हाम्रा भावनाहरू: जीवन रक्षाका अदृश्य संकेत
हामी प्रायः भावनाहरूलाई 'राम्रो' वा 'नराम्रो' भनेर वर्गीकरण गर्छौं। खुसीलाई राम्रो मान्छौं, डर, रिस वा उदासीलाई नराम्रो वा कमजोरीको रूपमा हेर्छौं। तर, आधुनिक स्नायुविज्ञान (Neuroscience) ले एउटा निकै रोचक सत्य बाहिर ल्याएको छ: हाम्रा कुनै पनि भावनाहरू नराम्रो हुँदैनन्। वास्तवमा, यी त हाम्रा अस्तित्व रक्षाका लागि प्रकृतिले विकास गरेका जटिल र महत्त्वपूर्ण 'संकेतहरू' मात्र हुन्। तपाईंले अनुभव गर्ने प्रत्येक भावना करोडौं स्नायु कोष (neurons), हर्मोन र मस्तिष्कका सर्किटहरूको आपसी तालमेलको परिणाम हो, जसले तपाईंलाई यस संसारमा बाँच्न र अगाडि बढ्न मद्दत गर्दछ।
मानव मस्तिष्कको गहिराइमा रहेका यी भावनाहरूले कसरी काम गर्छन् र किन हाम्रो जीवनमा यिनीहरूको भूमिका अपरिहार्य छ, आउनुहोस् यसलाई अझ नजिकबाट बुझौं।
खुसी: हाम्रो सफलताको इनाम
हामीले जे पाउँछौं वा जुन लक्ष्य पूरा गर्छौं, त्यसपछि महसुस हुने आनन्दको भावना अचानक आउने होइन। यसको पछाडि मस्तिष्कको 'रिवार्ड सिस्टम' ले काम गरिरहेको हुन्छ। जब हामी खुसी हुन्छौं, हाम्रो मस्तिष्कले डोपामाइन र सेरोटोनिनजस्ता न्युरोट्रान्समिटरहरू छोड्छ। यी रासायनिक पदार्थहरूले हाम्रो व्यवहारलाई सुदृढ बनाउँछन्, जसले हामीलाई फेरि त्यस्तै राम्रो काम गर्न वा सम्बन्धहरू निर्माण गर्न उत्प्रेरित गर्छ। यो प्रकृतिले हामीलाई दिएको एउटा इनाम हो, जसले हामीलाई बाँच्न र अघि बढ्न प्रेरित गर्छ।
उदासी: गहिरो सोच र मद्दतको माग
हामीले प्रायः उदासीबाट भाग्न खोज्छौं। तर, कुनै प्रिय कुरा गुमाउँदा वा असफलता भोग्दा महसुस हुने उदासी वास्तवमा हाम्रो मानसिक स्वास्थ्यको सुरक्षाका लागि आएको एउटा महत्त्वपूर्ण संकेत हो। अनुसन्धानकर्ताहरूका अनुसार उदासीले हामीलाई गहिरो आत्म-मन्थन (Reflection) गर्न र विगतका अनुभवहरूलाई राम्ररी प्रशोधन गर्न प्रेरित गर्छ। यसले हाम्रो वरिपरिका मानिसहरूलाई पनि हामीलाई सहयोगको आवश्यकता छ भन्ने संकेत दिन्छ, जसले सामाजिक बन्धनलाई अझ बलियो बनाउन मद्दत गर्छ।
रिस: सीमा रक्षा गर्ने ऊर्जा
रिसलाई धेरैले नकारात्मक भावना मान्छन्, तर वास्तवमा यसले हाम्रो मस्तिष्कमा खतरा पत्ता लगाउने र उत्प्रेरित गर्ने क्षेत्रहरूलाई सक्रिय बनाउँछ। जब तपाईंलाई रिस उठ्दा मुटुको गति बढ्छ र रक्तचाप बढ्न थाल्छ। यो शरीरले आफैंलाई कुनै चुनौतीको सामना गर्न, आफ्नो सिमाना (Boundaries) रक्षा गर्न वा अन्यायको विरुद्धमा उभिन तयार पार्ने प्रक्रिया हो। वास्तवमा रिस हामीलाई कठिन परिस्थितिमा आफ्नो रक्षा गर्न आवश्यक शक्ति प्रदान गर्ने ऊर्जा हो ।
डर: सबैभन्दा पुरानो सुरक्षा कवच
मानव विकासको क्रममा डर सबैभन्दा पुरानो 'सर्भाइभल मेकानिजम' हो। हाम्रो मस्तिष्कले कुनै खतरा महसुस गर्ने बित्तिकै 'फाइट-अर-फ्लाइट' (लड्ने वा भाग्ने) प्रतिक्रिया सक्रिय पार्छ। यसले तनाव दिने हर्मोनहरूलाई एकै झट्कामा रगतमा मिसाइदिन्छ, जसले हाम्रो ध्यानलाई तिखार्छ, प्रतिक्रिया दिने गति बढाउँछ र शरीरलाई तत्कालै कदम चाल्न तयार पार्छ। यो भावना नहुँदो हो त हाम्रा पुर्खाहरू जंगली जनावर र प्रकृतिको खतराबाट बच्न सक्ने थिएनन्।
