा सुदृढ पहाडी किल्लामा) गए । जनरल अक्टरलोनीले एक महिनासम्म मलाउमाथि गोलाबारी गरिरह्यो । १५ मईमा किल्लाको पतन भयो, अमरसिंह (अमर सिंह होइन, अमरसिंहका जनरल भक्ति थापा) घेराबन्दीमा परेर मारियो ।

यसैबीच, कुमाऊ जिल्लामा अल्मोडाको पतन भएको थियो । यसको कारणले अक्टरलोनीको विरोध गर्ने गोरखालीहरूलाई प्राप्त हुने सबै रसद–पानी आदिको बाटो काटियो, र उनीहरूले सम्झौता गरे ।

१८१६ लामो वार्तालापपछि फेरि लडाइँ छेडियो । पहाडका अति कठीन बाटोबाट हिँड्दै सर डेभिड अक्टरलोनी मकवानपुर पुग्यो र गोरखालीहरूमाथि ठूलो क्षति पुऱ्याएर ऊ त्यहाँबाट पछि हट्यो । फेरि उसले उनीहरूसँग सन्धि गर्‍यो । जसलाई गोरखालीहरूले वफादारीका साथ निर्वाह गरे ।

सन्धि अनुसार, उनीहरूलाई आफ्नो इलाकामा मात्रै सीमित भइरहन बाध्य पारिएको थियो र जुन जमिन उनीहरूले जितेका थिए, त्यसको अधिकांश भाग उनीहरूले ब्रिटिशहरूलाई दिनु परेको थियो ।

यस लडाइँले इङ्गल्याण्ड र नेपालबीच आवागमनको मार्ग खोल्ने काम गर्‍यो । अनेक गोरखालीहरू अंग्रेजहरूको सेनामा भर्ती हुन गए । उनीहरूलाई गोरखा रेजिमेन्टहरूमा जबर्जस्ती राखियो । ती गोरखालीहरू १८५७ को सिपाही विद्रोहका दिनहरूमा अंग्रेजहरूको लागि निकै कामलाग्दा साबित भए ।

गोरखालीहरूसँगको युद्धको दौरानमा शुरु-शुरुमा ब्रिटिश-कम्पनीको जुन पटक-पटक हार भएको थियो, त्यसैको कारणले देशी राजा–महाराजाहरूबीच पनि अशान्ति फैलिएको थियो । खास रूपले हाथरस र बरेली (दुबै दिल्ली प्रान्तमा थिए) मा जन-विद्रोह उठेका थिए ।

 

जंगबहादुर : अंग्रेजहरूको कुकुर

विश्व कम्युनिष्ट आन्दोलनका नेता एवं गुरु कार्ल मार्क्सले अर्को सन्दर्भमा पनि नेपालका बारेमा टिप्पणी गरेका थिए। त्यो सन्दर्भ हो– भारतको १८५७ को सिपाही विद्रोह !

भारतीय उपमहाद्वीप लगायत विश्वलाई नै आफ्नो साम्राज्यवादी जुत्तामुनि पिसिरहेको अंग्रेज साम्राज्यवादको विरोधमा भारतमा १८५७ मा भएको यस राष्ट्रिय विस्फोट निकै महत्वपूर्ण थियो । सामान्य रूपमा सिपाही विद्रोहको नामले चर्चित यस विद्रोहलाई मार्क्सले तत्कालै “भारतको प्रथम स्वाधीनता युद्ध” को संज्ञा दिएका थिए, जुन इतिहासमाथिको उनको गहिरो अध्ययन–चिन्तन मननको परिचय थियो ।

अंग्रेजी साम्राज्यवादलाई प्रथम पटक यति ठूलो संख्या, शक्ति र विस्तारमा चुनौति दिन सफल यो विद्रोह पश्चिम बंगालका बरहमपुर र बैरकपुर र पछि उत्तर प्रदेशको मेरठबाट सिपाहीहरूको विद्रोहको रूपमा उठेको थियो । यस विद्रोहले विस्तारै देशव्यापी किसानहरूको जन–विद्रोहको रूप लियो । यसमा अंग्रेजहरूबाट ठगिएका राजा–रजौटाहरू जस्तो कि झाँसीकी रानी, दुर्व्यवहारबाट क्षुब्ध जमीन्दार कुँवर सिंह, असन्तुष्ट मुस्लिम नेता मौलवी अहमदुल्ला लगायत नानासाहब र तात्या टोपे जस्ता प्रतिभाशाली सेनानायक लगायत हजारौं जनता सहभागी भएका थिए ।

