जातीय समूह, जनसमुदाय र राष्ट्र

राजनीतिक विज्ञानमा “जनसमुदाय” लाई प्रायः छुट्टै विषयका रूपमा  अध्ययन तथा विचार गरिँदैन। विभिन्न देशहरूमा भएका राष्ट्रिय मुक्ति आन्दोलनका उदाहरणहरू वा हालका समयमा विशेष रूपमा सान्दर्भिक बनेको लोकप्रियतावादका बहसहरूमा मात्र यसको चर्चा हुने गर्छ। पछिल्लो सन्दर्भमा, युरोपेली संघका देशहरूको राजनीतिक परिदृश्यलाई अहिले गहिरो रूपमा रूपान्तरण गरिरहेका प्रक्रियाहरूका कारण लोकप्रियतावाद विशेष रूपमा महत्त्वपूर्ण बनेको छ। यसैबीच, एथनोलोजी र एथ्नोग्राफीले फरक अवधारणाहरूसँग काम गर्छन् भने समाजशास्त्र मुख्यतः सामाजिक तह, वर्ग तथा समाजभित्रका गतिविधीगत प्रक्रियाहरूप्रति बढी संकेन्द्रित हुन्छ।

युरोपमा साम्राज्यहरूको पतन र राष्ट्र–राज्यहरूको निर्माणसँगै राष्ट्रवादलाई राज्यको विचारधाराका रूपमा विकास गरिँदै गरेको अवधिमै पनि, केही चिन्तकहरूले विगतको व्यवस्थालाई पुनर्जीवित गर्न वा समकालीन बुर्जुवा–आधुनिकतावादी व्यवस्थालाई ध्वस्त पार्न बारम्बार आह्वान गरेका थिए।

प्रबोधनकाल वा ज्ञानोदयकालको प्रभावले युरोपमा मात्र होइन, अन्य क्षेत्रहरूमा समेत यस्तो विश्वास स्थापित गर्‍यो कि “राष्ट्र” भन्ने अवधारणा उत्पन्न भइसकेपछि यो नयाँ “संस्था” ले अर्थतन्त्रदेखि सार्वजनिक प्रशासनसम्मका सबै प्रश्नहरूको उत्तर दिन्छ। तर वास्तविकता त्यस्तो हुनसकेन। संयोगवश मात्र होइन कि बीसौँ शताब्दीमा गएर एथनोलोजी र सांस्कृतिक मानवशास्त्रप्रति विशेषतः लामो समयदेखि स्वायत्त रूपमा बाँचिरहेका र आधुनिकताको संसारसँग प्रत्यक्ष रूपमा नजोडिएका विभिन्न राष्ट्रियता तथा आदिवासी जातीय समूहहरूको जीवनको अध्ययनप्रति पुनः ठूलो चासो उत्पन्न हुन गयो। यस्ता समूहहरूलाई केवल “अपरिचित वा विदेशी” (exotic) भनेर मात्र होइन, अरूहरूको आफ्नै कार्य, पहिचान, सामाजिक संरचना आदिलाई बुझ्ने सन्दर्भका रूपमा पनि हेर्न थालियो।

युरोपमा साम्राज्यहरूको पतन र राष्ट्र–राज्यहरूको निर्माणसँगै राष्ट्रवादलाई राज्यको विचारधाराका रूपमा विकास गरिँदै गरेको अवधिमै पनि, केही चिन्तकहरूले विगतको व्यवस्थालाई पुनर्जीवित गर्न वा समकालीन बुर्जुवा–आधुनिकतावादी व्यवस्थालाई ध्वस्त पार्न बारम्बार आह्वान गरेका थिए। यस्ता धारणा उदारवादी चिन्तनको विकासमा प्रभाव पार्ने चिन्तकहरू जस्तै जाँन-जाक रूसोको “सभ्यताबाट अछुतो महान् मानव” (noble savage)—देखि लिएर आधुनिक संस्कृतिका रूढिवादी आलोचकहरू, जस्तै; फ्रेडरिक नित्सेको कट्टर शैली सम्ममा एकसाथ व्यक्त भएका थिए।

लैङ्गिक सम्बन्धका प्रश्नहरू (पितृसत्तात्मक वा मातृसत्तात्मक प्रणालीहरू लैङ्गिक–राजनीतिक विशेषताका सबैभन्दा परिचित अभिव्यक्ति हुन्), नेतृत्वकर्ताहरूको हैसियत (बाह्य उत्पत्तिका अर्थात् एलोजेनिक (allogenic) र स्वदेशी अर्थात् मूल निवासी (autochthonous) अभिजात वर्ग), समाजलाई भ्रातृसमूह द्वैध वा अझ जटिल संगठन, जाति वा वर्गका आधारमा विभाजन वा संरचना गर्ने तरिका (वंश वा सम्पत्तिका आधारमा), तथा स्वजाति सम्बन्धहरूको व्यवस्था, जसले पछि पराईप्रतिको घृणा (xenophobia) र पराईप्रतिको आकर्षण (xenophilia) जस्ता घटनाहरूलाई निश्चित आकार दिन्छ। यी सबै कुरा अहिलेको विश्वव्यापीकरणको युगमा हराएका छैनन्। केही राज्यहरूको सामाजिक वा राजनीतिक जीवनमा यिनको महत्त्व घटेको भए पनि, अधिकांश देशहरूमा यिनले अझै पनि धेरै वा कम प्रभाव पारिरहेका छन्।

भारतलाई प्रायः विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भनिन्छ, तर त्यहाँ आज पनि जाति व्यवस्था कायम छ। कानुनी स्तरमा भारतका सबै नागरिक समान भए पनि व्यवहारमा उनीहरूबीच वास्तविक समानता छैन।

जातीय विविधता र राष्ट्रिय परम्पराप्रति सावधानीपूर्वक ध्यान दिनु सन्तुलित र सफल नीतिहरूको प्रमुख विशेषता हुन्। तर त्यसका लागि जातीय, लोक तथा राष्ट्रिय (र राष्ट्रवादी) वर्गीकरणसँग सम्बन्धित शब्दावली र तिनका विशिष्टताहरूमा गहिरो प्रवेश गरी तिनलाई बुझ्न आवश्यक छ।

