छत्तीसगढ़मा १४० माओवादी नेतृत्त्वसहित आत्मसमर्पण

छत्तीसगढ़को बास्तर क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका माओवादीहरूको एक ठूलो समूह शुक्रबार राज्यका मुख्यमन्त्री विष्णु देव साई र गृह मन्त्री विजय शर्मा सामु औपचारिक रूपमा आत्मसमर्पण गर्ने तयारीमा छन्। संगठनका वरिष्ठ नेताहरू रुपेश र रणितासहित करिब १४० जना माओवादी यो आत्मसमर्पण कार्यक्रममा सहभागी हुने जनाइएको छ ।
पुलिस स्रोतका अनुसार, रुपेशले दण्डकारण्य विशेष क्षेत्रीय समिति (DKZC) अन्तर्गत माड डिभिजनको सञ्चालन, सञ्चार तथा तालिमका जिम्मेवारी सम्हाल्दै आएका थिए। रणिता भने बास्तर क्षेत्रमा कार्यरत महिला कमाण्डर हुन्, जसले महिला क्याडरहरूको संयोजन र लजिस्टिक आपूर्ति नेटवर्क सम्हाल्ने काम गर्थिन्।
आत्मसमर्पणको तयारी र सुरक्षाको पृष्ठभूमि
सुरक्षास्रोतहरूले जनाएअनुसार यी माओवादीहरू बुधबार (१६ अक्टोबर) इन्द्रावती नदी पार गरेर दन्तेवाडा र बिजापुर जिल्लाको सीमाक्षेत्र हुँदै आएका हुन्। अहिले उनीहरूलाई जगदलपुरमा राखिएको छ, जहाँ शुक्रबार बिहान औपचारिक आत्मसमर्पण कार्यक्रम आयोजना हुनेछ।
यो कदम छत्तीसगढ़ सरकारले पछिल्ला वर्षहरूमा अघि सारेको मुख्यधारामा फर्काउने अभियान (Surrender and Rehabilitation Policy) अन्तर्गतको निरन्तरता हो। यो कार्यक्रमका माध्यमबाट आत्मसमर्पण गर्ने माओवादीहरूलाई पुनर्वास, आर्थिक सहायता र पुनर्स्थापना रोजगारीको अवसर दिइन्छ।
गत महिना मात्रै, बास्तर, सुक्मा र बिजापुर जिल्लामा ७८ जना माओवादीले आत्मसमर्पण गरेका थिए—जसमा ४३ जना महिला थिए। कुनैबेला भीषण सशस्त्र संघर्ष चलाएका माओवादी पार्टीविरुद्ध राज्यले हिंसात्मक दमनको अभियान सञ्चालन गरेपछि आत्मसमर्पण गर्नेहरूको संख्या बढ्दै जान थालेको छ । यसलाई स्थानीय प्रशासनले सफलताको प्रतीकका रूपमा व्याख्या गर्न थालेको छ ।
क्षेत्रीय सन्दर्भ र माओवादी आन्दोलनको इतिहास
छत्तीसगढ़, विशेषगरी बास्तर क्षेत्र, सन् १९८० को दशकदेखि भारतीय माओवादी आन्दोलनको मूल आधार क्षेत्र बन्दै आएको छ। नक्सलवाद भनेर चिनिने यो आन्दोलन प्रारम्भमा भूमिहीन किसान, आदिवासी अधिकार र सामाजिक न्यायका मुद्दासँग जोडिएको थियो। तर समयसँगै यो सशस्त्र विद्रोहमा रूपान्तरण भयो।
दण्डकारण्य वनक्षेत्रमा फैलिएको यो सशस्त्र आन्दोलनले भारत सरकारका लागि दशौँ वर्षदेखि चुनौती सिर्जना गर्दै आएको छ। भारतीय गृह मन्त्रालयको तथ्याङ्क अनुसार, विगत एक दशकमा २,००० भन्दा बढी सुरक्षाकर्मी र ४,००० भन्दा बढी नागरिक यस संघर्षमा मारिएका छन्।
