कम प्रकाश भएको बेला पढ्दा किन आँखा दुख्छ ?

केही महिना अघि मेरो भाइ शिशिरको स्कुलमा परीक्षा भइरहेको थियो । परीक्षा भएकै कारणले गर्दा ऊ राति निकै अबेरसम्म पढ्ने गथ्र्यो । तर विज्ञान विषयको परीक्षा हुने अघिल्लो दिन भने लोडसेडिङका कारणले हामी बसेको ठाउँको बत्ती गयो । त्यही भएर त्यो रात उसले लालटिनमा नै पढ्नु बाध्य भयो । भोलिपल्ट बिहानै परीक्षा दिएर आएपछि भने मलाई उसले आफ्नो आँखा दुखिरहेको कुरा बतायो ।

यस्तो घटना तपाईं–हामीसँग पनि पहिले नै भइसकेको छ होला । कहिलेकाहीँ कम प्रकाश भएको ठाउँमा धेरैबेरसम्म बसेर पढ्नुपर्यो भने हाम्रो पनि आँखा थाकेको जस्तो हुन्छ । कहिलेकाहीँ आँखा र टाउको दुख्ने पनि गर्छ । आखिर यस्तो किन हुन्छ ? किन मधुरो प्रकाश भएको ठाउँमा पढ्दा हाम्रो आँखा दुख्छ ? यस्ता खुलदुलीहरु सायद हामी धेरैको मनमा उठ्छ होला । आउनुहोस् आज यसै विषयमा केही चर्चा गरौँ ।

कम प्रकाशमा पढ्दा धेरैको आँखा दुखेको जस्तो भएपनि यसबारेमा अध्ययन गर्ने धेरै विशेषज्ञहरु भने त्यसले आँखामा दीर्घकालीन खालको हानी वा नोक्सानी नगर्ने कुरा बताएका छन् । यसले मात्र आँखालाई थकाउने काम मात्र गर्छ । यद्यपि यसको केही समयको लागि भने निकै नरमाइलो अनुभव हामी भोग्न सक्छौँ । यस्तो अनुभव प्रायः निकै छोटो समयको लागि मात्र हुन्छ । तर कहिलेकाहीँ हाम्रो आँखा धेरै समयसम्मको लागि पनि दुखिरहन सक्छ ।  अनि लामो समयसम्म  कम प्रकाशमा पढ्ने बानी गरियो भने चाहिँ आँखा कमजोर हुन पनि सक्छ ।

कम प्रकाश भएको ठाउँमा देख्नका लागि हाम्रो आँखाले विभिन्न कुरालाई मिलाउने गर्छ । सबैभन्दा पहिले हाम्रो आँखाको भित्री भाग रेटिनामा रहेको रड र कोन कोषहरुले प्रकाश–संवेदनशील रसायनहरु धेरै मात्रामा उत्पादन गर्न थाल्छन् । त्यसरी उत्पादन भएका रसायनहरुले प्रकाशलाई चिन्ने काम गर्छ । त्यसपछि तिनीहरुले प्रकाशलाई विद्युतीय तरङ्गहरुमा परिवर्तन गर्छन् र ती तरङ्गहरुलाई मस्तिष्कमा पठाउँछन् । दोस्रो कामको रुपमा हाम्रो आँखाको आइरिस मासंपेशी खकुलो हुन्छ । जसले गर्दा हाम्रो आँखाबाट प्रकाश छिर्ने द्वार पुपिलको आकारमा वृद्धि हुन्छ । यसले गर्दा हाम्रो आँखाले अत्यधिक रुपमा प्रकाशलाई ग्रहण गर्न सक्छ । अन्त्यमा रेटिनामा रहेका नसाका कोषहरु त्यही परिस्थिति अनुसारले आफूलाई पनि परिवर्तन गर्छन् । यसले गर्दा तिनीहरु कम प्रकाश भएको ठाउँमा पनि काम गर्न सक्छन् । हाम्रो आँखामा यी मुख्य तीन परिवर्तनहरु हुन २० मिनेटदेखि २ घण्टासम्म लाग्न सक्छ । तर यी परिवर्तनहरु भएपछि भने हाम्रो आँखाको कम प्रकाशप्रतिको संवेदनशीलतामा १०,००० गुणाले वृद्धि हुन्छ ।