उदारवादी–वैश्वीकतावादी शक्तिहरूको यी भिन्नताहरूलाई निष्प्रभावी पार्न खोज्ने वा एकरूपी नागरिक संस्कृतिलाई फैलाउने प्रयास आगामी दशकहरूमा पनि सफल हुने सम्भावना धेरै कम छ भन्ने विश्वास गर्ने पर्याप्त आधारहरू छन्। जातीय विविधता र राष्ट्रिय परम्पराप्रति सावधानीपूर्वक ध्यान दिनु सन्तुलित र सफल नीतिहरूको प्रमुख विशेषता हुन्। तर त्यसका लागि जातीय, लोक तथा राष्ट्रिय (र राष्ट्रवादी) वर्गीकरणसँग सम्बन्धित शब्दावली र तिनका विशिष्टताहरूमा गहिरो प्रवेश गरी तिनलाई बुझ्न आवश्यक छ।

जातीय समुदाय

मानव समाजहरूको इतिहासलाई शताब्दीयौँ पछाडि लैजाँदा, मानव संगठनका आदिम सामुदायिक तथा जनजातीय संरचनापछि दास–स्वामित्वमा आधारित र सामन्तवादी समाजहरूको जन्म भएको भन्ने अनेकौँ सिद्धान्त स्वाभाविक रूपमा अगाडि आउँछन्। यस्ता दाबीहरू व्यापक रूपमा स्वीकार गरिए पनि ती वास्तवमा सतही छन् र ती विकासवादी सिद्धान्त तथा पश्चिम–केन्द्रित इतिहासबोधमा आधारित छन्।

फ्रान्ज बोआस र क्लोद लेवी–स्ट्रसले विश्वसनीय रूपमा देखाएझैँ, आधुनिक अर्थमा “आदिम समाज” भनिएका समाजहरूमा पनि अत्यन्त जटिल संरचना र प्रक्रियालाई बुझ्ने तथा त्यसप्रति प्रतिक्रिया जनाउने संयन्त्रहरू पाइएका छन्, जसले समकालीन विद्वानहरूलाई समेत अचम्मित पार्छन्।

“आदिवासी जनजाति” भन्ने अवधारणाको उत्पत्ति सम्भवतः प्राचीन रोममा रोमुलसले स्थापना गरेका जनजातिहरूसँग सम्बन्धित छ। सुरुमा त्यहाँ तीन “जनजाति” थिए—अल्बान, साबिन र एट्रस्कन। यद्यपि तेस्रो समूहलाई विदेशी मानिन्थ्यो, किनकि एट्रस्कनहरूको भाषा र अन्य विशेषताहरू पहिलो दुई समूहभन्दा फरक थिए।

तर रोमका छैटौँ राजा सर्भियस टुलियसले यस सिद्धान्तमा परिवर्तन ल्याए। उनले सहरभित्र बसाइँसराइमा प्रतिबन्ध लगाए, किनकि एट्रस्कन जनजाति बाहिरबाट आउने मानिसहरूको कारण निरन्तर विस्तार भइरहेको थियो र थप एउटा जनजाति तथा १५ वटा ग्रामीण जनजाति उनले थपेका थिए। रोमन गणतन्त्रको अन्त्यसम्म जनजातिहरूको पछिल्लो व्यवस्थापन सहर र कृषि समुदायबीचको सन्तुलनमा आधारित थियो।

मध्यपूर्वको वर्तमान “जनजातीय राजनीति” का उतारचढावबारे कुरा गर्दा, त्यसलाई दक्षिण–पूर्वी एसिया वा उष्णकटिबन्धीय अफ्रिकाका अन्य राज्यहरूको “जनजातीय राजनीति” भन्दा फरक रूपमा व्याख्या गर्न आवश्यक छ।

अन्य देशहरूमा पनि भाषिक, भौगोलिक, सैन्य तथा अन्य सिद्धान्तका आधारमा जनजातीय भिन्नताका आफ्नै विशिष्ट मापदण्ड थिए। त्यसैले, उदाहरणका लागि, मध्यपूर्वको वर्तमान “जनजातीय राजनीति” का उतारचढावबारे कुरा गर्दा, त्यसलाई दक्षिण–पूर्वी एसिया वा उष्णकटिबन्धीय अफ्रिकाका अन्य राज्यहरूको “जनजातीय राजनीति” भन्दा फरक रूपमा व्याख्या गर्न आवश्यक छ।

जनसमुदायहरूको निर्माणसँग सम्बन्धित अर्को अवधारणा एथनोस “ethnos” हो। रूसी विद्वत् परम्परामा 'एथनोस' शब्द रूसी मानवशास्त्री तथा नृवंशशास्त्री सर्गेई शिरोकोगोरोभले प्रचलनमा ल्याएका थिए। उनलाई रूसी नृजातिविज्ञान विद्यालयका संस्थापक मानिन्छ। शिरोकोगोरोभले 'एथनोस' लाई यसरी परिभाषित गरेका थिए:

“एउटै भाषा बोल्ने, आफ्नो साझा उत्पत्तिलाई स्वीकार गर्ने र अन्य समूहका प्रचलनभन्दा फरक तथा परम्पराद्वारा संरक्षित र पवित्र मानिएका प्रचलन तथा जीवनशैलीहरूको एउटा निश्चित समुच्चय भएका मानिसहरूको समूह।”¹

उनका अनुसार एथनोसको वर्गीकरणका मुख्य आधारहरू यी हुन्:

“सबैभन्दा पहिले, मानवशास्त्रीय वा शारीरिक विशेषताहरू—अर्थात् शरीरको संरचना, हाडको बनावट र कोमल अंगहरूका विशेषता तथा रङ, साथै जातीय समूहका सदस्यहरूले अचेतन रूपमा पहिचान गर्ने चिन्हहरू; दोस्रो, नृवंशशास्त्रीय विशेषताहरू—अर्थात् प्रचलन तथा जीवनशैलीहरूको समुच्चय; र अन्ततः तेस्रो, भाषिक विशेषताहरू—अर्थात् एथनोस को भाषा।”²

सोभियत मार्क्सवादी नृजातिविज्ञान विद्यालयका प्रमुख प्रतिनिधि युलियन ब्रोम्लेले पनि यस्तै परिभाषा दिएका थिए। उनका अनुसार एथनोस:

“निश्चित भूभागमा ऐतिहासिक रूपमा निर्माण भएको मानिसहरूको स्थिर समूह हो, जसमा भाषा, संस्कृति र मानसिकताका तुलनात्मक रूपमा साझा तथा स्थिर विशेषताहरू हुन्छन्, साथै आफ्नो एकता र अन्य त्यस्ता समुदायहरूबाट आफ्नो भिन्नताको चेतना हुन्छ, जुन कुरा त्यसको आत्म–नाम (self-name) मा अभिव्यक्त हुन्छ।”³

यस्ता परिभाषाहरूले एथनोई(Ethnoe) का आधारभूत पहिचानचिह्नहरू पहिचान गर्न अनुमति दिन्छन्: “भूभाग, इतिहास, भाषा, संस्कृति, मानसिकताका विशेषताहरू र राष्ट्रिय आत्मचेतना।”⁴

