झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षाकर्मी परिचालन

झारखण्डको सारण्डा जंगलभित्र प्रतिबन्धित भाकपा (माओवादी) का अन्तिम सक्रिय पोलिटब्युरो सदस्य ६६ वर्षीय मिसिर बेसराको खोजी कार्यलाई ४,००० सुरक्षाकर्मीको टोलीले तीव्र बनाएको छ।

सुरक्षा निकायका स्रोतहरूका अनुसार सिआरपीएफ, कोब्रा र झारखण्ड प्रहरीबाट खटिएका सुरक्षाकर्मीहरूलाई "रेड कोरिडोर" को घना जंगल क्षेत्रमा तैनाथ गरिएको छ। 'सागर' 'असीम मण्डल' जस्ता उपनामले समेत चिनिने बेसरा आफ्ना कार्यकर्ताहरूसहित सोही क्षेत्रमा लुकेर बसेको बताइएको छ।

"घेराबन्दी कडा पारिएको र जंगलभित्र आपूर्ति व्यवस्था काटिएकाले अब उनका लागि आत्मसमर्पण नै एकमात्र विकल्प बाँकी छ। सारण्डाको यो अपरेसन भारतका सर्वाधिक खोजी गरिएका माओवादी कमान्डरमध्ये एकको लामो खोजीको अन्तिम अध्याय हुनेछ," केन्द्रीय गृह मन्त्रालयका एक अधिकारीले भने।

ती अधिकारीका अनुसार जंगलभित्र सुरक्षा उपस्थितिलाई मजबुत बनाउन सारण्डा क्षेत्रमा धेरै फर्वार्ड अपरेटिङ बेसहरू स्थापना गरिएको छ।

सोमबार, केन्द्रीय गृह मन्त्री अमित शाहले वामपन्थी उग्रवाद उन्मूलनका लागि तय गरिएको मार्च ३१ को समयसीमा पछि छत्तीसगढको बस्तरको आफ्नो पहिलो भ्रमणका क्रममा भारतलाई "नक्सल मुक्त" घोषणा गरेका थिए।

यद्यपि, उनको मन्त्रालयका स्रोतहरूका अनुसार देशमा नक्सल प्रभावित जिल्लाहरूको संख्या घटेर सातमा झरेको छ, जसमा छत्तीसगढका तीन जिल्लाहरू—बिजापुर, नारायणपुर र सुकमा अझै पनि "अति प्रभावित श्रेणी" मा रहेका छन्।

बेसरा सन् २००७ मा राँचीबाट पक्राउ परेका थिए, तर सन् २००९ मा बिहारको लखीसराय अदालत परिसरमा सशस्त्र माओवादी कार्यकर्ताहरूले साहसिक आक्रमण गरेपछि उनी उम्कन सफल भए। उनलाई त्यतिबेला थुनुवा पुर्जी अन्तर्गत अदालतमा उपस्थित गराइएको थियो। फरार भएदेखि नै उनले सुरक्षा फौजलाई छक्याउँदै आएका छन्। झारखण्डका सारण्डा र तुम्बाहाका जंगलहरूमा भएका धेरै भीषण र चर्चित भिडन्तहरूबाट उनी बच्न सफल भएका छन् र घना भौगोलिक अवस्थाको फाइदा उठाउँदै उम्कने गरेका छन्।

स्रोतका अनुसार सिआरपीएफ, विशिष्ट नक्सल विरोधी बल 'कोब्रा' र झारखण्ड प्रहरीले सारण्डा जंगलभित्र २० किलोमिटरको घेराबन्दी गरेका छन्। यी सुरक्षा निकायले माओवादी नेतालाई पक्रनका लागि ओडिसा र छत्तीसगढसँग जोडिएका अन्तर-राज्य सीमासहितका मुख्य नाकाहरू सिल गरेका छन्।