हामीले पढिरहेको बेला हाम्रो आँखाले अक्षरहरुको विम्बलाई रेटिनामा केन्द्रित गर्नुपर्छ । यसो गर्नका लागि आइरसलगायत हाम्रो आँखाको लेन्सलाई नियन्त्रण गर्ने मासंपेशी खुम्चिनु पर्छ । तर मधुरो प्रकाशमा पढ्दा भने आँखाले दुईवटा काम एकैपटकमा गर्नुपर्ने हुन्छ । सर्वप्रथम त मधुरो प्रकाशमा देख्नको लागि आँखाको रेटिना र मासंपेशी तन्कनुपर्छ र पढ्नुको लागि भने तिनीहरु फेरि संकुचित हुनुपर्छ । निकै कम प्रकाश भयो भने आँखालाई अक्षरहरुमा केन्द्रित गर्न झनै गाह्रो पर्छ । किनभने अक्षर र कागजबीचको चमक (Contrast) मा कुनै पनि भिन्नता हुँदैन । यसले गर्दा आँखाको कुनै पनि वस्तुलाई चिन्ने क्षमतामा कमी आउँछ । यसरी कुनै पनि वस्तुलाई नियालेर हेर्न सक्ने आँखाको क्षमतालाई ‘भिजुअल एक्युटी’ (Visual Acuity)  भनिन्छ । हाम्रो आँखालाई कागजमा भएको अक्षरलाई छुट्टाउनको लागि निकै मिहिनेत गर्नुपर्छ । जसले गर्दा आँखाको मासंपेशी दुख्ने गर्छ । फलस्वरुप हामीलाई आँखा दुखेको अनुभव हुन्छ । हाम्रो शरीरको कुनै पनि मासंपेशीले धेरै काम गर्नु प¥यो भने त्यो थाक्ने र दुख्ने गर्छ । त्यसैले धेरै व्यायाम गरेपछि हाम्रा हातखुट्टाहरु दुख्ने गर्छ ।

यसरी हाम्रो आँखाले धेरै समयसम्म मिहिनेत गर्न पर्यो भने हाम्रो शरीरमा विभिन्न असरहरु हुन थाल्छन् । यसले गर्दा आँखा सुन्निने, टाउको, घाँटी आदि दुख्ने, धमिलो देख्ने जस्ता समस्याहरु हामी भोग्न सक्छौँ । एउटा वस्तुमा केन्द्रित गर्दा हामी धेरै आँखा झिम्काउँदैनौँ । यसै कारणले गर्दा यी समस्याहरु देखापर्छ । यसले आँखामा कुनै दीर्घकालीन हानी गर्दैन । हामीले आँखालाई धेरै काम गर्न लगाउन छाडेपछि यो आफै हराएर जान्छ । तर केही डाक्टरहरुले भने यसो गर्दा पछि गएर आँखा कमजोर हुन सक्ने कुरा बताएका छन् । विशेष गरेर हाम्रो टाढाको वस्तुलाई राम्ररी देख्न नसक्ने समस्या देखा पर्न सक्छ ।

यदि तपाईंलाई कम प्रकाशमा पढ्दा कुनै समस्या देखापर्दैन भने तपाईंले त्यसमा धेरै चिन्ता लिनु पर्दैन । तर त्यसरी कम प्रकाशमा पढ्नै पर्दा आँखालाई धेरै झिम्काउनु राम्रो हुन्छ । कहिलेकाहीँ अक्षरमा मात्र नभएर छेउछाउ वा बाहिरका अन्य वस्तुहरुमाथि आँखा केन्द्रित गर्नुहोस् । यसले आँखालाई थाक्नबाट धेरै मद्दत गर्छ । यस्तो १५ देखि ३० मिनेटको अन्तरालमा गरिराखे राम्रो हुन्छ ।

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।