एउटै जातीय–वंशगत, भाषिक तथा सांस्कृतिक आधारबाट विभिन्न एथनोइ उत्पन्न हुन सक्छन् र निश्चित ऐतिहासिक कारणहरूले गर्दा उनीहरू एकअर्काप्रति स्थायी वैमनस्यमा समेत रहन सक्छन्।

तर यहाँ ध्यान दिनुपर्ने कुरा के हो भने:

“न त शारीरिक गुणहरू (अर्थात् मानवशास्त्रीय विशेषताहरू), न भाषा र न धर्म नै एथनोसको परिभाषा गर्ने अनिवार्य निर्णायक कारक हुन्। एउटै जातीय–वंशगत, भाषिक तथा सांस्कृतिक आधारबाट विभिन्न एथनोइ उत्पन्न हुन सक्छन् र निश्चित ऐतिहासिक कारणहरूले गर्दा उनीहरू एकअर्काप्रति स्थायी वैमनस्यमा समेत रहन सक्छन्। यसको विपरीत, अत्यन्त विविध जातीय–भाषिक आधारले पूर्णतः भिन्न एथनोसलाई जन्म दिन सक्छ, यस्तो एथनोसलाई समेत, जुन स्थानीय सांस्कृतिक–ऐतिहासिक परिवेशका लागि पूर्णतः अपरिचित जातीय तत्वतर्फ आकर्षित गराएको हुन्छ।”⁵

यसबाट स्पष्ट हुन्छ कि एथनोस आफ्नो सतही रूपमा सहज देखिने स्वरूपका बाबजुद अत्यन्त जटिल घटना हो।

युलियन ब्रोम्लेले एथनोइलाई दुई वर्गमा विभाजन गर्ने प्रस्ताव पनि गरेका थिए। पहिलो अर्थमा 'एथनोस'लाई साँघुरो अर्थमा बुझिन्छ, जसलाई उनले यसरी परिभाषित गरेका छन्:

“निश्चित भूभागमा ऐतिहासिक रूपमा निर्माण भएको मानिसहरूको यस्तो समुच्चय, जसमा संस्कृति र मानसिकताका तुलनात्मक रूपमा साझा तथा स्थिर विशेषताहरू (भाषासहित) हुन्छन् र आफ्नो एकता तथा अन्य त्यस्ता समुदायहरूबाट आफ्नो भिन्नताको चेतना अर्थात् आत्मचेतना हुन्छ।”⁶

ब्रोम्लेले विभिन्न एथनोइ बीचको यस्तो विविधतालाई छुट्याउन “ethnikos” (एथनिकोस) भन्ने शब्द प्रयोग गर्ने सुझाव दिएका थिए। साथै, कुनै मानिसहरूको समूह नयाँ भूभागमा बसाइँ सरे पनि जातीय गुणहरूको सम्पूर्ण संरचना कायम रहन सक्ने कुरामा जोड दिइएको थियो। ब्रोम्लेले यसको उदाहरणका रूपमा क्यानडामा बसोबास गर्ने युक्रेनीहरूलाई, विशेषतः उन्नाइसौँ शताब्दीको अन्त्यतिर त्यहाँ गएका मानिसहरूलाई प्रस्तुत गरेका थिए।

दोस्रो वर्ग व्यक्तिगत भू–राजनीतिक समुदायहरूले प्रतिनिधित्व गर्छन्, जसले आफूलाई स्वायत्त विशाल एकाइ (macro-unit) का रूपमा प्रस्तुत गर्छन्। यस्ता नृवंशविज्ञान (ethnosociological) जीव–एकाइहरूमा सांस्कृतिक पक्षका अतिरिक्त भूगोल, अर्थतन्त्र, समाज र राजनीतिक समुदाय पनि हुन्छ।

एथनोफोरलाई आफूसँग मिल्दोजुल्दो अरू मानिसहरूले घेरिएको हुनुपर्छ। यही प्रक्रियाले एथनोसलाई बनाउँछ। एथनोफोर कुनै निश्चित जातीय संस्कृति र राष्ट्रिय मानसिकताको व्यक्तिगत वाहक हो। यो एक प्रकारको “परमाणु” हो, जसबाट 'एथनोई' निर्मित हुन्छन्।

जातीय संस्कृतिको प्रत्यक्ष वाहकलाई एथनोफोर (ethnophor) भनिन्छ। एथनोफोरले मानिसहरूलाई जातीय आधारमा एकत्रित गर्ने र विभाजन गर्ने नियमहरू निर्माण गर्छ तथा राष्ट्रिय संस्कृतिको प्रत्यक्ष उत्तराधिकारी र सह–सिर्जनाकर्ता हुन्छ। एथनोफोरको विशेषता के हो भने उसले एक्लैले जातीय गुणहरूको पुस्तान्तरण सुनिश्चित गर्न सक्दैन। अर्को शब्दमा, एथनोफोरलाई आफूसँग मिल्दोजुल्दो अरू मानिसहरूले घेरिएको हुनुपर्छ। यही प्रक्रियाले एथनोसलाई बनाउँछ। एथनोफोर कुनै निश्चित जातीय संस्कृति र राष्ट्रिय मानसिकताको व्यक्तिगत वाहक हो। यो एक प्रकारको “परमाणु” हो, जसबाट 'एथनोई' निर्मित हुन्छन्।

मूल प्राचीन ग्रीक शब्द एथनोस (ethnos) ले निश्चित भूभागमा बसोबास गर्ने, साझा भाषा र सांस्कृतिक परम्परा भएका मानिसहरूका सबै वर्गलाई समेट्दैनथ्यो। प्राचीन ग्रीकमा एथनोस बाहेक मानिसहरूको अन्य प्रकारका संगठनहरूका लागि डेमोस demos (δῆμος), लाओस laos (Λάος) र ओखलोस okhlos (οχλος) जस्ता शब्दहरू पनि थिए।

यीर यसका प्रकारहरूबीच के भिन्नता थियो? फ्रान्सेली भाषाविद् एमिल बेनभेनिस्तेले निम्न परिभाषा दिएका छन्:

"डेमोस" (Demos) ले भूमि विभाजन र त्यसमा बसोबास गर्ने मानिसहरू दुवैलाई जनाउँथ्यो… लाओस Laos भनेको प्रमुख, ‘गोठाला’ वा ‘नेता’सँगको सम्बन्धद्वारा परिभाषित योद्धा समुदाय हो। गोठालाले कहिल्यै डेमोस माथि शासन गर्दैन, केवल लाओस (laos) माथि शासन गर्छ। डेमोस (Demos) भनेको केवल साझा सामाजिक अवस्थाद्वारा एकताबद्ध मानिसहरूको समुदाय हो, जबकि लाओस (laos) ले मानिसहरूको समूह र तिनको नेताबीचका व्यक्तिगत सम्बन्धलाई जनाउँछ… ethnos ले मानिसहरू मात्र होइन, जनावरहरू र मौरीहरूलाई समेत जनाउँछ।”⁷

यसैबीच, ओखलोस okhlos ले मानिसहरूलाई “भीड, हुल वा जनसमूह” का रूपमा जनाउँथ्यो।⁸

आधुनिक विज्ञानमा, सामान्यतः एथनोई (ethnoi) लाई मौरी वा अन्य जीवजन्तुलाई समेटेर परिभाषित गरिँदैन। बरु साझा भाषा, सांस्कृतिक परम्परा र ऐतिहासिक अतीत भएका मानिसहरूको समूहलाई एथोनस (ethnos) भन्नु प्रचलित छ। सेप्टुआजिन्टमा अर्थात् प्राचीन ग्रीकमा अनुवाद गरिएको पुरानो नियमका ग्रन्थहरूमा एथने (ethne) शब्द यहूदी शब्द गोयिम (goyim) को अनुवादका रूपमा प्रयोग गरिएको थियो, जसले यहूदीहरूबाहेकका जनसमुदायलाई जनाउँथ्यो।⁹

जातिकेन्द्रवाद (Ethnocentrism)

अन्तर्राष्ट्रिय सम्बन्धको सन्दर्भमा ethnocentrism अर्थात् जातिकेन्द्रवादजस्तो अवधारणालाई विचार गर्नु महत्त्वपूर्ण हुन्छ। “Ethnocentrism” शब्दलाई सन् १९०६ मा अमेरिकी समाजशास्त्री विलियम सम्नरले विद्वत् प्रयोगमा ल्याएका थिए। उनले यसलाई बाहिरी समूहहरूप्रति पूर्वाग्रह वा अविश्वासको दृष्टिकोणका रूपमा वर्णन गरे, जुन निश्चित सामाजिक समूहभित्र समेत विद्यमान हुन सक्छ।

सम्नरले शत्रुतापूर्ण वातावरण वा बाह्य आक्रमणले समाजको आन्तरिक एकतामा पार्ने प्रभावबारे अत्यन्त फलदायी अवधारणा प्रस्तुत गरे।¹⁰ उनले यसो पनि लेखे:

"बाहिरीहरूसँगको युद्धका आवश्यकताहरूले भित्र शान्ति कायम गर्छन्, किनकि आन्तरिक कलहले युद्धका लागि “आफ्नो–समूह” लाई कमजोर पार्न सक्छ। यिनै आवश्यकताहरूले आफ्नै समूहभित्र सरकार र कानुनको निर्माण पनि गराउँछन्, ताकि एउटा समूहभित्र, अर्को समूहहरूबीचको सम्बन्धमाझगडा रोक्न र अनुशासन लागू गर्न सकियोस्। यसरी युद्ध र शान्तिले एकअर्कामाथि प्रतिक्रिया जनाउँदै दुवैको विकास गरेका छन्। छिमेकीहरू जति नजिक र शक्तिशाली हुन्छन्, युद्ध त्यति नै तीव्र हुन्छ; र त्यसपछि प्रत्येक समूहको आन्तरिक संगठन तथा अनुशासन पनि त्यति नै तीव्र हुन्छ। त्यसअनुसार भावनाहरू पनि विकसित हुन्छन्। समूहप्रतिको निष्ठा, त्यसका लागि बलिदान, बाहिरीहरूप्रतिको घृणा र तिरस्कार, भित्र भ्रातृत्व र बाहिरी विरुद्ध  युद्ध, यी सबै एउटै परिस्थितिका साझा उत्पादनका रूपमा सँगसँगै विकसित हुन्छन्। यी सम्बन्ध र भावनाहरूले एउटा सामाजिक दर्शन निर्माण गर्छन्। धर्मसँगको सम्बन्धका कारण त्यसलाई पवित्र बनाइन्छ। अर्को समूहका मानिसहरू बाहिरी हुन्छन्, जसका पूर्वजहरूसँग “हामी–समूह” का पूर्वजहरूले युद्ध गरेका थिए। पछिल्ला समूहका मृतात्माहरूले आफ्ना वंशजहरूले युद्ध जारी राखेको देखेर प्रसन्न हुनेछन् र उनीहरूलाई सहयोग गर्नेछन्। सद्गुण भनेको बाहिरी मानिसहरूलाई मार्नु, लुट्नु र दास बनाउनुमा निहित हुन्छ।¹¹

सम्नरको सिद्धान्तका सीमाहरू विदेशी संस्कृतिको “घरेलुकरण” सम्बन्धी अनेकौँ संस्कारहरूमा देख्न सकिन्छ—विदेशी आत्माहरूलाई भगाउने शमनवादी अभ्यासदेखि लिएर आँखाको “पठन” तथा नरभक्षणसम्म। धेरै मानिसहरूमा शत्रुको मासु खानुलाई अतिरिक्त आध्यात्मिक शक्ति प्राप्तिसँग प्रत्यक्ष रूपमा जोडिएको मानिन्थ्यो।

विदेशी “अर्को–समूह” लाई आफ्नै समूहको आवश्यकताअनुसार अनुकूलित गर्न सकिन्छ र त्यो अर्को समूह अझ शक्तिशाली तथा संख्यामा ठूलो भए पनि त्यसलाई आध्यात्मिक रूपमा “विजय” गर्न सकिन्छ। यसको विशेष उदाहरण कार्गो पंथ (cargo cults) मा देखिन्छ। यस्ता विश्वासअनुसार केही प्रशान्त महासागरका द्वीपवासीहरूका मृत पूर्वजहरूको आत्मा नै गोरा मानिसहरू हुन् र ती गोरा मानिसहरूको हेरचाह गर्नु उनीहरूको जिम्मेवारी हो।

कुनै न कुनै रूपमा, यहाँ हामी जातिकेन्द्रित धारणा र रणनीतिबीचको अन्तरसम्बन्ध देख्न सक्छौँ, जसबाट “रणनीतिक संस्कृति” (strategic culture) को अवधारणा जन्मिएको हो।

