सन् २०२४ को आर्थिक जोखाना

कस्तो होला अबको एक वर्ष विश्व अर्थतन्त्रको परिदृश्य ?

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनले मुलुकको आर्थिक अवस्था धेरै सकारात्मक स्थिति बनेको देखाएको छ । यसैबेला ग्लोबल इकोनोमिक प्रस्पेक्ट प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले पनि नेपालको आर्थिक वृद्धि सन् २०२४ मा ५ प्रतिशतको हुने अनुमान गरेको छ । 

ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष सन् २०२४ लागेपछि सार्वजनिक भएका यस्ता प्रतिवेदनले मुलुकको आर्थिक अवस्था बिग्रँदै गएको कारण निराश बनेका नेपाली नागरिकहरूमा केही आशाका किरणहरू थपेको छ । तर, विश्व अर्थतन्त्र भने सन् २०२४ मा निकै निराशाजनक हुने भनी गरिएको प्रक्षेपणले भने उत्तिनै खेर सो आशामा चिसोपानी खन्याएको छ । किनकी आर्थिक भूमण्डलीकरणको कारण नेपालको अर्थतन्त्र पनि विश्वव्यापी आर्थिक परिघटनाबाट प्रत्यक्ष प्रभावित हुँदै आएको छ ।

गएको वर्ष घटेका घटनाक्रमहरूले पार्ने प्रभावको आधारमा गरिएको सो पूर्वानुमान पुरापुर सही नै सावित हुन्छ भन्ने पनि छैन । यसो किन भनिएको हो भने सन् २०२३ मा अमेरिकामा आर्थिक मन्दी देखापर्छ भन्ने गत वर्षको सुरुमा गरिएको अनुमान सही सावित भएन । त्यसैगरी विश्व अर्थतन्त्र पनि जति संकटपूर्ण बन्छ भन्ने थियो, त्यो पनि देखिएन । बरु, केही दशक यताकै उच्च मुद्रास्फीतिमा सुधारका लक्षणहरू देखापरे ।

सन् २०२४ मा विश्वव्यापी मुद्रास्फीति लगभग २ प्रतिशतमा झार्ने केन्द्रीय बैंकहरूले लक्ष्य राखेका छन् । हाल उच्च तहमा रहेको ब्याजदर सबै मुलुकमा घट्ने क्रममा रहेकोले कर्पोरेट कम्पनीहरूको आम्दानीमा राम्रै वृद्धि हुने अनुमान गरिएको छ ।

खनिज तेलको मूल्य

अबको एक वर्ष खनिज तेलको मूल्यमा भने निकै ठूलो वृद्धि हुने अनुमान छ । कच्चा तेलको मूल्य प्रति ब्यारेल सय डलर भन्दा बढी हुने अनुमानका केही बलिया आधारहरू पनि छन् ।

पश्चिम एसियामा जारी युद्धको प्रभावस्वरूप लाल सागरमा जहाजहरूमा भइरहेको आक्रमणले विश्व व्यापारमा नै बेग्लै संकट उत्पन्न गराइरहेको छ ।

त्यस बाहेक भेनेजुएला र गुयाना बीच बढ्दो संकटले तेल उत्पादनमा समेत कमी आउँदा तेलको मूल्यमा बढोत्तरी आउने सम्भावना छ । फेरि पनि ओपेक प्लसको रणनीति यो वर्ष कस्तो हुन्छ भन्ने कुरा यो मामिलामा निर्णायक हुने देखिन्छ ।

भारतीय अर्थतन्त्रको शंखघोष

यो दशकको अन्त्यसम्ममा पुग्दा भारतीय अर्थतन्त्रको आकार अहिलेको भन्दा दोब्बरले बढ्ने अनुमान धेरै अर्थविद्हरूले गर्दै आएका छन् । त्यसैले हाम्रो छिमेकी भारतीय अर्थतन्त्रमा देखिने उतारचढाव पनि अब विश्व अर्थतन्त्रको निर्णायक सूचक बनेको छ ।