तर पछिल्ला वर्षहरूमा माओवादीहरूको संगठनात्मक प्रभाव घट्दो क्रममा छ। विशेष गरी छत्तीसगढ़, झारखण्ड र महाराष्ट्रको सीमा क्षेत्रमा सुरक्षाबलले सञ्चालन गरेका ‘सामरिक विकास अभियानहरू’ र ‘सडक–सञ्चार विस्तार’ अनि २०२६ को मार्चसम्म माओवादीहरुलाई निमिट्यान्न पार्ने गैरन्यायिक हिंसात्मक दमनको कार्यक्रमहरूले उनीहरूको पहुँचलाई कमजोर पार्दै गएको देखिन्छ ।
माओवादीहरू किन आत्मसमर्पण गर्दैछन् ?
सतहमा आएका जानकारीहरुको विश्लेषण गर्दा यसरी आत्मसमर्पण गर्नेहरूको संख्यामा बढोत्तरी हुनुमा दुई मुख्य कारण देखिन्छ। पहिलो, संगठनभित्रको आन्तरिक असन्तोष र आर्थिक स्रोतको अभाव। दोस्रो, सरकारद्वारा चलाएको भीषण दमनका बीच आत्मसमर्पण गर्नेहरुलाई दिइने पुनर्वास सुविधा—जसमा नगद अनुदान, आवास, सुरक्षा र जीवन पुनर्निर्माण कार्यक्रमहरू समावेश छन्।
वास्तवमा भारतीय माओवादी आन्दोलन यतिखेर रक्षात्मक अवस्थामा पुगेको छ । आन्तरिक विग्रह अनि मित्रशक्तिहरुविरुद्ध पनि यसले चलाएको शत्रुतापूर्ण कारवाहीले गर्दा आन्दोलनले आफ्नो ऐतिहासिक गति गुमाइरहेको छ। हिजो तनमनले यो आन्दोलनमा समर्पित भएका नेतृत्व वृद्ध भइसकेको छ । दु:खद कुरा त के छ भने न्याय र शान्ति अनि मूलत: आदिवासीहरुको हकहितको लागि केन्द्रीत यस आन्दोलनमा नयाँ पुस्ता सामेल हुन रुचाउँदैन । त्यसमाथि थप, लामो समयदेखि चलेको हिंसा–प्रतिहिंसा अनि राज्यको निर्मम दनका कारण स्थानीय समुदायले पनि अब हिंसात्मक बाटोको सट्टा राज्यले देखाएको ‘विकासको प्रलोभन’मा विश्वास गर्न थालेका छन्।
राष्ट्रिय प्रभाव र भावी सम्भावना
१४ अक्टोबरमा महाराष्ट्रको गाडचिरोली जिल्लामा भूपति उपनामले चर्चित वरिष्ठ माओवादी नेता मल्लोजुला वेनुगोपाल सहित ६० जना क्याडरले आत्मसमर्पण गरेको घटनापछि यो छत्तीसगढ़को आत्मसमर्पणले केन्द्र सरकारको Left Wing Extremism (LWE) Action Plan लाई थप गति दिने अपेक्षा गरिएको छ।
रुपेश र रणिताजस्ता उच्च तहका नेताहरूको आत्मसमर्पणले माओवादी संगठनको मनोबललाई कमजोर मात्र बनाउने छैन, यसले स्थानीय स्तरमा सशस्त्र गतिविधि घट्ने सम्भावनासमेत बढाएको छ।
तर हेक्का राख्नु पर्ने कुरा के हो भने माओवादी नेताहरुको आत्मसमर्पणले आन्दोलन समाप्त हुने छ भन्ने पटक्कै होइन । माओवादी आन्दोलन उठान हुनुको मूल कारणहरु असमानता, भूमि अधिकार र वन सम्पदामा आदिवासी स्वामित्वको मुद्दा समाधान नभएसम्म आन्दोलनको विचारधारा हराउन र यसको औचित्य समाप्त हुन कठिन छ।
तस्विर एवं समाचार स्रोत: https://www.siasat.com

वरिष्ठ नक्सलवादी नेताले गरे आत्मसमर्पण

राजनीतिक दललाई अविलम्ब नेतृत्व हस्तान्तरण गर्न नागरिक आह्वान

इजरायल र हमास गाजामा पहिलो चरणको युद्धविराम योजनामा सहमत

राष्ट्रपतिलाई बुद्धिजीवीहरुको चारबुँदे सुझाव

इण्डोनेशियामा जेन जीले हाँकेको विद्रोह

एआइको प्रयोग गर्दै धुलिखेल नगरपालिकाको डिजिटल छलाङ

राजधानीमा एमसीसीबारेको बहस

प्रतिक्रिया