लुकिङ ग्लास र नेपाली राजनीति: देखिएभन्दा नजिकैको जोखिम


हामीले मोटरसाइकल वा गाडी चलाउँदा वा चढ्दा सवारीसाधनको अगाडिपट्टि रहेको लुकिङ ग्लास (Looking Glass) मा लेखिएको एउटा हरफ अक्सर देख्ने गरेका छौँ। सिसामा लेखिएको हुन्छ– "Objects in mirror are closer than they appear"। यसको अर्थ हुन्छ: ऐनामा देखिएका वस्तुहरू देखिएभन्दा नजिक हुन्छन्।

यसले के भन्न खोजेको हो भने, ऐनामा तपाईंले पछाडिबाट आइरहेको जुन गाडी देखिरहनुभएको छ, त्यो ऐनामा देखिए जति टाढा छैन; बरु तपाईंले सोचेभन्दा नजिक छ। तसर्थ, सतर्क रहनुहोस्। प्रकाशको व्यवहार (अवर्तन, परावर्तन आदि) बारे अध्ययन गर्ने विज्ञान 'अप्टिक्स' (Optics) का अनुसार यस्ता ऐनाहरू 'कन्भेक्स' (Convex) आकारका हुन्छन्, ताकि फराकिलो दृश्य देख्न सकियोस्। तर, यसले गर्दा ऐनामा वस्तुहरू वास्तविक आकारभन्दा साना देखिन्छन्, जसका कारण ती आफ्नो वास्तविक स्थानभन्दा टाढा भए जस्तो भान हुन्छ।

नेपालमा आम निर्वाचन सङ्घारमा आइसकेको छ। अब चुनाव सुरु हुन कति दिन भन्दा पनि कति घण्टा बाँकी छ भनेर 'काउन्ट डाउन' गर्ने बेला भएको छ। सबै तयारी अन्तिम चरणमा पुगिसकेको छ। निर्वाचनको प्रचार अवधि समाप्त भएर अहिले 'मौन अवधि' सुरु भएको छ। अब निर्वाचनमा भाग लिने दल र उम्मेदवारहरूले खुल्ला रूपमा प्रचार गर्न पाउने छैनन्।

आम नेपाली जनताले पनि कसलाई मतदान गर्ने भन्ने निर्णय लगभग गरिसकेका होलान्। भदौ अन्तिम हप्ता भएको अभूतपूर्व 'जेन-जी' (Gen Z) विद्रोहको परिणामस्वरुप हुन लागेको यो निर्वाचनको नतिजालाई लिएर सबैमा व्यग्रता छ। यसप्रति देश भित्र मात्र होइन, देश बाहिर पनि उत्तिकै चासो देखिन्छ। निर्वाचनको सङ्घारमा विदेशी सञ्चार माध्यमहरूमा आइरहेका खबरहरूले यस तर्फ सङ्केत गरिरहेका छन्।

यसपालिको चुनावका बारेमा मिडियाहरूले राम्रोसँग सर्वेक्षण र विश्लेषण गरेका छन्। हुन त मानिसले के गर्छ र कसो गर्छ भनेर अनुमान लगाउनु र विश्लेषण गर्नु अत्यन्तै जटिल र जोखिमपूर्ण काम मानिन्छ। जीवहरूको व्यवहारबारे केही दशकअगाडि विज्ञान जगतमा एउटा रोचक प्रयोग भएको थियो। प्रकृतिमा 'नेमाटोड्स' (Nematodes) नामक एउटा जीव पाइन्छ। Neurophysiology को क्षेत्रमा यसका बारेमा व्यापक अध्ययन गरिएको छ, किनकि यो सूक्ष्म हुनुका साथै जताततै पाइन्छ। सूक्ष्म भए तापनि यो जीवमा हजारौँ कोषहरू हुन्छन्।

नेमाटोड्सको गर्भाधान अवधि मात्र ३ दिनको हुन्छ र यसमा करिब ३ सय न्युरोनहरू (स्नायुकोष) हुन्छन्। वैज्ञानिकहरूले यसको न्युरोनहरूको 'वाइरिङ' को सम्पूर्ण चित्र समेत पत्ता लगाइसकेका छन्। ती न्युरोनहरू कसरी र कहाँ-कहाँ जोडिएका हुन्छन् भन्ने कुरामा समेत वैज्ञानिकहरू जानकार छन्। तर पनि यो 'मुर्ख' जुकाले कुनै काम किन गर्छ वा के गर्छ भनेर वैज्ञानिकहरूले ठोस जवाफ दिन सकेका छैनन्। नेमाटोड्स दायाँ किन फर्किन्छ वा बायाँ किन फर्किन्छ भन्ने उत्तर समेत उनीहरूसँग छैन।

यसको सम्पूर्ण न्युरोन र गर्भाधान अवधि थाहा हुँदाहुँदै पनि वैज्ञानिकहरू यसका क्रियाकलापबारे व्याख्या गर्न असमर्थ छन्। किनकि यो प्रक्रिया अति नै जटिल छ; यसभित्र थुप्रै रासायनिक प्रतिक्रियाहरू भइरहेका हुन्छन्। यो त केवल ३ सय न्युरोन भएको एउटा साधारण जुकाको कुरा भयो, जबकि मानिसको मस्तिष्कमा ८६ अर्ब न्युरोनहरू हुन्छन्। नेमाटोड्स र मानिसबीच यति ठुलो गुणात्मक अन्तर छ कि मान्छेको व्यवहार बुझ्नु लगभग असम्भव जस्तै देखिन्छ।

