भारतमा प्रान्तीय निर्वाचन र जेन-जीको बढ्दो मिथक
भारतका चार राज्यहरू असम, केरला, तमिलनाडु र पश्चिम बङ्गाल (जहाँ २९ करोड मानिसको बसोबास छ)—मा १२ करोड ३० लाखभन्दा बढी मानिसले आफ्नो प्रदेश सभाका लागि मतदान गरे। यी प्रभावशाली राज्यहरू हुन्: दुई दक्षिणमा, एउटा पूर्वमा र एउटा उत्तर-पूर्वमा अवस्थित छन्। आगामी राष्ट्रिय संसदीय निर्वाचन सन् २०२९ सम्म तय नभएकाले यी चुनावहरूलाई केन्द्र सरकारको भविष्यको सूचकका रूपमा हेरिएको छैन। यद्यपि, इन्धन र खाद्य मुद्रास्फीतिका कारण प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले चुनौतीहरूको सामना गरिरहेको सन्दर्भमा, यी चुनावहरू उनको लोकप्रियताको सूचक बनेका छन्।
केरला (जनसंख्या ३.६ करोड) मा लेफ्ट डेमोक्रेटिक फ्रन्ट (LDF) को पराजयसँगै पाँच दशकमा पहिलो पटक भारतको कुनै पनि भागमा कम्युनिष्ट नेतृत्वको सरकार हुने छैन।
यस निर्वाचनका तीनवटा तात्कालिक निष्कर्षहरू छन्: पहिलो, 'विशेष सघन संशोधन' (SIR) मार्फत निर्वाचनमा गरिएको राज्यस्तरको हेरफेरले चुनावी प्रक्रियाप्रतिको विश्वासलाई निश्चित रूपमा कमजोर बनाएको छ, किनकि यसले मोदीको भारतीय जनता पार्टी (भाजपा) लाई पश्चिम बङ्गाल (जनसंख्या १० करोड) मा विजय हासिल गर्न सक्षम बनाएको रूपमा हेरियो; दोस्रो, जेन-जी परिघटना, वा विचारधारा पछिको राजनीतिक लहर, तमिलनाडु (जनसंख्या ७.७ करोड) मा चलचित्र स्टार विजयको तामिलागा भेत्री कझगम (TVK) को विजय मार्फत भारतमा प्रवेश गरेको छ; तेस्रो, केरला (जनसंख्या ३.६ करोड) मा लेफ्ट डेमोक्रेटिक फ्रन्ट (LDF) को पराजयसँगै पाँच दशकमा पहिलो पटक भारतको कुनै पनि भागमा कम्युनिष्ट नेतृत्वको सरकार हुने छैन।
सत्ता विरोधी लहर?
प्रचलित धारणा के छ भने पश्चिम बङ्गाल, तमिलनाडु र केरला गरी तीनवटै राज्यका बहालवाला सरकारहरू सत्ता विरोधी लहरमा चुनाव हारे। तर, सूक्ष्म रूपमा परीक्षण गर्दा यो निकै सरल तर्क हुन सक्छ। उदाहरणका लागि, केरलामा कम्युनिष्ट नेतृत्वको एलडिएफ सरकारले गरेको प्रभावशाली कामले चरम गरिबीको उन्मूलन गर्यो (यसो गर्ने पहिलो भारतीय राज्य र चीन बाहिरको पहिलो स्थान) र शिशु मृत्युदर प्रति १,००० जीवित जन्ममा ५ भन्दा तल झार्यो (जुन संयुक्त राज्य अमेरिकाको भन्दा कम हो)। मतदाताहरूले एलडिएफलाई हालैका समयको सबैभन्दा गम्भीर पराजय दिनुपर्ने कुनै कारण थिएन।
मोदीको केन्द्र सरकारले यी तीनवटै सरकारहरूलाई तह लगाउन सम्पूर्ण राज्य संयन्त्रको प्रयोग गर्यो, किनकि तिनीहरूका नेताहरूले विभिन्न मुद्दाहरूमा मोदीको राष्ट्रिय सरकारविरुद्ध मोर्चाबन्दीको नेतृत्व गरेका थिए। मुख्य समस्या के हो भने मोदी भारतको संघीय प्रणालीलाई कमजोर पार्न र नयाँ दिल्लीमा शक्ति केन्द्रित गर्न चाहन्छन्। गैर-भाजपा राज्य सरकारहरूले यसको कडा प्रतिरोधा गरेका छन्, जसमा दक्षिण भारतका राज्यहरूबाट सबैभन्दा तिखो आलोचना आएको छ। दक्षिणी राजनीतिक नेताहरूको तर्क के छ भने, उनीहरू आर्थिक रूपमा गतिशील भएका कारण त्यहाँको जनसंख्या उत्तरको जस्तो बढ्न सकेन, जसको अर्थ राष्ट्रिय चुनावी नक्साको कुनै पनि संशोधनमा उनीहरूले केन्द्रीय विधायिकामा आफ्नो शक्ति गुमाउनेछन्। यी प्रान्तीय चुनावहरूमा मोदीले तीनैजना नेताहरू (पश्चिम बङ्गालकी ममता बनर्जी, तमिलनाडुका एम. के. स्टालिन र केरलाका पिनारायी विजयन) लाई निशाना बनाए र उनीहरूलाई हराए। राज्य संयन्त्रको प्रयोगको एउटा पाटो भारतको निर्वाचन आयोगद्वारा पश्चिम बङ्गालमा कम्तीमा २७ लाख मतदाताहरूको नाम हटाउनु थियो, साथै धार्मिक आधारमा मतदाताहरूलाई ध्रुवीकृत गर्न अत्यधिक उत्तेजक मुस्लिम विरोधी भाषा (विशेष गरी पश्चिम बङ्गालमा बंगलादेशबाट आप्रवासीहरूको "घुसपैठ" को कुरा) प्रयोग गरिएको थियो। यस प्रतिस्पर्धामा बनर्जी र स्टालिन दुवैले आ-आफ्नो सिट गुमाए।
मोदीको केन्द्र सरकारले यी तीनवटै सरकारहरूलाई तह लगाउन सम्पूर्ण राज्य संयन्त्रको प्रयोग गर्यो, किनकि तिनीहरूका नेताहरूले विभिन्न मुद्दाहरूमा मोदीको राष्ट्रिय सरकारविरुद्ध मोर्चाबन्दीको नेतृत्व गरेका थिए।
भारतमा जेन-जीको आगमन?