त्यहाँ हालका प्रधानमन्त्री नरेन्द्र मोदी अब तेस्रो पटक प्रधानमन्त्री बन्ने लगभग पक्का जस्तै छ । लगभग १५ वर्षयता लगभग ८ प्रतिशतको आर्थिक वृद्धिसहित भारतीय अर्थतन्त्रले वृद्धिको शंखघोष गरेको अवस्था छ । यहाँ ठूलो संख्यामा युवा जनशक्ति छ । उत्पादन, उपभोग र बचत सबै क्षेत्रमा व्यापक वृद्धि छ । भारतमा नयाँ खोज र अन्वेषणले तीव्रता पाइरहेको छ ।

चीनको रणनीतिक परिवर्तन

चीन अहिले आफ्नो नयाँ आर्थिक रणनीति अपनाउँदै वृद्धिबाट विस्तारतर्फ अघि बढिरहेको छ । लगभग ५ प्रतिशतको आर्थीक वृद्धिका साथ सन् २०२३ लाई बिदा गरेको चीनका सामुन्ने धेरै चुनौतीहरू रहेको देखिन्छ । बढ्दो प्रौढ जनसङ्ख्या, आर्थिक असमानता देखी भू-राजनीतिक जटिलताका कारण चालु व्यापार द्वन्द्व अहिले चीनका सामुन्ने खडा समस्याका पहाडहरू हुन् ।

त्यसो त अघिल्लो वर्ष चीनको अर्थतन्त्रमा उल्लेखनीय वृद्धि नहुनुको मुख्य कारण विकसित अर्थतन्त्रमा देखा परेको सुस्तता नै हो । निर्यातमा आधारित चीनको अर्थतन्त्रमा उत्पादन क्षेत्रको महत्त्व निकै बढी छ । त्यसैले घरजग्गा कारोबारमा निकै ठूलो समस्या आउँदा समेत चीनमा त्यसले जे जस्तो प्रभाव पार्छ भन्ने अनुमान गरिएको थियो त्यसो भएन ।

युरोपमा मन्दीको सम्भावना

अघिल्लो वर्ष युरोपले ठूलो आर्थिक समस्यासँग जुध्नु पर्‍यो । एउटै साझा मुद्रा चलाउने युरोजोन लगातार तेस्रो त्रैमासमा पनि आर्थिक सङ्कुचनमा रह्यो । त्यहाँ निर्माण र उत्पादन क्षेत्र दुवैमा मन्दी छाउँदा त्यसको असर साना-साना व्यापारिक क्षेत्रमा समेत परेको थियो ।

त्यहाँ उपभोक्ता मूल्य २.९ प्रतिशतले बढ्दा उपभोगमा आएको कमीले पारेको असरका कारण साना व्यवसाय र हस्पिटालिटी क्षेत्रमा देखिएको समस्या अहिले नै हल हुने आशा गरिएको छैन। जर्मनीमा आर्थिक मन्दीको चेतावनी दिइएको छ भने बेलायतका कतिपय सहरहरू टाट उल्टिएको घोषणा गरिरहेका छन् । फ्रान्समा पनि आर्थिक समस्या हुने प्रक्षेपण सार्वजनिक भइरहेको अवस्था छ ।  

यावत् अवस्थाले सन् २०२४ आर्थिक रूपमा निकै रोचक ढङ्गले अघि बढ्ने अनुमान लगाउन सकिन्छ । विकसित अर्थतन्त्रहरूले आफूलाई संकटबाट जोगाउन संघर्ष गरिरहेका बेला महत्त्वपूर्ण एसियाली आर्थिक शक्तिका रूपमा भारतले तीव्र गतिको यात्रा गरिरहेको देख्न पाइनेछ ।

चीन आफूलाई नयाँ ढंगले बढाउँदै लैजाने सोचमा छ भने युरोपले संकटको सामना गर्दै एकवर्ष गुजारेको हेर्न पाइनेछ । अमेरिकाले आर्थिक र राजनीतिक संकटसँग एकैचोटी जुध्नु पर्दा आफूलाई कसरी सम्हाल्छ त्यो पनि सन् २०२४ मा नै देख्न सकिनेछ ।

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।