१ करोड रुपैयाँको पुरस्कार राशी तोकिएका बेसरा भाकपा-माओवादीका अन्तिम शीर्ष कमान्डर हुन्। डिसेम्बर २०२४ मा सुरु गरिएको व्यापक माओवादी विरोधी अभियानपछि अन्य सबै पोलिटब्युरो सदस्यहरूले कि त आत्मसमर्पण गरिसकेका छन् वा छत्तीसगढ, तेलंगाना,  महाराष्ट्र र आन्ध्र प्रदेशमा भएका मुठभेडहरूमा मारिएका छन्।

"यस क्षेत्रमा सुरक्षाकर्मीहरूमाथि भएका केही घातक आक्रमणका मुख्य योजनाकार मिसिर बेसरालाई फेला पार्न व्यापक खोजी अभियान सुरु गरिएको छ। उनलाई पत्ता लगाउन सिआरपीएफ, कोब्रा र झारखण्ड प्रहरीका करिब ४,००० जवानहरू परिचालन गरिएको छ," केन्द्रीय गृह मन्त्रालयका एक अधिकारीले भने।

उनका छोरा र भाइ देवीलाल बेसरा लगायत परिवारका सदस्यहरूले पनि उनलाई आत्मसमर्पण गरी मूलधारमा फर्कन अपिल गरेका छन्।

सारण्डा क्षेत्रमा लामो समयदेखि सक्रिय मिसिर बेसराले अप्रिल २००४ को एम्बुस (जसमा ३२ प्रहरी मारिएका थिए) लगायत दर्जनौँ आक्रमणहरूको योजना बनाएको आरोप छ।

हालै केन्द्र सरकारले नौ राज्यका ३८ जिल्लाहरूमा "वामपन्थी उग्रवाद सम्बोधन गर्ने राष्ट्रिय नीति तथा कार्ययोजना" को विस्तृत समीक्षा गरेको छ। यी राज्यहरूमा बंगाल, झारखण्ड, बिहार, आन्ध्र प्रदेश, छत्तीसगढ, मध्य प्रदेश, महाराष्ट्र, ओडिसा र तेलंगाणा रहेका छन्।

सन् २०१९ देखि १५ जनवरी २०२६ को बीचमा ७,४०९ माओवादीहरू पक्राउ परेका छन् भने सोही अवधिमा अन्य ५,८८० जनाले आत्मसमर्पण गरेका छन्।

बिहीबार बेसरासँग सम्बन्ध रहेको भनिएका २७ जना माओवादीले झारखण्ड प्रहरीसमक्ष आत्मसमर्पण गरे। झारखण्ड प्रहरीका एक अधिकारीका अनुसार यो राज्य सरकारको माओवादी कार्यकर्ताका लागि ल्याइएको आत्मसमर्पण र पुनस्र्थापना नीति अन्तर्गतको 'अपरेशन नवजीवन' को एक हिस्सा हो।

स्रोतका अनुसार आत्मसमर्पण गर्ने कार्यकर्ताहरूमा शीर्ष कमान्डरहरू र बेसराको समूहसँग आबद्ध सदस्यहरू रहेका छन्। आत्मसमर्पण गर्नेहरूमा प्रतिबन्धित भाकपा (माओवादी) का ६ जना विशेष जोनल कमिटी सदस्य, ६ जना एरिया कमिटी सदस्य, १३ जना दस्ता सदस्य र गुमला जिल्लामा सक्रिय माओवादी समूह 'झारखण्ड जन मुक्ति परिषद' का २ जना कार्यकर्ता रहेका छन्।

माओवादीहरूले १७ थान हतियार र करिब ३,००० राउन्ड गोलीगाठ्ठासहित आत्मसमर्पण गरेका हुन्। सन् २०२६ मा हालसम्म कुल २२ जना माओवादी मारिएका छन् भने ४४ जना पक्राउ परेका छन् र २९ जनाले हतियार बिसाएका छन्।

"अहिलेसम्म आत्मसमर्पण नगरेकाहरूलाई हामी हिंसाको बाटो त्यागेर मूलधारमा आउन अपिल गर्दछौँ," सिआरपीएफ (CRPF) का प्रहरी महानिरीक्षक साकेत सिंहले भने ।

स्रोत: टेलिग्राइ इण्डिया