तमिल चलचित्रका ठूला स्टार चन्द्रशेखरन जोसेफ विजयले आफ्ना ८५,००० फ्यान क्लबहरूमार्फत आफ्नो पार्टी (TVK) घोषणा गरे, जुन तमिलनाडुको चलचित्र स्टार, फ्यान क्लब र राजनीतिक संयन्त्रबीचको लामो परम्परामा आधारित थियो। तर उनको अभियानमा केही नयाँपन थियो। उनको सम्पूर्ण शैली डिजिटल निपुणता, अनलाइन दर्शकहरूलाई आकर्षित गर्ने सामाजिक मुद्दाहरूप्रतिको सचेतना र परम्परागत श्रेणीबद्ध प्रणालीप्रतिको अधीरताबाट प्रेरित थियो। उनको अभियानको उत्साह, दलीय वफादारी स्वीकार नगर्ने प्रवृत्ति र विजयको टोलीले राजनीतिक अपीलभन्दा सांस्कृतिक अपील जगाउन सावधानीपूर्वक तयार पारेका राजनीतिक सन्देशहरूले उनको लोकप्रियतालाई ध्रुवीकृत मतदाताको सीमाभन्दा बाहिर फैलाइदियो। सन् १९७४ मा जन्मेका विजयले युवा मतदाताहरू माझ यसरी पहुँच बनाए कि उनले लोकप्रिय प्रशासक मानिने स्टालिन (जन्म १९५३) र अर्का मुख्य विपक्षी एडापाडी पलानीस्वामी (जन्म १९५४) लाई ओझेलमा पारिदिए। तर विजयको यो परिघटना दृश्य र प्रचारमा बलियो देखिए पनि नीति वा प्रशासनिक क्षमतामा भने कमजोर छ। यसले बंगलादेशको जेन-जी आन्दोलनलाई अगाडि बढाउँछ जसको परिणाम स्वरूप चुनावमा दक्षिणपन्थीहरूको विजय भएको थियो, र नेपालको जेन-जी आन्दोलनलाई पनि, जसले केन्द्र-दक्षिणपन्थी अस्पष्टता विशेषता भएको सरकार निम्त्याएको थियो।
तमिल चलचित्रका ठूला स्टार चन्द्रशेखरन जोसेफ विजयको सम्पूर्ण शैली डिजिटल निपुणता, अनलाइन दर्शकहरूलाई आकर्षित गर्ने सामाजिक मुद्दाहरूप्रतिको सचेतना र परम्परागत श्रेणीबद्ध प्रणालीप्रतिको अधीरताबाट प्रेरित थियो।
धेरै अर्थमा, पश्चिम बङ्गालमा मोदीको भाजपाको जित पनि जेन-जी लहरबाटै निर्मित भएको जस्तो महसुस भयो। यस पटक यो एक प्रकारको 'छद्म हिन्दुत्व थियो । अर्थात् अनौपचारिक आप्रवासी विरोधी र मुस्लिम विरोधी अभिव्यक्ति तथा राजनीतिप्रतिको अस्पष्टताभित्र लुकेको हिन्दु शक्ति। सामाजिक सञ्जालहरूमा युवाहरूलाई केन्द्रित गरेर न्यारेटिभहरू चलाइएका थिए, जसमा भ्रष्टाचार विरोधी र पारदर्शिता जस्ता विषयहरू 'पाका पुस्ता विरोधी' सुनिएका थिए। भाजपाका नेता सुवेन्दु अधिकारी (जन्म १९७०) ममता बनर्जी (जन्म १९५५) भन्दा कान्छा हुनुले पनि उनलाई नयाँ पुस्ताको आगमनका रूपमा प्रस्तुत गर्न मद्दत पुर्यायो। युवा उम्मेदवारको मुस्कान र पश्चिम बङ्गाल भाजपाको सामाजिक सञ्जालको चमकधमक मुनि मतदाताहरूको अधिकार कटौती, चुनावी प्रचारको धार्मिक कट्टरता र भाजपाको हिन्दुत्व विचारधाराको पुरातन स्वरूप लुकेको छ । जुन केवल सय वर्षअघि सिर्जित एक प्राचीन काल्पनिक कथामा आधारित छ। सञ्चारमाध्यममा सिपालु व्यक्तित्वहरूले वास्तविक समस्याहरू समाधान गर्न वास्तविक विचारको आवश्यकतालाई नै धराशायी बनाइदिए। युवाहरू कुनै परिवर्तनको माग गर्दै सडकमा उत्रिनु भन्दा पनि यही प्रवृत्ति नै 'जेन-जी' परिघटनाको सार हो।
