गन्तव्य
आज मेरो उनीसंग भेट भयो । सदा झैं उस्तै सौम्य, सामान्य । गहिरा काला ठूला आँखा । जिङ्ग्रिङ्ग कपाल । अनायास कतै हराएको । मेरो सुस्केराको सहारा उनी । शिष्टाचार निभाउदै मैले भनें, 'गुरु म त फेरि आएँ । म अझै प्रस्ट हुन चाहें, कर्म हो के ?!' उनले मलाई टुप्पीदेखि पैताला सम्म एकसरो सररर निहाले, मानौं उनी मलाई स्क्यानिंग गरिरहेका थिए, हुन सक्छ यस कारणले कि कतै म उनलाई उल्याई रहेको त छुइनँ ?! सायद उनको कसीमा म खरो उत्रिएँ । उनी धागोको गुजुल्टो फुकाए झैं सम्झाउन थाले :
'मन बहलाउन र मनोरञ्जन प्रयोजनका निम्ति मेरा अभिव्यक्ति निस्सार छन् । परिपक्क र चिन्तनशील मानिसका बीच म आफ्ना दृष्टिकोणमा विमर्श गर्न चाहन्छु । ओंठमा आमाको दूध नसुकेका बालबालिका भने पछि म हुरुक्कै हुन्छु - उनीहरुको निम्ति पाठशाला झनै उपयोगी र महत्वको हुन्छ - त्यो पनि म बुझ्छु । तर म उनीहरुलाई कोखाइ-कोखाइ गर्नेहरुको चालचलनमा निरीक्षण गर्छु, कतै हुर्राबाट, कतै विमतिबाट, कतै मेरा पनि सुझाव काम लाग्लान् कि भन्ने मनसायबाट । कुण्ठालाई प्रस्थान बिन्दु बनाए पछि पुग्ने त नर्कै हो । त्यसैले म त्यस्ताको ज्यान गए सहयात्री हुन सक्दिनँ बरु भविष्यमुखीहरुलाई, भलै कल्पनाका छलाङ्ग होलान्, सुन्ने गर्छु । म व्यावहारिकताको सम्मान गर्छु र आफैं पनि कोशिस गर्छु, आखिर जतिसुकै लामो यात्रा पनि आफैले टेकेको धर्तीबाट शुरु हुने हो । व्यावहारिकतावाद मलाई फिटिक्कै मन पर्दैन । त्यो औसरवादको छुपे रुस्तम हो - तातो रोटीको ध्याउन्नमा हुन्छ, लक्ष्यभेदनको निम्ति निकृष्टतम उपाय पनि जायज ठहर्याउँछ र त्यसमा सामाजिकताको त कुरै छोड, सामान्य लोकाचारलाई पनि बालमतलब भन्दछ । मलाई छङ्गछङ्ग बगेको खोलो मनपर्छ - त्यसमा पन्चे बाजा बजेको सुन्छु । नदीको उर्लदो भेल देख्दा मच्ची मच्ची नारा लगा'को उमङ्ग सम्झन्छु, भावविभोर हुन्छुँ इतिहासमा क्रान्तिको रणघोष हुँदा मान्छेको यसरी नै ओइरो लागेको थियो । नागबेली काबेली देखेर एकछिन घोरिन्छु - जीवन सोझो सपाट त कहाँ हुन्छ र ?! तर बग्न छोड्नु हुन्न । नीलगगनमा तारा पुञ्ज हेर्छु - उचाइसंग लोभिन्छु, अर्को कुरो मधुरै किन न सही प्रकाश फालिरहेका हुन्छन् । आफैलाई त के खाँचो अरु कसैलाई तल प्रदीप्त गर्न त होला ! तिम्रो अनुमोदनको तिनलाई कुनै मतलब छैन - बस, आफ्नो धर्म निर्वाह गरिरहेका छन् । मलाई यात्रुहरु नियाल्न औंधी मन पर्छ, तिमी बाटोमुनि बसेर कुरा काट्दैमा के हुन्छ उनको अग्रगति रोकिने होइन । हावा हुण्डरीको आफ्नै रमाइलो छ - पातपतिङ्गर उड्न थाल्दछन् तर सगरमाथा निर्विचलित हाँसिरहेको हुन्छ । घामको झुल्को न कुनै सन्कीको आदेशमा चल्छ न कुनै भीडको लहैलहैमा आउँछ - बस, उसको पनि आफ्नै नियतिको चक्र छ । म मृत्युमा अनात्मा मान्छु तर जीवनमा आत्मा माथि घोडा चढ्न चाहन्छु । अनित्य त हो नै जीवन तर अन्तिम पर्दा खस्नु अघिका कर्म पनि त छन् - रोमाञ्च छ, एडभेन्चर पनि त हो । हाँसो साट्न साथीको कमी छैन, कथम् दुई ढिका आँसु झार्नु पर्दा कतै कुनो पनि खाली छ । मेरो निम्ति अनित्यमा क्रान्तिको उपस्थिति छ तर त्यो समय सारिणीमा अनन्त क्रान्तिको सिलसिला होइन - ठाउँ सर्न समय लाग्छ, प्रक्रिया पूरा गर्नु पर्छ - चितायो कि बितायो कहाँ हुन्छ ! बोधिसत्व भन, वैज्ञानिक विचार भन या प्रज्ञा, जेसुकै नाम देऊ, सुसंगत सुल्झेका विचार त चाहियो नि, नत्र त कुहिराको काग । संगठित प्रयत्नको महात्म्य नै बेजोड छ । त्यतिले मात्र पनि कहाँ पुग्छ र ?! 'धर्म'मा बाँधिनु पनि त पर्यो नि ! सके सबैको होस् न सके धेरैको भलो होस् - कर्म त्यतातिर न हो । थोरैको सोनापुर बाँकीको नर्क - त्यो पनि गर्विलो समाज हो ?! न्यायको उपहास । खोजेको समाज त त्यो पो त जहाँ सम्पूर्ण मानवीय मर्यादाको रक्षा हुन्छ । जो बदल्न लागे ती धन्य हुन् । हार्दा जान्छ के, जित्दा कत्रो उमङ्ग ! न्यायको हर्ष बढाइँ !'
म ट्वाँ परेर सुनिरहें । फर्किदा यात्रा त लामो थियो तर मन भने हलुङ्गो । मनमनै सोचें, 'हामीसंग हुँदै नभ'को त कहाँ हो र ?!'
इतिहासकै सबैभन्दा रंगभेदी विश्वकप
राउल क्यास्ट्रो एक नायक हुन्: वास्तविक अपराधी त अमेरिकी साम्राज्यवादीहरू हुन्
ट्रम्पको चीन भ्रमण: बाहिर गुलाबको सुवास, भित्र सुरक्षाको अविश्वास
कम्पनीको नुन
ज्ञान र कौशलको पुस्तान्तरण
लोकतन्त्र, असन्तोष र एन्टी-एस्टाब्लिसमेन्ट राजनीति
सम्प्रदाय: सही अर्थ, सन्दर्भ र समकालीन पुनर्व्याख्या
प्रतिक्रिया