हुन त यस विद्रोहमाथि उन्नत हतियार र राम्रो संगठन शक्ति भएको अंग्रेजी साम्राज्यवादले १८५९ सम्ममा दमन गर्न सफलता प्राप्त गर्यो । तर यसको असर नेपालमा समेत परेको थियो । यस विद्रोहका सहभागीहरू अवधकी बेगम, नानासाहब लगायत उनीहरूका अनुयायीहरू नेपाल पसेका थिए । र, तिनीहरूमाथि दमन गर्न क्रुर राणाशासक जंगबहादुरले अंग्रेजहरूलाई नेपाल पस्न इजाजत दिएको थियो । प्रस्तुत छ, यसैसँग सम्बन्धित घटनावलीहरू र टिप्पणी, जुन कार्ल मार्क्सद्वारा लेखिएको नेपाल सम्बन्धी अमूल्य र संभवतः अन्तिम विचार हो !

कार्ल मार्क्सले सिपाही विद्रोहको अन्तिम कालतिरका घटनावलीहरू प्रस्तुत गर्ने क्रममा झाँसीकी रानी र तात्या टोपे अंग्रेजहरूको हातबाट कैयौं ठाउँमा पराजित हुँदै अन्ततः ग्वालियरमा मोर्चाबन्दी कस्तै लडिरहेको घटना यसरी प्रस्तुत गरेका थिए–

अंग्रेज कमाण्डर रोजले ग्वालियरमाथि हमला गर्‍यो । विद्रोहीहरूको नेतृत्व गरिरहेका झाँसीकी रानी (लक्ष्मी बाई) र तात्या टोपेले १९ जून (१८५८) को दिन लस्करको पहाडी क्षेत्रमा (ग्वालियरको अगाडि) उसँग मोर्चा कसे । रानी मारिइन्, अत्यन्त ठूलो हत्याकाण्डपछि उनीहरूको सेना तितरवितर भयो । ग्वालियर अंग्रेजहरूको हातमा पुग्यो ।

जुलाई–अगस्ट र सेप्टेम्बर १८५८ को बीचमा सर कोलिन क्याम्पबेल, सर होप ग्रान्ट तथा जनरल वालपोलले आफ्नो अधिक समय प्रमुख विद्रोहीहरूलाई पक्रेर ती सबै किल्लाहरूमाथि आधिपत्य जमाउनमा लगाए, जसको स्वामित्वको बारेमा झगडा थियो ।

अवधकी बेगमले अन्य केही ठाउँमा अन्तिम पटक लड्ने कोसिस गरिन्, पछि नाना साहबसंग राप्ती नदी पारी भागेर उनीहरू अंग्रेजको कुकुर– नेपालको जंगबहादुरद्वारा शासित क्षेत्रमा पसे ।

जंगबहादुरले आफ्नो देशमा पनि ती विद्रोहीहरूलाई पक्रने इजाजत अंग्रेजहरूलाई दियो ।

यस प्रकारले “दुस्साहसिक लडाकुहरूको अन्तिम गिरोहलाई पनि तितरवितर गरियो ।”

नाना साहब र बेगम भागेर पहाडतिर लुक्न गए । उनीहरूका अनुयायीहरूले हतियार समर्पण गरे ।

१८५९ को प्रारम्भिक कालमा, तात्या टोपेको गोप्य निवासस्थान पत्ता लगाइयो । उनीहरूमाथि मुद्दा चलाइयो र उनलाई फाँसी दिइयो ।

भनिन्छ”– नाना साहबको मृत्यु नेपालमै भएको थियो ।

बरेलीका खानलाई पनि पकिएको थियो र उनलाई गोलीले उडाइएको थियो । लखनऊको मम्मू खाँलाई आजीवन कैदको सजाय दिइयो । अन्यलाई कालापानी पठाइयो वा फरक-फरक समयावधिको लागि जेलमा पठाइयो ।

विद्रोहीहरूको अधिकांश भागले, जसको रेजिमेन्ट टुटिसकेको थियो, तलवार बिसाई सकेको थियो, उनीहरू प्रजा बने ।

अवधकी बेगम नेपालको काठमाडौंमै बस्न थालिन् ।......

भारत “महान” भिक्टोरियाको साम्राज्यको एउटा प्रान्त बन्यो ।

मूल्याङ्कन २०५१, पुसमा प्रकाशित

 

राजेन्द्र महर्जन

वामबुद्धिजीवी एवं विश्लेषक