जातिकेन्द्रवादलाई राष्ट्रिय विचारमा रूपान्तरण गर्न सकिन्छ वा सुरुदेखि नै विशेष हैसियतको दाबी गर्न सकिन्छ। यो कुरा विशेषतः जातीय–धार्मिक समाजहरूमा देखिन्छ। निश्चित परिस्थितिमा जातिकेन्द्रवादलाई अझ व्यापक वैचारिक चिह्न र विश्वासहरूको समूहमा रूपान्तरण गर्न सकिन्छ।

जातिकेन्द्रवादलाई राष्ट्रिय विचारमा रूपान्तरण गर्न सकिन्छ वा सुरुदेखि नै विशेष हैसियतको दाबी गर्न सकिन्छ। यो कुरा विशेषतः जातीय–धार्मिक समाजहरूमा देखिन्छ।

उदाहरणका लागि, समकालीन युरोपकेन्द्रवाद (Eurocentrism) एउटा जटिल घटना हो, जसको आधार प्रबोधनकालीन विचारहरूमा छ र जसमा युरोपेली संघसँग सम्बन्धित जनसमुदायका दबाइएका जातिकेन्द्रवादी प्रवृत्तिहरू समेत समावेश छन्।

केन बूथले कुनै विशेष जनसमुदायसँग सम्बन्ध नजोडी राज्यस्तरमा जातिकेन्द्रवादको नमुना विचार लागू गरेका थिए। बूथले लेखेका छन्:

अरूहरूको तर्कसंगत व्यवहारबारे विचार गर्दा रणनीतिकारहरू आफ्नै सांस्कृतिक मूल्यहरू अरूमाथि थोपर्ने  प्रवृत्ति राख्छन्… तर यो स्पष्ट हुनुपर्छ कि ‘तर्कसंगत मानिस’ को व्यवहारको पूर्वानुमान तब मात्र गर्न सकिन्छ, जब पर्यवेक्षक र पर्यवेक्षित दुवैले समान मूल्यहरू साझा गर्छन्, समान प्राथमिकताहरू राख्छन् र समान तार्किक क्षमता राख्छन्। जातिकेन्द्रित धारणाले यस प्रक्रियामा हस्तक्षेप गर्छन्: तिनले आफ्नै मूल्य र प्राथमिकताबोधलाई अरूमाथि जवरजस्त  थोपरछन।  यस प्रक्रियाबाट जातिकेन्द्रवादले रणनीतिको केन्द्रीय कार्य (अरूले संसारलाई कसरी देख्छन् र त्यसपछि कसरी सोच्ने तथा कार्य गर्नेछन् भन्ने अनुमान गर्ने कार्य) लाई कमजोर बनाउँछ।¹²

केन बूथको सिद्धान्त अन्तर्राष्ट्रिय सम्बन्धमा राजनीतिक यथार्थवाद (political realism) को विद्यालयसँग प्रत्यक्ष रूपमा सम्बन्धित छ। तथापि, “हामी विरुद्ध उनीहरू” भन्ने विरोधाभासलाई विशेषतः विचारहरूको पारस्परिक प्रवेश र सांस्कृतिक परम्पराहरूको आपसी आदानप्रदान लामो समयदेखि हुँदै आएको तथ्यलाई ध्यानमा राख्दा कुनै पनि जातीय समूहको पूर्ण शुद्धताको कुरा गर्न निकै कठिन हुन्छ,

“संस्कृतिको क्रियोलाइजेसन वा हाइब्रिडाइजेसन जटिल, असमान र असन्तुलित सामाजिक अन्तरक्रियाका प्रक्रियाहरूको परिणाम हो, जुन कुरा प्रायः शताब्दीऔं लागेर विकसित भएका हुन्छन् र जसले मानव सभ्यताका अनेकौँ समाजहरू निर्माण गरेका छन्।”¹³

एकल जातीय रूपमा समरूप जनसमुदायलाई राज्यको एकमात्र विषय नबनाएका आधुनिक राष्ट्र–राज्यहरूको हकमा यो कुरा अझ स्पष्ट हुन्छ। उनीहरूले दैनिक सञ्चारमा बहुसंख्यकको भाषा नै प्रयोग गरे पनि कुनै न कुनै रूपमा जातीय अल्पसंख्यकहरू सधैँ अस्तित्वमा हुन्छन्।

पोल्यान्डका काशुबियन, जर्मनीका लुसेसियन सोर्ब, फिनल्यान्डका सामी र म्यासेडोनियाका व्लाच (वा अरोमेनियन) समुदायहरूले आधुनिक युरोपेली राज्यहरूको गहिरो विषमता देखाउने उदाहरण प्रस्तुत गर्छन्।

टर्कीमा ४० भन्दा बढी जातीय समूह बसोबास गर्छन्। यहाँ सामान्यतः टर्किस बहुसंख्यक र केही अल्पसंख्यक—जस्तै कुर्द, आर्मेनियाली, ग्रीक र सर्कासियन (उत्तरी ककसका अनेकौँ राष्ट्रियताका लागि प्रयोग हुने सामूहिक नाम)—मात्र छन् भन्ने विश्वास गरिन्छ। तर टर्किसहरूभित्रै पनि, उदाहरणका लागि, अनातोलियनहरूलाई छुट्याउन सकिन्छ। समग्रमा, टर्किस जनसमुदाय आफैँ एसियाली, ककेसियन, बाल्कन र स्लाभिक जनजातिहरूबीच भएको जातीय उत्पत्तिको प्रक्रियाबाट निर्माण भएको हो।

बीसौँ शताब्दीमा अन्तर्राष्ट्रिय सम्बन्धमा पश्चिमी दृष्टिकोणको प्रभुत्व रह्यो। यो आधुनिकतावादी राष्ट्र–राज्यको अवधारणामा आधारित थियो, जसमा जातीय सूक्ष्म भिन्नताहरूलाई सामान्यतः ध्यानमा राखिँदैन। यसको परिणामस्वरूप अवधारणाहरूबीच भ्रम उत्पन्न भयो र राजनीतिक रूपमा गलत निर्णयहरू स्वीकार गरिए।

अमेरिकी राजनीतिक वैज्ञानिक वाकर कोनरले एथनोस 'ethnos' लाई नेसन “nation” को ग्रीक समकक्ष मानेर र जातीय राष्ट्रवाद “ethno-nationalism” शब्दलाई पुनरुक्ति (tautology) मानेर स्पष्ट रूपमा गल्ती गरेका थिए।¹⁴ एथनोस 'Ethnos' एउटा प्राकृतिक समुदाय हो भने नेसन 'nation' एउटा सामाजिक–राजनीतिक समुदाय हो।

“यो तथ्य पश्चिमी वैज्ञानिक चिन्तनका अनेकौँ गलत धारणाहरूको अर्को उदाहरण हो, जसले आफूलाई शब्दावली र परिभाषाहरूको भूलभुलैयामा फसाएको छ।”¹⁵

