सुकरातका तीन छोटा प्रश्नहरु

 

सुकरात धेरै ज्ञानी र नम्र थिए। एकपटक उनी बजारबाट जाँदै थिए । बाटोमा चिनेका व्यक्तिसँग भेट भयो । सुकरातलाई ती सज्जनले रोकेर केही बताउन चाहे । सुकरातले स्वीकृतिमा टाउको हल्लाएपछि उसले भन्न थाल्यो, 'तपाईंलाई थाहा छ तपाईंका साथीले तपाईंका बारेमा हिजो मलाई के बताएको थियो ?'

सुकरातले ती मानिसलाई बीचैमा रोके र भने- सुन्नुहोस्, भद्र मान्छे। मेरो साथीले मेरो बारेमा के भन्नुभयो भन्नुअघि, कृपया मेरा तीनवटा छोटा प्रश्नहरूको जवाफ दिनुहोस् है । अनि बल्ल म तपाईंले बताउन खोज्नु भएको कुरा सुन्छु '

ती व्यक्तिले अचम्म मान्दै भन्यो- 'तीन छोटा प्रश्न'

सुकरातले भने- 'हो, तीन छोटा प्रश्न।'

'पहिलो प्रश्न हो, के तपाईंले मलाई भन्नु भएको कुरा पूर्णतया सही छ?'

 मानिसले जवाफ दियो- 'होइन, मैले भर्खरै यो सुनेको छु र...'

सुकरातले भने- 'ठीकै छ, केही छैन, यसको मतलब तपाईंले मलाई सुनाउन खोज्नु भएको कुरा सत्य हो कि होइन भन्ने तपाईंलाई अत्तोपत्तो छैन '

अब मेरो दोस्रो प्रश्नको जवाफ दिनुहोस्, 'के तपाईंले मलाई भन्नु भएको कुरा मेरो लागि राम्रो ?'

मान्छेले तुरुन्तै भन्यो– 'होइन, बरु उल्टो अलि नराम्रो चाहिँ हो'

सुकरातले भने- 'ठीक छ। अब मेरो अन्तिम प्रश्नको जवाफ दिनुहोस् तपाईले मलाई भन्न खोज्नुभएको कुरा मेरो लागि उपयोगी छ कि छैन ?'

व्यक्तिले भन्यो- 'छैन, त्यो कुरा तपाईंका लागि कुनै पनि तरिकाले उपयोगी छैन ।'

तीनवटै प्रश्न सोधेपछि सुकरातले ती व्यक्तिलाई शान्त स्वरमा भने- 'जुन कुरा सत्य छैन, जसबाटलाई कुनै फाइदा छैन र जुन मेरो लागि कुनै कामको छैन, त्यस्तो कुरा सुनेर के फाइदा ? अनि सुन्नुहोस्, त्यस्तो कुरा मलाई सुनाएर तपाईंलाई पनि के फाइदा ?'

सुकरातको कुरा सुनेर ती व्यक्ति लज्जित बने । लाजले उनको शिर निहुरियो, उनी केही बोल्नै सकेनन् ।

Photo: https://upload.wikimedia.org

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।