भारतीय लोकतान्त्रिक संस्थाहरूको एउटा ठूलो सीमा नै आप्रवासी कामदारहरूको यो अनौपचारिक मताधिकार वञ्चितीकरण हो, जो प्रायः भारतको उत्तरका गरिब राज्यहरूबाट दक्षिणका बढी गतिशील राज्यहरूमा जान्छन्।
आप्रवासी मतदाताहरू
पश्चिम बङ्गालमा भाजपाले बंगलादेशबाट आएका आप्रवासीहरूलाई निशाना बनायो, तर यसले अन्य आप्रवासीहरूको मनमा खिन्नता पैदा गरिदियो। सन् २०११ को जनगणना अनुसार, भारतमा आन्तरिक रूपमा बसाइँसराइ गर्ने ४५ करोड ६० लाख कामदारहरू थिए। जुन कुल जनसंख्याको एक तिहाइभन्दा बढी हो। तर यीमध्ये अधिकांश कामदारहरूले आफूले काम गर्ने राज्यमा मतदान गर्न पाउँदैनन्, किनकि मतदान स्थायी ठेगानासँग जोडिएको हुन्छ र धेरैजसो आप्रवासीहरू आफ्नो पुर्ख्यौली गाउँमै दर्ता भएका हुन्छन्। फलस्वरूप, कामदारहरू मतदान गर्न घर फर्किनुपर्छ, जुन खर्चिलो र असुविधाजनक दुवै हुन्छ। यसले गर्दा उनीहरूको क्षेत्रमा मतदाताको उपस्थिति न्यून हुने गर्दछ। भारतीय लोकतान्त्रिक संस्थाहरूको एउटा ठूलो सीमा नै आप्रवासी कामदारहरूको यो अनौपचारिक मताधिकार वञ्चितीकरण हो, जो प्रायः भारतको उत्तरका गरिब राज्यहरूबाट दक्षिणका बढी गतिशील राज्यहरूमा जान्छन्।
चाखलाग्दो कुरा के छ भने, डोमकल निर्वाचन क्षेत्रका एक उम्मेदवार, भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) वा सीपीआईएमका मुस्तफिजुर "राणा" रहमानले आप्रवासी कामदारको मुद्दालाई सिधै सम्बोधन गरे। एक युवा र गतिशील राजनीतिज्ञ, राणाले आफ्नो क्षेत्रमा मात्र प्रचार गरेनन्, बरु आप्रवासी कामदारहरूलाई मतदान गर्न प्रोत्साहित गर्न भारतको दक्षिणतर्फको यात्रा पनि गरे। कामदारहरू राणालाई भोट दिन डोमकल फर्किए र राज्यबाहिर कामदार भएका चार सय परिवार चुनावअघि सीपीआईएममा प्रवेश गरे। राणाको विजयले पश्चिम बङ्गालमा वामपन्थीहरूको खडेरी अन्त्यको संकेत गर्दछ, जुन ३४ वर्षको सत्तापछि सन् २०११ मा वाम मोर्चा सरकारको पराजयसँगै सुरु भएको थियो। उनको विजय भारतका आप्रवासी कामदारको विजय हो, जसको चर्चा जेन-जीको तुलनामा धेरै कम भए तापनि यो सायद विचार गर्नुपर्ने धेरै महत्त्वपूर्ण पक्ष हो।
Source: https://globetrotter.media/
विपन्न विज्ञान : विपन्न समाज
मार्क्सवादको सान्दर्भिकता र अबको वामपन्थी आन्दोलन
ली कुआन यू र सिंगापुरको उदय: नेपालका लागि के पाठ ?
नक्सलवादीहरूले वास्तवमा मार्क्स र एङ्गेल्सको अनुशरण गरेनन्
पेरिसडाँडाको सन्देश: भाग्ने होइन बदल्ने, फुट्ने होइन जुटेर समाजवाद हासिल गर्न…
ट्रम्पको इरान युद्ध: साम्राज्यहरू पतन गराउने सैन्य दुस्साहस
समाजवादी क्रान्ति र जातीय मुक्तिको प्रश्न
प्रतिक्रिया