त्यसैले, यस पटकको निर्वाचनमा रहेका करिब १ करोड ८९ लाख मतदाताले के सोच्छन् भनेर ठोकुवा गर्न सम्भव छैन। तैपनि समाज विज्ञानले केही अनुसन्धान विधिहरू विकास गरेको छ। कुल जनसङ्ख्यामध्ये केही नमुनाहरू (Samples) सङ्कलन गरेर त्यसको औसत निष्कर्ष निकाल्ने गरिन्छ। यसरी गरिने सर्वेक्षणहरूले आगामी सम्भावित परिदृश्यको एउटा मोटामोटी खाका दिने गर्छन्। तर, यस्ता सर्वेक्षण जति ठुलो मात्रामा गरियो, त्यति नै प्रभावकारी हुन्छन्। साधन र स्रोतको सीमाले पनि यसलाई प्रभावित गर्न सक्छ। साथै, देश जति विकसित छ, यस्ता सर्वेक्षणहरू त्यति नै सटिक हुने गर्दछन्।

यसबीच नेपालमा चुनावसम्बन्धी जति पनि सर्वेक्षणहरू आएका छन्, ती सबैको निष्कर्ष लगभग एउटै देखिन्छ– आम मतदाताहरू परिवर्तन चाहन्छन्। अर्थात्, उनीहरू पुराना पार्टीहरूभन्दा फरक नयाँ शक्तिलाई रोज्न थालेका छन्। अझ रोचक कुरा के छ भने, यतिबेला आम नेपाली मतदाताको मनोविज्ञानले पार्टीभन्दा पनि 'व्यक्तिगत ब्रान्ड' लाई रुचाएको पाइएको छ।

त्यो ब्रान्ड हो– बालेन शाह। उनी पार्टीभन्दा माथिको एउटा शक्तिशाली ब्रान्ड बनेका छन्। उनको यो क्रेजले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई समेत तानिरहेको छ। नेपालको हिमाली क्षेत्रदेखि तराईसम्म उनकै चर्चा देखिन्छ। आम मतदाताहरू पार्टीको सिद्धान्तभन्दा पनि चुनाव चिन्ह र 'बालेन ब्रान्ड' बाट आकर्षित भइरहेको देखिन्छ।

भदौ २३ र २४ मा भएको 'जेन-जी' (Gen Z) विद्रोहले नेपालका मूलधारका पार्टीहरूलाई सत्ताबाट बेदखल गरिदियो। त्यसपछि नेपाली कांग्रेसका गगन थापाले विशेष महाधिवेशनमार्फत पार्टीको नेतृत्व आफ्नो हातमा लिए। उनको 'पार्टी सुधार अभियान' बाट जनताबीच केही आकर्षण बढेको देखिन्छ। नेपालका बुद्धिजीवी र सहरी मध्यमवर्ग उनको पछाडि गोलबद्ध भएको पनि पाइन्छ। तर, उनको अभियानले विगतमा जनतामाझ खस्किएको पार्टीको छवि सुधार्न कत्तिको मद्दत गर्यो, त्यो भने हेर्न बाँकी नै छ।

उता, भदौ २३ र २४ को घटनाका समयमा सरकार प्रमुख रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र उनको पार्टीले सो घटनाको बोझबाट अझै मुक्ति पाएको देखिँदैन। एमाले अध्यक्ष ओलीले अचेल जहाँ पुगे पनि भदौ २३ को त्यो 'आम नरसंहार' मा आफ्नो कुनै भूमिका नरहेको भन्दै स्पष्टीकरण दिइरहनुपरेको छ। यो रक्षात्मक शैलीले के सङ्केत गर्छ भने, एमाले अझै पनि त्यो घटनाको राजनीतिक बोझ र जनमानसको आक्रोशबाट मुक्त हुन सकेको छैन। यसले एमालेलाई ठुलो राजनीतिक क्षति पुगिरहेको देखिन्छ। त्यस्तै, प्रचण्डको पार्टी राजनीतिको केन्द्रबाट बाहिरिइसकेको भान हुन्छ; मानौँ समाज उनलाई धेरै पछाडि छोडेर अगाडि बढिसकेको छ।

गाडीको लुकिङ ग्लासको सिसामा लेखिएको चेतावनी– "Objects in mirror are closer than they appear" (ऐनामा देखिएका वस्तुहरू देखिएभन्दा नजिक हुन्छन्) 'अप्टिक्स' मा मात्र होइन, समाज विज्ञानमा समेत उत्तिकै लागू हुन्छ। नेपाली राजनीतिमा यो चेतावनी अहिले चरितार्थ हुन लागेको छ। हुन त यो 'राजनीतिक दुर्घटना' लाई टार्न सकिने सम्भावना नै नभएको त होइन, तर वर्तमान परिस्थिति हेर्दा यो असम्भव जस्तै देखिँदै छ।