भारत सरकारद्वारा माओवादी विद्रोहमाथि विजयको घोषणा
भारत सरकारले आफ्नो चरम अवस्थामा देशको झण्डै एक तिहाइ भूभाग नियन्त्रणमा लिएको माओवादी विद्रोह समाप्त भएको घोषणा गरेको छ।
गृहमन्त्री अमित शाहले ३० मार्च, २०२६ मा संसदमा बोल्दै भारत नक्सलवादीका रूपमा चिनिने विद्रोहीहरूबाट "मुक्त" भएको बताएका छन् । "म खुल्ला रूपमा भन्न सक्छु कि हामी नक्सल-मुक्त भएका छौं, यसो भन्न मलाई कुनै हिचकिचाहट छैन," शाहले संसदलाई सम्बोधन गर्दै भने, "जब सम्पूर्ण अपरेशन पूरा हुनेछ, म देशलाई पनि सूचित गर्नेछु।"
झण्डै छ दशकअघि हिमालयको फेदमा रहेको एउटा गाउँबाट सुरु भएको माओवादी प्रेरित विद्रोह (नक्सलवाद) का अन्तिम अवशेषहरू विरुद्ध भारतले विगत दुई वर्षमा आफ्नो अभियानलाई तीव्र पारेको थियो।
सन् २००० को दशकको मध्यतिर आफ्नो उच्च विन्दुमा रहँदा यो विद्रोहले अनुमानित १५,००० देखि २०,००० लडाकुहरूको साथमा देशको झण्डै एक तिहाइ भाग नियन्त्रणमा लिएको थियो, तर हालका वर्षहरूमा यो नाटकीय रूपमा कमजोर भएको छ।
धेरैजसो सशस्त्र विद्रोहीहरू मध्य छत्तीसगढ राज्यको बस्तर क्षेत्रमा मात्र सीमित थिए, जुन नेदरल्याण्ड्सको आकार बराबरको घना जङ्गल र पहाडहरूले भरिएको खनिज समृद्ध क्षेत्र हो।
"बस्तर अहिले नक्सल-मुक्त भएको छ," सुरक्षा बलहरूले विद्रोह अन्त्य गर्न अपनाएका इतिहास र रणनीतिहरूको विस्तृत व्याख्या गर्दै ९० मिनेट लामो भाषणका क्रममा शाहले संसदमा भने । "माओवादी हिंसा गर्ने र नक्सलवादको हिंसा फैलाउनेहरूको दिन अब सकिएको छ," शाहले थपे ।
भारतको संसदमा प्रस्तुत तथ्याङ्क अनुसार, सन् २०२५ मा सुरक्षा बलले ३६४ विद्रोहीलाई मारेका छन्, १,०२२ लाई पक्राउ गरेका छन् र वरिष्ठ नेताहरू सहित अन्य २,३३७ जनाले आत्मसमर्पण गरेका छन्।
सन् २०१० यता सर्वसाधारण र सुरक्षाकर्मीको मृत्युदरमा ९० प्रतिशतले कमी आएको छ र वार्षिक माओवादी आक्रमणको संख्या १,९०० बाट घटेर गत वर्ष करिब २०० मा झरेको छ।
शाहका अनुसार सरकारले विद्रोह प्रभावित राज्यहरूमा स्थानीय प्रहरी बलको क्षमता सुदृढ गरेको र सुरक्षा निकायहरूबीचको समन्वयलाई तीव्र बनाएको छ। "हामीले केवल हतियार मात्र नभई 'अल-एजेन्सी' (सबै निकाय सम्मिलित) दृष्टिकोण अपनायौं," शाहले भने। उनका अनुसार दुई जना बाहेक सबै माओवादी कमाण्डरहरू कि त मारिएका छन् वा उनीहरूले आत्मसमर्पण गरिसकेका छन्।
"उनीहरूले पनि चाँडै आत्मसमर्पण गर्नेछन्।"
छत्तीसगढका उपमुख्यमन्त्री विजय शर्माले एएफपीलाई (AFP) बताए अनुसार राज्य अहिले पूर्ण रूपमा विद्रोहीमुक्त भएको छ। "उनीहरूको सम्पूर्ण सशस्त्र डस्ता (cadre) समाप्त भएको छ," उनले भने।
सबै सशस्त्र लडाकुहरू कि त मारिएका छन् वा उनीहरूले आत्मसमर्पण गरिसकेका छन् भन्दै शर्माले थपे, "अब यस आन्दोलनको कुनै पनि साङ्गठनिक स्वरूप बाँकी छैन।"
माओवादीहरूले वन क्षेत्रमा बसोबास गर्ने सीमान्तकृत आदिवासीहरूको अधिकारका लागि लडिरहेको दाबी गर्दै आएका थिए, जहाँ खानी कम्पनीहरूको पनि बहुमूल्य स्रोतसाधनमा आँखा गाडिएको छ।
सन् १९६७ मा मुठ्ठीभर गाउँलेहरूले आफ्ना सामन्ती जमिन्दारहरू विरुद्ध विद्रोह सुरु गरेयता यस द्वन्द्वमा १२,००० भन्दा बढी विद्रोही, सैनिक र सर्वसाधारणको ज्यान गइसकेको छ।
२६ वर्षीय पूर्व माओवादी विद्रोही विष्णु माडभीले छापामार युद्धमा सात वर्ष बिताएपछि गत जनवरीमा आत्मसमर्पण गरेका थिए। सोमबार एक पुनस्थापना शिविरबाट एएफपीसँग कुरा गर्दै माडभीले भने, "मेरा कमाण्डर सन् २०२५ मा प्रहरी कारबाहीमा मारिए, जसमा म मुस्किलले बाँचेको थिएँ।"
"हाम्रा शीर्ष नेताहरू सबै सिद्धिएका थिए, प्रहरीले हामीलाई चारैतिरबाट घेरेको थियो त्यसैले आत्मसमर्पण गर्नु बाहेक अर्को कुनै विकल्प थिएन।"
स्रोत: https://www.france24.com
बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची: प्रविधिको व्यापक प्रयोगमा जोड
नेपालमा वामपन्थी आन्दोलनको भविष्यबारे अन्तरक्रिया: फासीवादको खतराप्रति वक्ताहरू…
बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: शीतल निवासमा शपथ ग्रहण
किम जोङ-उन उत्तर कोरियाको सर्वोच्च नेतामा पुनः निर्वाचित
इरान–अमेरिका तनाव र युद्धको स्थिति: वार्ता भइरहेको ट्रम्पको दावीको इरानद्वारा …
दार्शनिक जुर्गेन हेबरमासको निधन: संवाद र तर्कको एउटा युग अन्त्य
नेकपा (एमाले) मा गम्भीर धक्का: संरचनात्मक शल्यक्रिया र ‘विशेष महाधिवेशन’को प्र…
प्रतिक्रिया