आश्चर्य: हाम्रो ध्यानको रिसेट बटन
हाम्रो अपेक्षा र यथार्थ मेल नखाँदा हामी आश्चर्यमा पर्छौं। यो हाम्रो मस्तिष्कको 'न्युरोलोजिकल रिसेट बटन' जस्तै हो। यसले तुरुन्तै हाम्रो ध्यानलाई नयाँ वा महत्त्वपूर्ण घटनातिर मोड दिन्छ। यसले हामीलाई नयाँ कुरा सिक्न, सतर्क रहन र वातावरणमा भइरहेका परिवर्तनहरूलाई गम्भीरतापूर्वक लिन मद्दत गर्छ।
घृणा: हाम्रो प्राकृतिक प्रतिरक्षा प्रणाली
घृणाको भावनाले हामीलाई सडेका खानेकुरा, रोग वा घातक अवस्थाबाट टाढा राख्न मद्दत गर्छ। यो हाम्रो रक्षाका लागि विकसित भएको एक प्रकारको सुरक्षात्मक प्रणाली हो । केही अध्ययनहरूले त घृणाले हाम्रा सामाजिक र नैतिक निर्णयहरूमा पनि प्रभाव पार्ने तथा हामीलाई हानिकारक मानिस वा व्यवहारबाट सुरक्षित रहन सिकाउँने पनि देखाएका छन् ।
भावना, तर्क र निर्णय लिने क्षमताको सम्बन्ध
धेरैलाई लाग्छ भावना र तर्क एकअर्काका विपरीत हुन्। तर, आधुनिक स्नायुविज्ञानले यो धारणालाई पूर्ण रूपमा गलत साबित गरेको छ। वैज्ञानिकहरूले मस्तिष्कका ती भागहरूमा क्षति पुगेका मानिसहरूमा अध्ययन गरेका छन्, जहाँ भावनाहरू उत्पन्न हुन्छन्। ती मानिसहरूले निकै साना र सामान्य निर्णयहरू लिन पनि संघर्ष गर्ने गरेको पाइएको छ।
यसको कारण के हो भने, भावनाहरूले हामीलाई कुन जानकारी महत्त्वपूर्ण छ, कुन काममा जोखिम बढी छ र कस्तो निर्णय लिँदा सामाजिक सम्बन्ध राम्रो रहन्छ भन्ने कुरालाई प्राथमिकता (Prioritize) दिन मद्दत गर्छन्। सन् २०२१ मा प्रकाशित जी. सिमिकको अनुसन्धानले पनि यो कुरालाई पुष्टि गरेको छ कि भावनाहरू तार्किक सोचका बाधक होइनन्, बरु ती त तार्किक सोच सम्भव हुनुका मुख्य कारणहरू हुन्।
सारमा भन्दा हाम्रा भावनाहरू हामीलाई हर पल सुरक्षित राख्न र सही बाटो देखाउन निरन्तर काम गरिरहेका हाम्रो मस्तिष्कका अदृश्य सहायकहरू हुन् । त्यसैले, जब तपाईं अर्को पटक रिस, डर वा उदासी महसुस गर्नुहुन्छ, त्यसलाई दबाउने वा गलत ठान्ने प्रयास नगर्नुहोस्। बरु, आफूलाई सोध्नुहोस्– "मेरो शरीर र मस्तिष्कले मलाई अहिले के सन्देश दिइरहेका छन्?" यी भावनाहरूलाई सुनेर र तिनको अर्थ बुझेर नै हामी आफ्नो जीवनलाई बढी सचेत र खुसी बनाउन सक्छौं।
अमेरिकामा तीब्र रुपमा फैलिइरहेको साइक्लोस्पोरा संक्रमण के हो ?
विश्वव्यापी जनस्वास्थ्य र मृत्यु तथा रोगको असमान वितरण
खाद्य अपव्यय: खेर फ्याँक्ने खानेकुराको विषय मात्र होइन, एउटा प्रणालीगत समस्या
जलवायु परिवर्तन: हाम्रा शासकहरूले धान्नै नसक्ने गरी बढेको गर्मी
चरम गर्मी अब स्वास्थ्य संकट: पूर्वाधार र ज्यान दुवै जोखिममा
कब्जियतबाट छुटकारा पाउनका लागि फाइबरयुक्त उत्तम पाँच खानेकुराहरू
सन्तान सपार्ने कोसिसः सन्तुलन कता बिग्रेको छ त ?
प्रतिक्रिया