यसैबीच, जातीय अध्ययन तथा राष्ट्र र राष्ट्रवादका सिद्धान्तहरूका प्रस्थानबिन्दुहरू प्रायः समान हुन्छन्—अर्थात्, भाषा, एकता, मिथक तथा प्रायः बाह्य खतरा र/वा शत्रुबारे साझा धारणामा आधारित व्यवस्थित सम्बन्धहरू भएको एउटा समूह–समुदाय।

रचनावाद (constructivism) को सिद्धान्तले पनि एथनोई 'ethnoi' र नेसन 'nations' दुवैमा लागू गर्न सकिने एउटा अनुमानात्मक नमुना प्रस्तुत गर्छ। यस सिद्धान्तअनुसार एथनोस 'ethnos' केही निश्चित पक्षहरू (जस्तै सांस्कृतिक वा शक्ति–अभिजात वर्ग) को बौद्धिक प्रभावद्वारा निर्मित एउटा संरचना हो। यस अवस्थामा “जातीय” परम्पराहरू कृत्रिम रूपमा निर्माण गरी हेरफेरमार्फत लागू गर्न सकिन्छ वा ऐतिहासिक सामग्रीका आधारमा तिनलाई “पुनर्निर्माण” गर्ने प्रयास गर्न सकिन्छ।

उदाहरणका लागि, फ्रेडरिक बार्थले रचनावादको ढाँचाभित्र जातीयतालाई सामाजिक पहिचानको सबैभन्दा व्यापक वर्गका रूपमा अवधारणीकृत र परिभाषित गर्छन्। उनका अनुसार यो प्रतीकात्मक भिन्नतामार्फत निर्माण हुने परिस्थितिजन्य घटना हो, जसले जातीय वर्गहरूबीचका सीमाहरूको सम्झौतामूलक प्रकृतिलाई उजागर गर्छ।

यस दृष्टिकोणमा, मानिसहरूको कुनै समूहले अन्य समुदायहरूको सापेक्षमा आत्म–निर्धारण गर्न थालेपछि एथनोस 'ethnos' को जन्म हुन्छ। आत्म–पहिचानका आधारमा उक्त समूहले आफ्ना सांस्कृतिक सीमाहरूलाई उपयुक्त ढङ्गले चिह्नित गर्न खोज्छ। जब यी विषयहरू राजनीतिक बन्छन्, तब रचनावाद (ethnoconstructivism) बाट राष्ट्रवाद (nationalism) तर्फ संक्रमण भएको भन्न सकिन्छ। यस्ता रचनावादका शास्त्रीय उदाहरणहरू क्रोएसियाली, कोसोभो र युक्रेनी राष्ट्रवाद हुन्।

मानिसहरूको कुनै समूहले अन्य समुदायहरूको सापेक्षमा आत्म–निर्धारण गर्न थालेपछि एथनोस 'ethnos' को जन्म हुन्छ। आत्म–पहिचानका आधारमा उक्त समूहले आफ्ना सांस्कृतिक सीमाहरूलाई उपयुक्त ढङ्गले चिह्नित गर्न खोज्छ।

रचनावादकै सन्दर्भमा जस्तै, आदिमतावाद (primordialism) र साधनवाद (instrumentalism) का सिद्धान्तहरू पनि एथनोस 'ethnos' को विश्लेषणमा मात्र होइन, राष्ट्रको वर्णनमा समेत लागू गर्न सकिन्छ।

उदाहरणका लागि, रोजर्स ब्रुबेकरले एथनोस 'ethnos' र नेसन 'nation' बीचको अन्तरसम्बन्धबारे अझ व्यापक दृष्टिकोण प्रस्तुत गर्छन्। उनी भन्छन्:

जातीयता, जाति र राष्ट्रलाई अलग, ठोस, मूर्त, सीमाबद्ध र स्थायी ‘समूह’ को चित्रणले हामीलाई त्यसरी सोच्न प्रेरित गरे पनि पदार्थ, वस्तु, एकाइ, जीव वा सामूहिक व्यक्तिका रूपमा अवधारणीकृत गर्नु हुँदैन। बरु तिनलाई सम्बन्धात्मक, प्रक्रियामूलक, गतिशील, घटनामूलक र विखण्डित दृष्टिले बुझिनुपर्छ। यसको अर्थ जातीयता, जाति र राष्ट्रलाई ठोस समूह वा एकाइका रूपमा नभई व्यावहारिक वर्ग, सांस्कृतिक भाषिक रूप, संज्ञानात्मक ढाँचा, विमर्शात्मक फ्रेम, संगठनात्मक अभ्यास, संस्थागत रूप, राजनीतिक परियोजना र आकस्मिक घटनाका रूपमा सोच्नु हो।¹⁶

शब्दावलीसम्बन्धी विरोधाभासहरू

पिपुल र नेसनका अवधारणाहरू समानान्तर रूपमा विकसित भएका छन्, जसका कारण तिनीहरू प्रायः एकअर्कासँग विवाद वा भ्रम सृजना गरेका छन्। राष्ट्रियता) र राज्य  शब्दहरूको अवस्था पनि यस्तै भएको छ।

“राष्ट्रिय हित” भन्ने अभिव्यक्तिले मुख्यतः राज्यलाई जनाउँछ भन्ने कुरा सर्वविदित छ, जबकि “nationality” अर्थात् “राष्ट्रियता” को श्रेणी प्रायः जनसमुदायहरूलाई जनाउन प्रयोग गरिन्छ। तर यदि एउटै राज्यमा धेरै जनसमुदायहरू बस्छन् भने के हुन्छ? त्यस अवस्थामा कसका हितहरू “राष्ट्रिय” हुन्?

