सुन्दरता
एउटा जङ्गलमा फ्याउरो र चितुवा साथी थिए। उनीहरूले मज्जाले पेटभरि खाना खाए र आराम गरिरहेका थिए। आराम गर्दागर्दै उनीहरू आफ्नो सुन्दरताको विषयमा बहस गर्न थाले। चितुवालाई आफ्नो चम्किलो र थोप्ले छालाको धेरै गर्व थियो। उसले फ्याउरोलाई होच्याउँदै जिस्काउन थाल्यो । चितुवाले फ्याउरोको रूप एकदमै साधारण छ भनी खिल्ली उडायो।
फ्याउरोलाई पनि आफ्नो सेतो टुप्पो भएको झप्प परेको सुन्दर पुच्छरमा धेरै गर्व थियो । ऊ निक्कै बुद्धिमान पनि थियो। उसलाई शारीरिक सुन्दरतामा चितुवासँग प्रतिस्पर्धा गर्न सक्दिनँ भन्ने थाहा थियो । उसले आफ्नो बुद्धिको जाँच गर्न र रमाइलोका लागि उसले व्यंग्यात्मक कुराहरू गरिरह्यो। चितुवालाई रिस उठ्न थालेको थियो । त्यो थाहा पाएर फ्याउरो जुरुक्क उठ्यो र अल्छी मान्दै हाइ काड्यो ।
फ्याउरोले भन्यो, "तिमीसँग सुन्दर छाला त होला, तर तिमीसँग मेरो जस्तो बुद्धि भने छैन । त्यो भएको हुन्थ्यो भने तिमीलाई धेरै फाइदा हुन्थ्यो। म त यसैलाई नै वास्तविक सुन्दरता मान्छु।"
फ्याउरोको कुरा सुनेर चितुवा चुप लाग्यो ।
प्रतिक्रिया