इरानको आणविक केन्द्रमाथिको हमला: नष्ट भयो, नष्ट भएन !

अमेरिकाले गत साता अन्त्यतिर इरानका तीनवटा आणविक संयन्त्रहरु माथि आक्रमण गरेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस आक्रमणबाट इरानको सम्पूर्ण परमाणु कार्यक्रम ध्वस्त पारिएको दाबी गरेका थिए। तर अहिले उक्त दावी विपरीत तथ्यहरु सार्वजनिक भएको छ। अमेरिकी गुप्तचर विभागको प्रारम्भिक मूल्याङ्कन अनुसार, ती तीनवटै आणविक स्थापनाहरू पूर्ण रूपमा नष्ट भएका छैनन् र यस आक्रमणले तेहरानको आणविक कार्यक्रमलाई केवल केही महिनाको लागि पछाडि धकेलेको छ। सीएनएनको रिपोर्ट अनुसार, यो मूल्याङ्कन पेन्टागनको गुप्तचर शाखाद्वारा तयार पारिएको हो।
ट्रम्पका दावी विपरीत गुप्तचर मूल्याङ्कन
सीएनएनले एउटा स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ कि उक्त मूल्याङ्कन अमेरिकी केन्द्रीय कमान्डबाट आक्रमणपछि गरिएको युद्धजन्य क्षतिको मूल्याङ्कनमा आधारित छ। यद्यपि, उक्त संयन्त्रहरूमा पुगेको क्षति र इरानको आणविक महत्त्वाकांक्षामाथि आक्रमणले पारेको प्रभावको विश्लेषण अझै जारी छ र थप गुप्त जानकारी प्राप्त भएमा मूल्याङ्कन परिवर्तन हुन सक्नेछ। तर प्रारम्भिक निष्कर्षहरू ट्रम्पका दावीहरूबाट स्पष्ट रूपमा भिन्न छन्। ट्रम्पले दावी गरेका थिए कि आक्रमणले इरानको परमाणु सम्बर्द्धन संरचना पूर्ण रूपमा ध्वस्त पारेको छ।
४०० किलो यूरेनियम हराएको आशंका, १० वटासम्म परमाणु बम बन्न सक्ने खतरा
इरानसँग भएको ४०० किलो सम्बर्द्धित यूरेनियमको अवस्थाबारे प्रश्न उठिरहेको छ—जसबाट करिब १० वटासम्म परमाणु बम बनाउने क्षमता रहेको बताइन्छ, जसले अमेरिका र इजरायललाई चिन्तित बनाएको छ।
इरानको यूरेनियम भण्डार अझै बाँकी
अमेरिकी रक्षामन्त्री पीट हेगसेथले पनि इरानको आणविक महत्त्वाकांक्षा समाप्त भएको दाबी गरेका थिए। तर रिपोर्टसँग परिचित दुई व्यक्तिहरूले सीएनएनलाई बताएका छन् कि इरानको संवर्द्धित यूरेनियमको भण्डार नष्ट भएको छैन। एक व्यक्तिले भने, “सेंट्रीफ्युजहरू अधिकांश रूपमा जस्ताको तस्तै छन्।” अर्का स्रोतले जनाएअनुसार अमेरिकी आक्रमण हुनु अघि नै संवर्द्धित यूरेनियम ती स्थापनाबाट हटाइएको थियो।
ह्वाइट हाउसको प्रतिक्रिया
ह्वाइट हाउसले रिपोर्टको अस्तित्व स्वीकार गरे पनि त्यसलाई गलत भनेको छ। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले सीएनएनलाई दिएको वक्तव्यमा भनिन्, “यो रिपोर्टपूर्ण रूपमा गलत छ र यसलाई अति गोप्य रूपमा वर्गीकृत गरिएको थियो, तर गुप्तचर समुदायभित्रको एक नाम नखुलाइएको, तल्लो स्तरको असफल व्यक्तिले यो सीएनएनमा चुहाएका छन्।”
लेविटले यो चुहावट राष्ट्रपति ट्रम्पलाई बदनाम गर्न तथा इरानको आणविक कार्यक्रम नष्ट गर्न संलग्न बहादुर पाइलटहरूको अपमान गर्ने नियोजित प्रयास भएको बताइन्। उनले भनिन्, “सबैले जान्दछन्—जब तपाईं ३०,००० पाउन्डका १४ वटा बमहरू लक्षित स्थानमा खसाल्नुहुन्छ, त्यहाँ के हुन्छ?—पूर्ण विनाश।”
ट्रम्पको कडा प्रतिक्रिया
इरानी आणविक संयन्त्रमाथि आक्रमण सम्बन्धी गुप्तचर रिपोर्टले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आक्रोशित बनाएको छ। हिजो उनले प्रतिक्रिया दिँदै भने, “इरानका परमाणु स्थलहरू पूर्ण रूपमा नष्ट भएका छन्।” उनले यो रिपोर्टलाई लिएर सञ्चालित समाचारहरूलाई "फेक न्यूज" भनी खारेज गरे। ट्रम्पले भने, “सीएनएनले न्यूयॉर्क टाइम्ससँग मिलेर इतिहासकै सबैभन्दा सफल सैन्य आक्रमणमाथि प्रश्न उठाउने प्रयास गरिरहेको छ। इरानका परमाणु स्थलहरू पूर्ण रूपमा ध्वस्त भइसकेका छन्।”
स्रोत: नवभारत टाइम्स । Image: https://www.aljazeera.com
स्रोत: नवभारत टाइम्स

इरानविरुद्धको युद्धमा अमेरिका प्रत्यक्ष उत्रियो ! प्रतिवाद गर्ने इरानको चेतावनी

इरानको समर्थनमा बोले किराती

‘इन्काउन्टर’ मा तीन दिनभित्र सात माओवादी नेताको मृत्यु; अधिकार समूहद्वारा बर्ब…

फेरि मारिए माओवादीका अर्को वरिष्ठ नेता

रुसविरुद्ध युक्रेनको अपरेशन स्पाइडर: रुसको प्रतिशोध कस्तो होला ?

शान्तिवार्ताको प्रस्तावको जवाफ गोलीबाट दिनु राज्यद्वारा गरिने हिंसात्मक दमनको न…

शीर्षस्थ नेताको हत्याले भारतीय माओवादी आन्दोलनलाई गम्भीर धक्का !

प्रतिक्रिया