यदि हामी ऐतिहासिक दृष्टिकोण अपनाउँछौँ भने, उदाहरणका लागि, सम्राट फ्रेडरिक द्वितीयको सन् १४८६ को “Peace of the Land” (देशको शान्ति) सम्बन्धी कानुनमा सैक्रम इम्पेरियम रोमानियम नेशनिस जर्मेनिके (Sacrum Imperium Romanium Nationis Germanicae) (Heiliges römisches Reich deutscher Nation) भन्ने शब्द प्रयोग भएको देखिन्छ।

सन् १५१२ मा राइखस्टाग (Reichstag) लाई सम्बोधन गर्दा म्याक्सिमिलियन प्रथमले पहिलोपटक आधिकारिक रूपमा 'जर्मन राष्ट्रको पवित्र रोमन साम्राज्य' “Holy Roman Empire of the German Nation” (Heiliges Römisches Reich Deutscher Nation) भन्ने शब्द प्रयोग गरेका थिए।¹⁷ यसरी nationality अर्थात् राष्ट्रियताको अवधारणाको प्रारम्भिक उदाहरण जर्मनहरूसँग सम्बन्धित देखिन्छ।

जेरार्ड नोइरिएलका अनुसार, फ्रान्समा राष्ट्रियता “nationality” भन्ने संज्ञा, सोही मूलबाट बनेको नेसन “nation” भन्ने संज्ञाभन्दा निकै पछि प्रचलनमा आयो। फ्रान्सेली भाषामा यस शब्दको “जन्म” जर्मन नृवंशशास्त्रका संस्थापकहरूमध्ये एक फ्रेडरिक यानको सन् १८१५ को कृति जर्मन लोक संगीत (Deutsches Volkthum) को अनुवादसँग सम्बन्धित छ।¹⁸

तर वोल्कस्टम (Volksthum) स्वयं यानले निर्माण गरेको कृत्रिम शब्द थियो। साथै, जर्मन भाषामा वोल्कVolk को अर्थ “people” अर्थात् “जनता/जनसमुदाय” हो, नेसन “nation” होइन भन्ने कुरा स्पष्ट रूपमा बुझ्नुपर्छ। यानका लागि वोल्कस्टम (Volksthum) भनेको व्यक्तिहरूलाई एउटा समूहमा एकताबद्ध गर्ने र उनीहरूलाई एउटा समग्रतामा रूप दिने शक्ति थियो।

राष्ट्रवाद शब्द फ्रान्सेली भाषामा राष्ट्रियता भन्दा पहिले नै, सन् १७९८ मा अभिलेखित भएको थियो।

नोइरिएलले फ्रान्सेली भाषामा राष्ट्रियता शब्दको बहुअर्थकतातर्फ पनि ध्यान आकर्षित गर्छन्, जसले विभिन्न सन्दर्भमा फरक अर्थगत भार वहन गर्छ।

रोचक कुरा के छ भने राष्ट्रवाद शब्द फ्रान्सेली भाषामा राष्ट्रियता भन्दा पहिले नै, सन् १७९८ मा अभिलेखित भएको थियो। एबट बारुएलले यसलाई ज्याकोबिनवादको आलोचना गर्न प्रयोग गरेका थिए:

राष्ट्रवादले आफ्ना छिमेकीप्रतिको प्रेमलाई विस्थापित गर्छ… यसले विदेशीहरूलाई तुच्छ ठान्न, उनीहरूलाई छल गर्न र हानि पुर्‍याउन अनुमति दिन्छ।”¹⁹

यसैबीच, फ्रान्समा नेसन शब्द प्रत्यक्ष रूपमा राज्यसँग सम्बन्धित थियो एटैट-नेशन(État-nation) अर्थात् राष्ट्र–राज्यका रूपमा परिभाषित गरिएको छ।

अठारौँ शताब्दीको अन्त्यमा, क्रान्तिपछिको फ्रान्सले सामाजिक वर्गीय व्यवस्थाको भग्नावशेष तथा विभिन्न क्षेत्रीय एथोनइ (ethnoi) बाट नयाँ नागरिक समाज निर्माण गर्न र थप विखण्डन रोक्नुपर्ने अवस्था सामना गर्‍यो। एकीकरण प्रक्रियाको मुख्य प्रेरक शक्ति फ्रान्सलाई अन्य देश र जनसमुदायहरूबाट यहाँसम्म भिन्न गर्नु थियो कि साझा ऐतिहासिक जरा भएका देश तथा जनसमुदायहरूबाट समेत भिन्न रूपमा प्रस्तुत गर्नुमा थियो।

उन्नाइसौँ शताब्दीमा राष्ट्रवाद धेरै युरोपेली राज्यहरूको झन्डा बन्यो, जसमा राजतन्त्र र गणतन्त्र दुवै समावेश थिए। स्वाभाविक रूपमा, यो स्वतन्त्रता प्राप्त गर्न खोज्ने जनसमुदायहरूका लागि नमुना र शक्तिशाली उत्प्रेरक पनि बन्यो। जस्तै; बाल्कनमा ओटोमन शासनविरुद्धको संघर्ष।

दार्शनिक तथा आध्यात्मिक दृष्टिकोणका सम्बन्धमा, जर्मन दार्शनिक योहान हर्डर, जसलाई प्रति–प्रबोधन (Counter-enlightenment) का आधारभूत चिन्तकहरूमध्ये एक मानिन्छ, उनले जनसमुदायहरूलाई “ईश्वरका विचार” मान्थे।

उनका कतिपय देशबासीहरूले युरोपेली जाति अन्य जातिभन्दा श्रेष्ठ छ भन्ने धारणा स्पष्ट रूपमा व्यक्त गरेको सामान्य प्रवृत्तिको विपरीत, हर्डरले आफ्नो समयको मानवतावादी तथा ऐतिहासिक विकासमा आधारित परम्परालाई पछ्याए। उनले तर्कवादीहरूको स्पष्ट विरोध गरे।यसै कारण कान्टसँग उनको विवाद भयो र फिख्टेले उनका विचार अस्वीकार गरे। साथै “राष्ट्रिय श्रेष्ठता” तथा कुनै जनसमुदायले अर्कोमाथि प्रभुत्व जमाउने सबै धारणाको आलोचना गरे।

उनका शब्दमा:

“जाति” ले उत्पत्तिको भिन्नतालाई जनाउँछ, तर यहाँ त्यस्तो भिन्नता छैन; अथवा यी प्रत्येक देशमा र यी प्रत्येक शारीरिक विशेषताअन्तर्गत सबैभन्दा फरक–फरक जातिहरू समावेश छन्। किनकि प्रत्येक राष्ट्र एउटा जनसमुदाय हो, जसको आफ्नै राष्ट्रिय स्वरूप हुन्छ, साथै आफ्नै भाषा हुन्छ…²⁰

हर्डरले आफ्नो विशाल कृति 'मानव इतिहासको दर्शनका रूपरेखाहरू' (Outlines of a Philosophy of the History of Man) को आठौँ पुस्तकमा यही विचारलाई अझ विस्तार गर्दै लेखेका छन्:

प्रत्येक राष्ट्रमा वस्तुहरूलाई हेर्ने आफ्नै तरिका अझ गहिरो रूपमा अंकित हुन्छ, किनकि त्यो स्वयं उनीहरूका लागि अनुकूल हुन्छ, उनीहरूको आफ्नै भूमि र आकाशसँग मेल खान्छ, उनीहरूको जीवनशैलीबाट उत्पन्न हुन्छ र पिता–पुस्ताबाट सन्तान–पुस्तामा हस्तान्तरण हुँदै आएको हुन्छ। विदेशीलाई सबैभन्दा अचम्म लाग्ने कुरा उनीहरूलाई सबैभन्दा स्पष्ट रूपमा बुझेको जस्तो लाग्छ; र उनीहरूका लागि सबैभन्दा गम्भीर कुरा विदेशीलाई हास्यास्पद लाग्छ।²¹

त्यसैगरी, हर्डरले जोड दिएका थिए:

“यसरी राष्ट्रहरू समय, स्थान र आफ्नै आन्तरिक चरित्रअनुसार आफूलाई परिवर्तन गर्छन्; प्रत्येकले आफ्नोभित्र आफ्नै पूर्णताको मापदण्ड बोकेको हुन्छ, जुन अरूको मापदण्डसँग कुनै पनि तुलनाबाट पूर्णतः स्वतन्त्र हुन्छ।”²²

फ्रेडरिक नित्सेले पनि आफ्नो तर्फबाट जनसमुदायलाई त्यस्तो कुरा भनेका थिए, जसले “आफूलाई आफैँ बुझ्छ।”²³

नोट:

1 Shirokogorov S. Etnos: Issledovanie osnovnih printsipov izmeneniya etnicheskih I etnografichaskih yavleniy. Shankhai: Dalnevostochniy universitet, 1923, p. 30.

2Ibid, 37.

3 Bromley Y. Ocherki teorii etnosa. Мoscow: Nauka, 1983. p. 12.

4 Latyshina D., Khairullin R. Etnopedagogika. Мoscow: Urait, 2014. p. 32.

5 Asatryan G. Etnicheskaya kompozitsya Irana. От «Aryiskogo prostora» do Azerbaidjanskogo mifa. Erevan: Кavkazskiy centr iranistiki, 2012. p. 76.

6 Bromley Y, Podolniy R. Chelovechestvo – eto narodi. Мoscow: Мysl’, 1990. p. 32.

7 Benvenist E. Slovar socialnikh indoevropeyskikh terminov. Мoscow: Progress, 1995. p. 297.

8 Weisman A. Grechesko-russkiy slovar. Мoscow: Greko-latinskiy kabinet Shichalina, 1991. p. 916.

9 Tonkin E., McDonald M., Chapman M. History and Ethnicity. London: Routlege, 1989. Р. 11.

10 Sumner W. G. War // WSPSA, 1964.

11 Sumner W., Folkways. New-York: Dover, Inc., 1959. http://www.gutenberg.org/ files/24253/24253-h/24253-h.htm

12 Ken Booth, Strategy and Ethnocentrism. New York: Homes & Meier Publishers, 1979, р 65.

13 Urry, John. Sociology beyond societies. Mobilities for the twenty-first century. London: Routledge, 2000. p.222.

14 Connor W. A Few Cautionary Notes on the History and Future of Ethnonational Conflicts // Facing ethnic conflicts: Toward a Nеw Realism / Ed. by A. Wimmer. Lanham: Rowman & Littlefield Publishers, 2004. Р. 23–24

15 Savin L. Paradoxi natsionalizma I etnokonflikti // Geopolitika.ru http://geopolitica.ru/article/paradoksy-nacionalizma-i-etnokonflikty#. VYmr1dK8PGc.

16 Rogerbs Brubaker, “Ethnicity without Groups”, Arch.europ.sociol.,XLIII: 2 (2002): 167. http://bev.berkeley.edu/Ethnic%20Religious%20Conflict/ Ethnic%20and%20Religious%20Conflict/1%20Identity/Ethnicity%20 without%20Groups%20Brubaker.pdf ; Брубейкер Р. Этничность без границ. p. 29

17 Winkler H. A. Germany: 1789-1933. — Oxford: Oxford University Press, 2006. — Vol. 1. — P. 9 -10.

18 Noiriel G. Etat, Nation et Immigration. Paris, 2005.

19 Filippova E. Chto takoe Frantsiya? Kto takie frantsuzi? // Nacionalizm v mirovoi istorii. Moscow: Nauka, 2007. P. 182.

20 John Godfrey Herder, Outlines of a Philosophy of the History of Man (London: Luke Hanfard, 1803), 298

21 Johann Gottfried v. Herder, Outlines of a Philosophy of the History of Man (Bergman, London/New York: 1800/1966), 197.

22 Ibid, 452.

23 Beyond Good and Evil, Aphorism 268 

(डा.लियोनिद साविनद्वारा लिखित बहुविश्ववादी व्यवस्था: अमेरिकी वर्चस्वको अन्त्य र बहुध्रुवीयताको उदय।(Ordo Pluriversalis: The End of Pax Americana and the Rise of Multipolarity)पुस्तकबाट लिइएको अंश। )

अनुवाद एवं प्रस्तुति: मोहनप्रसाद ज्ञवाली

(यो अनुवाद लेख साभार छाप्नेले अनिवार्य रुपमा मूल लेखको स्रोत, अनुवादकको नाम र दायित्वबोधको हाइपरलिङ्कसहित स्रोत खुलाउनुहोला । उचित तरिकाले स्रोत नखुलाइकन प्रकाशित गरिएमा बौद्धिक चोरी मानिनेछ ।–दायित्वबोध)

 दायित्वबोधको विशेष अनुरोध

वाम वैचारिकीको रक्षा र प्रबर्द्धनका लागि दायित्वबोध अनलाइन निरन्तर रहनु जरुरी छ भन्ने तपाईंलाई लाग्छ ?

के दायित्वबोधमा प्रकाशित भइरहेका सामग्रीहरु उपयोगी र पठनीय छन् भन्ने तपाईं ठान्नुहुन्छ ?

दायित्वबोधको निरन्तरताको लागि तपाईंको सहयोगले ठूलो अर्थ राख्छ !

तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ ?
यस लिङ्कमा थिच्नुहोस्

लियोनिद साविन

लियोनिद साविन रूसी संघको रक्षा मन्त्रालयअन्तर्गत सैन्य वैज्ञानिक समाज (Military Scientific Society) का सदस्य तथा इस्लामाबाद इंटरनेशनल काउंटर-टेररिज्म फोरम (Islamabad International Counter-Terrorism Forum) को संचालन समिति (steering committee) का सदस्य हुन्। उनी अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीतिक दर्शन, भू–राजनीति तथा अन्तर्राष्ट्रिय द्वन्द्वका विषयमा धेरै पुस्तक, वैज्ञानिक प्रकाशन तथा विशेष अध्ययनका लेखक हुन्।